विकासन्युज

फेसबुकमा अश्लिल सामाग्री पठाउने व्यक्ति पक्राउ

काठमाडौं । फेक फेसबुक आईडी बनाई  फेसबुकमा अश्लिल सामाग्री पठाउने व्यक्ति पक्राउ परेका छन् ।  तनहुँ घर भई हाल काठमाडौको बालाजुमा बस्ने ३८ वर्षीय सविन राज मिश्र पक्राउ परेका हुन् । उनलाई हिजाे पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत काठमाडौ समक्ष पेश गरि ७ दिनसम्म लागू हुने गरी अनुसन्धान चलाइएको छ । मिश्र २०७६ सालमा पनि विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा समातिएका थिए । सोही समयमा २०७६ साल मंसिर २४ गते उनी जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका थिए । अश्लित तथा यौनजन्य सामाग्रीहरु कप्यूटर इन्टरनेट लगायत विद्युतीय माध्यमहरुबाट प्रकाशन, प्रशारण गर्नु सामाजिक नैतिकता विरुद्ध हुने भएकाले यसलाई गैर कानुनी मानिने साइबर व्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा पहिलो दिन कति पर्याे आवेदन ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन २३ लाख ८१ हजार ३ सय ८० कित्ता सेयरको लागि आवेदन परेकाे छ । शुक्रबार दिउँसो साँढे ४ बजेसम्ममा सो मात्राकाे आवेदन परेकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो अविधसम्म ५० हजार एक सय ७३ जनाले २३ लाख ८१ हजार ३ सय ८० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । संस्थाले साउन १६ गते(आज) देखि सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले आजदेखि छिटोमा साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन्। यदि संस्थाले माग गरेजति आवेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क  

एसबिआई बैंकका ग्राहकलाई कम्फर्ट नेपाल ट्रेडर्समा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स(जकी ब्राण्डको आधिकारिक बिक्रेता) मा विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरेबापत १० प्रतिशत र अन्य विशेष छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकत छपिराज पन्त तथा कम्फर्ट नेपालका ट्रेडर्स नेर्देशक कुनाल अग्रवालका बीच सम्झौता भएको हो ।

बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिन्छ- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै अर्थमन्त्री खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने तर स्टाटसलाई माथि ल्याउन नहुने बताएका हुन् । उनले नियामक निकायको भूमिका, जिम्मेवारी र जोखिम बढ्दै जाँदा अपग्रेड गर्दै जान सकिने बताए । ‘अटोनोमि दिनुपर्छ अहिले नै पनि दिउँ यसमा केही भएन । तर स्टाटसलाई अहिले माथि लैजाँदा स्वभाविकरुपमा त्यो जिम्मेवारीमा पुग्ने मान्छे र कार्यबोझको हिसाबले त्यति उपयुक्त हुँदैन । त्यसैले यसलाई यो अपडेटमा लैजाओं । तर अभ्यास चाहिं स्वायत्तता दिने गरी नै जाऔं ।’ उनले भने । प्राधिकरणको अध्यक्षको योग्यता सदस्यहरुको भन्दा एक तह माथि राख्नुपर्ने खतिवडाले बताए । उनले विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्षको अनुभव वा उच्च पदस्थ तहमा १० वर्ष काम गरेको अनुभव भएको व्यक्ति अध्यक्ष बन्न सक्ने गरी ऐनमा व्यवस्था हुनुपर्ने बताए । स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको सबैभन्दा विश्वव्यापी अवधारणको रुपमा नेपालमा लागू गरिएको मन्त्री खतिवडाले बताए । उनले सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएकाले अहिले नै खारेज गर्नेगरी ऐन ल्याउन नहुने बताए । बीमा प्राधिकरण