कर्णाली प्रदेश सरकारले विपद् पीडितलाई १ लाख दिने
कर्णाली । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप रु एक लाख दिने निर्णय गरेको हो । विशेष गरी विपद्का मयमा नागरिकमा पर्न जाने क्षति र पीडालाई यथासम्भव सम्बोधन गर्न बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए । त्यसैगरी बैठकले विपद्बाट क्षति भएको घरपरिवारका लागि तीन महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता केसीले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय उक्त बैठकले गरेको छ ।
अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा हालसम्म ५२ लाख ६८ हजार ४ सय २० कित्ता आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार १० बजेसम्ममा संस्थाकाे सेयरमा सो मात्राको आवेदन परेको हो । सो अवधिसम्ममा एक लाख ३० हजार ३ सय १ जना आवेदकले ५२ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर माग गरेको छन् । जुन संस्थाले माग गरेको भन्द साँढे एक गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर माग गरेकाे हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा पहिलो दिन कति पर्याे आवेदन ? एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क
झापाकाे अर्जुनधारा नगरपालिका पाँच दिनका लागि लकडाउन
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उहाँले सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको जानकारी दिए । उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तर सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ । मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनले बताए । सङ्घसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ । नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिस लगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पाँच दिनका लागि गरिएको यो व्यवस्था सङ्क्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।
कोरोना संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल, देशभर २ सय ५३ प्रहरीमा संक्रमण
काठमाडौं । ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । ट्राफिक प्रहरीमा कार्यरत २ जनामा कोभिड–१९ संक्रमण पुष्टी भएको हो । महाशाखामा कार्यरत २ जना ट्राफिकमा संक्रमण पुष्टी भएपछि महाशाखामा कार्यरत सबै दर्जाका ट्राफिक प्रहरी अन्यको सम्पर्कबाट बाहिर (क्वारेन्टिनमा) रहेका प्रवक्ता बामदेव गौतमले जानकारी दिए । ‘यहाँ कार्यरत २ जना ट्राफिकमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ, संक्रमितहरु आइसोलेसनमा हुनुहुन्छ, अरुलाई पनि सर्यो कि भन्ने शंका गरेर हामीले महाशाखामा कार्यरत ट्राफिक प्रहरी अन्यको सम्पर्कमा नजाने तथा बाहिरका व्यक्तिहरुलाई हामीसँग सम्पर्क गर्न नदिने गरी अत्यावश्यक बाहेक सवै सेवा रोकेका छौं, तर अहिले महाशाखा प्रमुख (एसएसपी भीमप्रसाद ढकाल), म (प्रवक्ता एसपी बामदेव गौतम) सहितका व्यक्तिहरु कार्यालयमै छौं, महाशाखा निर्मलीकरण र निसंक्रमित गरेपछि मात्रै सर्वसाधारणलाई प्रदान गरिने सेवा सुचारु हुन्छ,’ प्रवक्ता गौतमले भने । ट्रफिकम महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरी महाशाखा अन्तरगतका ४४ वटा कार्यरत छन् । अन्य कार्यालयहरुले सेवा सुचारु गरेका छन् भने महाशाखा सिल भएको छ । महाशाखा अन्तरगत २ सय जना ट्राफिक प्रहरी कार्यरत छन् । २ सय ५३ प्रहरीमा संक्रमण दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमित प्रहरीको संख्या २ सय ५३ पुगेको छ । प्रहरी प्रधान कार्यालय कार्यरत ७२ जना प्रहरीमा संक्रमण पुष्टी भएको हो । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टी भएसँगै नेपाल प्रहरी अन्तरगत कार्यरत २ सय ५३ जनामा संक्रमण पुष्टी भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा संक्रमण पुष्टी भएसँगै गत शुक्रबार प्रहरी प्रधान कार्यालय निर्मलीकरण र निसंक्रमण गरिएको प्रवक्ता एसएसपी कडायतको भनाइ छ । ‘विश्वभर संक्रमण विस्तार भइरहेको कोरोनाले २ सय ५३ प्रहरीलाई संक्रमण भएको छ, प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा पनि संक्रमण पुष्टी भएपछि हामीले गत शुक्रबार निर्मलीकरण र निसंक्रमण गरेका छौं, अन्य स्थानमा पनि संक्रमण देखिएको स्थानमा यसैगरी निर्मलीकरण र निसंक्रमण गरेर सेवा सुरु गर्ने काम भइरहेको छ,’ एसएसपी कडायतले भने । स्थास्थ्य अवस्था सामान्य संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रीय प्रवक्ता कडायतले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा कार्यरत ३÷४ जना प्रहरीलाई सामान्य ज्वरो देखिएपछि परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको थियो । ‘हेडक्वाटरका ३÷४ जना प्रहरीमा ज्वरो देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो, उहाँहरुको स्वास्थ्य अवस्था पनि सामान्य नै छ, अन्य संक्रमितमा पनि अहिलेसम्म कोरोना संक्रमणको लक्ष्यण समेत देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य छ,’ एसएसपी कडायतले भने ।
बेलायतकाे यूरोमनीद्धारा नबिल बैंक पुरस्कृत, दोस्रो पटक पनि नेपालको उत्कृष्ट बैंक बन्न सफल
काठमाडौं । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो । सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
नेपाल फाइनान्सको संचालकमा दुईजना नियुक्त
काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको दुई संचालक नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तीसँगै कम्पनीको संचालक समितिले पूर्णता पाएको छ । नेपाल राष्ट्र बैंकले फाइनान्सलाई ५ बर्ष अघि समस्याग्रस्त घोषण गरिएकोमा २०७६ मंसिर २५ गतेबाटसशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो । प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलियाको नेत्रित्वमा अषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गर्न फाइनान्स सफल भएको छ । कमलादीमा केन्द्रिय कार्यलय तथा नयाँसडकमा शाखा कार्यालय संचालनमा रहेको संस्थाले भविष्यमा देशका विभिन्न भागमा सखा संचालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ । प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती, रोजीना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्सको ७ जना संचालक रहेका छन्।
