विकासन्युज

हाम्रो फोकस सुन कर्जामा हुन्छ, १ प्रतिशत प्रिमियममा दिन्छौं: अजय मिश्र

अजय मिश्र वित्तीय क्षेत्रमा परिचित नाम हो । बैकिङ मात्र होइन, सञ्चार र शिक्षण पेशाको समेत अनुभव भएका मिश्र प्रष्ट बोल्नुहुन्छ सटिक विश्लेषण गर्नुहुन्छ । माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ डेभपलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत, जनता बैंक नेपालको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै पछिल्लो समय यूनाईटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । विगतमा उहाँले नेतृत्व लिनु भएका सबै संस्थाले व्यवसाय र नाफा विस्तार गरेका थिए । यूनाइटेडमा त्यो देख्न पाएइको छैन, कारण के रह्यो ? मौद्रिक नीतिले वाणिज्य बैंकहरुलाई साना कर्जामा केन्द्रीत हुने दवाव दिएको छ, यसले फाइनान्स कम्पनीलाई कस्तो असर गर्ला ? यहि विषयमा केन्द्रीत भई विकासन्युजका लागि मिश्रसँग गरिएको विकास वहस । यूनाईटेड फाइनान्सको असार मसान्तमा कर्जा असुली कस्तो रह्यो ? असार मसान्तसम्ममा ८८ प्रतिशत व्याज उठेको छ । राष्ट्र बैंकले असोज मसान्तसम्म व्याज उठाउन समय दिएको छ । त्यो बेलासम्म हामी ९८ देखि ९९ प्रतिशत व्याज उठाउन सक्छौं । कोभिडको असरले केही कर्जा नउठ्ने र प्रोभिजन गर्नुपर्ने अवस्था आउला । नाफा नि ? नाफा ठ्याक्कै अहिले भन्ने अवस्था छैन । तर गत वर्षको हाराहारीमा रहने अनुमान छ । व्यवसाय विस्तार कति भयो ? छैन । भारतको मुथुट फाइनान्सले लगानी गरेपछिको यूनाइटेड फाइनान्स । त्यसमा पनि तपाईले नेतृत्व गरेको कम्पनीले व्यवसाय विस्तार गर्न सकेन भन्दा केही नमिले जस्तो देखियो नि ? दुई तीन वटा एक्स्टर्नल फ्याक्टरले हामीलाई असर गर्यो । बाणिज्य बैंकहरुले माइक्रो फाइनान्समा जोड दिए, साना साना कर्जामा जोड दिए । त्यसमा पहिलो प्राथमिकतामा फाइनान्स कम्पनीहरुको ऋणि लक्षित भए । फाइनान्स कम्पनी वा विकास बैंकहरुको कर्जा तान्ने कार्यमा उनीहरुले जोड दिए । गत आर्थिक वर्षमा हामीले साढे दुई अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गर्यौं । साढे दुई अर्ब भनेको हाम्रो पोर्टफोलियोमा करिव ४० प्रतिशत विस्तार हो । त्यो पनि साढे आठ महिनामा । तर कुल कर्जाको रकम हेर्नु भयो भने २०७६ असार मसान्तमा भन्दा २०७७ असार मसान्तमा केही कमी नै भएको देख्नुहुन्छ । यसको मतलब हामीले साढे ८ महिनामा साढे दुई अर्ब नयाँ कर्जा लगानी गर्यौं, वाणिज्य बैंकहरुले त्यो भन्दा बढी कर्जा स्वाव गरिदिए । कोरोनाले गर्दा चैत दोस्रो सातादेखि हामीले नयाँ कर्जा स्वीकृत पनि गरेनौं, स्वीकृत भईसकेका पुराना कर्जा पनि निकासा हुन सकेन । साढे ८ महिनाको आर्थिक वर्ष रह्यो । यस अवधिमा ४० प्रतिशत नयाँ बिजनेस गरेका हौं । तर हामीले जति नयाँ कर्जा लगानी गर्यौं, त्यो भन्दा बढी कर्जा बाहिरिए । चालु आर्थिक वर्षमा पनि समस्या छ । साउन २ गतेदेखि ८ गतेसम्ममा पनि यस फाइनान्सको धेरै कर्जा बैंकहरुले तानिसके । अहिले पनि हाम्रो बेसरेट ११ प्रतिशत छ । मैले दिने कर्जाको व्याज स्वभाविक रुपमा १३ प्रतिशत हुने भए । वाणिज्य बैंकहरुले ८ देखि ९ प्रतिशत व्याजमा कर्जा दिने विज्ञापन सञ्चार माध्यमहरुमा आईरहेका छन् । उनीहरुको पनि फोकस साना कर्जामा छ । ग्राहकले पनि जहाँ सस्तो छ, त्यहाँ जाने प्रयास गर्नु स्वभाविक हो । त्यसैले एउटा पकेटमा हामीले थप्दै गएका छौं, अर्को पकेटबाट चुहिँदै गएको अवस्था हो । निक्षेप फालाफाल छ । आएको पैसा हामीले लिनैपर्छ । व्याज घटाएर निक्षेपकर्तालाई डिस्करेज गरिरहेका छन् सबै बैंक तथा वित्तीय संस्थाले । साउनदेखि वाणिज्य बैंकहरुले कल एकाउन्टको व्याजदर शून्यमा झारेका छन् । हामी फाइनान्स कम्पनीले कल एकाउन्टमा १ प्रतिशत व्याज दिएका छौं, तैपनि पैसा र्यालछ्याल छ । वित्तीय बजारमा कर्जा लगानी योग्य रकम ३ खर्ब छ । तपाईले भनेको एउटा कुरा साँचो हो कि विगतमा मैले समालेका संस्थाहरुको ग्रोथ राम्रो थियो । ग्रोथ देखाउन नसकेको, नदेखिएको यो पहिलो पटक हो । आफूले नेतृत्व गरेको संस्थाको व्यवसाय विस्तार गर्न नसक्दाको अनुभव कस्तो भईरहेको छ ? चित्त दुख्दो रहेछ । असन्तोष बढ्दो रहेछ । मैले गर्न सकिन कि भन्ने फिलिङ आउदो रहेछ । यसले मलाई पनि केही अन्यौल महशुस भएको छ । तर इन्ड अफ द डे, हामीले इमान्दारीपूर्वक प्रयास गर्यौं कि गरेनौं भनेर समिक्षा गर्नुपर्छ । समिक्षा गर्दा पूर्ण सन्तुष्ट हुने ठाउँ छ । साढे आठ महिनामा ४० प्रतिशत नयाँ कर्जा प्रवाह हुनु भनेको आफैमा ठूलो काम हो । तर बाह्य कारणले त्यसको रिफ्लेक्ट आएन । व्यवसाय विस्तार भएन भनेर सञ्चालक समितिको दवाव कत्तिको आएको छ ? असन्तुष्टि कत्तिको आएको छ ? अहिलेसम्म ठ्याम्मै छैन । असार मसान्तको अवस्था के भयो भनेर मैले सञ्चालक समितिलाई जानकारी गराईसकेको छु । आउने योजना के छ ? बोर्डलाई जानकारी गराएको छु । हाम्रो बोर्डमा सबैजना प्रोफेसनल्ली व्यवसायी हुनुहुन्छ । व्यवसायको इिन्टीग्रिटी राम्ररी बुझ्नुहुन्छ । कर्मचारीले प्रयास गरेका छन्, नयाँ ऋण प्रवाह भएको छ, नयाँ ग्राहक थपिएका छन् । तर एक्स्टर्नल फोर्सले गर्दा समग्रमा नतिजा राम्रो आएन । कोरोनाका कारण पछिल्लो ४ महिना व्यापार ठ्याम्मै भएको छैन, त्यो पनि उहाँहरुले बुझ्नु भएको छ । ऋणिहरु समस्यामा छन्, त्यो पनि बोर्डले बुझेको छ । बरु उहाँहरुले के निर्देशन दिनु भएको छ भने कठिन अवस्था भएकोले ऋणिहरुलाई जतिसक्दो राहत दिनु । राष्ट्र बैंकले २ प्रतिशत व्याज छुट दिनु भनेकोमा सञ्चालक समितिले हायरपर्चेजका ऋणिहरुलाई १ प्रतिशत थपेर ३ प्रतिशत छुट दिनु भन्नु भएको छ । तपाईलाई जानकारी गराउँ, हामीले कोभिड-१९ पछि २ करोड १८ लाख रुपैयाँ व्याज छुट दिएका छौं । धेरै बैंकले छुट दिन बाँकी छ, हामीले दिईसक्यौं । आफ्ना ग्राहकलाई बाणिज्य बैंकहरुले तानिरहेको समस्याको समाधान के हो ? हामीले बेसरेट घटाउनेतर्फ मिहेनत गर्नुुपर्छ । फाइनान्स कम्पनीको ११ प्रतिशत बेसरेट खराब होइन । १० प्रतिशतभन्दा बढी बेसरेट भएको बाणिज्य बैंकहरु पनि छन् । उनीहरुलाई