नियामक निकाय भएकोले आफैले स्वास्थ्य बीमा गर्ने व्यवस्था गर्दा भूमिका नमिल्ने बताए । पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले बीमा प्राधिकरणको सञ्चालकमा अर्थमन्त्रालयको सचिव रहनुपर्ने बताए । तल्लो तहका व्यक्तिलाई सञ्चालकमा राख्दा आफै निर्णय गर्न नसक्ने भएकाले प्राधिकरणको प्रभावकारीता र कार्यक्षमता विकासका लागि पनि सचिव सञ्चालकमा बस्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने बताए । उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले केन्द्रीय बैंकलाई स्वायत्त बनाउन जोड दिने भएकाले नेपालमा पनि राष्ट्र बैंक स्वायत्त भएको तर बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय संगठन बलियो नहुँदा नियामक निकाय पूर्णरुपमा स्वायत्त हुन नसकेको जनाएका छन् । अन्तर्राष्ट्रिय स्तरमै बीमा क्षेत्र बलियो र स्वायत्त बन्दै गएको भए नेपालमा पनि बीमा प्राधिकरणलाई स्वायत्त निकाय बनाउनु ठिकै हुने पाण्डेले बताएका छन् । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०४९ सालमा बीमा ऐन जारी हुँदा बीमा समिति पूर्ण स्वायत्त रहेको तर पछिल्लो समयमा विस्तारै स्वयत्तता गुम्दै गएको बताए । उनले बीमा प्राधिकरणलाई थप बलियो र स्वायत्त निकायको रुपमा विकास गर्नुपर्ने जनाएका छन् । बीमा क्षेत्रको नियामक निकायको सञ्चालकमा अधिकृत तहको व्यक्ति भन्दा प्रथम अधिकृत तहको व्यक्ति पठाउँदा उपयुक्त हुने बताएका छन् । यस्तै अध्यक्ष पदको नियुक्तीका लागि कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले बीमा कम्पनीहरुले बीमा दावी भुक्तानी तिर्न नसक्ने अवस्थालाई ध्यान दिएर बिमित सहितको कोष स्थापना गर्नुपर्ने बताए । बैठकमा सांसदहरुले बीमाको पहुँच सबै क्षेत्रमा पुग्ने गरी बीमा प्राधिकरणको परिकल्पना गरिएकाले यसलाई स्वायत्त र बलियो बनाउने गरी ऐनमा व्यवस्था हुनुपर्ने बताएका छन् ।

२४ घण्टामा थप २ सय २४ जनामा काेराेना पुष्टि, मृतकको संख्या ५६ पुग्यो

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७७१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । उनका अनुसार १२ हजार १११ जना क्वारेन्टिनमा र पाँच हजार ३१६ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार ३१६ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ जनापुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा‍. गौतमले बताए ।

एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क

काठमाडौं । २०६९ साल भदौ ३१ गतेदेखि गैरआवासीय नेपालीमा रहेको पुँजी र सीपलाई नेपालको विकासमा लगाउने हेतुले स्थापना भएको कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी । काठमाडौंको चावहिलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनी पब्लिक लिमिटेडको रुपमा दर्ता भई ‘कम्पनी ऐन २०६३’ अन्तर्गत काम कारोबार गर्दै आएको छ । कम्पनीको मुख्य उद्देश्य जलविद्युत उत्पादन तथा अन्य पूर्वाधार सम्बन्धि कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने रहेको छ । जलविद्युत उत्पादन, प्रसारण तथा वितरणका साथै अन्य पूर्वाधार सम्बन्धि आयोजनाहरुको निर्माण, संचालन र व्यवस्थापन गर्ने कम्पनीहरुमा लगानी गर्ने उद्देश्यले स्थापित संस्था भएको हुँदा नेपाली लगानीकर्ताको लागि यो लाभदायक र उपयुक्त क्षेत्र रहेको छ । सञ्चालनमा आएको ७ वर्षपछि कम्पनीले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गरेको