बीमा गराएर मात्र बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउनुपर्छ- सुनिल बल्लभ पन्त
सुनिल बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहास ३ दशक लामो छ । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल लाइफ’ । एनएलजी इन्स्योरेन्समा तीन दशकदेखि कार्यरत सुनिल बल्लभ पन्त सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको दुई वर्ष पुरा हुन लागेको छ । तीन दशकमा बीमा क्षेत्रमा कस्तो परिवर्तन आयो ? आगामी दिन बजारमा कस्तो परिवर्तन जरुरी छ ? कोभिड-१९ पछिको सिकाई कस्तो रह्यो ? एनएलजीको आफ्नै अवस्था कस्तो छ ? प्रस्तुत छः पन्तसँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाईले बीमा क्षेत्रमा तीन दशकभन्दा बढी बिताउनुभयो । यसअवधिमा बजारको विकासलाई कसरी चित्रण गर्नुहुन्छ ? जतिबेला म बीमा क्षेत्रमा प्रवेश गरेको थिए, त्यतिबेला ५ हजार रुपैयाँ बीमा शुल्क आउँदा खुशी मनाउँथ्यौं, अहिले ५ लाख रुपैयाँ बीमा शुल्क आउँदा पनि धेरै खुशी सकिदैन । सम इन्स्योर्ड धेरै बढेको छ । जोखिम व्यवस्थापनमा प्रणाली सोही अनुसार विकसित भएर गएको छ । रिटेन्सन पनि बढेको छ । जोखिम हस्तान्तरणको शैलीमा पनि ठूलो परिवर्तन भएको छ । बीमाबारे जनचेतना पनि बढेको छ । बैंकबाट कर्जालिँदा मात्र हुने सम्पत्तिको बीमा अहिले कर्जा नलिएको अवस्थामा पनि बीमा गर्नुपर्छ भन्ने मान्यता विकास हुँदै आएको छ । त्यतिबेला मानिसहरु गाडीको बीमा पनि गर्न रुचाउँदैन थिए । अहिले मानिसहरु बाली, पशुधनको समेत बीमा गर्न थालेका छन् । तर बीमालाई बजारीकरण गर्न तौल तरिकामा भने ठूलो परिवर्तन भएको छैन । स्थान र माध्यम फरक होला, दिने सन्देश उही छ । अहिले पनि बीमा कम्पनीहरुले आफ्नो सवल पक्ष, सेवाको गुणस्तर देखाएर बजारीकरण गर्नुको साट्टो अरुको कमजोरी कोट्याउने, लाभभन्दा लोभ देखाउने अभ्यास पनि यदाकदा देखिन्छ । आजको दिनमा बीमा बजारीकरणको तरिका, विधि, पद्धति, शैली, अजेण्डा कस्ताे हुनुपर्दथ्यो ? जोखिम हस्तान्तरणको विषय ग्राहकलाई राम्ररी बुझाउने प्रयास हुनुपर्दथ्यो । बीमा करारमा भएका सर्त, सीमा, सुविधा ग्राहकलाई राम्ररी बुझाइनु पर्दथ्यो । क्षति भएको अवस्थामा कुन विधिबाट बीमा दावी गर्ने, कुन अवस्थामा कति दावी गर्न मिल्छ, कहिलेसम्म दावी भुक्तानी हुन्छ, त्यसको प्रक्रिया के छन् ? सबै कुरा बीमितलाई बुझाउन सक्नुपर्दथ्यो । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कँही कतै चुकेका छौं । बजारको असन्तुष्टि सुनेर बीमा कम्पनीहरुले समिक्षा गरेका छन् ‘हामी कहाँ चुक्यौ’ भनेर ? हामीले ग्राहकलाई बुझाउन चुकेका छौं, बुझाउन सकेका छैनौं । दुर्घटनाबाट क्षति भएपनि बीमा गरेको छु भनेर बीमित ढुक्क हुने, बीमा दावी भुक्तानीपछि बीमितहरु खुशी बनाउने वातावरण हामीले निर्माण गर्नुपर्छ । उनीहरुलाई हामीले खुशी बनाउन नसक्नु, उनीहरुलाई उत्साहित बनाउन नसक्नु कम्पनीहरुको कमजोरी नै हो । यसमा सबै बीमा कम्पनीहरु एक भएर लाग्नुपर्ने हुन्छ । ग्राहकलाई दुविधामा राखेर बीमा गराउनु भएन । विदेशमा मध्यस्तकर्ता राखिन्छ । सर्भेयर स्ट्रोङ हुन्छ । दुर्घटना स्थलमा गएर हेर्ने, डकुमेन्टहरु बनाउने सर्भेयर नै हो । यस्ता