पनि हाम्रो जस्तो समस्या होला । जुनदिन हाम्रो बेसरेट ८/९ प्रतिशत हुन्छ, हामीले लिएको कर्जाको व्याज बाणिज्य बैंकको भन्दा एक/डेढ प्रतिशत मात्र फरक पर्छ, त्यो दिन हाम्रा ग्राहक बाणिज्य बैंकमा जाँदै जादैनन् । किनकी ग्राहकले ठूलो संस्थामा भन्दा सानो संस्थामा सहज राम्रो सुविधा पाएका हुन्छन् । यस परिवेशमा फाइनान्स कम्पनीहरु कसरी टिक्न सक्छन् त बजारमा ? चाहे विकास बैंक हुन्, चाहे फाइनान्स कम्पनी हुन्, साना संस्था क्रमशः सकसमा पर्दै जान्छन् । ठूला बैंकहरु रिटेल कर्जामा आए । ५० हजारको ल्यापटप वा मोवाइल किन्न पनि बैंकहरुले फाइनान्स सुविधा दिन थाले । किनकी यहाँ इल्ड बढी छ । साना संस्थाको कष्ट बढी भएकोले इल्ड कम भयो । नीतिगत संरक्षण छैन । जसरी पूर्वाधार विकास बैंकको लागि निश्चित रकम भन्दा कमको कर्जा लगानी गर्न नपाइने, निश्चित रकम भन्दा कम निक्षेप लिन नपाउने भनेर वाणिज्य बैंकहरुको बजार संरक्षण गरियो, त्यसरी नै वाणिज्य बैंकहरुलाई १५ लाख रुपैयाँ भन्दा कम कर्जा लगानी गर्न रोक लगाएको भए जिल्ला स्तरीय विकास बैंक तथा वित्त कम्पनीहरुको बजार संरक्षित हुने थियो । यस्तो संरक्षण जरुरी पनि छ । किनकी वित्तीय समावेशिताको लागि, वित्तीय साक्षरता र पहुँच वृद्धिका लागि साना वित्तीय संस्थाले खेलेको भूमिका हामीले बिर्सेका छैनौं । पूर्वाधार विकास बैंकबाट वाणिज्य बैंक जोगाउने राष्ट्र बैंकले वाणिज्य बैंकबाट फाइनान्स कम्पनीलाई जोगाउने नीति लिइदिएको भए एक लाख रुपैयाँको कर्जा प्रवाहको लागि वाणिज्य बैंक र फाइनान्स कम्पनीबीच प्रतिस्पर्धा हुने थिएन । अहिले नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत १ करोड रुपैयाँ भन्दा सानो रकमको कर्जा कुल कर्जाको १५ प्रतिशत हुनैपर्छ भनेको छ । अब बैंकहरुले फेरी पनि विकास बैंक र फाइनान्स कम्पनीको ग्राहक तान्ने भए । हामीले स्क्रीनिङ गरेर, ट्रेन एण्ड टेष्ट गरेका र हुर्काएका ग्राहक बैंकहरुले तान्ने भए । बैंक ८ प्रतिशतको अफर लिएर जान्छ, हामी १३ प्रतिशतको अफर लिएर जान्छौं । यो अवस्थामा ग्राहकले त वाणिज्य बैंक रोज्ने नै भयो । फाइनान्स कम्पनीहरु कसरी टिक्ने ? साना संस्था, जसको बेसरेट बढी छ, उनीहरुको लागि आगामी दिन थप चुनौतिपूर्ण बन्दै जानेछन् । यूनाइटेड फाइनान्सको नयाँ योजना के छन् ? अब हामी नयाँ शाखा खोल्दैनौं । यो वर्ष ६ महिना विजनेश ग्रोथ हुने सम्भावना छैन । ठूलो कर्जा वाणिज्य बैंकले ताने । हामी रिटेल कर्जामा जान्छौं । हाम्रो फोकस सुन कर्जामा हुन्छ । मुथुट फाइनान्स हामीसँग भएकोले यसतर्फ अरु एक्पर्टीज छ । हामी सुन कर्जालाई सहज बनाउछौं । व्याज कम गर्छौ । बेसरेटमा एक प्रतिशत मात्र प्रिमियम लिन्छौं । लगानीकर्ताले के पाउँछन् ? २५ वर्षको इतिहासमा यूनाईटेड फाइनान्सले हरेक वर्ष लाभांश दिएको छ । यस वर्षपनि लगानीकर्ताको हात खाली राख्दैनौं । यस फाइनान्सको सेयर मूल्य पनि स्थीर छ, कारोबार पनि कम छ । यसको अर्थ लगानीकर्ता कम्पनीको पर्फमेन्सबाट सन्तुष्ट छन् नै