नेपालमा २४ घण्टामा १ सय ९ जनामा काेराेना देखियाे
काठमाडाैं । नेपालमा २४ घण्टामा १ सय ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ सय ९ जनामा कोरोना देखिएको हो । याेसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ भने हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।
काेभिड-१९ सङ्क्रमितमा लक्षण देखिन थाले
काठमाडौं । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् । उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।” लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उनले भने, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताए । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उनले भने, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।” उनका अनुसार अहिले अस्पतालमा १५ जना सङ्क्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् । अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् । ती सङ्क्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । तीमध्ये ५४ लाख ७५ हजार १६३ जना (३४.९ प्रतिशत) सक्रिय सङ्क्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल सङ्क्रमितको ४.१ प्रतिशत हो । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् । जुन निको हुने ६१ प्रतिशत हो ।
रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न
काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उनलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उनलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो । रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिए । वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा रहेको भाष्करप्रसाद अमात्यले बताए । उनले भने, “उनलाई पुल्चोकबाट गाःबहाल हिँडाउनुपूर्व र त्यहाँबाट अन्य स्थानमा हिँडाउनुपूर्व पनि मृदङ्ग भजन पाठ गर्नुपर्ने हुन्छ ।” मच्छिन्द्रनाथलाई हरिहरका अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको अमात्यले जानकारी दिए । करुणावतारलाई रथारोहण गराउन लादा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए । रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको, यो साइतमा रथारोहण नगरिएन तत्काकालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउनु नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने ज्योतिषी जोशीले बताए । उनले भने, “ललितपुरमा रहेका धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाको पहलमा रथारोहण सम्पन्न गरियो ।” लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोलले बताए । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यसपटकको रथारोहणमा कोभिड–१९ सङ्क्रमणको बेवास्ता गरी हजाराँै मानिस रथारोहणमा उपस्थित भएका थिए । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । भोटोजात्राको कथा किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागका राजा कर्काेटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥यो” भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिइ सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एकछिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधिअनुसार नै रथ निर्माण गर्ने गरिएको छ । मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ । रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ । रथ बत्तीस लक्षणले युक्त मानिन्छ । रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतीस्वरुप मानिने ८३ वर्षीय ञ्वाँल आशालाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यी चार भैरवहरुमा हयसिद्ध, हयग्रीव, लुप्त संहार (लुइता संहार) र लुभूको नन्दकुण्ड हुन् ।” रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ । घःमालाई कर्काेटक नागका रुपमा मानिएको छ । यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ । रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्काेटक नागराजको शिखा बिघ्नातक भैरवलाई आह्वान गरिन्छ । रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सिधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ । यसरी तान्ने डोरीलाई थरिथरि नागका रुपमा मानिने सिद्धिबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दायाँ जगलाई वासुकी नाग र बायाँ जगलाई शेषनागका रुपमा मानिन्छ ।” रथमा मच्छिन्द्रनाथको पछाडि रक्तवर्ण बोधिसत्व स्थापना गरिन्छ । यसलाई महादेव वा शिवको प्रतीकका रुपमा मानिने महर्जनले बताउनुभयो ।