छ । कम्पनीले साउन १६ गतेबाट एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको छ । सेयर जारी गर्नुको उद्देश्य कम्पनीले जारी पुँजीको ७० प्रतिशत सेयर संस्थापक सेयरधनी र ३० प्रतिशत सेयर सर्वसाधारण(कर्मचारी समेत) मा निष्काशन तथा बिक्री गरी बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेको छ । सोही बमोजिम जारी पुँजीको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । इच्छुक सर्वसाधारणले साउन १६ देखि छिटोमा साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । यदि संस्थाले माग गरेजति आवेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीमा ७ सय ९५ जना संस्थापक सेयरधनी रहेका छन् । हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । कुनै सहायक कम्पनी नभएकोले कम्पनीको कारोबार र समष्टिकृत कारोबार एउटै रहेको छ । आर्थिक वर्ष २०७५/७६मा कम्पनीको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ रहेको छ । जुन वार्षिक रुपमा बढेर आगामी तीन वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९मा ४.३ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय ४ रुपैयाँ पुग्ने छ कम्पनीको प्रक्षेपण रहेको छ । कम्पनीकाे प्रक्षेपण लगानीकर्तालाई लाेभ्याउने खालकाे छैन । त्यस्तै, कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि यता हालसम्म नोक्सान व्यहोरेको छैन । आर्थिक वर्ष २०७५/७६मा एक करोड ६३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले आगामी तीन आवमा ४ करोड ९४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । एक अर्ब रूपैयाँ भन्दा बढीकाे चुक्ता पुँजी भएकाे कम्पनीले ३/४ कराेड रूपैयाँ नाफा गरेमा लगानीकर्ताले खुशी हुने लेवलकाे प्रतिफल पाउँदैनन् । विगत तीन वर्षको नेटवर्थमा कम्पनीको औषत प्रतिफल २.३८ प्रतिशत रहेको छ । कम्पनीले आव २०७३/७४ मा ४.२१ प्रतिशत र आव २०७४/७५ मा ३.१८ प्रतिशत बोनस सेयर जारी गरेको थियो । जतिबेला बैंकहरूले निक्षेपमा १० प्रतिशत वा साे भन्दा बढी व्याज दिएका थिए, त्यतिबेला कम्पनीले सेयरधनीलाई ५ प्रतिशत भन्दा कमकाे प्रतिफल दिनुले लगानीकर्तालाई लाभ भएकाे मान्न सकिदैन । सेयर निष्काशनको लागि कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र पाएको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा कमजोर रहेको जनाउँछ । सर्वसाधारणहरुले कम्पनीको आइपीओमा किन लगानी गर्ने ? ‘समग्रमा कम्पनीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ । आगामी दिनमा पनि निकै सोचेर मात्रै कम्पनीले लगानी बढाउँदै लानेछ । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि पनि एउटा राम्रो अवसर हो । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौं’- सीईओ उषा खतिवडा बताउँछिन् । सेयर पूर्ण रुपमा बिक्री नभएमा के हुन्छ ? उक्त निष्काशित सेयर पूर्ण रुपमा बिक्री नभएपनि प्रत्याभुतिकर्ताद्वारा सकारिने कम्पनीले जनाएको छ । जसको लागि हिमालयन क्यापिटल लिमिटेड, कुमारी क्यापिटल लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कूल ३३ लाख ९८ हजार ४६ कित्ता सेयरको निष्काशनको लागि प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ । उनीहरुलाई प्रत्याभुति शुल्क बापत कूल ६७ लाख ९६ हजार ९२ रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ । यदि निष्काशन गरिएको सेयर पुरै बिक्री भएमा उक्त प्रत्याभुतीकर्तालाई ३३ लाख ९८ हजार ४६ रुपैयाँ भुक्तानी गरिने छ । कुनै पनि नेपाली तथा गैह्र आवासिय नेपाली नागरिकले सेयर खरिद गर्न आवेदन दिन सक्नेछन् । प्रत्येक आवेदकले कम्तीमा १० कित्ता र बढीमा ३१ लाख ६० हजार एक सय ८० कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । आईपीओबाट उठेको रकम कम्पनीले कुन क्षेत्रमा कसरी प्रयोग गर्छ ? सेयर निष्काशनबाट उठेको कुल रकमलाई कम्पनीले विभिन्न जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने परियोजनामा सेयर वा ऋण लगानी गर्ने छ । जुन कम्पनीको प्रमुख उद्देश्य नै हो । त्यस्तै, कम्पनीले विभिन्न जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने परियोजना संचालन गर्ने कम्पनीहरु र अन्य पूर्वाधार विकास गर्ने परियोजना संचालन गर्ने कम्पनीहरुमा समेत सेयर वा ऋण प्रवाह गर्नका लागि उपयोग गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७मा १० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८मा २५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९मा ४० करोड रुपैयाँ संचित लगानी गर्ने जानकारी गराएको छ । उक्त लगानी रकमलाई ठूलो खोला हाइड्रोेपावर, जुम खोला हाइड्रोपावर र मिडिल कालिगण्डकी हाइड्रोपावर परियोजनामा लगानी गर्ने कम्पनीको योजना रहेको छ । कुन परियाेजनामा कति ? हालसम्म स्वपुँजीको रुपमा लगानी गरेको हिमालयन पावर पार्टनर लिमिटेडद्वारा प्रबद्र्धित दोर्दी खोला जलविद्युत आयोजना २७ मे.वा., सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित मिडिल तमोर जलविद्युत आयोजना ७३ मे.वा., स्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडद्वारा प्रबद्र्धित तल्लो लिखु जलविद्युत आयोजना २८.१ मे.वा., माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडद्वारा प्रबद्र्धित माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना १४.३ मे.वा. का जलविद्युत आयोजनाहरु रहेका छन् । साथै, अन्य आयोजनाहरु पनि छनौटको क्रममा रहेको कम्पनीले जनाएको छ । यस्ता छन् जोखिमहरूः कम्पनीलाई वित्तीय साधनको अभावबाट हुने जोखिम जस्तै, सेयर लगानीमा भुक्तानी गर्न समस्या पर्ने छ । कम्पनीले गरेका लगानी र ऋण खराब हुन गएमा हुने जोखिम र व्याजदरमा आउने परिवर्तनबाट जोखिम हुन सक्छ । त्यस्तै, कम्पनीले लगानी गरेको अन्य कम्पनीहरुको परियोजना विभिन्न परिस्थितिले गर्दा समयमा नै निर्माण हुन नसकेमा जोखिम उत्पन्न हुन सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीले लगानी गरेको गरेको अन्य कम्पनीको परियोजनाहरुमा मूल्य अभिवृद्धि हुँदा लगानी रकम बढ्ने र प्रतिफल आउन ढिलाई हुने जोखिम रहने छ । विदेशी विनिमय कारोबार गर्दा विनिमय दरमा हुने परिवर्तन तथा देशको वैदेशिक ब्यापार नीतिमा हुने परिवर्तनबाट जोखिम उत्पन्न हुन सक्ने छ । त्यस्तै, पुँजी बजारको अवस्थामा आउने उतार चढावबाट र अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने आर्थिक मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट आर्थिक जोखिम हुन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी सरकारी नीति तथा नियमहरुमा हुने परिवर्तन, नयाँ नयाँ सूचना प्रविधिहरुको विकाससँगै उत्पन्न हुन सक्ने जोखिम रहेका छन् । तर, हाल कम्पनीले पुरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरिसकेको र प्राप्त गर्नुपर्ने सम्पुर्ण इजाजतपत्रहरु प्राप्त गरी सकेकोले सो जोखिम नरहेको कम्पनीले जनाएको