रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधाणमा सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन ११ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदनका साथ आर्थिक वर्ष २०७४७५ का वित्तीय विवरण पारित गरेको छ । २०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् ।
महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो । महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।
दराजले ल्यायो महाबचत बजार अभियान, सामान खरिदमा विशेष छुट पाइने
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन गतेसम्म लागू हुनेछ । यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका हरेक सामानमा भारि बचत गर्न सक्नेछन् । यसबाहेक, ग्राहकहरूले इसेवा मार्फत थप २० प्रतिशत (एक हजार रुपैयाँसम्म) र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्ड मार्फत प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत ( २ हजार रुपैयाँसम्म) छुट पाउन सक्छन् । यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्नेछन जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा छ । अर्को ठुलो पुरष्कार भनेको आईफोन एसई रहेको छ जुन इसेवा र दराज द्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिन्छ । यस गेम मार्फत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर। अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हर्लपूल र अधिकको अभियानमा सहभागी बनेका छन् र अतिरिक्त भाउचरका साथ र ठूलो मूल्य कटौती पनि दिँदैछन् । “शपिंग हालसालैका विश्व घटनाहरू पछि सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि शपिंगमा रमाइलोपन ल्याउन चाहन्छौं। हामी केवल सुविधा र सहजता मात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरू, अनलाइन गेमहरु खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने । हालका तथ्यांकले देखाउँदछ कि यस अभियानमा १ लाख भन्दा बढी ग्राहकहरू भाउचर र अफरहरु हातपार्न एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसैले दाराजले आफ्ना प्रयोगकर्ताहरूलाई फोनमा दराज नोटिफिकेसन खोल्न, र किन्न चाहेका वस्तुहरू कार्टमा अभियान अघिनै हाल्न सल्लाह दिंदै आएको छ।
हिमालय एयरलाइन्सद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो एयरलाइन्सले आम्दा अस्पताल, दमक र सिसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी०, गुल्मीलाई पिसीआर उपकरण हस्तान्तरण गरिएको जनाएको छ । शनिबार पनि एरलाइन्सले पिसीआर ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थानमेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सिसिएमसी गुल्मीलाई प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजयश्रेष्ठले संयुक्तरुपमा सिसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरैका कम्पनीले विज्ञप्तिमा जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सङ्कटको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यर्कीलाई बचाउन मद्दत गर्ने बताए । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडिटी किट, १०० थान पिपिइ सेट, ५०० थानएन ९९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेकाे कम्पनीले जनाएको छ । स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा अध्यक्ष झोउले महामारीका समयमा केही हदसम्म सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै व्यावसायिकता र सामाजिक दायित्वलाई एकसाथ अघि बढाइने बताए । हिमालयले सरकारको कोभिड–१९ कोषमा रु एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।
कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आज सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर पुनःसुनुवाइ हुन लागेको हो । सो फैसलापछि कोइराला यही साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए । पूर्वडिआइजी कोइरालाले २०६८ सालमा पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो । पुनरावलोकनको अनुमति पाएको हुनाले उक्त मुद्दामा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ ।
पृथ्वीराजमार्ग क्षतविक्षत
चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले बगाएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । मौवा खोलामा यही साउन ५ गते बिहान सडक बगाएपछि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षात्ले निकै नोक्सान पुगेको अधिकारी बताउँछन् । उनले भने, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ । पहिरो खसेको, धसिएको ठाउँ, बगाएको सडकलगायतका क्षेत्रमा कालोपत्रमा नोक्सानी भएको छ । छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उनको भनाइ छ । क्षतिको विवरण सङ्कलन गरेर लगत अनुमान तयार गरी प्रक्रियामा अघि बढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारी बताउँछन् । सो सडक खण्ड बिस्तारका लागि विश्व बैंकको सहयोगमा परियोजना अघि बढेकाले धेरै खर्च गर्ने पक्षमा सडक विभाग छैन । अधिकारीले भने, “अत्यावश्यक काम मात्र हामी गर्छौं ।” सो सडकखण्डमा छदेखि सात मिटर फराकिलो कालोपत्र रहेको छ । अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्कोतर्फ त्रिशूली नदी पर्दछ । यस्तै सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिन सडकको चार किलो र १६ किलोमा पटकपटक पहिरो खस्दा समस्या हुने गरेको छ । दुई वर्षअघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो । दुवै ठाउँमा अझै दुईतर्फी सडक सञ्चालन हुन सकेका छैनन । यस सडकखण्डमा पनि ठाउँठाउँमा साना पहिरो खस्दा क्षति पुगेको छ । सडकमाथिको डाँडामा ग्रामीण क्षेत्रमा बनाइएका बाटामा पानी एकीकृत भएर एकै ठाउँबाट खस्दा मूल सडकमा क्षति पुगेको अधिकारी बताउँछन् । यससँगै वर्षात् बढी भएकाले सडकमा नोक्सान गरेको उनको भनाइ छ ।
पूर्वी चितवन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं । पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हेटौडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । ‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ’,कार्यकारी निर्देशक घिसिङले भने । ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको संचालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’ उनले सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने बताए । अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने,ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ । नेपाल सरकाको लगानीमा राप्ती नगरपालिका-६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको आर्थिक वर्ष २०७२/०७३मा सुरु भएको थियो । गत चैतभित्रमा संचालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ । दमक र बर्दघाट सबस्टेसनको क्षमता बढाइयो नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरुको क्षमता बढाएको छ । दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट संचालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । त्यहाँ अहिले ३० एमभीएको ट्रान्सफर्मर थियो । अब नयाँ थप गरिएपछि ट्रान्सफर्मको क्षमता ९३ एमभीए पुगेको छ । अब दमक क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय हुने चौधरीले बताए । यसैगरी, नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२/११ केभी, २२।५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२।५ एमभीएको राखिएको हो । त्यहाँ २२।५ र ७ एमभीएका ट्रान्सफर्मर थिए । अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै
काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ । समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए । सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो । यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उनीहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो । निजहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ । समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ । काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् ।