पेट्रोलकाे मूल्य प्रतिलिटर १०४ रुपैयाँ, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।
काठमाडाैं उपत्यकामा ६ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ५ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।
नेपालमा थप ३ सय १५ जनामा कोरोना पुष्टि, ९३ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय १४ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ८६ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् भने आजसम्म ३ लाख ८२ हजार ४ सय २ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ९३ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’
काठमाडाैं । रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो । क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।” रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो । ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ । एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक ¥याली
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । विरोधस्वरुप आज बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क–कुटुबहाल–लामपोखरी–चन्द्रविनायक मन्दिर–चावहिल चोक–पीपलबोट–गौरीघाट–उमाकुण्ड–पशुपतिनाथको पश्चिम मूल ढोका–डठ्ठीटोल–जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक ¥याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए । सांस्कृतिक वेषभूषासहित ¥यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए । ¥यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका– ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो । सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए । स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो । समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाउनुभएको जानकारी पनि संयोजक सँगतले दिए । रासस
‘विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गराैं’
काठमाडाैं । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ । नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको छ । विषादी विज्ञ भक्तराज पालिखेले नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताएका हुन् । उनले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए । तथ्याङ्क अनुसार विकशित देशहरुमा प्रतिहेक्टर २ किलो भन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदापनि मापदण्ड अनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ । विज्ञ पालिखेले विकशित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपाल जस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताए । उनले विकशित देशमा विषादीको खपत बढी भएपनि मापदण्ड र नियम अनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए । नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका विषादी र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ । जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए । उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानिलाई हटाएर प्राविधिकको सल्लाह अनुसार छान्नुपर्ने उनले बताए । रातो र पहेलो रंङको विषादी भन्दा हरियो र निलो रंङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पु¥याउनुपर्ने उनी बताउँछन् । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिवन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।
सिसडोलका विद्यार्थीलाई काठमाडौं महानगरले ५० लाखकाे छात्रवृत्ति दिने
काठमाडौं । काठमाडाैं उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले रु ५० लाख छुट्याएको छ । सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ । विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि रु ५० लाखको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ । यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने कामपाको नीति रहेको छ । यसरी छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् । हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फोहर व्यवस्थापन भएको दाबी छ । केही स्थानमा फोहर उठेको छैन भन्ने जनगुनासो आएपनि सबै स्थानमा फोहर उठेको कामपाको भनाइ छ । “अन्य समयमा भन्दा वर्षादको समयको फोहर बढी उत्पादन हुने र समयसमयमा बाटो बिग्रने हुँदा कहिलेकाहीँ समस्या आए पनि अहिले समस्या छैन”, वातारण विभागका प्रमुख श्रेष्ठको भनाइ छ । यदि कही फोहर नउठेको भए कामपाको हटलाइन नं १११८ मा फोन गर्न पनि विभागले आग्रह गरेको छ । समस्या फोहर लानका लागि मात्रै होइन व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल फोहर विसर्जन हुँदै आएको छ । सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहर कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणको कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । लामो समयदेखि काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षातको समयमा फोहर विसर्जन कार्य समयास्याको विषय बन्दै आएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको अठार स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।
मकवानपुरका २ सय १९ घरेलु उद्योग बन्द
मकवानपुर । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज गरिएका बाहेक आठ हजार ७५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ उद्योग नवीकरण भएका छन् । त्यस्तै २१३ वटा उद्योग फर्मको नामसारी भएको छ । अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने सङ्ख्या घटेको छ । कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा एक हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त सङ्ख्या घटेर एक हजार २६४ वटा मात्र दर्ता भएको बताइएको छ । कोरोना भाइरसका कारण यस वर्ष २०७६/७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रु पाँच लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता सङ्ख्या घटेको बताइएको छ । लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ । प्राप्त विवरणअनुसार अघिल्लो आवमा रु एक करोड ७४ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रु दुई करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व सङ्कलन बढी भएको थियो । गत वर्ष विशेष छुट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छुट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो । गत वर्ष दर्तामध्ये ६४३ महिला र ९०८ पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ महिलाले र ३०० पुरुषले रोजगारी पाएको छ । कच्चा पदार्थको अभाव, उत्पादित सामान बिक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गरे । राष्ट्रिय तथ्याङ्क विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको जनाएको छ ।