छ । सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ? कम्पनीको कर्जा तथा लगानी खराब भई हुनसक्ने जोखिमहरुको लागि कम्पनीले कर्जा तथा लगानी जोखिम कोषको व्यवस्था गर्ने छ । कम्पनीले वित्त बजारमा हुने प्रतिस्पर्धाको साथै क्षेत्रीयकरण र विश्वब्यापीकरणका कारणबाट उत्पन्न हुन सक्ने जोखिमहरु न्युनीकरण गर्नका लागि जनशक्ति विकासमा ध्यान पुर्याउनको साथै अन्य व्यावसायिक जोखिमहरुबाट उत्पन्न हुन सक्ने हानि नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानि नोक्सानी कम गर्न सक्षम र प्रतिवद्ध रहेको कम्पनीले आफ्नो विवरण मार्फत जानकारी दिएको छ । त्यस्तै अन्य विभिन्न जोखिमहरु न्युनिकरणका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, समयानुसारको आधुनिक प्रविधि, स्पष्ट नीति तथा नियमहरुको निर्माण एवम् समयानुसार आफ्नो सेवा तथा सुविधाहरुमा परिवर्तन गर्दै लगिने कम्पनीको नीति रहेको छ । सञ्चालक समितिमा को को छन् ? कम्पनीको सञ्चालक समितिमा कूल ११ जना रहेका छन् । संस्थापक समूहका सेयरधनीको तर्फबाट ६, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट ३ र स्वतन्त्र सञ्चालकको तर्फबाट २ जना रहेका छन् । यी सबैको कार्यकाल ४ वर्षको हुने छ । कम्पनीको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष जीवनाथ लामिछाने तथा सञ्चालकमा कृष्ण प्रसाद पाण्डे, महेश कुमार श्रेष्ठ, रामेश्वर शाह, शेष घले र बालकृष्ण गुरुङ्ग रहेका छन् । उनीहरू सबै एनआरएनका नेता हुन् । यस कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहेका लामिछानेले एमएससी(सिभिल इन्जिनियरिङ्ग) सम्मको अध्ययन पुरा गरेका छन् । उनी सानिमा हाइड्रोपावर लि., मेडीकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर लि., सानिमा बैंक लि., कान्तिपुर टेलिभिजन नेटवर्क प्रा.लि., कान्तिपुर/एक्मी इन्जिनियरिङ्ग कलेज, सोपान मल्टिपल, होटल अकामा प्रा.लि. र नेक्टार इन्टरनेशनल लगायतका संघ संस्थामा आवद्घ रहेका छन् । उनी गैर आवासिय नेपाली संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् । कम्पनीमा कसको सेयर स्वामित्व कति ? कार्यकारी अध्यक्ष लामिछानेको यस कम्पनीमा ८० हजार ६ सय ४३ कित्ता सेयर स्वामित्व रहेको छ । संस्थापक सेयरधनीमा १० जना रहेका छन् । जसमध्ये कृष्ण प्रसाद पाण्डे, विश्वनाथ पौडेल, कमल लामिछाने, विनोद कुँवर, केशव प्रसाद सापकोटा, उदय राज कँडेल, उर्मिला उप्रेतीको प्रतिव्यक्ति एक लाख ७ हजार ५ सय २४ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, कुमार प्रसाद पन्त, महेश कुमार श्रेष्ठ र उपेन्द्र महतोको प्रतिव्यक्ति ८० हजार ६ सय ४३ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसैगरी, संचालक शेष घलेको ५३ हजार ७ सय ६२ कित्ता, बाल कृष्ण गुरुङ्को ६ हजार ४ सय ५२ कित्ता र रामेश्वर शाहको ५ हजार ३ सय ७७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, एनआरएन अष्ट्रेलिया हाइड्रो ग्रुपको ६ लाख ५८ हजार २ सय ६२ कित्ता र नेपाल इन्भेष्टमेन्ट कम्पनीको ३ लाख ४१ हजार ५ सय ५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तो छ व्यवस्थापकीय टीम हाल कम्पनीको म्यानेजमेन्ट (व्यवस्थापकीय टीम)मा प्रमखु कार्यकारी अधिकृत उषा खतिवडा, कम्पनी सचिव बद्री विशाल घिमिरे र स्वतन्त्र वित्तीय परामर्शदाता प्रशिद्ध न्यौपाने गरी तीन जना रहेका छन् । डेढ वर्षदेखि यस कम्पनीको सीईओको रुपमा कार्यरत रहेकी खतिवडासँग