अझै हस्तान्तरण हुन सकेन दरबार हाई स्कूल
काठमाडौं । निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म स्कूल हस्तान्तरण हुन नसकेको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठा रहेको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीका अनुसार निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको हो । निर्माण सम्पन्न भए पनि के कसरी निर्माण सम्पन्न भएको छ भनेर चिनियाँ टोलीको अवलोकनपछि मात्र हस्तान्तरण गर्नुपर्ने र अहिलेको अवस्थामा विदेशबाट आवतजावत गर्न समस्या भएकाले विद्यालय निर्माण सम्पन्न भएको छ । महिनासम्म पनि हस्तान्तरण हुन नसकेको व्यवस्थापक केसीको भनाइ छ । कोरोना भाइरसका कारण गत चैतको पहिलो सातादेखि बन्द रहेको आन्तरिक र बाह्य उडान आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेकाले त्यसपछि हस्तान्तरण प्रक्रियामा जाने बताइएको छ । विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको उक्त स्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउनमा भएको हो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढ्न पाउने भएका थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको थियो । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी तथा चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र सो विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ ।
वर्षाले कृषि बालीमा क्षति, तरकारीको मूल्य बढ्यो
भरतपुर । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताए । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पु¥याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताए । डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिए । महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ । यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताए । जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताए । विशेष गरी मकै बालीमा क्षति पुगेको उनले जानकारी दिए । ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताए । क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताए । उनले भने, “बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ ।” भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताए । उनले भने’, “वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ ।” भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताए । भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताउनुभयो । “भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो”, उनले भने । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ । तरकारीको मूल्य बढ्यो जिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए । उनले भने, “धादिङ, मकवानपुर, भक्तपुरलगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।” त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताए । उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए । उनले भने, “बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ ।” उनका अनुसार लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन् । उहाँले १० क्विटल आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताउनुभयो । चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ । निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जानकारी दिए । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनले बताए ।
राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी
काठमाडौं । सनराईज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच विवाद भएको छ । ५ महिना लामो विवाद उत्कर्षमा पुगेपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग राजीनामा मागेको छ । सञ्चालक समितिले सहमतिको आधारमा राजीनामा गर्न प्रमुख कार्यकारी अधिकृत पौड्याललाई सुझाव दिएको थियो । सञ्चालक समितिले सीईओ पौड्याललाई कार्यकाल पूरा हुनु अघि नै छोड्दा नियमअनुसार पाउने सुविधा लिएर राजीनामा गर्न भनेको थियो । तर पौड्यालले राजीनामा दिन अस्वीकार गरेपछि सञ्चालक समितिले उनीसँग ६ बुँदे स्पष्टिकरण सोधेको छ । ‘विहीबार स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण बुझाउन ५ दिनेको समय दिइएको छ । सोमबारसम्म स्पष्टीकरण पेस गर्नुपर्ने छ’ स्रोतले भन्यो । स्रोतका अनुसार सञ्चालक समितिको पूर्ण बैठकमा पौड्याललाई बोलाएर विवादका विषयमा छलफल भएको थियो । छलफलमा पौड्याल निकै आक्रामक ढंगले प्रस्तुत भएका थिए । त्यसपछि उनीलाई राजीनामा गर्न सबैले सुझाव दिए । तर पौड्यालले राजीनामा गर्न अस्वीकार गरे । उनले आफूलाई हटाउने निर्णय लिएमा नेपाल राष्ट्र बैंकको सहयोग लिने र अदालतसम्म जाने चुनौति दिए । त्यसपछि उनी सञ्चालक समितिको बैठकबाट बाहिरिए । पौड्यालले बाेर्डलाई चुनौति दिएपछि सञ्चालक समितिको बैठकले सर्वसहमतिमा प्रमुख कार्यकारी अधिकृतसँग प्रष्टीकरण लिने निर्णय लिएको स्राेतले बतायाे । ‘सञ्चालक समितिको निर्णयसहित अध्यक्ष मोतिलाल दुगडको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको छ । स्पष्टकरणको पत्र बुझ्न नमानेपछि विहीबार नै पौड्याललाई इमेल गरिएको छ । इमेल गरेको विषय पौड्यालको मोवाइलमा एसएमएस गरेर जानकारी दिइएको छ’ स्रोतले बतायो । ‘सोमबारसम्म सीईओ पौड्यालले कि स्पष्टीकरण दिनुहुन्छ कि राजीनामा दिनुहुन्छ’ स्रोतले भन्यो । बाेर्डले साेधेकाे प्रष्टीकरणकाे सामना कसरी गर्ने भनेर शुक्रबार दिनभर पाैड्यालले आफ्ना सहयाेगिहरूसँग छलफल गरेका छन् । ‘शुक्रबार बैंकमा आउनु भएकाे थियाे । तर बैंकका नियमित बैठकहरूमा उहाँ सहभागि हुनु भएन’ स्राेतले भन्याे । प्रकियाको विषयमा सबै कुरा खुलस्त बताए पनि विवादको विषय भने स्रोतले खुलाउन चाहेन । ‘विवादका विषय धैरै छन्, मुख्य विषयहरु स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ’ स्रोतले भन्यो । ‘कुरो मिलेन । उहाँले राजीनामा दिनु भयो भने राम्रो । राजीनामा दिनु भएन भने बर्खास्त गर्नुपूर्व सफाईकाे मौका त दिनुपर्यो नि’ स्रोतले भन्याे । पौड्याल एक वर्षअघि सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बैंकहरुमा यस्तो विवाद भएपछि पीडित पक्ष नेपाल राष्ट्र बैंकमा गुहार माग्ने जाने प्रचलन छ । तर शुक्रबारसम्म यो विवाद राष्ट्र बैंकमा नपुगेको कार्यकारी निर्देशन देवकुमार ढकालले बताए । ‘विवादका विषय सुन्नमा आएको छ तर आधिकारिक रुपमा कुनै पनि पक्ष राष्ट्र बैंक आएको छैन’ उनले भने ।
दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या आयो । उनले भने, “त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ ।” उनका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ । अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा राम्रोसँग ग्राभेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग पुनः अवरुद्ध हुने देखिएकाले सवारी प्रवेशमा रोक लगाइएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । तनहुँमा बिहीबार साँझदेखि शनिबारसम्म पानी परे पनि पृथ्वीराजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
सिटिइभिटीकाे प्रयोगात्मक परीक्षा औपचारिकतामा मात्रै सीमित रहेकाे निष्कर्ष
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले प्रयोगात्मक परीक्षा सम्बन्धित शिक्षण संस्थामार्फत सञ्चालन गर्दै आएकाले उक्त परीक्षा औपचारिकता मात्र हुन पुगेको सरकारी कार्यदलको निष्कर्ष छ । प्रयोगात्मक अभ्यासलाई परीक्षामा प्राथमिकता नदिइँदा उत्पादित जनशक्तिले श्रम बजारमा तत्कालै दक्ष काम गर्न कठिनाइ हुन्छ । प्राविधिक शिक्षाविज्ञ प्रा डा राजेन्द्रप्रसाद अधिकारी संयोजकत्वको कार्यदलको प्रतिवेदनले आवश्यक न्यूनतम् योग्यता पुगेका सम्पूर्ण परीक्षार्थीलाई योग्यताबापत समान ४० अङ्क प्रदानको व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने र सो व्यवस्था हटाउने