एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप नगरौं: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बबताए । कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै उनले भने, ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ ।” साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको बताए । ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने, ‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन ।’ ‘कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्छ । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्दि्रत भएर हाम्रा छलफल चलिरहेका छन ।” अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने भन्दै एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।
पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संवद्र्धन गरिने बताए । कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले स्थानीय जात्रा र पर्वको जगेर्ना गर्दै पशुपति क्षेत्रको सम्पत्तिमाथि भइरहेको अतिक्रमणलाई रोक्ने बताए । अतिक्रमणको चपेटामा परेको कोषको जग्गाका सम्बन्धमा उनले भने, “पशुपतिको सम्पति माथिको अतिक्रमण रोक्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।” कोषको उक्त जग्गा विगतमा विभिन्न मुद्दा मामिला झेल्दै आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गरेको छ । पछिल्लो पटक अख्तियारले पशुपतिको बृहत्तर हितमा रहने गरी पारदर्शी र प्रतिस्पर्धी ढङ्गले उपयोग गर्न कोषलाई लिखित निर्देशन दिएको छ । सोही निर्णयका आधारमा पारदर्शी कार्यविधि बनाएर जग्गाको माटो र बालुवा व्यवस्थापन गरी दैनिक चोरी निकासी रोक्नेगरी काम अघि बढाइने पर्यटनमन्त्री भट्टराईले बताए । पर्यटनमन्त्री भट्टराईले गुरुयोजनालाई अघि बढाउने सन्दर्भमा स्थानीयवासीको गुनासो पनि सम्बोधन गर्नेगरी त्यस क्षेत्रका जनप्रतिनिधि, प्रदेश तथा सङ्घका सांसद तथा राजनीतिक दलका प्रतिनिधिलाई राखेर प्रक्रिया अघि बढाइने उल्लेख गरे । कोषको जग्गासँग जोडिएका स्थानीयवासीको निजी सम्पत्ति भएमा पनि पशुपतिको मापदण्डभित्र रहेर घर वा सार्वजनिक संरचना बनाउँदा पशुपतिको सौन्दर्यता, पुरातात्विक महत्व र ऐतिहासिक सन्दर्भलाई असर नगर्ने गरी संरचना बनाइनुपर्ने पर्यटनमन्त्रीको भनाइ छ । मन्त्री भट्टराईले आजै सामाजिक सञ्चाजल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै कोषको जग्गा सम्बन्धमा सरकारले सबै सरोकारपक्षसँग छलफल गरेर सहमति बनाउने उल्लेख गरेका छन् । उनले भनेका छन्, “पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र प्रवद्र्धन गरिनेछ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिनेछ । व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन ।” कोषले गोठाटारस्थित अतिक्रमणको चपेटामा परेको जग्गाको नयाँ गुरुयोजना बनाएर विभिन्न पूर्वाधार बनाउने योजना अघि सारेकामा स्थानीयवासीले विरोध गरेका छन् । कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गरी घरटहरा निर्माण गरेपछि कोषले उक्त जग्गाको गुरुयोजनाका साथ पूर्वाधार विकास गर्ने योजना अघि बढाएको हो । उक्त जग्गामा एक सरकारी विद्यालय ३० भन्दा बढी टहरा बनाइएको छ । गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको छ । त्यहाँबाट दैनिक बालुवा चोरी निकासी हुने गरेको छ । पर्यटनमन्त्री भट्टराईले हालै सो क्षेत्रको स्थालगत निरीक्षण गरी जग्गाको संरक्षणका र उपयोगी संरचना निर्माण गर्न कोषका पदाधिकारीलाई निर्देश्न दिएका थिए । कोषले सो जग्गाको गुरुयोजना तयारी गरी स्वीकृतिका लागि पर्यटन मन्त्रालयमा पठाएको छ । गुरुयोजनअन्तर्गत जग्गामा गौशला निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रवद्र्धन केन्द्र, पशुपति अध्ययन केन्द्र–प्रतिष्ठान, अस्पतालसहित समावेश छ । मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र कार्यान्वयनको चरणमा जानेछ ।
भक्तपुरकाे हनुमन्ते जग्गा एकीकरण आयोजना शुरु