भन्ने देखाउँछ । समग्रमा कोडिभको असरले बैंक फाइनान्सको लाभांशमा कस्तो असर पर्ला ? करिब २० प्रतिशतले घट्छ । हिजो २० प्रतिशत लाभांश दिनेले अहिले १५ प्रतिशत लाभांश दिन सक्छ । विगतमा ३० प्रतिशत दिनेले अहिले २२/२४ प्रतिशत देलान् । मौद्रिक नीतिलाई कसरी हेर्नु भएको छ ? मौद्रिक नीतिको आफ्नै सीमा छन् । त्यो सीमाभित्र रहेर यो भन्दा उत्कृष्ट मौद्रिक नीति आउन सक्दैन थियो । वाणिज्य बैंकहरुलाई साना कर्जा लगानी गर्न राष्ट्र बैंकले दिएको नीतिगत दवावले फाइनान्स कम्पनीहरुको स्कोप झन प्रतिस्पर्धी बनाएको छ । यसले फाइनान्स कम्पनीहरुलाई गाह्रो बनाएको छ । तर कोडिभ-१९ को प्रभाव, समग्र वित्तीय क्षेत्र र व्यवासायी सबैलाई मिलाएर हेर्दा यो भन्दा उत्कृष्ट मौद्रिक नीति आउन सक्दैन थियो । यसले सबैलाई छुट दिएको छ । ऋणिलाई सावा व्याज तिर्न ९० दिनदेखि २ वर्ष समय छुट दिएको छ । व्याज छुट दिइएको छ । कर्जा पुर्नसंरचना, पुर्नतालिकीकरण गर्ने सुविधा दिइएको छ । ३ देखि ५ प्रतिशत व्याजमा ठूलो मात्रामा कर्जा दिने सुविधा दिइएको छ । बैंकहरुको व्यालेन्ससिटमा नेगेटिभ असर नपरोस् भनेर थप ९० दिन कर्जा उठाउने समय दिएको छ । प्रोभिजनको व्यवस्था पनि कम गरिएको छ । बैंकको नाफा पनि हुने भयो । सरकारले कर पनि पाउने भयो । तर एउटा चिज भएन । आम निक्षेपकर्ताले पाउने व्याजमा नकारात्मक असर पारेको छ । मौद्रिक नीतिले एक अंकमा कर्जाको व्याजदर झार्ने नीति लियो । अब मुद्रास्फितिदर भन्दा निक्षेपको व्याजदर कम हुन्छ । निक्षेपकर्तालाई मार पर्छ । अब मुद्दतिको व्याज ७ प्रतिशतभन्दा कम हुन्छ । बचतमा ४ प्रतिशत हुन्छ । औषतमा निक्षेपकर्ताले ५ वा साढे ५ प्रतिशत पाउँछन् । जबकी मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । निक्षेपकर्तासँग अबको विकल्प के छन् ? विकल्प छैनन् । केही पैसा सेयर बजारमा जाला । सेयर बजारलाई केही सकारात्मक असर पर्ने नीति आयो । मार्जिन ल्याण्डिङको सीमा ७० प्रतिशत पुर्याइएको छ । औषत मूल्य गणना १८० बाट १२० दिनमा झारिएको छ । बजारमा पैसा फालाफाल छ । व्याज घटेको छ । यसले सेयर बजारमा सकारात्मक असर पर्न सक्छ । बैंकबाट निक्षेप झिक्नेको लागि सेयरबजार बाहेक अर्को विकल्प छैन । रियलस्टेट क्षेत्रलाई मौद्रिक नीतिले केही पनि दिएन । अहिले पनि बैंकहरुले सबैभन्दा बढी व्याज लगाइने कर्जा हो रियलस्टेट कर्जा । त्यसैले घरजग्गामा पैसा कम जान्छ । कर्जाको माग कस्तो होला ? कात्तिकसम्म कर्जाको माग नबढ्ला । कोरोना प्रकोप, भर्खरै लकडाउन खुलेको, पुरानो स्टक बाँकी रहेको, नयाँ माग कम भएको अवस्था, सीमापारीको व्यापार सहज नभएको अवस्था, विश्वभर मन्दीको अवस्था, मनसुनको कारण विकास निर्माण रोकिएको अवस्था, विकास निर्माणमा सरकारी बजेटको विनियोजन नै कम हुनु जस्ता कारणले चालु आर्थिक वर्षको प्रथम ६ महिना आर्थिक गतिविधि बढ्नेवाला छैन । कोरोनाको प्रभाव कम हुँदै गयो, खोप वा औषधिको विकास भयो भने तेस्रो क्वाटरमा गएर कर्जाको माग धेरै बढ्नेछ ।