हाइड्रो पावर क्षेत्र र विभिन्न प्रशासनिक क्षेत्रमा १५ वर्षको लामो अनुभव रहेको छ । उनी पटक-पटक नेपाललाई प्रतिनिधित्व गर्दै विदेशमा हुने सभा सम्मेलनमा पनि सरिक रहेकी छिन् । यसै वर्ष कन्सियस कम्पनी-सोनोमा, १३२५ ब्रोडवे, यूएसए सोनोमाले खतिवडालाई वर्ल्ड चेन्जिङ वुमेन अवार्डबाट सम्मानित गरेको थियो । त्यस्तै, २०२० मा आरएसटीसीएले खतिवडालाई ‘कर्पाेरेट वोमेन अफ दि इयर-२०२०’ र ‘मस्ट इन्फ्युयन्सियल वोमेन’ बाट सम्मानित गरेको थियो । उता व्यवस्थापकीय टीममा रहेका कम्पनीका सीईओ खतिवडा, कम्पनी सचिव घिमिरे र स्वतन्त्र वित्तीय परामर्शदाता न्यौपाने कसैको पनि एनआरएन इन्फ्राइस्ट्ररको एक कित्ता पनि सेयर छैन । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

कोरोनाले बीमा क्षेत्रमा कति असर गर्यो ? अध्ययनमा जुट्यो बीमा समिति

काठमाडौ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा निकै असर पुर्याएको छ । त्यो असरले सीमित क्षेत्र मात्र नभई देशको अर्थतन्त्रलाई समेत निकै प्रभावित बनाएको छ । कोरोना भाइरसले बीमा क्षेत्रलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वभाविक असर नै परेको छ । यसले बीमा क्षेत्रमा के कति असर पर्यो ? त्यसको सही विवरण तथा तथ्यांक हालसम्म यकिन नभएपनि यसको बारेमा विस्तृत जानकारीका लागि बीमा समिति अध्ययनमा जुटेको छ । बीमा समितिका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) ले नेपाली बीमा क्षेत्रमा परेको असरका बारेमा अध्ययन गर्न जुटेको हो । समितिका अनुसार समितिले कोरोना महामारीको असर बीमा क्षेत्रमा तत्काल नभई निकट भविष्यमा देखिने भन्दै अध्ययन थाल्ने भएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर अहिलेभन्दा भविष्यमा बढी हुने भएकोले यसले पारेको वास्तविक असरको फिगर निकाल्न समितिले अध्ययन गर्न लागेको बताए । ‘हामीले कोरोना महामारीको असर जीवन बीमा क्षेत्रमा तत्काल असर देखेका छौं, निर्जीवन बीमा क्षेत्रमा आगामी वर्षहरुमा धेरै रहने हाम्रो अनुमान छ’, उनले भने । कोरोना महामारीका कारण जीवन बीमा क्षेत्रमा अभिकर्ताहरुले बिमितसम्म पुगेर बीमा गराउन पाएनन् । अभिकर्ताहरुले सम्बन्धित कम्पनीको नाम लिएर बीमा सम्बन्धि जानकारी दिने, बीमा गराउने तथा दाबी भुक्तानीको बेलामा समेत सहजिकण गर्छन् । तर कोरोना महामारी तथा लक डाउनले अभिकर्ताहरुले काम गर्न समस्या परेको उनको भनाई छ । कार्यालयमा बिमित पु्ग्नपनि कठिन भएकाले जीवन बीमा व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको उनको भनाई छ । यस्तै, निर्जीवन बीमा क्षेत्रमा भने आगामी वर्षमा असर देखिने समिति बताउँछ । तत्कालका कोरोना महामारीले बीमा क्षेत्रमा के कस्तो असर पार्यो भन्ने कुरा एक किसीमको अनुमान मात्र रहेको बीमा समितिले बताएको छ । अध्ययन नगरीकन वास्तविक अवस्था थाहा पाउन नसकिने समितिको ठहर छ । बीमा समितिले विभिन्न कम्पनीहरुमा कोरोनाले पुर्याएको असर अध्ययन गरेर भोलिका दिनमा आवश्यक मापदण्ड बनाएर अघि बढ्ने जनाएको छ । बीमा समितिले सो विषयमा कम्पनीहरुसँग छलफल गरी सकेको छ । आगामी दिनमा कम्पनीहरुसँग कसरी समन्वय गर्ने भनेर पनि बीमा समितिले मापदण्ड तयार गरेकोे छ । सो मापदण्ड अनुसार बीमा कम्पनीहरुलाई समितिले आवश्यक निर्देशन दिने बताइएको छ ।

गाडीवालाले सरकारको नियमलाई टेरेनन्, भाडा दोब्बर, न मुखमा मास्क न गाडीमा स्यानिटाइजर

