कर्मचारीलाई कार्यशैलीमा सुधार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका निकायहरुलाई कार्यशैलीमा थप सुधार गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै मन्त्री थापाले उक्त निर्देशन दिएका हुन् । आइतबार मन्त्रालयमा आयोजित आ.व. २०७६ /७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त गर्यौं तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौं । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।’ अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए । राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारीलिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएको टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशील भएरै निर्वाह गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रकिया अगाडी बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको जानकारी दिए । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिएपनि पुँजीगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।
अब आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने
काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार उनीहरुले आइएमई पे वालेटबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्बन्धी सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुन्न: पर्यटनमन्त्री
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी स्थानीय सरोकारवालासमेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् । गुरुयोजनाका सन्दर्भमा सबै पक्षसँग छलफल/परामर्श गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । कोषको प्रस्तावित गुरुयोजनाबारेमा आज सरोकारवालासँगको छलफलपछि पर्यटनमन्त्री योगेशकुमार भट्टराईले तीन सदस्यीय कार्यदलको घोषणा गर्दै कोषको सम्पदा ओझेलमा पर्ने गरी कुनै पनि किसिमको काम नहुने स्पष्ट पारे । गुरुयोजनाका बारेमा सार्वजानिकरुपमा विभिन्न टीकाटिप्पणी भएपछि मन्त्रालयले आज स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासहितको छलफल गरेको थियो । सो छलफलमा पशुपति क्षेत्रबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद गगन थापा, प्रदेशसभा सांसद नरोत्तम वैद्य, काठमाडाैँ महानगरपालिका–७ का अध्यक्ष शुद्ध डङ्गोल, वडा नं ८ का अध्यक्ष दिनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, स्थानीय तथा राजनीतिक दलका प्रतिनिनिधि निर्मल कुइँकेल, निर्मल देउला तथा प्रस्तावित गुरुयोजनाविरुद्ध गठित सङ्घर्ष समितिका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । छलफलमा सहभागीको धारणा सुनेपछि पर्यटनमन्त्री भट्टराईले सरकारले तोकेको कार्यदेशभित्र रहेर कोषले गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै पशुपतिका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वलाई ओझेलमा पार्ने गरि कुनै पनि काम नहुने बताए । उनले