विकासन्युज

प्रहरी प्रधान कार्यालयका कुल २७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल प्रहरी मुख्यालयका कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार मुख्यालयका थप २३ जनामा संक्रमण पुष्टि भएसँगै कुल २७ जनामा संक्रमण पुष्टि भएकाे प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए । आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरूमा मेकानिक्स, चालक र मेसमा काम गर्ने कर्मचारी रहेको शाहीले बताए । उनीहरुलाई बलम्भुस्थित काेभिड अस्पतालमा लग्ने तयारी भईरहेकाे उनले बताए ।

पार्टी विभाजन हुनसक्छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुन सक्ने अभिव्यक्ती दिएका छन् । मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले यो बेला उत्तेजना नभई साहस र धैर्यको आवश्यकता भएकाे बताएका छन् । साथै उनले  पार्टी विभाजनबाट जोगाउन आग्रह पनि गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिएका छन् । ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन,’ उनले भने । प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।

पार्टी दुर्घटना नजिक देखिएको भन्दै योगेश भट्टराईले गरे यस्तो ट्वीट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिनै स्थायी समिति बैठक सुरु भएपछि भट्टराईले यस्तो संकेत गरेका हुन । उनले मंगलबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाहा गरौे ।’ पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी भित्र निकै विवाद देखिएको छ । उनले सो विवादलाई लिएर सो ट्वीट गरेको बुझिन्छ ।

कार्यसम्पादन मूल्याङ्कनमा ‘सिन्धुपाल्चोक’ उत्कृष्ट- गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्याङ्कन सम्झौता भएको थियो । छ मुख्य क्षेत्रलाई आधार मानेर १०० भन्दा बढी विषय मापनबाट हुने यो मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्टभित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्याङ्कनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो । आव ०७६/७७ मा सचिव र प्रजिअ बीचको कार्यसम्पादनका साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्याङ्कनको आधार हो । शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्याङ्कन गरी ग्रेड छुट्याइन्छ । जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ‘क’मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।

कमलादीबाट प्रहरीले बरामद गरेको सुन नक्कली

  काठमाडौं । प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ। बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराउँदा चाँदीमा सुनको जलप लगाएको पाईएकाे र ५०० ग्राम सुन बाहेक सबै चाँदी भएकाे परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले  बताए ।  

बिहीबारदेखि होटल, पर्यटन खुल्दैछ, कस्तो छ स्वास्थ्य सुरक्षा ?