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध

ललितपुर । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो । गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछाैँ ।” यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरे ।

हिमालयन बैंकले ल्यायो ११ प्रकारका विशेष कर्जा योजना, सेयर धित्तो कर्जा ९.८९ प्रतिशतमै

काठमाडौं । हिमालयन बैंकले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ११ प्रकारका विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ प्रतिशत व्याज दरमा विभिन्न छ प्रकारका र ९.८९ प्रतिशत व्याज दरमा पाँच प्रकारका सहज-सरल विशेष कर्जा योजना सार्वजनिक गरेको हाे । बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । त्यसैगरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै, बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । दश वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने छ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनु हुनेछ । ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् । हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

डिन कार्यालयमा नेविसंघले लगायो ताला

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ। नेविस‌ंघले बारम्बार राखेका मागहरु सम्बाेधन नभएकाे भन्दै विद्यार्थीले ताला लगाएकाे हाे । आईतबार विज्ञप्ती जारी गर्दै नेविसंघले ताला लगाएको जनाएकाे छ । विश्वविद्यालयले तारे हाेटलमा बसेर आर्थिक लेनदेन गरी नियुक्त गरेकाे संघकाे आराेप छ ।

सुनको भाउ ताेलाकाे ९६ हजार तीन सय, हालसम्मकै उच्च

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई ९६ हजार तीन सय पुगेकाे हाे । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थागत रुपमा लाखौं लगानीकर्तालाई झुक्याएको छ । साथै, व्यवसाय विस्तार, नीति नियमको परिपालना, संस्थागत पारदर्शिताको काम काम छोडेर संस्थागत रुपमा सेयर मूल्यमा चलखेल गर्ने र अस्वभाविक लाभ लिने खेलमा कम्पनी लागेकाे जानकारहरुले बताएका छन् । आवश्यकता र औचित्य विना नै आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आर्जन गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय सार्वजनिक गरेसँगै कम्पनी व्यवस्थापन र सञ्चालक समितिको नियत माथि धेरै प्रश्न उठेका छन् । कम्पनीले विगत दुई आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गर्न सकेको छैन । लेखापरिक्षण भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छैन । गत आर्थिक वर्ष २०७६/७७ को त्रैमासिक रिपोर्टहरु नियमित सार्वजनिक गर्न सकेको छैन । गैर कानुनी रुपमा तीन जना मात्रको सञ्चालक समितिले कम्पनी चलाईरहेको छ । कम्पनी ऐनले पब्लिक कम्पनीमा ५ जना संचालक हुनुपर्ने व्यवस्था गरेको छ भने बीमा ऐनले बीमा कम्पनीमा ७ जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ । तर पुर्नबीमा कम्पनीमा त्यसको पालना भएको छैन । सरकारले नियुक्त गरेका २ जना र बीमा कम्पनीको तर्फबाट एक जना मात्र सञ्चालक समितिमा छन् । कामु अध्यक्षको जिम्मेवारी पाएका सञ्चालक पुरुषोत्तम सुवेदीले कम्पनीको वेवसाइटमा कामु हटाएर अध्यक्ष लेखाएका छन् । सञ्चालक समितिमा बस्ने अधिकार नभएको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी बोर्ड घुसेका छन् । यसले बनेको अनाधिकृत बोर्डले सेयर मूल्यमा चलखेल गर्ने प्रकृतिको निर्णय गरेपछि लगानीकर्ता त्रसित भएका छन् । साउन ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णय