भक्तपुर । सामान्य विवादका कारण रोकिएको भक्तपुरकै महत्वपूर्ण योजनाका रुपमा रहेको हनुमन्ते करिडोर निर्माण कार्य सञ्चालन गरिने भएको छ । हनुमन्ते जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा आज भएको छलफलले करिडोर र आयोजना दुवै एकैपटक अगाडि बढाउने निर्णय भएको हो । विगत केही समयअघिदेखि जग्गाको सामान्य विवादका कारण निर्माण रोकिएको करिडोर निर्माणले अब तत्काल अघि बढ्ने भएको सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले बताए । करिडोर निर्माणका क्रममा आएका समस्यालाई समाधान गर्दै निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको उनले जानकारी दिए । बैठकमा हनुमन्ते जग्गा एकीकरण आयोजना क्षेत्रमा उपभोक्ता (सहयोग) समिति गठन गर्ने, आयोजना क्षेत्रको डिपिआरका लागि पुनःसूचना जारी गर्ने, हनुमन्ते नदीको करिडोर र जग्गा एकीकरण आयोजनाको कार्य सँगसँगै गर्ने र आयोजना प्रमुखको छनोटका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । सांसद बस्नेतको विशेष पहलमा दुई अर्ब रुपैयाँ बजेट विनियोजन भई शुरु भएको हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै भक्तपुरको विकासमा नयाँ आयाम थपिने र भक्तपुर कोटेश्वरको जामसमेत हट्ने विश्वास लिएको छ । करिडोरले वर्षायामसँगै प्रत्येक वर्ष हुने भक्तपुरको डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुने, अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा करिडोर प्रयोगमा आउने भएको छ । कार्यक्रममा हनुमन्ते जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिका उपाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सदस्य सूर्यविनायक नपाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि सुभासचन्द्र अर्याल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, शहरी विकास मन्त्रालयका प्रतिनिधि इ विवेकबहादुर सिंह, उपत्यका विकास प्राधिकरणका कानून अधिकृत घनश्याम पौडेल, नापी कार्यालय भक्तपुरका अधिकृत ज्ञानेन्द्र विष्टको सहभागिता थियो । त्यस्तै मथिनपा वडा नं ३ का वडाध्यक्ष प्रेमबहादुर कुटु, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ, सुनपा वडा नं २ का वडाध्यक्ष कमलनाथ आचार्य, वडा नं ३ का वडाध्यक्ष शिवशरण खत्री, वडा नं ४ का वडाध्यक्ष उक्तम थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधि डोरकाजी श्रेष्ठ, सदस्य सचिव प्रेमलाल भासिमा, वाग्मती प्रदेशका सांसद रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, सुनपाका अनिरुद्र नेपाल र सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापा लगायतको उपस्थिति थियो ।
सङ्खुवासभाका चार हिमताल जोखिममा: सतर्क रहन आग्रह
किमाथाङका । सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ । नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उहाँले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताउनुभयो । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उहाँले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए । तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । उनले निकट भविष्यमै सरोकारवाला सङ्घसंस्थासँग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपङ्क्तिमा रहने प्रतिवद्धता व्यक्त गरे । वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो । यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए । हितालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ । अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । यो हिमताल विस्फोट भएमा सङ्खुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ । हिमताल फुट्ने महिना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो । हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने इसिमोडका डा अरुणबहादुर श्रेष्ठले बताए । उनले भने, “हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ ।” नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क छ । जोखिम छ, पूर्वतयारी छैन जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ । हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन् । विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नुपर्नेमा प्रबन्धक राईको जोड छ । “त्यो भनेको हिमतालहरूको नियमित अनुगमन र पूर्वसूचना प्रणाली स्थापना हो”, उनले भने, “‘त्यसका लागि चाहिने सहयोग जुटाउन सकिन्छ ।”
चितवनका गाईमा देखियो नयाँ भाइरस सङ्क्रमण
चितवन । चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए । शुरुआतमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए । अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ । यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईले बताए । उनले भने, “असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौँ ।” कार्यालयले रोगबाट सङ्क्रमित घरधुरी र गाईको सङ्ख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले बताए । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरेको उनले जानकारी दिए । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक/दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ । केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन । रोगका लक्षण राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा शुरुमा समस्या देखिएको थियो । “गाईको शरीरभरि घाउ आएको छ”, उहाँले भन्नुभयो, “राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।” कातिमा ब्याएको गाईले दैनिक १४÷१५ लिटर दूध घटाएर तीनदेखि चार लिटरमात्र दिन थालेको उनले बताए । गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर शुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उहाँले बताए । शुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताए । यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाएका छन् । पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो । नगरका अधिकांश किसानका गाईको नमूना सङ्कलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उनले बताए । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ ।
‘२५० ड्युक’ र ‘२५० एनके’ मा कसको पल्ला भारी ? भिन्नता चाहिँ यस्ता छन्
काठमाडाैं । हाल नेपाली बजारमा २५० सीसी मोटरसाइकल सेग्मेन्टमा आफूलाई अब्बल तुल्याउन धेरै मोटरसाइकलहरुले प्रतिष्पर्धा गरिरहेको पाइन्छ । तर पनि पर्फमेन्स ओरियन्टेड मोटरसाइकलको उपनाम पाएका दुई मोटरसाइकल ‘केटिएम २५० ड्युक’ र ‘सिएफ मोटो २५० एनके’ ले भने आफ्नो सेग्मेन्टमा छुट्टै पहिचान बनाएका छन् । एग्रेशिभ लुक्स भएका कारणले नै यी प्रिमियम मोटरसाइकलहरु विशेषगरी युवा पुस्ताका माझ चर्चित रहेको छ भन्दा फरक पर्दैन । आज हामी भने यी दुवै बाइकहरुका विशेषता र साथै यिनीहरुका बीच रहेका विभिन्न भिन्नताहरुका वारेमा चर्चा गर्नेछौं जसबाट तपाईंलाई ती दुईमध्ये कुनै एक चयन गर्नुपर्ने अवस्थामा पक्कै सहयोग पुग्नेछ । इञ्जिन २५० ड्युकमा २४९.२ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २७ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । २५० एनकेमा भने २४८.८ सीसी सिङ्गल सिलिण्डर इञ्जिन समावेश गरिएको छ र यस इञ्जिनले ३० बीएचपीको पावर र २४ एनएमको टर्क उत्पादन गर्दछ । यी दुवै बाइकहरुमा ६–स्पिड गियरबक्स दिइएको छ । डाइमेन्सन २५० ड्युकको सिट हाइट ८३० मिलिमिटरको छ भने २५० एनकेको चाहिँ ७९५ मिलिमिटरको रहेको छ । त्यसैगरी २५० ड्युकको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने २५० एनकेको चाहिँ १५० मिलिमिटर छ । २५० ड्युकको कर्ब वेट १४९ के.जी. छ भने २५० एनकेको चाहिँ १५१ के.जी. रहेको छ । त्यसैगरी २५० ड्युकको फ्युल ट्याङ्क क्यापासिटी १३.४ लिटरको छ भने २५० एनकेको चाहिँ १२.५ लिटरको रहेको छ । ब्रेक र सस्पेन्सन उपरोक्त दुवै मोडेलहरुका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने डुअल–च्यानल एबीएस पनि दुवै मोटरसाइकलमा समावेश छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा दुवै बाइकमा अगाडितर्फ अपसाइड डाउनफर्क र पछाडितर्फ भने मोनोशक जडान गरिएको छ । टप स्पिड र माइलेज दुवै मोटरसाइकलको इञ्जिन क्षमता एउटै भएको हुनाले दुवैले लगभग उस्तै टप स्पिड र माइलेज प्रदान गर्दछन् । २५० ड्युकले १५० केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी केटिएमले दावी गरेको छ भने २५० एनकेले चाहिँ १४५ केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी सिएफ मोटोले दावी गरेको छ । त्यसैगरी केटिएमका अनुसार २५० ड्युकले ३० केएमपीएल प्लसको माइलेज प्रदान गर्दछ भने २५० एनकेले चाहिँ ३५ प्लसको माइलेज प्रदान गर्छ भनी सिएफ मोटोले दावी गरेको छ । अन्य २५० ड्युकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश छ भने २५० एनकेमा चाहिँ टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल समावेश रहेको छ । त्यसैगरी २५० ड्युकमा एमआरएफ कम्पनीको टायरहरु प्रयोग भएको छ भने २५० एनकेमा चाहिँ सिएसटि कम्पनीको रेडियल टायर प्रयोग भएको छ । मूल्य केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले नेपाली बजारमा २५० ड्युकको मूल्य छ लाख ४० हजार रुपैयाँ तोकेको छ । त्यसैगरी सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले चाहिँ नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
भूकम्पपछिको पुनःनिर्माणमा नागरिककाे भ्रष्टाचार: बस्न याेग्य घर भएकाले पनि रकम लिए
काठमाडाैं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ । टिआई नेपालले शुक्रबार आयोजना गरको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक जवाफदेहिता औजार प्रयोग’ विषयक छलफल कार्यक्रममा भूकम्प अति प्रभावित १४ जिल्लामा गरिएको अनुगमनका क्रममा लाभग्राहीले अन्य स्थानमा बस्न योग्य घर छैन भनी अनुदान लिने धेरैको अन्यत्र पनि बसोवास भेटिएकाले नागरिक स्तरमा भ्रष्टाचार बढेको देखिएको जानकारी गराइएको छ । कार्यक्रममा टिआई नेपालका वरिष्ठ अधिकृत दीनानाथ भट्टराईले स्थानीय तह र नागरिक स्तरमा भ्रष्टाचार बढ्दै जाँदा नागरिक संस्था समेत कम गराउन सफल हुन नसकेको स्वीकार गरे । विद्यालय पुःननिर्माण गर्दा सुशासन ऐन अनुसार सूचना दिन ‘होर्डिङ बोर्ड’ राख्नुपर्ने, पुनःनिर्माण सम्पन्न भएपछि सामाजिक लेखापरीक्षण गर्नुपर्ने जस्ता कानूनी व्यवस्था पालना नहुँदा भ्रष्टाचार एवं अनियमितता बढेको उनले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माणका क्रममा कानूनी सहायता प्रदान गर्दै आएको नागरिक संस्था राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले भूकम्प अति प्रभावित १४ जिल्लाका धेरै स्थानीय तह एवं वडामा नागरिक बडा पत्र नभेटिएको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसका कारण पनि भूकम्प पीडितले सही सूचना पाउन नसकेको बताए । जसले निजी आवास पुनःनिर्माणमा प्रभाव परेको छ । पुनःनिर्माणमा स्थानीय तह र वडालाई बढी जिम्मेवार बनाउन खोजे पनि कर्मचारी अभाव लगायत कारण त्यो प्रभावकारी हुन नसकेको स्थलगत रुपमा अनुगमनका क्रममा देखिएको उनले उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक तारा गुरुङ, टिआई नेपालका जिल्ला अधिकृत शारदा नेपाली, मञ्चका कोषाध्यक्ष जीवन पौडेल लगायतले पुनःनिर्माणमा संलग्न हुने केन्द्रदेखि स्थानीय तहसम्मका निकायले सदाचार कायम गराउन असफल देखिएको बताए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि टिआई नेपालले अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, ओखलढुङ्गा, सिन्धुली र मकवानपुरमा जिल्ला सम्पर्क कार्यालय खोलेर जिल्ला अधिकृतमार्फत भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत नागरिक संस्थासंगको सहकार्यमा नागरिक अनुगमन गर्दै आएको छ । यो कार्यक्रममार्फत् भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा विसं २०७३ देखि सहकार्य हुँदै आएको हो । भूकम्पपछि सरकार, स्थानीय तह र अन्य साझेदारबाट भएका पुनःनिर्माण र पुनःस्थापनामा जवाफदेही, पारदर्शिता एवं गुणस्तर कायम गर्न सहकार्य गरी सहयोगी भूमिका निर्वाह भइरहेको टिआई नेपालले जनाएको छ ।
अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ
काठमाडौं । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए । रासस