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् । तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही साउन ५ गतेबाट लामो दुरीका यातायात, हवाईसेवा र शिक्षण संस्था बाहेकका क्षेत्रमा बन्दाबन्दी हटाएको छ । काठमाडौँलाई बन्दाबन्दीबाट खुला गरी आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने रणनीति सरकारले लिएको छ । होटल तथा रेष्टुरेन्ट र पर्यटनका सामान्य क्षेत्र यही साउन १५ गतेपछि खुल्दैछन् भने भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले जनाएको छ । यद्यपि अझै केही महत्वपूर्ण सार्वजनिकस्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनारलगायतका कार्यक्रम सञ्चालनको निर्णय हुन भने बाँकी नै छ । नेपाल सरकारका प्रवक्ता डा युवराज खतिवडाले दैनिक जनजीवन नै थप प्रभावित हुँदै गएकाले सहज बनाउन मात्रै बन्दाबन्दी हटाएको बताएका छन् । उनको भनाइको आशय जोखिम कम भएर सरकारले बन्दाबन्दी हटाएको होइन भन्ने हो । विभिन्न जिल्लामा र काठमाडौँमासमेत पछिल्लो समयमा कोभिड– १९ का सङ्क्रमित देखिने क्रम बढ्दै गएको छ । बन्दाबन्दी हटेपछि आर्थिक गतिविधि चलायमान हुन्छ र मानिसको जमघट बढ्न थाल्छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै आर्थिक गतिविधि त बढ्छ तर सङ्क्रमणको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की चहलपहल बढ्दा कोरोनाको जोखिम पनि बढी हुनु स्वभाविक हो भन्छन् । त्यसैले अझै बढी सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ । दोस्रो प्रभावित भएको क्षेत्र (लामो दूरीको सार्वजनिक सवारी) पनि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय आएको छ । भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदैछ । सोही दिनबाट आन्तरिक र बाह्य व्यावसायिक हवाई उड्यान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । ती क्षेत्रमा मानिसको बढी भीडभाड हुने भएकाले स्वास्थ्य चुनौती बढी हुन्छ र अहिलेको भन्दा अझै सावधानी अपनाउनुपर्छ भन्छन् विज्ञहरु । यी हरेक क्षेत्र र व्यवसाय खुला गरेपछि उपयुक्त मापदण्ड लागू गर्न सकिएन भने कोरोनाको महामारी फैलिनसक्ने सम्भावना पनि उत्तिकै बढी छ । त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेको स्वास्थ्य सुरक्षा मापदण्ड नै हो । यसका लागि पर्यटन क्षेत्रका व्यवसाय पनि चनाखो हुनु जरुरी छ । अघिपछि व्यवसाय नखुल्दा, बन्दाबन्दी जारी रहँदा मानिसको भीडभाड कम हुन्थ्यो । जोखिम कम थियो । साउन १५ देखि भने त्यो अवस्था रहँदैन । त्यसैले जति भीडभाड भयो उत्तिकै सावधानी पनि जरुरी छ । त्यसबेला व्यक्तिले मात्रै सुरक्षा मापदण्ड अपनाएर हुदैन । कुनै होटल सञ्चालन गर्नुप¥यो भने होटलका सबै क्षेत्रलाई सङ्क्रमणरहित (डिसइन्फेक्सन) गर्नुपर्छ । अन्य पर्यटन क्षेत्र, सेवा क्षेत्र होस् या अन्य व्यावसायिक क्षेत्रमा पनि यही मापदण्ड लागू गर्नुपर्छ । आउने र जाने मान्छेलाईसमेत ख्याल गर्नुपर्छ । उनीहरुले पनि स्वास्थ मापदण्ड अपनाउनुपर्छ । तब मात्रै यसबाट जोगिन सकिन्छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नका लागि आवश्यक ‘डिसइन्फेक्सन’का क्षेत्रमा काम गर्दै आएको खेम्स क्लिनिङ सर्भिसका अध्यक्ष विश्वास अधिकारी भन्छन्, “जति भीडभाड हुन्छ त्यति बढी नै सावधानी अपनाउनुपर्छ, त्यसमा पनि व्यक्तिले मात्रै सावधानी अपनाएर हुँदैन, तोकिएको क्षेत्रफल पूरै सतर्कताको घेरामा पार्नुपर्छ ।” उनले भने, “जस्तो कि पशुपति क्षेत्रलाई सुरक्षित गर्ने हो भने प्रवेशद्धारदेखि निस्कनेद्धारसम्म जे जति गतिविधि हुन्छ त्यो सबैमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ, कुनै एक स्थान या व्यक्तिमा सङ्क्रमण रहेछ भने ठूलो समुदायमा नै सर्ने भएकोले यो महामारीबाट बच्न अपनाउनुपर्ने सावधानी विशेष खालको हुन्छ ।” खेम्स क्लिनिङ्ले अहिले पशुपति क्षेत्रलगायत केही अस्पताल, होटल, अन्य सेवा क्षेत्र, व्यावसायिक प्रतिष्ठान, यातायात क्षेत्र, बसपार्कलगायतका स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड बमोजिम सरसफाइको काम गर्दै आएको छ । त्यसका लागि उक्त कम्पनीले मापदण्ड तयार पारेको छ र त्यस मापदण्डलाई ती क्षेत्रमा लागू गर्दै आएको छ । नेपाल सरकारले निर्देश गरेको योजनाका साथै विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डलाई समेत ध्यान दिएर सो कम्पनीले स्ट्याण्डर्ड अपरेटिङ प्रासेडिउर (एसओपी) अपनाएको छ । सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने कार्यलाई अनिवार्य शर्तको रुपमा राख्नुपर्छ । मानिसहरु ढोका खोल्नेदेखि समात्ने ठाउँ, कुर्सीमा बसेर टेबलमा कामगर्दासमेत मापदण्ड प्रयोग गर्नुपर्छ । ढोकामा स्यानिटाइजर लगाउँदैमा सुरक्षित हुन सकिँदैन । “त्यसलाई नियमित ‘डिसइन्फेक्टेड’ गरेर मात्रै सुरक्षित हुन सकिन्छ, त्यही मापदण्ड हामीले लागू गरेका छौँ, यो अन्तर्राष्ट्रियस्तरको छ”, अधिकारीले भने । एक पटक प्रयोग गरेपछि ८ घण्टासम्म काम गर्छ । त्यसपछि पुनः तोकिएको मापदण्डको रासायनिक प्रयोग गरेर ‘डिसइन्फेक्टेड’ बनाउनुपर्छ । उनका अनुसार पशुपति क्षेत्रमा यसको काम अन्तिम चरणमा पुगेका छ । त्यहाँ धेरै मानिस आउनसक्ने भएकाले क्यामरा स्क्यानिङ गरेर त्यसबाट ज्वरो नाप्न मिल्ने स्वचालित प्रविधिको प्रयोग हुँदैछ । साधारण पूजा, विशेष पूजा र जात्राका लागि खोल्ने योजना रहेको पशुपतिमा सोही अनुसारको स्वास्थ्य मापदण्ड तयार पारेर लागू गर्न खोजिदै छ । त्यसका लागि दक्षजनशक्तिको आवश्यकता पर्छ । उनीहरु प्रशिक्षित हुनुपर्छ । त्यसपछि राम्रो ‘केमिकल’ र उपकरण पनि उत्तिकै भरपर्दाे हुनुपर्दछ । अहिलेको अवस्थामा हरेक व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको स्पष्ट मापदण्ड बनाउन सकेन भने जोखिम धेरै हुनसक्ने स्वास्थ्य विज्ञको भनाइ छ । कतिपय होटल व्यवसायीले आफ्नो तयारी गरिसकेका पनि छन् । उनीहरुले आफ्ना कर्मचारीलाई तालीम दिएर क्षेत्र सुरक्षित राख्ने काम थालेका बताएका छन् । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिशेक विक्रम शाह विश्व स्वास्थ्य सङ्गठन र नेपाल पर्यटन बोर्डले तयार पारेको मापदण्डलाई पछ्याउँदै आफ्ना सबै जनशक्तिलाई प्रशिक्षित बनाएर रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड अपनाइएको बताउँछन् । उनका अनुसार १०० श्यया क्षमताको रिसोर्टलाई ५० प्रतिशत मात्रै सञ्चालन गर्ने योजनाका साथ तयार पारिएको छ । केबलकारमा भने आठ जना क्षमतालाई ५० प्रतिशत घटाइएको छ । सरकारले होटल साउन १५ बाट खुला गर्ने निर्णय गरिसकेको छ । “हामीले सबै तयार पारिसकेका छौँ, आशा छ केवलकार सञ्चलनमा समेत सरकारले छिट्टै निर्णय लिनेछ”, शाहले भन्नुभयो । उहाँका अनुसार दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म पर्यटक आउने चन्दागिरि महिनौंदेखि सुनसान हुँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । अब उक्त पर्यटकीय केन्द्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर कर्मचारीलाई पनि आवश्यक तालीम दिइसकिएको उनले बताए । होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ । कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालका अध्यक्ष सिृर्जना राणाको भनाइ छ । अन्य पर्यटनसँग जोडिने हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबासकार्यक्रममा भएको आर्थिक क्षति अनुमान गर्न सकिन्न । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सञ्चलन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको पनि बताए । यस्तो अवस्थामा खुला हुनलागेका व्यवसाय सेवा क्षेत्रमा स्वास्थ्य सुरक्षित पार्नु अर्काे चुनौती हो । क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई बाह्य राष्ट्र कोरोनाबाट बढी प्रभावित भएकाले पर्यटक आगामन हुँदा अझै सावधानी अपनाउनु जरुरी छ भन्छन् । उनका अनुसार सौराहाका होटलसमेत आवश्यक सरसरफाइ र सुरक्षा मापदण्ड प्रयोग गरेर मात्रै खुल्ने तयारी गरिरहेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन गरिएको तयारी त्यसै खेर गएको छ । यो वर्ष २० लाख पर्यटन नेपाल ल्याउने अनुमान कोरोनासँगै हराएर गयो । पर्यटकको स्वागत सत्कारका लागि ठूलो लगानी थपेका पर्यटन व्यवसायी अहिले बैंकको ब्याज तिर्न नसकेकार आलसतालस परेको बताउँछन् । अन्य व्यवसायको अवस्था पनि उही छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि हल सञ्चालनका लागि सरकारको निर्णय कुरेर बसिरहेको बताउँछन् । बोर्डले केही दिनअघि आयोजना गरेको एक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडासामु उनले भने, “हामी सुरक्षा मापदण्ड अपनाएर हल चलाउन तयार भएर बसेका छौँ, मात्रै सरकारको निर्णय पर्खिरहेका छौँ ।” यसले पनि हरेक क्षेत्र चलायमान बनाउन व्यवसायीहरु आतुर छन् भन्ने देखिन्छ । तर सबैले उपयुक्त स्वास्थ्य मापदण्ड प्रयोग गरेका छन् त ? यो गम्भीर प्रश्न उठेको छ । सडकमा देखिने तरकारी व्यवसाय होस् या अन्य कुनै भिडभाड क्षेत्रमा विस्तारै स्वास्थ्य सुरक्षा मापदण्ड विर्सिँदै गएको आभास हुन्छ । त्यसैले पनि सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्ने र सरकारले अनुगमन नै गर्नुपर्ने जन स्वास्थ्यविद्हरुको सुझाव छ । गत डिसेम्बर ३१ मा चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को महामारीले संसारलाई नै प्रभावित पारेको छ । महामारीले विश्वलाई एकैपटक ठप्प पारेको छ भने संसारको धेरै क्षेत्रलाई नराम्ररी प्रभावित बनाउँदा विश्वको अर्थतन्त्र कैयौँ वर्ष उठ्न नसक्ने गरी थला परेको छ । नेपाली अर्थतन्त्रलाई उकास्न सकिने हाम्रा आफ्नै मुख्य तीन आधार कृषि, पर्यटन र जलस्रोत हो । महामारीपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड होटल क्षेत्रले निर्माण गरिसकेको र सुरक्षित मापदण्ड अपनाउने सम्बन्धी जनशक्तिलाई त्यस मापदण्डअनुसारको तालीम दिएर तयारी अवस्थामा पुगेका छन् । विश्व नै कोभिड –१९ बाट जुधिरहेको अहिलेको अवस्थामा पनि यसबाट बच्ने खास सुरक्षित मापदण्ड अपनाउँदै आफ्नो पेशा, व्यवसायलाई सामान्यतर्फ फर्काउने प्रयत्नमा लागेको देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा कतिपय व्यवसाय सञ्चालन भइसकेका छन् । त्यसैले नेपालमा पनि आर्थिक क्रियाकलापलाई चलायमान बनाउन, व्यवसायलाई क्रियाशील बनाइ यसमा आश्रित तथा कार्यरत जनशक्तिलाई केही सन्त्वता दिन सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षा मापदण्ड अपनाएर व्यावसायिक क्षेत्र चलायमान गराउन सरकारले समेत आवश्यक कदम चाल्दै आएको छ ।

