विकासन्युज

घरेलु लघुवित्तलाई बनेपाका घराबेटीले १ महिनाको घरभाडामा दिए सहुलियत

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन् । बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र ओरालो लागेको परिस्थिती छ, व्यवसाय पूर्ण रुपले संचालन नभएको वर्तमान परिप्रेक्ष्यमा सरकारले समेत १ महिनाको घरभाडा नलिन गरेको आह्वानलाई स्वीकार्दै आफुले पनि मानवताको भुमिका निर्वाह गरेको श्रीजल भैलले बताए । यसर्थ तीन महिना देखि ठप्प रहेको व्यापार व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सबैले आ-आफ्नो ठाउँबाट उदारता देखाउनु सक्नुपर्ने कुरा भैल दम्पतिले बताए । संस्थाले, यसै कोरोनाको महाविपत्ती बाट सिर्जित समस्याहरुलाई व्यवस्थापन गर्न स्थानीय रुपमा खोलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो कार्यक्षेत्र रहेको विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरिरहेको छ । यस्तै विपत्तिका बेला संस्थाको क्षमता अनुसारको आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै जाने नीति रहेको संस्थाले जनाएको छ ।

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड आज ३ बजे

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज (साउन २ गते) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार उक्त सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो । इन्स्योरेन्सले सेयर निष्काशन बन्द गरेको ४ दिनमै बाँडफाँड गर्न लागेको हो । उक्त सेयरको निष्काशन बन्द गत असार २९ गते भएको थियो । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेको हो । एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा ४ लाख ८४ हजार ४९८ योग्य आवेदनमार्फत १ करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४ सय ९८ आवेदकको हात खाली हुने छ । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

धरानमा उपचाररत कोरोना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु

काठमाडौ ।  कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको बिहिबार राती मृत्यु भएको हो । गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटु, मधुमेह, उच्च रक्तचाप विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएपछि आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे स‌ंख्या ४० पुगेकाे छ ।

कास्कीकाे पहिरामा परी तीनको मृत्यु

साङ्केतिक तस्विर कास्की ।  माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ । रासस

तानसेन–बुटबल सडक अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ ।

गाडी किन्ने बजेटबाट झापा कनकाईका मेयरले खोले प्राविधिक कलेज

भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे । “बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।” नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरु भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ । नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको रु ६० लाखमध्ये रु ३० लाख रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए । त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ । सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए । नयाँ आर्थिक वर्ष २०७७/७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि रु ३० लाख बजेट विनियोजन गरिसकेको छ । नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ । यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ । यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ । ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ । साइकल चढ्छन् प्रमुख नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो । अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन् । नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिक फिल्ड जाँदासमेत उनले साइकल प्रयोग गर्दै आएका छन् । “साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ”, उनी भन्छन्, “सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो ।” नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर रु छ लाख साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ ।

