काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने भएका छन् ।
मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई आधार मानेर यो व्यवस्था लागू गरेको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै निकाय, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई साेअनुसार परिपत्र गरिएका छन् ।
त्यसैगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफू कार्यरत संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने पनि परिपत्रमा उल्लेख छ।