भने, “स्थानीय सरोकारवालाका कुरा पनि सुन्नुपर्छ त्यसैले अहिले जहाँ पुगेको छ त्यही रोकौँला तर यसो भन्दैमा सधैँ रोक्न सकिन्न । अगाडि बढ्नै पर्छ ।” विसं २०४३ मा सरकारले तोकेको कोषको चार किल्लालाई मुख्य आधार बनाएर कोषले आफ्नो गुरुयोजना बनाएको बताए । “उक्त चार किल्लाभित्र पनि केही ‘कोर’ क्षेत्र छ, त्यो क्षेत्रलाई मानव बस्तीरहित बनाउनै पर्छ । बाँकीको हकमा निजी संरचना निर्माण गर्दा पशुपतिको महत्व ओझेलमा नपर्ने गरी निश्चित मापदण्ड बनाउनुपर्ने हुन्छ”, मन्त्री भट्टराईले भने । मन्त्री भट्टराईले गुरुयोजनाका नाममा बाहिर हल्ला चलाइए जस्तो हिजोका जात्रा तथा पर्व नाश गर्न नखोजिएको पनि प्रष्ट पारे । पशुपतिको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व जोगाउने कुरा हामी सबैको साझा कर्तव्य भएको उनले उल्लेख गरे । मुलुक सङ्घीय संरचनामा गइसकेको आजको अवस्थामा पशुपति विकास कोषको हिजोको साङ्गठानिक संरचना पनि परिवर्तन गर्नुपर्ने औँल्याउँदै गुरुयोजना कार्यान्वयन विवेकपूर्ण ढङ्गले हुने भएकाले यही विषयलाई लिएर सङ्घर्षरत स्थानीयलाई आन्दोलनका कार्यक्रम बन्द गरेर पशुपति क्षेत्रलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे । कार्यक्रममा सांसद गगन थापाले गुरुयोजनाका सन्दर्भमा सार्वजनिकरुपमा टीकाटिप्पणी भएपछि सबै पक्षलाई छलफलमा बोलाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै प्रस्तावित गुरुयोजना अहिले जहाँ पुगेको छ, केही समयका लागि त्यही रोकेर थप छलफल तथा परामर्श गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्ने अधिकांशले विसं २०५६ को पहिलो गुरुयोजनाको समीक्षा हुनुपर्ने धारणा राखेका थिए । पहिलो गुरुयोजनाअन्तर्गत केकति काम भए त्यसको समीक्षा नगरी अर्को गुरुयोजनामा अगाडि बढाउन नहुने तथा गुरुयोजनाको नाममा बस्ती स्थान्तरण गर्दा मौलिक संस्कृति नाश हुने उनीहरुको चिन्ता थियो । कार्यक्रममा गुरुयोजना तत्काल रोक्न माग गर्दै सङ्घर्ष समितिका नामबाट मन्त्री भट्टराई समक्ष ज्ञापनपत्र बुझाइएको थियो । जात्रा/पर्वका लागि रु १० करोडको अक्षयकोष सोही कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले पशुपति क्षेत्रमा सञ्चालन हुने मुख्य जात्रा तथा पर्व सञ्चालनका लागि रु १० करोडको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । सो कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषकोतर्फबाट जम्मा गर्ने भन्दै मन्त्री भट्टराईले बाँकी पाँच करोड महानगरपलिकाका तर्फबाट जम्मा गर्न महानगरका जनप्रतिनिधिलाई आग्रह गरे । काठमाडौंमा मनाइने इन्द्रजात्रा सञ्चालनका लागि पनि आफू आएपछि यही मोडेल अघि बढाइएको सन्दर्भ जोड्दै मन्त्री भट्टराईले सो अक्षयकोष सञ्चालनका लागि जात्रा/पर्व सञ्चालन गर्ने समूहका एक–एक जना प्रतिनिधि, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि रहने बताए । पशुपतिमा वर्षमा मुख्य नौ वटा जात्रा तथा पर्व हुने गरेका छन् । रासस
