विकासन्युज

नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै आजका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। नेकपाले सरकारलाईसमेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ। अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मंगलबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन्। बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।  

स्क्रब टाइफसबाट चितवनमा एकजनाकाे मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ । उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए । उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ । मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।

एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार भन्छन्: अबकाे नेतृत्वले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले जोड दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुवै उपाध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यवसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिए । उनले भने ‘नेपाल उद्योग वाणिज्य महासंघको साउन २७ गते चुनाव हुन गइरहेको छ । त्यो निर्वाचनमा व्यवसायीक व्यक्तित्व नै आउनप¥यो भन्ने मेरो भनाई हो । जसले गर्दा व्यवसायीक दुःख, सानो देखि ठूलो व्यवसायसम्मको इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छ त्यो इस्युहरु उठाउन सकोस ।’ उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताए । उनले नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्ने बताए । उनले भने ‘आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनपर्याे जसले व्यवसायीक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडिआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायीक क्षमता भएको नेतृत्व आउनुपर्छ । नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायीक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाई हो ।’ वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताए । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्ने भुमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताए । उनले अव निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताए । उनले सबै उद्योगी व्यवसायीलाई पुनरकर्जाको पहुँचमा पु¥याउन आफुहरुले काम गर्ने बताए । उनले आफु लगायत आफ्नो टिमले उद्योगी व्यवसायीको स्थिति बुझेकोले आर्थिक उन्नतीतिर लैजान कम्मर कसेर लाग्ने बताए । उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दन देखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताए । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरे । ‘मौद्रिक नीतिको आश गरेर बजेटमा चित्त नबुझेर विरोध पनि गरेका थियौं यो समग्र कुरालाई अव विर्षेर अव देशको आर्थिक उन्नतीतिर कम्मर कसरेर लाग्छौं र नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले चाहिं देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवद्र्धन देखि लिएर उत्पादन र निर्यात सम्म सम्पुर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिने इच्छा छ । हामीले त्यो प्रण पनि गरेका छौं र गर्छौं भन्ने विश्वास छ ।’ महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदैछ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

साङ्केतिक तस्विर गोरखा । पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । लगातार परेको वर्षाका कारण गोरखा–आँबुखैरेनी सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको उनले जानकारी दिए । पानी रोकिनेबित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । आइतबार पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो ।

काठमाडौंमा चल्ने अधिकांश गाडीले ५० प्रतिशत थप भाडा लिएनन्

काठमाडौं । काठमाडौं उपत्यका भित्र गुड्ने अधिकांश सवारी साधनहरुले सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बुझिएको छ । नेपाल सरकारले ५० प्रतिशत बढी भाडा लिएर गाडी चलाउन पाउने निर्णय गरेपनि धेरै यातायात व्यवसायीहरुले भने ५० प्रतिशत बढी भाडा नलिई गाडी चलाइरहेका छन् । काठमाडौंमा सबैभन्दा अगाडि सवारी साधन चलाउने सुन्दर यातायातले सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बताएको छ । सुन्दर याताषतका अध्यक्ष भेष बहादुर थापाले आफुहरुले गाडी सुरु गरेदेखि अहिलेसम्म सरकारले भनेको ५० प्रतिशत बढी भाडा नलिएको बताए । ‘सरकारले ५० प्रतिशत बढी भाडा लिन पाइने भनेर निर्णय गरेपनि हामीले त्यो ५० प्रतिशत भाडा लिएका छैनौं, पुरानै भाडा दरमा हामीले यात्रुबाट भाडा लिइरहेका छौं,’ उनले भने । उनले कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा सर्वसाधारणहरुलाई पनि धेरै समस्या भएकोले आफुहरुले भाडा नबढाएको बताएका छन् । यस्तै, काठमाडौं उपत्यकामा गुड्ने अधिकांश बस तथा टेम्पोहरुले पनि पुरानै भाडादरमा यात्रुहरुलाई बोकिरहेको बताइएको छ । विगत ३ महिनादेखि ग्यारेजमै थन्केका सवारी साधनहरु अहिले केही मात्रामा सडकमा देखिन थालेका छन् । हिजो मात्रै सरकार र यातायात व्यवसायीबीच गाडी चलाउने सम्बन्धि सहमति भएको छ । यस्तै, सोमबार बसेको मन्त्रिपषिद् बैठकले पनि एक जिल्लाबाट अर्को नजिका जिल्लामा गाडी चलाउन सकिने निर्णय गरेको छ । अब केही दिनपछि लामो दुरीका सवारी साधन पनि चल्ने सरकारले निर्णय गर्न सक्ने अनुमान गरिएको छ । कोरोना भाइरसका र त्यसपछिको लकडाउनका कारण देश मात्र होइन विश्व नै तहस नसह भएको छ । संक्रमणको भयका कारण भएको बन्दाबन्दीले जनजीवन प्रभावित भएको हो । यसले गर्दा हरेक पेशा र ब्यवसाय धरापमा परेका छन् । कोरोना र त्यसपछिको लकडाउनका कारण यातायात क्षेत्र त झनै समस्यामा परेको व्यवसायीहरूको गुनासो छ । सरकारले कोरोनाको त्रासले पुरा मान्छे नबोक्न आग्रह गरेको छ । कोरोना भाइरसको त्रासका कारण गत चैत ११ गतेबाट देशमा लकडाउन छ ।

नारायणीको बहाव ४४ वर्षको उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । जलस्रोतविज्ञ रायले भन्नुभयो, “४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव आज बिहान सबैभन्दा उच्च भएको देखिन्छ ।” जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशी पनि नारायणी नदीले खतराको तह नाघेको बताउँछन् । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ । जलविज्ञ श्रेष्ठले आज पाँचदेखि सात घण्टा पानीको बहाव यही अवस्थामा रहने बताए । भोलिबाट क्रमशः घट्दै जाने उनको भनाइ छ । पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन शुरु भएको थियो । गएको जाडो मौसम र प्रि–मनसुनको समयमा औषतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको बहाव बढ्न गएको छ । कतिपय ठाउँमा पहिरो गई नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उनको भनाइ छ । नारायणी नदीमा मस्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन् । मुग्लिनमा त्रिशूलीमा मस्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्कीमा ११८ दशमलव ७ मिलिलिटर र गोर्खामा १४५ दशमलव ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी बढी परेका कारण नारायणी नदीको बहाव उच्च भएको हो । नदी बढेसँगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तीमा पानी पसेपछि सोमबार साँझबाटै केही बस्तीलाई स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाइएको बाँधका कारण नदीको पानी बस्तीमा पस्नबाट धेरै हदसम्म जोगिएको स्थानीय बताउँछन् । नारायणीमा मिसिएको त्रिशूलीको बहाव उच्च भएर कटान गर्दा इच्छाकामनाको फिस्लिङमा दुई तले घरसहित तीन घर बगाएको थियो ।

नेकपा स्थायी कमिटी बैठक १ बजे

काठमाडौं । आज बिहान ११ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अपराह्न १ बजेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताबीच छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार बैठक दिउँसो १ बजेका लागि सरेको हो । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंकले गर्ने

काठमाडौं । अपि पावर कम्पनीले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो । यस अघि कम्पनीले ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्न गरि आय आर्जन गरिरहेको छ । कम्पनीले यहि श्रावण महिनाको दोस्रो साता भित्र १ बराबर ०.४७ को हकप्रद सेयर यहि आयोजना निर्माणको लागि आवहान गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड यस हकप्रद जारी गर्ने बिक्री प्रवन्धक रहेको छ ।