भन्दै यस कम्पनीले नेपाल स्टक एक्चेञ्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ । त्यसमा आव २०७५/०७६ को वित्तीय विवरणमा सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश केही पनि नदिने निर्णय गरेको छ । यस कम्पनीले पाँच महिनाअघि मात्र सर्वसाधारणमा सेयर निष्काशन गरेर १ अर्ब ६० करोड रुपैयाँ उठाएको थियो । साधारण सेयर निष्काशन गर्दा सर्व साधारणको लागि निष्काशन गरेको आह्वान पत्रमा बीमा समितिको निर्देशन अनुसार कम्पनीले विगत ५ वर्षदेखि आर्जन गरेको नाफा वितरण नगरिएको र लाभांश आगामी आ.व.मा वितरण गरिने उल्लेख गरेको छ । ‘कम्पनीले झुक्यायो । यो सरासर बदमासी हो । वित्तीय अपराध हो’ गोर्खा जिल्ला घर भई हाल काठमाडौंमा व्यवसाय गर्दै आएका प्रियराज खनालले भने- ‘सरकारी लगानी भएको कम्पनीले यसरी झुक्याउला भनेर परिकल्पना नै गरेको थिईन ।’ यस कम्पनीमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ सरकारको लगानी छ भने बीमा कम्पनीहरुको ३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ लगानी छ । पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय गरेको कामु अध्यक्ष पुरुषोत्तम सुवेदीले बताए । यो लगानीकर्तालाई किन नभनेको त ? भन्ने प्रश्नमा सुवेदीले विवरण पत्रमा उल्लेख गरेको दावी गरे । विपरणपत्र पुरै पढ्दा उनले झुटो बोलेको प्रमाणित भयो । पुर्नबीमा कम्पनीले दुई वर्षदेखि किन साधारणसभा गरेको छैन ? भन्ने प्रश्नमा उनले कोभिड-१९ लाई दोष दिए । त्रैमासिक रिपार्ट किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा उनले बिर्सेको बताए । ‘पत्रिकामा त छापेका थियौं । कम्पनीको वेवसाइटमा राख्न बिर्सिएछ । भोलि सीईओलाई भन्छु म’ उनले जवाफ दिए । सेयरधनीलाई लाभांश दिने अन्तिम निर्णय गर्ने अधिकार साधारण सभालाई हुन्छ । तर कम्पनीले २ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन । कम्पनीले साधारण सेयर बाँडफाँड रेकर्ड अनुसार ३ लाख ९० हजार ६ सय ३८ जनाको लगानी रहेको छ । उनीहरु सबैलाई मूर्ख बनाउने काम कम्पनीले गरेको प्रष्ट देखिएको छ । बीमा समितिको सुशासनको निर्देशिका पालाना गर्नु पर्ने भएकोले सेयरधनीलाई लाभांश रोक्नु परेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए । लगानीकर्तालाई जानकारी दिन प्रकाशित गरिएको विवरणमा उल्लेख गर्नु पर्छ कि पर्दैन भन्ने विकासन्युजको प्रश्नमा सीईओ रायमाझीले भने ‘बोर्डलाई बुझाएको विवरणमा उल्लेख गरे नगरेको मलाई जानकारी छैन । तर बीमा समितिको स्ट्याण्डबाई अडर ५ वर्षसम्म बोनस तथा नगद लाभांश दिन नपाउने भन्ने छ, उक्त निर्देशन कार्यान्वयन हुन्छ’ उनले ठाडो जवाफ दिए । कम्पनीले २०७१ साल ९ महिना ७ गतेदेखि कारोबार शुरु गरेको हो । कम्पनीले आव २०७२/७३ मा ३३ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आव २०७३/७४ मा ६२ करोड १० लाख २० हजार, आव २०७४/७५ मा एक अर्ब ७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, कम्पनीको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आव २०७५/७६ मा एक अर्ब ६१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । आव २०७६/७७ मा एक अर्ब ८८ करोड र २०७७/७८ मा एक अर्ब ४३ करोड रुपैयाँ नाफा कमाइने कम्पनीको प्रक्षेपण रहेको छ । सञ्चालक समितिले लाभांश नदिने निर्णय गर्नुको पछाडि कम्पनीको बढ्दो सेयर मूल्य घटाएर किन्ने स्वार्थ समूहको प्रभाव पनि हुन सक्ने अनुमान पनि लगानीकर्ताको छ । गत बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५४५ रुपैयाँमा किनबेच भएको छ ।