मौद्रिक नीतिमा ऋणीलाई बम्पर प्याकेज, मर्जरमा वर्ग अनुसार सुविधा पाउने व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तयार पारेको छ । भोलि (साउन २ गते शुक्रबार) सार्वजनिक गर्न लागिएको नीतिमा उद्यम व्यवसाय गर्न ऋण लिएका तर कोभिड १९ का कारण ऋण तिर्न र व्यवसाय संचालन गर्न नसकेका ऋणीको लागि बम्पर प्याकेज ल्याउन लागिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको मुल फोकस नै समस्यामा परेका ऋणीलाई राहत दिने भन्नेमा छ । व्यवसाय गर्नको लागि ऋण लिएका र कोभिड १९ को कारण व्यवसाय नचली समस्या परेका ऋणीलाई भाका सार्नु पर्ने भए भाका सारिदिने, व्याज तिर्ने म्याद थप गर्नुपर्ने भए थप्न पाइने र व्याज तथा किस्तालाई साँवामै गाभेर पुँजीकरण गरिदिनु पर्ने भए सो पनि गर्न पाइने व्यवस्था गर्न लागिएको छ । परियोजना धितोमा कर्जा लिएका व्यवसायीले कोभिड १९ का कारण परियोजना अघि बढाउन नसक्ने अवस्था भए २० प्रतिशतसम्म वर्किङ क्यापिटल थप गर्न पाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । ‘यसपालीको मौद्रिक नीतिको फोकस नै उद्यम व्यवसाय सुचारु नभएर थला परेको अर्थतन्त्रले पुनर्जीवन पाओस भन्नेमा छ, यो बेला ऋणको किस्ता वा व्याज तिर्न नसकेका कारण मेरो घर जग्गा लिलामी भयो भनेर कुनै पनि ऋणीले भन्नु नपर्ने व्यवस्था गरिएको छ,’ स्रोतले भन्यो । मौद्रिक नीतिले कर्जाको व्याज घटाउने कार्यक्रम पनि समावेश गरेको छ । कोभिड १९ सन्त्रास कम भएर परिस्थिति सहज हुने वित्तिकै कर्जाको उपभोग बढ्ने र उत्पादन बृद्धि र रोजगारी सिर्जनामा विशेष सहयोग हुने गरी नीतिगत व्यवस्था गरिएको स्रोतले जानकारी दियो । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि पनि पनि स्वीकृत गरेको छ । सो कार्यविधि पनि भोलिदेखि नै कार्यान्वयनमा आउने स्रोतको भनाइ छ । सहुलित पूर्ण कर्जा ७५३ वटै स्थानीय तहमा पुग्ने गरी कार्यविधि बनाइएकाे स्राेतले बतायाे । सो कार्यविधिमा अहिलेको जस्तो निश्चित व्यक्ति वा समूहले मात्रै पुनरकर्जा उपभोग गर्न पाउने परिस्थिति अन्त्य गरी सबै बैंक वित्तीय संस्थाका सबै शाखा कार्यालयहरु मार्फत देशभरका ऋणीले उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । संशोधित व्यवस्था अनुसार लघु वित्त संस्थाहरुले समेत पुनरकर्जा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । पुनरकर्जालाई लघु, घरेलु, साना तथा ग्रामीण उद्योग व्यवसायले पनि उपयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको स्रोतको दाबी छ । स्राेतका अनुसार सेयर धिताेमा अाधारित कर्जा पनि खुकुलाे बनाइएकाे छ । कृषि विकास बैंकलाई कृषि कर्जा प्रवाहमा प्राेत्साहित गर्ने गरी नीति बनाइएकाे छ । यस्तै, बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान थप प्रोत्साहनका कार्यक्रम मौद्रिक नीतिमा समावेश गरिएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम बैंक वित्तीय संस्थामा राख्दा एउटै बैंकले बढीमा १० प्रतिशतसम्म मात्रै निक्षेप लिन पाउने व्यवस्था छ । यस्तो व्यवस्था पनरावलोकन गरी मर्जरमा गएको बैंकले १५ प्रतिशतसम्म निक्षेप अक्सनबाट लिन पाउने सुविधा थप गरिएको छ । ‘मर्जरमा जाने बैंक वित्तीय संस्थाहरुको वर्गअनुसारको सुविधा छ, वाणिज्य बैंकबीच मर्जर भए एक प्रकारको सुविधा पाउने, वाणिज्य बैंक र विकास बैंकबीच मर्जर भए अर्काे प्रकारको सुविधा पाउने र वाणिज्य बैंक र फाइनान्स कम्पनीबीच मर्जर भए अर्काे प्रकारको सुविधा पाउने गरी प्रोत्साहनका कार्यक्रम राखिएको छ,’ स्रोतले भन्यो ।

