प्रभु क्यापिटलले ल्यायो ३ वर्षे निःशुल्क डिम्याट योजना, अनलाइनबाटै खाेल्न सकिने
काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकका लागि उक्त योजना ल्याएको हो । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ । क्यापिटलकाे डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाई भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नम्बर पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।
सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको सहयोग
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका बाढी तथा पहिरो पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त स्थानका पीडितलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले उक्त बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
काठमाडाैं उपत्यकामा १५ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय ८७ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ४९, ललितपुरकाे ८९ र भक्तपुरकाे ५१ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टि, १४६ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय १० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १४६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
सिटिजन्स बैंकले ३ दिनमै एसएमई र घर कर्जा दिने, व्याजदर कति ?
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न ऋण लिन सक्नेछन् । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ । यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।
चालकलाई व्यावसायिक सीप अनिवार्य
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा चालकको योग्यता, सीप र उमेरका विषयमा छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको खाकामा सार्वजनिक सवरीसाधन चलाउने चालकका लागि उमेर २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रस्ताव गरिएको छ । चालकले अनुमतिपत्र लिनका लागि १० कक्षा उत्तीर्ण हुनुपर्ने र पहिले निजी सवारीसाधन चलाएको अनुभव हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । बर्सेनी सडक दुर्घटनाका कारण हजारौँ नेपालीले अकालमा ज्यान गुमाइरहेकाले सार्वजनिक यातायातका चालकलाई व्यावसायिक बनाउन लागिएको हो । चालकको योग्यताका कतिपय विषय ऐनमा समेटिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “हामीले प्रस्ताव गरेकामा मन्त्रालयले थपघट गर्नसक्छ ।” झण्डै एक दशक पहिलेदेखि लिइँदै आएको प्रयोगात्मक परीक्षा (ट्रायल) समेत परिवर्तन गरिने भएको छ । अहिलेसम्म निश्चित ठाउँमा लिइने गरिएकामा सडकमै प्रयोगात्मक परीक्षा लिइने गरी व्यवस्था गरिएको महानिर्देशक हमालले बताए । उनका अनुसार सार्वजनिक र निजी दुवै सवारीसाधनको चालक अनुमतिपत्र लिन १० कक्षा उत्तीर्ण हुनुपर्ने भनिएको छ । त्यस्तै, पुरानो ऐनअनुसार निजी सवारीसाधन चलाउन १६ वर्षमा नै चालक अनुमतिपत्र पाउने भए पनि नयाँमा त्यसका लागि १८ वर्ष पुग्नुपर्ने प्रस्ताव गरिएको छ । निजी सवारीसाधन चलाउने व्यक्तिभन्दा सार्वजनिक सवारीसाधन चलाउने व्यक्ति बढी जिम्मेवार बनाउने गरी छलफल अघि बढेको मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । उनका अनुसार सार्वजनिक सवारीसाधन, विद्यालयका बसलगायत बढी यात्रु रहने सवारीसाधन चलाउन थप अनुभवको प्रस्ताव गर्न लागिएको हो । झण्डै तीन दशक पुरानो ऐनका धेरै कुरा अहिले सान्दर्भिक नभएकाले पनि कसरी सान्दर्भिक बनाउने भनी छलफल भइरहेको छ । उनका अनुसार विसं २०४९ मा सो ऐन बन्दाका समयभन्दा अहिले यातायातका क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । पुरानो ऐनलाई कसरी नयाँ सन्दर्भमा जोड्ने भनी मन्त्रालयभित्र विभिन्न पक्षसँग छलफल जारी रहेको छ । उनले भने, “यसमा टुटल पठाओ पनि समेटिन सक्ने गरी छलफल भइरहेको छ ।” संविधानमा यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई पनि दिइएको छ । पहिले सङ्घीय ऐन बनेपछि त्यसैका आधारमा प्रदेश ऐन बन्नुपर्ने भने पनि कतिपय प्रदेश सरकारले यातायात ऐन बनाए पनि नेपाल सरकारले बनाइसकेको छैन ।
कोभिड–१९ को जोखिम कायमै: कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण
काठमाडाैं । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउँछन् । “पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ”, शाहीले भने । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ । अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ । पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ । सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ । आजसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् । नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् । उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ । त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्काे जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले बताए । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।
सेमेष्टरकाे भदौ तेस्रो र वार्षिककाे असोज पहिलो हप्तादेखि परीक्षा गर्ने त्रिविकाे तयारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय ९पनिका० का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उनले भने, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छाैं । ” त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ । यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचाैँ र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसकेका छन् ।