निर्मला हत्या प्रकरणका दुई वर्ष: नतिजा शून्य

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि देशभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसकेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसमम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जना निलम्बल गरेको थियो । हाल प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताए । “विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेकै छ”, उनले भने, “प्रहरीले दोषी पत्ता लगाएर छाड्छ ।” घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएर आउने हरेक प्रहरी नायब उपरीक्षकलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ । निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन् । “हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ ।” निर्मलाकी आमा दुर्गादेवी पन्तले भने, “अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।” उनले पछिल्लो समय भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्टका गतिविधि र कुराबाट आफूलाई शङ्का लागेर विष्टमाथि किटानी जाहेरी दिएको बताए । “सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी दायरामा ल्याउने काम प्रहरीको हो”, पन्तले भने, “अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिए । “निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छाैँ ”, उनले भने, “हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्मरूपले अनुसन्धानमा जुटेका छौँ ।” पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । घटना भएको एक महिनापछि विसं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए । निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको भने अझै केही युवक शारिरीकरूपले नै अशक्त छन् । भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डिआइजीहरु र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन । मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार सङ्गठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । शुरुआतमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए । प्रकरणको दुई वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसकेको प्रहरी स्रोतले जनाएको छ ।

पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ। ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन। ‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने। पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए। अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।