काठमाडौं । यातायात व्यवसायीहरुले यात्रुहरुबाट  दोब्बर भाडादर लिइरहेकाे गुनासो आएकाे छ। कोरोना भाइरसको कारण उत्पन्न ४ महिना लामो लकडाउनपछि सञ्चालन भएका सार्वजनिक सवारी साधनले दोब्बर भाडा लिएको यात्रुले गुनासो गरेका हुन् । सरकारले विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी र ५० प्रतिशत बढी भाडा लिएर जिल्ला भित्रैका सवारी साधनहरु चलाउन पाइने गरी निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने गाडीमा चढ्ने यात्रुहरुबाट दोब्बर भाडा लिइरहेको गुनासाे यात्रुहरुबाट आएकाे हाे । असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको थियो । त्यो सँगै उपत्यका भित्रका तीन जिल्ला र अन्य जिल्लाहरुमा पनि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएका थिए । नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि मापदण्ड नै तयार गरेर त्यही स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सवारी साधन चलाउनु पर्ने बताएको थियो । विभागको मापदण्डमा सवारी साधनको सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउने, व्यवसायीले सगाडीमा स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने प्रावधानहरु उल्लेख गरेका छन् । मन्त्रिपरिषद्को बैठकले नै यातायात व्यवसायीहरु लकडाउनको समयमा धेरै आर्थिक संकटमा परेको भन्दै ५० प्रतिशत भाडा बढाएर गाडी सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायी अर्थात गाडीवालाहरुले भने अहिले यात्रुहरुबाट पहिलेको भन्दा दोब्बर भाडा उठाइरहेको बुझिएको छ । सार्वजनिक सवारी साधनहरुले १ किलोमिटरदेखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा लिनु पर्ने प्रावधान छ । तर, व्यवसायीहरुले यात्रुहरुबाट २५ देखि ३० रुपैयाँसम्म भाडा लिँदै आएका छन् । सीमित सवारी साधनमा सीमित यात्रुहरुबाट दोब्बर भाडा लिए पनि उनीहरुले सवारी साधनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षामा विधिहरु भने अवलम्बन गरिएको देखिँदैन । सरकारले गाडीमा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै यात्रुले मास्क लगाउनु पर्ने, गाडी चालक, सह–चालकले माक्स ग्लोभ्स लगाउनु पर्ने भनिएपनि त्यसको कार्यान्वयन भने सीमित सवारी साधनहरुमा मात्र देखिन्छ । सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको छ वा छैन भनेर नियमित अनुगमन गर्दै आएको बताए पनि ट्राफिकले पनि खासै वास्ता नगरेको सवारी साधनमा देखिएको स्वास्थ्य सुरक्षा व्यवस्थाले प्रष्ट पार्छ । महानगरीय ट्राफिक महाशाखा भने पहिले त्यस्ता खालका गुनासाहरु निरन्तर आएपनि अहिले गुनासाे गर्नेहरुकाे संख्या पनि कम हुँदै गएको बताउँछ । महाशाखाका प्रवक्ता बामदेव गौतमले अहिले ट्राफिकले सार्वजनिक सवारी साधनहरुको अनुगमनलाई तीव्रता दिएकोले सवारी साधनहरु पनि सजग हुँदै गएको बताए । ‘पहिले सवारी साधनहरुले यात्रुहरुबाट बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरु कार्यान्वयन गर्ने गरेका थिएनन्, त्यसपछि हामीले अनुगमन बढायौं, अहिले त्यसमा कमि आउँदै गएको छ,’ उनले भने । अहिले यात्रुहरुबाट त्यस्तो खालको गुनासो पनि कम आइरहेको उनको भनाई छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै फेरि देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । त्यसमाथि पनि काठमाडौं उपत्यकामा त कोरोनाको जोखिम धेरै छ । विश्वभर कोरोनाको यति ठूलो जोखिम हुँदा हुँदै पनि बसमा चड्ने यात्रुहरुले पनि सर्तकता नअपनाएको बुझ्न सकिन्छ ।