बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
काठमाडौं । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने काम भइरहेको पनि उहाँले जानकारी दिए । यस्तै मध्यहाडी(पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पुु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो । यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडकखण्डअन्तर्गत गोलञ्जोर गाउँपालिकाका बलेनी र कुखुरेटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त राजमार्गअन्तर्गत गोलञ्जोर–१ च्याकुटारबेँसीमा सडकमा खसेको पहिरो पन्छाउन डोजर पठाइएको उनले जानकारी दिए । उक्त स्थानमा पहिरो जाँदा एक घर जोखिममा परेको भनी जानकारी आए पनि घर जोखिममा नपरेको उनले जानकारी दिए । सडकमा पहिरो खसेपछि त्यस उताको सवारी साधन आवागमन रोकिएको र डोजरले पहिरो पन्छाउने उहाँको भनाइ रहेको छ । सिन्धुलीमा मनसुनको सक्रियतासँगै केही दिनदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेको र सम्भावित बाढीपहिराबाट बच्न र बचाउन प्रशासनले आग्रह गर्दै आएको उनको भनाइ छ । जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भएको र हालसम्म जनधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडाैं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ८ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ८२ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५६, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ५० जना काेराेना संक्रमित थपिएका छन् भने ६०९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ९ सय ९४ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १२ हजार ४ सय ७७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोराेना भाइरस देखिएको बताए । गौतमका अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । हाल क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
नबिल बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नबिल बैंकको २० लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । सो सम्बन्धि साउन ६ गते नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । नबिल बंैकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।
सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंकले करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकद्वारा सो संस्थालाई रू एक लाख पचास हजारको चेक हस्तान्तरण गरिएको हो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ । विगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी यस वर्ष सरल रुपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष श्री हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष श्री नारायणप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका थिए । संघको वािर्षकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरे । त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।
हिमालयन बैंकद्धारा कान्ती बाल अस्पताललाई १ लाख ४२ हजार सहयाेग
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाडौंस्थित कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९ सय ४५ रुपैयां प्रदान गरेको छ । बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थिति रहेका थिए ।
७ वाणिज्य बैंकको नयाँ व्याजदरः निक्षेपमा सबैभन्दा बढी व्याज प्राइम बैंकमा
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै ७ वटा वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । नयाँ आर्थिक वर्ष लागेसँगै व्याजदर सार्वजनिक गर्ने बैंकहरुमा ग्लोबल आइएमई, एभरेष्ट, बैंक अफ काठमाण्डू, प्राइम, सनराइज, एनसीसी र लक्ष्मी बैंक छन् । नयाँ व्याजदरमा केही बैंकले व्याज घटाएको जानकारी दिएका छन् । अहिले प्रकाशित भएका नयाँ व्याजदरमा निक्षेपमा सबैभन्दा बढी व्याज दिने सुचना प्राइम बैंकको छ । प्राइमले बचत खातामा साढे ५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ८.२५ प्रतिशतसम्म व्याज दिने सुचनामा उल्लेख छ । कर्जामा भने आधार दर (बेस रेट) मा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याजदर तय गरिने बैंकले उल्लेख गरेको छ । प्राइम बैंकको आधार दर ९.८५ छ । एनसीसी बैंकले सबै प्रकारका बचत निक्षेपमा ५ प्रतिशत व्याज दिने सुचना सार्वजनिक गरेको छ । मुद्दति खातामा भने ८.२५ प्रतिशतसम्म व्याज दिने एनसीसी बैंकले जानकारी दिएको छ । एनसीसी बैंकबाट ऋण लिदा कर्जामा भने उसको आधार दरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज तिर्नुपर्छ । उसको आधार दर १०.३६ प्रतिशत छ । लक्ष्मी बैंकले बचत खातामा ४ देखि ४.५ प्रतिशतसम्म व्याज दिने भएको छ । यस्तै, मुद्दति निक्षेपमा भने ७.२५ देखि ७.७५ प्रतिशतसम्म व्याज दिनेछ । लक्ष्मी बैंकले कर्जाको व्याज भने आधार दरमा २ देखि ५ प्रतिशत प्रिमियम थप गरेर लिने जानकारी गराएको छ । सो बैंकको आधार दर ९.२३ प्रतिशत छ । सनराइज बैंकले बचतमा साढे २ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने गरी नयाँ सुचना सार्वजनिक गरेको छ । मुद्दति निक्षेपमा भने ७.५ प्रतिशतसम्म व्याज दिने सुचनामा उल्लेख छ । सो बैंकबाट कर्जा लिदा भने आधार दरमा ५ प्रतिशतको हाराहारीमा प्रिमियम तिर्नुपर्छ । सनराइज बैंकको आधार दर ८.९५ प्रतिशत छ । बैंक अफ काठमाण्डूले बचत खातामा ३ देखि ४.५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म व्याज दिइनेछ । सो बैंकबाट कर्जा लिँदा आधारमा ५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्छ । बैंक अफ काठमाण्डूको आधार दर अहिले ८.९१ प्रतिशत छ । एभरेष्ट बैंकले बचत खातामा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिने भएको छ । सो बैंकले मुद्दति निक्षेपमा भने ६.५ प्रतिशतसम्म व्याज दिनेछ । एभरेष्ट बैंकबाट कर्जा लिदा भने आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर तिर्नुपर्छ । अहिले एभरेष्ट बैंकको आधार दर ७.९५ प्रतिशत छ । ग्लोबल आइएमई बैंकले बचत निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । यस्तै, मुद्दति निक्षेपमा भने ७.७५ प्रतिशतसम्म दिने बैंकले जानकारी गराएको छ । ग्लोबल आइएमई बैंकबाट कर्जा लिदा भने आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर तिर्नुपर्छ । अहिले सो बैंकको आधार दर ९.४१ प्रतिशत छ ।