सहरी विकासका कम्प्युटर अपरेटरले गरे नेपाल टेलिकमको सर्भर ह्याक
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर आर्थिक लाभ लिएका छन् । आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार दोस्रो साता थाहा पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा अनुसन्धानको लागि पत्राचार गरेको थियो । टेलिकमको यस्तो पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । ‘टेलिकमको पत्र प्राप्त भएपछि अनुसन्धान गर्दा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत दिवाकर देउजाले ह्याक गरेको पत्ता लाग्यो, उनलाई सीआईबीले पक्राउ गरी नेपाल प्रहरीको साइबर व्यूरो पठाएको छ, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पाण्डेले भने । देउजाले नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफूले आर्थिक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याकई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते सीआईबीमा पत्र पठाएकाे थियाे । पत्र प्राप्त भएपछि अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रयाकेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक/पटक पहुँच बनाएको पाइएकाे सीअइबीकाे भनाइ छ । देउजामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही चलाउने प्रहरीले जानकारी दिएको छ । ह्याकरले टेलिकमको सिस्टमभित्र प्रवेश गरी के कति आर्थिक लाभ वा टेलिकमलाई कति हानी नोक्सानी पुर्याए भन्ने बारेमा थप अनुसन्धानबाट खुल्ने सीआईबीको भनाइ छ ।
माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का, बैंकलाई थप उचाईमा पुर्याउने
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । बिहीबार माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुसी लागेको बताउँदै नायिका खड्काले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
नेपाल लाइफकाे कार्यवाहक सीईओमा सन्तोष प्रसाई, बीमा क्षेत्रमा १० वर्षकाे अनुभव
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । यससँगै उनले साउन १ गतेबाट लागू हुने कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।
कनेक्ट आइपिएसमा एकैदिन सवा खर्ब रूपैयाँ कारोबार, गत वर्षकाे काराेबार ९७ खर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राेत्साहन गरेसँगै कनेक्ट आइपिएस मार्फत हुने कारोबारमा पनि वृद्धि हुँदै गएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा गत वर्षभन्दा २२.२ प्रतिशतले कारोबार संख्या वृद्धि भएको छ । एनसीएचएले कनेक्ट आइपीएस, आइपीएस र चेक क्लियरिङ गरी आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ६ लाख २४ हजार वटा कारोबार गरेको छ । त्यसमा ९.७ ट्रीलियन अर्थात ९७ खर्ब रूपैयाँ काराेबार भएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए । ‘आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक वर्ष २०७५/७६ भन्दा २२.२ प्रतिशतले कारोबार संख्या बढेको छ, त्यसमा कारोबार मूल्य भने ५.५ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने । २०७५ बैशाखबाट सञ्चालनमा आएको कनेक्ट आइपिएसको कारोबार नियमित रूपमा बढ्दै गएको उनले बताए । गत आर्थिक वर्ष २०७५/७६ मा कुल कारोबार संख्या १ करोड ६८ लाख कारोबार भएको थियो भने ९.२ ट्रिलियन अर्थात ९२ खर्ब २० अर्ब रूपैयाँ कारोबार भएको उनको भनाई छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन अर्थात हिजो मात्रै कनेक्ट आइपिएस मार्फत १ लाख ७७ हजार संख्या कारोबार भएको उनले बताए । त्यसमा कारोबार मूल्य भने १ खर्ब १७ अर्बको रहेको उनको भनाई छ । प्रधानका अनुसार मासिक रुपमा कनेक्ट आएपिएसको कारोबार बढ्दै गएको छ । लकडाउनको समयमा बैंकका ग्राहकले घरैबाट कारोबार गर्ने भएकोले कारोबार बढेको उनको भनाई छ । ‘पहिले कनेक्ट आइपिएसमा दैनिक एक अर्ब कारोबार हुन्थ्यो, अहिले पछिल्लो समयमा असारको मध्यतिर सवा दुई अर्बदेखि साढे दुई अर्ब जति कारोबार भइरहेको छ’ उनले भने । कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर्ब नाघेको छ । विगत तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपिएसको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः वृद्धि हुँदै गएको उनले बताए । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरूको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब रुपैयाँ, २४ अर्ब रुपैयाँ र ३९.५ अर्ब रुपैयाँ रहेको सिंहले बताए । कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखाजस्ता वैकल्पिक च्यानलहरू बाहेक एनपिआइले पनि कनेक्ट आइपिएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका उनको भनाई छ । कम्पनीमा हालसम्म चेकमा ७० वटा बैंक तथा वित्तीय संस्था, आइपीएसमा ६५ र कनेक्ट आइपीएसमा ५७ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । यसमा अन्य वालेट कम्पनीहरु पनि आवद्ध भइहरेको उनले बताए । एनपिआइले बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिङजस्ता वैकल्पिक च्यानलहरू, पिएसपिएसरपिओएस, सरकारी निकायहरू र अन्य ठूला संस्थाहरूबीच इन्ट्रिगेसन र इन्ट्रोपेरियाविलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित यस एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस ई(पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआइ प्रणालीहरू सञ्चालन गर्दै आएको छ। हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्रायः सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, सेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरूमा जोडी प्रयोगमा आइसकेको छ । मोबाइल, वेब, गेटवे र एपिआईजस्ता मल्टिपल च्यानलहरू मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा सम्पूर्ण कारोबारहरू सिधै बैंक खाताबाट हुने गर्दछन् ।
आइसिएफसि फाइनान्सले ल्यायो क्रमिक मुद्दती खाता, यी सुविधामा छुट पाइने
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकवर्गहरुमा क्रमिक मुद्दती खाता सुरुवात गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक समारोहबीच उक्त क्रमिक मुद्दती खाताको सुरुवात गरेका हुन् । नँया क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, ई-बैंकिङ्ग तथा लकर सुविधाहरु पहिलो वर्षका लागी निशुल्क उपलब्ध गराइने छ । यस खाता खोल्न फाइनान्सको कुनै पनि शाखा कार्यालयबाट सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ । यस फाइनान्सले हालसम्म १८ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर र १७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ ।
खातामा पैसा जम्मा गर्ने भौचर भर्न एनआईसी एशिया बैंक धाउनै नपर्ने, अब अनलाईनबाटै भर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएको छ । बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ र उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईने छ । र, त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले जनाएकाे छ । यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने वहाहरुलाई काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ । नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई-कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस आईसर्भ मार्फत सेवा दिईरहेको छ र उक्त सेवाहरू आईसर्भ मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।
कर्मचारीलाई निकालेकाे कारण नेपाल मेडिकल कलेजमा तालाबन्दी
काठमाडौं। नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ । युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिए । उनले भने, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ । महामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन । छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग छ ।”
यसकारण बन्द हुँदै छ धितोपत्र बोर्डको वेवसाइट
काठमाडौं । नेपाल धितोपत्र बोर्डको वेवसाइट आज(साउन १ गते) दिउँसो तीन बजेदेखि बन्द हुने भएको छ । बाेर्डले बिहीबार एक सूचना जारी गरी लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई उक्त जानकारी गराएकाे हाे । साईटको सेड्युल मेन्टिनेन्स(निर्धारित मर्मत) गर्नुपर्ने भएकाले केही समय अवरुद्ध हुन सक्ने बोर्डले जनाएकाे छ ।