वा ग्रेडअनुसार भार तोकी अङ्क प्रदान गर्ने वा प्रवेश परीक्षा उत्तीर्ण हुन आवश्यक न्यूनतम् अङ्कको ५० प्रतिशतसम्म मात्र प्रमाणपत्रवापत अङ्क प्रदान गर्न पनि सिफारिस गरेको छ । सरकारले ‘समृद्ध नेपाल’को एक आधार प्राविधिक शिक्षालाई समेत मानेर विद्यालय शिक्षाको ७५ प्रतिशतसम्मको भार यस क्षेत्रलाई दिने भन्दै आएकामा वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक नगरिएको, निर्धारित समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमा नभएको तथा विद्यार्थी भर्ना प्रक्रियामा ढिलाइ भएकाजस्ता जनगुनासासमेत औँल्याउँदै कार्यदलले शैक्षिक क्यालेण्डर बनाई त्यसलाई अक्षरशः पालना गर्नुपर्ने, परीक्षार्थी आफैँले अनलाइन इन्ट्री गरी फाराम भर्न मिल्ने गरी हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीलाई अध्यावधिक गर्न आग्रह गरेको छ । एसइईको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै प्रवेश परीक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने र शिक्षण संस्थाअनुसार नभई कार्यक्रमअनुसार प्रदेशस्तरमा प्रतिस्पर्धा गराउन पनि सुझाव दिएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका अवस्थामा ती तहका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ जारी गरी लागू गरेको छ । परिषद्को प्रवेश परीक्षा, छात्रवृत्ति तथा वार्षिक र सेमेष्टर परीक्षाका सम्बन्धमा सुझाव दिन गठित सो कार्यदलले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार बुझाएको प्रतिवेदनमा ती परीक्षालाई अझ व्यवस्थित, मर्यादित, पारदर्शी तथा विश्वसनीय बनाउन सैद्धान्तिक परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र प्रयोगात्मक परीक्षा सञ्चालनसम्बन्धी छुट्टाछुट्टै निर्देशिका लागू गर्नुपर्ने सुझाव दिइएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसइईको कार्यक्रमअनुसार उत्तीर्ण परीक्षार्थीको सूची प्रकाशनको व्यवस्था गर्ने र त्यसरी प्रकाशित सूचीका आधारमा कार्यक्रम सञ्चालन अनुमति पाएका शिक्षण संस्थाले एसइईको नतिजा प्रकाशनपछि भर्ना प्रक्रिया शुरु गर्नुपर्ने सुझाव कार्यदलको छ । कार्यदलको प्रतिवेदनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट जारी गरिएको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका, २०७४ मा कार्यदलको सुझाव समावेश गरी समयानुकूल परिमार्जन गरी लागू गर्न भनिएको छ । कार्यदलले वर्गीकृत छात्रवृत्तिको हाल प्रदान गरिदै आएको कोटा प्रणालीमा समेत परिमार्जन गर्नुपर्ने, प्राविधिक एसएलसी तहको प्रवेश परीक्षाको प्रश्नपत्रलगायत प्रवेश परीक्षासम्बन्धी सम्पूर्ण कार्य प्रदेश कार्यालयले नै गर्ने र क्रमशः यो प्रावधान डिप्लोमा र प्रमाणपत्र तहमा समेत लागू गर्दै जानुपर्ने जस्ता विषयमा सुझाव दिएको छ । कार्यदलका पदाधिकारीसमक्ष शिक्षामन्त्री पोखरेलले प्राविधिक शिक्षाका क्षेत्रमा क्रमशः राम्रा अभ्यासलाई प्रवेश गराउन जरुरी रहेको र यस क्षेत्रमा गुणस्तरीय परिवर्तनको खाँचो रहेको बताउँदै प्रतिवेदनले त्यस दिशामा अग्रसर हुन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभएको उनको स्वकीय सचिव पुरन केसीले जानकारी दिए । कार्यदलमा परीक्षा, इञ्जिनीयरिङ, शिक्षा प्रशासनसमेतका क्षेत्रका प्रतिनिधि सदस्य थिए । परिषद्का सदस्यसचिव डा पुष्परमण वाग्लेका अनुसार गत आर्थिक वर्षसम्ममा कूल ३४५ स्थानीय तहमा गरी एक हजार ४२ प्राविधिक विद्यालय विस्तार भएको छ । अघिल्लो आर्थिक वर्षमा प्राविधिक विद्यालयको सङ्ख्या ८७७ थियो । यसरी विस्तार हुँदा १२ हजार ८४८ अतिरिक्त विद्यार्थी ती विद्यालयमा हुने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको पदभार ग्रहण गर्दा दुई वर्षभित्र ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्ने घोषणा गर्नुभएको थियो भने सरकारले लागू गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा उच्च शिक्षासम्म प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिने उल्लेख छ । हाल परिषद्को मातहतमा सम्बन्धन प्राप्त ४२९, आंगिक ५९ साझेदारीका १०, प्राविधिक अभिवृद्धि तथा सेवाग्राही (टिइसिए) प्रणालीमा ५३४ र स्थानीय तहको सहकार्यमा १० शैक्षिक संस्था सञ्चालित छन् ।