पक्षमा सुधार जरुरी छ । नयाँ बीमा ऐनमा धेरै सुधारको प्रयास भएका छन् । कुनै पनि कम्पनीले ग्राहकलाई कति सन्तुष्ट बनाएका छन् भन्ने कुरा बीमितले हाल्ने मुद्दा मामिलाबाट पनि देखिन्छ । एनएलजीको कुरा गरौं, विगत दुई वर्षदेखि एउटा ग्राहक पनि बीमा समिति वा न्यायिक निकायमा गएका छैनन् । समग्रमा अरु कम्पनीको पनि उजुरीको संख्या घट्दो क्रममा छ । बीमा कम्पनीको विश्वसनियता बढाउन बीमितलाई छिटोभन्दा छिटो यथाचित क्षतिपूर्ति दिनुपर्छ भन्नेमा सबै कम्पनीहरु सहमति भएका छन्, सबै लागेका छन् । घट्दो मुद्दाको संख्याले पनि त्यो पुष्टि गर्छ । भूकम्पले पुर्याएको क्षतिपूर्ति स्वरुप बीमा कम्पनीहरुले १८ अर्ब रुपैयाँ बीमितलाई भुक्तानी दिएका छन् । भूकम्पले मेरो क्षति भयो, बीमा कम्पनीले भुक्तानी दिएन भन्ने एउटा पनि उजुरी वा मुद्दा छैनन् । र्स्ट्रोङ सर्भेयरको कुरा गर्नुभयो । प्रभावशाली बीमित वा बीमा कम्पनीबाट सर्भेयरको रिर्पोट कति प्रभावित हुन्छ ? प्रभावित हुँदै हुँदैनन भनेर म भन्दिन । व्यक्ति पिच्छे फरक पर्ला, कम्पनी पिच्छे फरक पर्ला । बीमा कम्पनीहरुले आफ्नो शाखा अभिवृद्धि गर्नको लागि, समग्र बीमा क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्नको लागि सर्भेयरलाई प्रभाव पर्ने काम गर्नुहुन्न । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कही कतै चुकेका छौं । निकट भविष्यमा बजारको विकास कसरी होला ? भौतिक पूर्वाधार निर्माणमा सरकारले लगानी वृद्धि गर्न सकेमा बीमा बजार विस्तार हुन्छ । दोस्रो, कृषिबाली तथा पशुधनको बीमा बढ्छ । गत वर्षमा पनि ६ प्रतिशतले बजार विस्तार हुँदा आशा बढाएको छ । नियामकको भूमिकामा के कस्तो सुधार जरुरी छ ? सुधार भनेको नियमित प्रक्रिया हो । तीन वर्षअघि हामी जनचेतना अभिवृद्धि भएन भनेर एक स्वरमा भन्ने गरेका थियौं । अहिले त्यसतर्फ धेरै काम भएका छन् । अहिले सेवाको स्तर सुधार गर्नु पर्यो भन्नेमा केन्द्रीत भएका छौं । कृषिबाली तथा पशुधन बीमा, लघुबीमा वृद्धिमा बीमा समितिको भूमिका धेरै राम्रो छ । दावी भुक्तानी यथासमयमा गराउन बीमा समितिले बीमा कम्पनीहरुसँग बारम्बार छलफल गरेको छ, एक किसिमका दवाव दिईरहेको छ । यसलाई म राम्रो मान्छु । प्रणालीगत सुधारतर्फ एनएफआरएस लागू भयो, सल्भेन्सी मार्जिनको नियम लागू भयो । पुँजीमा आधाररित अण्डरराइटिङको अभ्यास हुनु, कम्पनीहरुको पुँजी वृद्धि हुनु राम्रो प्रयास हो । मर्जरको नीति ल्याइसकेको छ । त्यसैले मलाई लाग्छ, बीमा समितिको भूमिका धेरै सकारात्मक नै छ । बीमा बजारको साइज र पुँजीको साइजबीच असन्तुलनको कुरा हुन्छ । तपाईलाई लाग्छ बीमा क्षेत्रले लगानीकर्तालाई उचित लाभांश दिन सक्छ ? जस्तो एनएलजी इन्स्योरेन्सकै कुरा गर्नु हुन्छ भने हकप्रद सेयर निष्काशन गरेर पुँजी १ अर्ब रुपैयाँ पुर्याउँदै छौं । आवेदन नभएको डेढ लाख कित्ता सेयर अक्सनमा लैजादै छौं । बीमा कम्पनीहरुले ठूलो रकम बैंकमा निक्षेप राखेका हुन्छन् । त्यसको व्याज घटेको छ । बीमा कम्पनीको आम्दानीमा यसले नकारात्मक असर पार्छ । लगानी निर्देशिकाले सेयर, घर जग्गा, जलविद्युत, पूर्वाधार बण्ड लगायतका क्षेत्रमा लगानी खुला गरिएता पनि त्यसतर्फ हौसिएर लगानी गर्न