काेराेनाकाे कारण पर्साकाे ६८ वर्षीय महिलाकाे मृत्यु
काठमाडाैं । काेराेनाकाे कारण वीरगञ्जमा थप एक जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६८ वर्षीया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापकी ती वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५७ पुगेको छ ।
काठमाडाैं उपत्यकामा थप ३१ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे २२, ललितपुरकाे ८ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ। आईतबार देशभर २४६ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ३३२ पुगेको छ।
नेपालमा थप २ सय ४६ जनामा कोरोना पुष्टि, १११ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय ३२ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् भने आजसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १११ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
प्लाज्मा थेरापीबाट नेपालमै पहिलोपटक कोरोना संक्रमितको सफल उपचार
काठमाडौं । प्लाजमाथेरापीबाट नेपालमै पहिलाेपल्ट महाराजगञ्जस्थित टिचिङ अस्पतालमा काेराेना संक्रमितकाे उपचारमा भएकाे छ । अस्पतालका काेभिड व्यवस्थापन समितीकाे संयाेजक डा. सन्तकुमार दासले विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको बताए । प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो । यस विधि धेरै देशमा प्रयोग भईसकेकाे र नेपालमा भने पहिलाेपटक भएकाे दासले बताए । साे पुरुषमा साउन १० गते अस्पताल भर्ना हुँदा निमाेनियाका बिरामी रहेकाे र हाल उनकाे स्वास्थ्य अवस्थामा धेरै सुधार आएकाे उनले बताए । यससँगै अर्काे एक काेभिड-१९ काे बिरामीकाे पनि यस विधिबाट नै उपचार गर्ने तयारी भईरहेकाे दासले बताए ।
प्रसूति गृहको ‘ह्वील लक’
साउन १५ गते बिहानै ज्वाइले फोन गर्दै भन्नुभयो- सावित्रालाई गाह्रो भएको छ, उपचारको लागि मन्थली ल्याउन लागेको । ‘हिजोदेखि लगातार पेट दुखिरहेको छ, एपेन्डिक्स हो कि भन्ने शंका लागेको छ, मन्थलीमा के कस्तो उपचार हुन्छ, नभए काठमाडौं नै ल्याउनु पर्ने होला,’ उहाँले थप्नुभयो । मैले हुन्छ भने । उहाँले साझ ७ः३० बजेतिर फेरि फोन गर्नुभयो । रामेछाप सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा विरामी भर्ना गर्नुभएछ । तर, शंका गरिए जस्तो एपेन्डिक्स भएको होइन होला भन्ने जवाफ अस्पतालले दिएछ । तर, समस्या के हो भन्ने पत्ता लागेनछ । थप उपचारको लागि काठमाडौं ल्याउने निर्णय गर्दै उहाँ गाडी खोज्न थाल्नुभएछ । एम्बुलेन्स छैन । भाडाका गाडी लकडाउनको कारण बन्द । रातो नम्बर प्लेटका निजी सवारी साधन मन्थलीदेखि काभ्रेको साँगा वा धुलिखेलसम्म मान्छे ओसार्न व्यस्त । गाडी पाइएनछ । बल्लबल्ल एउटा ट्याक्सी भेटिएछ । ट्याक्सीले मन्थलीबाट धुलिखेलसम्म ल्याएको ३० हजार रुपैयाँ भाडा मागेछ । हो, ३० हजार रुपैयाँ । सामान्य अवस्थामा मन्थलीबाट काठमाडौं आएको सुमोमा नै करिब १ हजार रुपैयाँ भाडा लाग्थ्यो । ज्वाइले फोन गर्नुभयो । यो सबै घटना सुनाउनु भयो । केही व्यवस्था मिलाउन सकिन्छ कि भनेर म लागेँ । रामेछापकै पत्रकार सरोज सुवेदीलाई फोन गरेँ । सुवेदीले ‘एम्बुलेन्स पाइन सक्छ, मलाई दुई चार कल फोन घुमाउन दिनुस् न’ भन्नुभयो । नभन्दै उहाँले रामेछापको एम्बुलेन्स भेट्टाउनु भएछ । साढे ७ हजार रुपैयाँ रहेछ भाडा । पत्रकार दिपक घिमिरेले मन्थलीमा आवश्यक समन्वय गरेर एम्बुलेन्स चढाएर काठमाडौं पठाउनु भयो । गत विहीबार ८ बजे मन्थलीबाट एम्बुलेन्स हिड्यो । राती काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याइयो । हेल्पिङ ह्याण्डस्ले पनि एपेन्डिक्स नभएको बरु पाठेघरमा समस्या भएको हुन सक्ने भन्दै प्रसूति गृह थापाथली रिफर गरिदियो । शुक्रबार बिहान २ बजेतिर प्रसुती गृह पुर्याइयो । प्रसूति गृहको इमर्जेन्सीमा भर्ना गराइयो । विहान ७ बजेतिर म प्रसूति गृह पुगेँ । कोरोना संक्रमण सन्त्रासको कारण अस्पतालको पार्किङमा गाडी लान नदिने गरिएको रहेछ । आफूसँग स्कुटर थियो । कहाँ राख्ने त ? ‘त्यो तपाईंको समस्या हो, भित्र ल्याउन मिल्दैन’ सुरक्षा गार्डले भने । अनि सडक किनारा खोज्दै हिडेँ । प्रसूति गृहको मुलढोका नजिकै अलिकति कुनो जस्तो ठाउँ छ । तर, भित्तामा लेखिएको रहेछ ‘पार्किङ निषेध ।’ स्कुटर त्यही राखेँ । भित्र गएँ । विरामी भेटेँ । करिब आधा घण्टाजति बसेँ । घरबाट खाना बनाएर ल्याउनु पर्ने भयो । साढे ७ बजेतिर निस्केको त स्कुटरमा ट्राफिकले ह्वील लक गरेछ । सेतो मोटरसाइकल अड्याएर नजिकै ट्राफिक बसिरहेका रहेछन्–चन्द थरका । उनलाई गएर सोधे– मेरो स्कुटरमा ह्वील लक तपाइले लगाएको हो’ भनेर । उनले ‘हो’ भने । ‘किन लगाएको ?’ मैले सोधेँ । ‘यहाँ पार्किङ गर्न मिल्दैन भन्ने देख्नुभएन ?’ उनले भने । देखेको थिएँ– मैले भनेँ । ‘अनि किन राख्नुभएको त ?’ उनले सोधे । ‘कहाँ राख्नु त ? पार्किङमा लान मिल्दैन रे । विरामी इमरजेन्सीमा छ । तपाईंलाई विश्वास लाग्दैन भने हिड्नुस्, गएर हेरौं’ भनेँ । ‘स्कुटर कहाँ राख्ने भन्ने तपाईंको कुरा हो । यहाँ राख्न मिल्दैन । नो पार्किङ लेखेको छ । तपाईंको विरामी भेट्न जान म डाक्टर होइन, तपाईंको आफन्त पनि होइन । मेरो ड्युटी पनि त्यो होइन । पार्किङ गर्न नमिल्ने ठाउँमा स्कुटर राख्नुभयो, त्यसैले मैले ह्वील लक लगाएँ ।’ उनले भने । एकछिन गलफत्ती गरेँ । उनले गलत ठाउँमा पार्किङ गरेवापत जरिवाना तिर्नुपर्ने अडान लिए । जरिवाना तिर्नको लागि उनले मेरो लाइसेन्स मागे । अब पर्यो अर्काे फसाद । सवारी चालक अनुमतिपत्रको म्याद सकिएपछि गत वर्षको साउनतिर यातायात व्यवस्था कार्यालयमा गएर राजस्व तिरेँ । राजस्व तिरेको एउटा चिर्कटो दिइएको थियो । त्यो चिर्कटो र म्याद सकिएको लाइसेन्स देखाएपछि सवारी चलाउन पाइन्छ भनेर यातायात कार्यालयले भनेको थियो । त्यो चिर्कटो च्यातियो । म्याद सकिएको लाइसेन्स मात्रै बाँकी छ । म्याद सकिएको लाइसेन्स देखाउँदा अर्काे कारबाहीमा परिएला भन्ने डर लाग्यो । यातायातले लाइसेन्स आएको छैन भनेर दिएको छैन । घर पुगेर विरामी बैनीलाई खाना लिएर आउनु पर्ने थियो । नो पार्किङमा पार्किङ गरेको सँगै सवारी चलाउन चाहिने आवश्यक कागजपत्र नबोकेको अर्काे अभियोग पनि थपिने भयो । अनि इमान्दार जस्तो बनेर ब्लुबुक झिकेर ट्राफिकको हातमा राखिदिएँ । र, भनेँ ‘सर, म पत्रकार हो, विरामी इमरजेन्सीमा छ, घर गएर खाना ल्याइदिएर अफिस जानुपर्नेछ, त्यसैले मिल्छ भने त्यसै ह्वील खोलिदिनुस्, मिल्दैन भने पनि छिटो चिट काटेर मलाई छोडिदिनुस्’ भनेँ । मैले म पत्रकार हो भनेको र अलि ‘कुल’ पनि बनेको देखेर ट्राफिक पनि अलि ‘कुल’ भए । अनि उनले ‘नर्मल जरिवाना तिर्ने गरी चिट काटिदिने’ बताए । पछि थाहा भयो–नर्मल जरिवाना भनेको ५ सय रुपैयाँ तिर्नु भन्ने हुँदोरहेछ । लाग्यो– ५ सय किन तिर्नु ? ट्राफिकसँग अझै ‘रिक्वेष्ट’ गरेँ । निकै अनुरोध गरेपछि उनले चिट काटेनन्, ह्वील खोलिदिएँ । मेरोसँगै ह्वील लक गरिएका अन्य ४/५ वटा बाइकको ह्वील लक पनि त्यसरी नै खोलियो कि ‘नर्मल जरिवाना’ तिर्नुपर्यो ? खोजिनीति गर्न भ्याउने अवस्थामा थिइनँ । कोठातिर लागेँ । मन्त्री र कालोम्याट प्रसूति गृहको मुलढोका अगाडी नर्भिक अस्पतालको पार्किङ छ । त्यहाँ जतिबेला पनि छिर्न पाइन्छ । मोटरसाइकल र स्कुटर राखेको प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्छ । त्यसपछि म जतिबेला पनि नर्भिकको पार्किङमा स्कुटर राखेर प्रसूति गृह छिर्ने गर्न थालेँ । शनिवार (हिजो) राती खाना लिएर जान अलि ढिला भयो । रातीको ९ बजिसकेको थियो । विरामीको कुरुवालाई राती सुत्ने सुविधा छैन । त्यसैले म्याटमा सुत्न मिल्छ भनेर विरामी कुरुवाले म्याट बोकेर जाने गरेका रहेछन् । कोरोना संक्रमण भित्र पस्न नदिन प्रसूति गृहको गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शनिवार रातीको दृश्य अझ अनौठो थियो । म्याट बोकेर गएका विरामी कुरुवालाई सुरक्षा गार्डले रोकिरहेका थिए । गेटको गलफत्ती एकछिन हेरेपछि थाहा भयो– शनिवार कालो रंगको म्याट भित्र लान रोकिएको रहेछ । ‘कालो म्याट भित्र लान मिल्दैन, अर्काे रंगको छ भने लानुस्, नभए क्यान्टिनको छेउमा अर्काे म्याट पाइन्छ, त्यही किनेर चलाउनु’ गेटमा तैनाथ सुरक्षा गार्ड उर्दी लगाइरहेका थिए । खाना पुर्याएर फर्कें । विरामी कुरुवा भतिजी बसेको थिइ । राती १० बजेतिर फोन गर्दै भनी– अंकल भोलि मन्त्री आउने रे, विहान ७ बजेदेखि १२ बजेसम्म छोरा मान्छेलाई अस्पतालमा पस्न दिदैन रे, भिनाजुलाई अस्पताल नआउनु भन्नु, मलाई लिन विहान आउँदा दिदी कुर्न कोही लेडिज ल्याउनु पर्ने भयो, कसलाई लिएर आउनु हुन्छ, ल्याउनु’ उसले भनी । बल्ल बुझें । अघि कालो म्याट भित्र लान नदिनुको कारण भोलि आउने मन्त्री रहेछन् । …………………. मनमा केही प्रश्न उब्जिए । मन्त्री आउने दिन कालो म्याट लान नपाइने हो भने अरु दिन किन पाइने ? मन्त्री आउने दिन छोरा मान्छेले आफ्ना आमा, श्रीमती, दिदी बहिनी वा आफन्त कुर्न नपाउने हो भने अरु दिन किन पाउने ? मन्त्री आउने दिन सरसफाइ र स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिनुपर्ने