अटोमेटिक ‘कन्टेन्ट फिल्टरीङ’को तयारीमा एनटीए, अब अश्लिल सामग्री अनलाइनमा राख्ने बित्तिकै हट्ने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्ट इन्टरनेटबाट चल्न नमिल्ने बनाउने भएको छ । प्राधिकरणका अनुसार अनलाइनमा तथा सामाजिक सञ्जालमा राखिने अनावश्यक तथा सामाजमा हानी पुर्याउने खालका विषयवस्तुहरु अटोमेटिक (आफै) रुपमा हट्ने गरी काम गरिरहेको हो । यसको लागि प्राधिकरण तीव्र तयारीमा जुटेको छ । मानिसहरुले विभिन्न अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा राखिने अश्लिल विषयवस्तुहरुलाई अटोमेटिक रुपमा हट्ने गरी प्राधिकरणले काम गरिरहेको हो । नेपाल दुर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट गरिने अश्लिल तस्वीर तथा विषयवस्तुहरु आफै हट्ने गरी त्यही किसिमले काम भइरहेको बताए । ‘हामीले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्टहरु रोक्ने तयारी गरेका छौँ, सोही सुविधाका लागि कन्टेन्ट फिल्टरिङ सेवा हामीले सुचारु गर्दैछौँ,’ उनले भने । अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरुमा धेरै अश्लिल तथा गलत सामग्रीहरु पोष्ट भइरेहका छन्, यसले समाजमा थप हानी नोक्सान पनि गरिरहेको छ, त्यसको प्रवृतिमा परिवर्तन ल्याउन हामीले कन्टेन्ट फिल्टरीङको योजना अगाडि बढाएका हौं, उनले भने । यसले आम सर्वसाधरणहरुमा थप सुरक्षा मिल्ने उनको भनाई छ । उनका अनुसार सेवा प्रदायक तथा सर्वसाधारणहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए । प्राधिकरणले सर्वसाधारणले खोजेका कन्टेन्टहरु कानुनी आधारमा सहि भए मात्र चल्ने बनाउने उनको भनाई छ । प्रायेगकर्ताले अनलाइनमा खोजेपनि त्यस्त खालका अश्लिल सामग्री अनलाइनमा भेटिने छैन भने त्यस्ता सामग्री अनलाइन तथा सामाजिक सञ्जालमा पोष्ट भएपनि एनटीएले त्यसले समाज तथा व्यक्तिलाई पार्ने असरलाई यकिन गरेर साइटबाट हटाउन सक्ने वा साइट नै बन्द हुन बनाउन सक्नेछ । अब संवैधानिक तथा कानुनी रुपमा प्रवाह गर्न नपाउने भनि वञ्चित गरेका कन्टेन्टहरु कसैले चलाउन पाउने छैन भने अनलाइनमा पोष्ट गर्न पनि पाउने छैन । यदि पोष्ट गरिहाले भनेपनि तत्कालै त्यो सामग्री त्यहाँबाट हट्नेछ ।

कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । प्रहरीले उनीहरुसँग २ थान हतियारसमेत बरामद गरेको छ । प्रहरी देखेपछि तस्करहरुले सुन बोकेको झोला फालेर फरार भएका थिए । प्रहरीले उनीहरु सवार सवारी साधनको समेत पहिचान गरेकाे जनाएकाे छ । यद्यपी सुन ल्याउनेहरु को थिए भनेर प्रहरीले बताएको छैन ।