गाह्रो छ । हामीसँग अहिले पनि निक्षेप, ऋणपत्र, म्यूचअल फण्ड र सेयरबाहेक लगानी गर्ने बैकल्पिक क्षेत्र कम छन् । त्यसमा पनि सबैभन्दा ठूलो लगानी निक्षेपमा छ । एनएलजी इन्स्योरेन्स कै बारेमा कुरा गरौं । असार मसान्तको वित्तीय अवस्था कस्तो रह्यो ? गत आर्थिक वर्षको अन्तिम चार महिनामा कोभिड-१९ महामारी र लकडाउनका कारण आर्थिक गतिविधि ठप्प नै रह्यो । सरकारले पनि विकास निर्माणमा खर्च गर्न सकेन । विकास निर्माणको काम नहुँदा त्यस क्षेत्रको बीमा भएन । यस कठिन अवस्थामा पनि समग्रमा निर्जीवन बीमाको बजार ६ प्रतिशतले वृद्धि भएको छ । एनएलजीको बजार विस्तार पनि बजारको औषत दरको हाराहारीमा छ । गत वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छौं भने बीमा दावी आउटस्ट्याण्डिङ ८० करोडको हाराहारी रहेको छ । ६ प्रतिशतको व्यवसाय विस्तारमा तपाई सन्तुष्ट हुन सक्नुहुन्छ ? कोडिभ-१९ को महामारी, झण्डै चार महिनाको लडकाउन, विकास निर्माणका काम ठप्प भएको अवस्थामा अघिल्लो वर्षको बराबरी व्यवसाय गर्नुलाई पनि यस पटक सन्तोषजनक मान्नुपर्छ । कति कम्पनीहरुको व्यवसाय खस्किएको छ । तर हाम्रो त ६ प्रतिशतको वृद्धि छ । यसमा हामी सन्तुष्ट हुनुपर्छ । १७३ करोड बीमा शुल्क संकलन गर्दा २० वटा निर्जीवन कम्पनीमा एनएलजीको पोजिसन कहाँ छ ? बीमा शुल्कको आधारमा पाँचौ स्थानमा । टप फाइभ भित्र रहिरहने हाम्रो मिसन हो । टप वान भन्ने छैन । अबको प्रयास टप थ्रीमा जाने भन्ने हो । एनएलजी इन्स्योरेन्स कम्पनीको सबल पक्ष के-के हुन् ? नेटवर्क । सबैभन्दा ठूलो शाखा सञ्जाल हामीसँग छ । ९८ आउटलेट छन्, केन्द्रीय कार्यालय, शाखा, उपशाखा, एक्सटेन्सन काउन्टरसहित । इन्ट्रिग्रेटेड सफ्टवयर छ । एमआईएस सिस्टम दह्रो छ । प्रत्येक्ष क्षेत्रको रियलटाइम व्यवसायिक डाटा हातमा लिएर काम गर्छौ । हाम्रो कर्मचारी यो संस्थाको अर्को सबल पक्ष हो । यहाँ कर्मचारीमा स्थायीत्व छ । यहाँका कर्मचारी ट्रेन छन्, सक्षम छन् । एनएलजीको कर्मचारीलाई बजारले विश्वास गरेको छ । हामीहरुले अनलाईन पोलिसीलाई प्रभावकारी बनाएका छौं । लकडाउनपछि २ महिना हामीले १०० प्रतिशत सेवा अनलाईनबाट दियौं । हाम्रा ग्राहकहरुले गुणस्तरीय सेवा पाएका छन् र खुशी पनि छन् । अनलाइनबाट सेवा दिए पनि त्यसलाई फेरी कागजी फाइल बनाउनु पर्ने नियामकको निर्देशन छ । के अब बीमा सेवालाई लकडाउनको अवस्थामा झै पुरै डिजिटल्ली सञ्चालन गर्न सकिदैन ? अहिलेको नीति, कानुन र व्यवस्था अनुसार हामी गरेका सबै कामको कागजी फाइल बनाउनैपर्छ । डिजिटल सेवा ग्राहकलाई सजिलो र छिटो बनाउनको लागि हामीले गरेका हौं । लकडाउन खुकुलो भएपछि हामीले एउटा यूनिट नै खटाएर लकडाउनको बेलामा गरिएको सबै अनलाईन कारोबार विवरणलाई कागजी फाइल बनाएर राखिसकेका छौं । आगामी दिनमा पनि हामी डिजिटल कारोबारमा जोड दिन्छौं । व्याकअपको लागि कागजी फाइल पनि बनाउँदै जान्छौं । बीमा क्षेत्रले डिजिटल कारोबार गर्न तथा सेवा सञ्चालक गर्ने प्रयास गर्दै आएपनि त्यसमा सफलता मिलेको थिएन । लकडाउनको अवधिमा १०० प्रतिशत सेवा डिजिटल्ली गर्यौ भन्नु भयो । यसबाट सिकाइ के रह्यो ? हाम्रा कार्य प्रणालीमा कस्तो सुधार देखियो ? यसमा दुईटा सिकाइ रह्यो । पहिलो, ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुने देखियो । दोस्रो, जोखिम विश्लेषणमा समयमा नै गर्न सकिएन । त्यसको लागि अर्को संयन्त्र बनाउनु पर्ने देखियो । यी हाम्रा चुनौति पनि हुन् । अनलाइनबाटै बीमा पोलिसी लिन सकियोस्, बीमा शुल्क भुक्तानी गर्न सकियोस्, बीमा दावी माग गर्न सकियोस्, दाबी भुक्तानी गर्न सकियोस् भन्ने सोचलाई व्यवहारमा रुपान्तरण गर्न नसकिने रहेछ ? निश्चय नै सकिन्छ । साना तथा मझ्यौला बीमा, खासगरी आवसीय घरका बीमा, निजी सवारी साधन, कृषिबाली र पशुधन बीमा डिजिटल्ली गर्न सकिन्छ । रुपान्तरण भनेको क्रमशः हुने कुरा हो । एकै पटक रुपान्तरित हुने प्रयास भयो भने त्यसले जोखिम बढी ल्याउन सक्छ । सबैभन्दा बढी शाखा हुनुलाई तपाईले एनएलजीको सबल पक्षको रुपमा चित्रण गर्नु भयो । तर कोडिभ-१९ महामारीसँगै मान्छेको आनीबानी र कार्यशैलीमा ठूलो परिवर्तन हुने संकेतहरु देखिएका छन् । बस्तु तथा सेवाको व्यापारदेखि सामूहिक छलफलसम्म भर्च्युअल हुन थालेको छ । धेरै शाखा खोलेर गल्ती गरिएछ भन्ने लाग्दैन तपाईलाई ? शाखा, उपशाखा विस्तार गरेर हामीले जे गरेका छौं, त्यो ठिक छ । अहिले पनि यसतर्फ गल्ती भयो जस्तो मलाई लाग्दैन । किनकी त्यस क्षेत्रका मानिसलाई डिजिटल्ली अभ्यस्त गराउन पनि हामीले सहयोग गर्नैपर्छ । उनीहरुलाई जनचेतना फैलाउन, एप प्रयोग गर्न सिकाउन, उनीहरुलाई डिजिटल कारोबारप्रति विश्वास दिलाउन पनि हामीले कर्मचारी खटिनै पर्छ । त्यसको लागि अफिस चाहिन्छ नै । त्यसो भए बीमा कम्पनीहरुले आफ्ना शाखा मर्ज गर्न पाउनु पर्यो, बन्द गर्न पाउनु पर्यो भन्दै बीमा समितिमा किन गए ? समग्रमा बजारको पर्याप्त अध्ययन नगरी, सम्भाव्यता अध्ययन रिपोर्ट नै नबनाई शाखा खोल्ने काम बीमा कम्पनीहरुबाट भएका छन् । त्यहि कारण केही क्षेत्रमा आवश्यक भन्दा बढी शाखाहरु छन् । हामीले पनि २ ठाउँमा शाखा खोल्न हतार गरेछौं कि जस्तो लागेको छ । बीमाको पहुँच बढाउन शाखा विस्तार पनि जरुरी छ । जहाँ व्यवसाय कम छ, शाखा धेरै छ, त्यहाँ शाखा मर्ज गर्दा राम्रो हुन्छ । विश्वकै नारा हो, ‘आफू बाँचौ र अरुलाई बचाऔं’ । बीमा कम्पनीहरुले पनि यस नारालाई आत्मसाथ गर्नुपर्छ । मिलिजुली अगाडि जानुपर्छ । विकसित देशमा सामान्य अवस्थामा पनि ‘वर्क फर्म होम’ अर्थात घरबाटै काम गर्ने अभ्यास शुरु भईसकेको छ । नेपालमा महामारीको बेलामा त्यो अभ्यास भयो । यसबाट सिकाई के रह्यो ? लकडाउन हुन सक्छ भन्ने आभास हामीलाई पहिले नै भएको थियो । त्यो अवस्थामा कसरी काम गर्ने भन्ने हाम्रो केही तयारी पनि थियो । त्यसैले जिम्मेवार कर्मचारीको घरमा कम्प्यूटर, प्रिन्टर लगायत हार्डवयर, सफ्टवयरको प्रबन्ध हामीले गरेको थियौं । लकडाउन भएको भोलिपल्ट १० बजेदेखि नै हाम्रा सेवा सुचारु थिए । हाम्रा कर्मचारीलाई ट्रेन पनि गराएका थियौं । वर्क फर्म होमबाट पनि धेरै प्रकारको सेवा दिन सकिन्छ भन्ने अनुभव भएको छ । कोभिडका कारण अर्थतन्त्रमा मन्दी आउँदैछ । कर्पोरेट हाउसहरुले खर्च कटौती गरिरहेका छन् । यसतर्फ एनएलजीले कस्तो अभ्यास गरिरहेको छ ? निश्चय नै अहिलेको चुनौति भनेको खर्च कम गर्नु हो । यसलाई हामीले दुई धारमा हेरेका छौं । पहिलो, सुविधायुक्त