आजदेखि घरबाटै आय विवरण बुझाउन सकिने, १० मिनेट मै करचुक्ता प्रमाणपत्र

काठमाडाैं । साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले साउन १ गतेदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।  साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो । आन्तरिक राजश्व विभागमा विहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गरे । साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिनसकिने व्यवस्था मिलाइएको छ । विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिनसक्ने जानकारी दिए । “अब साना करदाताले घरमै बसेर आय विवरण र कर बुझाउन सक्नेछन्, यसबाट साना करदातालाई निकै फाइदा भएको छ”, उनले भने । यसअघि साना करदाताले आय विवरण बुझाउन आफू दर्ता रहेकै आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय धाउनुपर्ने अवस्था थियो । मुलुकको सबै भूभागमा कर कार्यालय वा करदाता सेवा कार्यालय नहुँदा साना करदाता सरकारलाई तिर्नुपर्ने करभन्दा बढी रकम र समय खर्चेर कर बुझाउन जानुपर्ने बाध्यतामा थिए । कर तिर्न कठिनाइ हुँदा कतिपय साना व्यवसायी करको दायरमा समेटिन सकेका थिएनन् । सरकारले चालु आर्थिक वर्षको बजेटको बजेटको बुँदा नं ३३३ मा वार्षिक रु २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने व्यवस्था मिलाइने घोषणा गरिएको थियो । बक्यौता नहरेका करदाताले पेश गरेको आय विवरणअनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंले लिन पाउने व्यवस्था गर्ने विषयलाई बजेटमा समावेश गरिएको थियो । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरिएसँगै यसबाट झण्डै पाँच लाखको हाराहारीमा रहेका साना व्यवसायी लाभाविन्त हुने जानकारी दिए । विभागले वार्षिक रु २० लाखसम्म कारोबार र दुई लाखसम्म आय भएका प्राकृतिक व्यक्तिले आयकर ऐन, २०५८ अनुसार डे०१ आय विवरण तथा कर भुक्तानी बैंकमार्फत गर्न सकिने व्यवस्था गरेको हो । कर कसरी बुझाउने ? विभागको राजश्व बुझ्ने बैंकको कर्मचारीले राजश्व व्यवस्थापन सूचना प्रणाली लगइन गरी युजरनेम र पासवर्ड तथा आर्थिक वर्ष राखी प्रणालीमा प्रवेश गर्न सकिने छ । डि०१ भौचर फारम भन्ने मेनुमा प्रवेश गरेपछि डि०१ फारममा करदता वा निजको प्रतिनिधिले पेश गरेको डे०१ आय विवरण र कर दाखिला फारम प्रविष्टि गरी कर सङ्कलन गर्नुपर्ने विभागले जनाएको छ । डे ०१ आय विवरण तथा र दाखिला फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्यरुमा उल्लेख गर्नुपर्ने छ । करदाताको स्थायी लेखा नम्बर प्रविष्टि गरेपछि प्रणालीले फारमको नाम र ठेगाना, करदाता दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय, बैंक शाखा मिति स्वचालित रुपमा देखिनेछ । आय वर्षमा क्लिक गरेपछि सो मितिसम्म करदाताले कुनकुन आय वर्षको आय विवरण पेश गर्न बाँकी रहेको छ भन्ने विवरण देखाउछ । करदाताले जुन आय वर्षको आय विवरण र कर दाखिला गर्ने हो सो वर्ष उल्लेख गरी डे०१ आय विवरण तथा कर दाखिला फाराममा उल्लेख भएबमोजिमका विवरण प्रविष्टि गर्नुपर्नेछ । एक आय वर्षमा वार्षिक रु २० लाखभन्दा बढी कारोबार भएमा वा वार्षिक रु २० लाखभन्दा कम कारोबार भएता पनि रु दुई लाखभन्दा बढी आय भएमा त्यस्ता प्रोपराइटरसीप व्यवसाय वा फर्मले यो आय विवरण पेश गर्न नपाउने हुँदा कारोबार रकममा रु २० लाखभन्दा बढी प्रविष्टि गरेमा प्रणालीले गलत देखाउनेछ । कारोबार रकमभन्दा कट्टी हुने रकम कम भएको खण्डमा मात्र करदाताको रकम कायम हुन्छ । कारोबार रकमभन्दा कट्टी हुने रकम घटाउँदा आय रकम दुई लाखभन्दा बढी हुने भएमा विवरण दाखिला गर्न सकिने छैन । एकै पटकमा एक वा एकभन्दा बढी आय वर्षको आय विवरण तथा कर भुक्तानी गर्न सक्ने गरी प्रणालीको विकास गरिएको विभागले जनाएको छ ।  रासस