भए अरु दिन किन नपर्ने ? म्याटको रंगप्रति अस्पताल प्रशासनको बुझाइ के होला ? प्रश्न अरु पनि उब्जिए । रामेछापबाटै प्रदेशसभामा निर्वाचित सांसद कैशाल ढुंगेल बागमती प्रदेशको अर्थमन्त्री छन् । रामेछाप सदरमुकाममै राम्रो अस्पताल किन नबनाएको होला ? जिल्ला सदरमुकामै सामान्य अवस्थामा सार्वजनिक सवारी साधनले हजार रुपैयाँ भाडामा यात्रा गराउने दुरीमा एउटा गाडीले विरामी ल्याउन ३० हजार रुपैयाँ देऊ भन्न सक्ने मनोमानी अवस्थाको जननी को हो ? यस्ता विकृति रोक्न पहल किन नगरेको ? रातो नम्बर प्लेटका गाडीले चर्काे भाडा असुलेर साँगा चोकसम्म ल्याउने र त्यहाँबाट १ मिलोमिटर हिडेर उपत्यका छिर्दा चै कोरोना नआउने ? सार्वजनिक सवारी साधनले कोरोना ओसार्ने, निजी नम्बर प्लेटका गाडीले कोरोना किच्छ भन्ने सोचको हिमायती को होला ? प्रश्नको बाढी रोकिएन । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) किन दिन्छ ? राजस्व उठाउन मात्रै ? लाइसेन्सको म्याद समाप्त भएपछि नविकरण गर्नै पर्ने भनेको राजस्व उठाउनको लागि मात्रै हो ? राजस्व तिरेको रसिदले गाडी चलाउन पाउने व्यवस्था कुन कानुनमा छ ? लाइसेन्स दिन्छु भनेर जनतासँग पैसा असुल्ने तर एक वर्षसम्म पनि लाइसेन्स नदिने फट्याइ यातायात कार्यलयले किन गरेको ? पैसा लिएपछि जे दिन्छु भनेको छ, त्यो दिनु पर्दैन ? यस्तै प्रश्नका बीचमा झल्यास्स सत्तारुढ नेकपा सम्झिएँ । फेरि प्रश्न नै थपिए । केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद नछाडेकोले यो समस्या आएको हो ? प्रधानमन्त्री ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई सामाजिक संजालमै गाली गर्ने व्यक्तिलाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेकोले मन्थलीबाट धुलिखेल ल्याएको भाडा ट्याक्सीले ३० हजार मागेको हो ? कि प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन गरेका कारण मन्त्री आउने दिन प्रसुती गृहमा छोरा मान्छेलाई प्रवेश दिनु हुदैन भन्ने अल्पज्ञान पसेको ? एकाएक प्रधानमन्त्रीको अनुहार याद आयो । हँसिलो अनुहार । कालो भादगाउँले टोपी । पुष्ट गाला । दौरा, सुरुवाल, कालो कोट र कालो जुत्तामा सजिएका प्रधानमन्त्री केपी शर्मा ओली । सर्वहारालाई राज्यत्ताको मुलधारमा ल्याउनु पर्छ भन्ने मान्यताले कम्युनिष्ट दर्शन बोकेर जिन्दगीको लामो समयसम्म जेलनेल भोगेको व्यक्ति प्रधानमन्त्री बनेपछि ‘यति’ र ‘ओम्नी’ पोस्ने प्रधानमन्त्री । धर्मलाई अफिम जस्तै हो भन्दै संसारभर साम्यवाद स्थापना गर्न हिडेको एक किशोर, जिवनको उत्तरार्धमा झण्डै दुई तिहाई मत प्राप्त दलबाट चुनिएर प्रधानमन्त्री बनेपछि भगवान रामको जन्मथलो कता होला भन्दै भौतिरिरहेको एक ‘स्वप्नद्रष्टा’ कार्यकारी प्रमुख । प्रधानमन्त्रीलाई भेट्न सक्ने ‘हैसियत’मा म छैन । भेटेपनि माथि उठाएका प्रश्न सोध्नुको औचित्य छ जस्तो मलाई लाग्दैन । प्रधानमन्त्रीलाई यति चै सोध्न पाए हुन्थ्यो– भगवान रामको जन्मथलो अयोध्या भेटियो प्रधानमन्त्रीज्यू ?