खर्च, दोस्रो आधारभूत खर्च । जीवनपार्जनको लागि आवश्यक आधारभूत खर्च हामी कटौती गर्दैनौं । कर्मचारी खर्च कटौती हुँदैन । सुविधायुक्त खर्चमा कटौती हुन्छ । सबै घरधनीलाई भाडा घटाउन अनुरोध गर्यौ । कर्पोरेट कार्यालयका घरधनीले एक वर्षको लागि भाडा घटाएर राहात दिनुभएको छ । त्यस्तै, हाम्रो जीवनशैलीमा परिवर्तन आएको छ । होटल, रेष्टुरेन्टको खाना कम भएको छ । त्यसले अफिसको खर्च स्वतः घटेको छ । फ्यूल खर्च कम हुने भएको छ । गत वर्षभन्दा बढी खर्च भएन भने पनि त्यो राम्रो हुन्छ । चालु आर्थिक वर्षको व्यवसाय कस्तो होला ? बैंकको व्याजदर घटेको छ । कर्जा लिनेलाई सस्तो भएको छ । अब स्थिति सामान्य उन्मुख हुने बित्तिकै बैंकबाट कर्जा लिने र व्यवसाय गर्नेहरु बढ्छन् । बैकिङ गतिविधि बढ्ने बित्तिकै बीमा पनि बढ्छ । कोभिड-१९ बीमाबारे एक पटक बजारमा हाइक्राइनै भएको थियो । अहिलेसम्म कोभिड बीमामा कम्पनीहरु नाफामा नै छन् कि नोक्सानमा गए ? नोक्सान भएको छैन । तर यो बीमामा हामीले ६०० रुपैयाँ लिएर एक लाख रुपैयाँको जोखिम कभर गरेका छौं । यसमा नाफा घाटाको कुरै नगरौं । बीमा भनेको विपतकाे बेलामा सहयोग गर्ने सेवा हो । यतिबेला आम मानिस त्रासमा छन् । उनीहरुलाई अप्ठ्यारो परेमा बीमाले सहयोग गर्छ भन्ने प्रमाणित गर्नुछ । यसमा हामीले नाफा नोक्सान हेर्ने होइन । कोरोना बीमा गराउँदै मानिसहरुलाई हरेक प्रकारको जोखिम कम गर्न बीमा गर्नुपर्छ भन्ने सन्देश दिनसक्नुपर्छ । र, आजको मितिसम्म यो कोभिड-१९ बीमामा नोक्सानी भएको पनि छैन ।
नेपालकै लामो झोलुङ्गे पुल: अब एक घण्टाको यात्रा १० मिनेटमा
गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् । गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिए । बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ । पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ । शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाैंका सिनियर डिभिजन इञ्जीनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपश्चात सबै प्राविधिकरूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको जनाउँदै पुल सञ्चालन गर्न भनिएको बताए । “पुलको प्राविधिक परीक्षण ग¥यौँ, अब अफिसियलरूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहले समन्वयका आधारमा गर्नेछ”, उनले भने । ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो । पुल हस्तान्तरण नहुँदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । “हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ”, उनले भने, “वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौँ, तर कार्यालयले शुक्रबारदेखि पुल खोल्न भनेको छ ।” उनका अनुसार झोलुङ्गे खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलोपटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलोपटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ छ । पुलको एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ । विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरु हुनसकेको थिएन । रु ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो ।