विकासन्युज

राष्ट्रिय आविष्कार केन्द्रलाई बैंक अफ काठमाण्डूको आर्थिक सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा श्री राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले श्री राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) उत्पादन गर्दै आईरहेको श्री राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो । आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् । बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंकसंगै अग्र स्थानमा रही सेवा गरिरहेको छ ।

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको भर्चुअल संवादमा सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यविधि जारी नगर्न सुझाव दिइएको हो । स्वास्थ्य सुरक्षा जोखिम कायमै रहेकाले विद्यालय तत्काल खोल्दा सङ्क्रमणको खतरा हुने भएकाले सुरक्षाको सुनिश्चिततापछि मात्रै विद्यालय खोल्न वा कम जोखिम भएका ठाउँमा मात्रै विद्यालय सञ्चालनका लागि उनीहरुको सुझाव छ । सरकारले आगामी भदौ १ देखि चालू शैक्षिक सत्रका लागि भर्नाका कार्यक्रम सञ्चालन गर्न यसअघि निर्णय गरिसकेको छ भने विद्यालय सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई तयारीमा रहन आग्रहगरिरहेको  छ । हाल सूचना प्रविधिको सहयोगमा वैकल्पिक प्रणाली माध्यमबाट सिकाइ निरन्तरता भइरहेको छ । शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा सुरक्षाको जोखिम भएका र नभएका ठाउँको पहिचान गरी जोखिम भएका ठाउँमा शिक्षकको कोरोना परीक्षण गरी विद्यालय खुलाउन सकिने बताए । उनले केन्द्र सरकारले आदेश दिने र स्थानीय तहले मान्ने प्रवृत्ति सङ्घीयतानुकूल नभएकाले विद्यालय खोल्ने काम स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हो भने । उनले जोखिम कायमै रहेमा निरन्तर वैकल्पिक प्रणाली, स्वयंसेवक परिचालन, टोलटोलमा शिक्षक परिचालन आदि तरिकाबाट नै सिकाइ निरन्तरता दिन सकिने बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन ९एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय यस शैक्षिक सत्रमा विद्यालय सञ्चालन नै नभएकाले पुनः सञ्चालन भन्ने शब्दावलीको साटो कार्यविधिमा सञ्चालनका शब्दावली हुनुपर्ने र खुलाउने अधिकार स्थानीय तहमा हुनुपर्ने बताए । महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय पुनःसञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने आग्रह गर्दै विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ सालको मस्यौदामा सामुदायिक विद्यालयको प्रतिनिधिमूलक छाता सङ्गठनको अगुवाइमा विद्यालय व्यवस्थापन समिति सक्रियता बढाइ विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य सुरक्षाको विधि अपनाउने गरी प्रबन्धन नगरिएकामा महासङ्घले ध्यानाकर्षण गराइएको बताए । महासङ्घका महासचिव गुणराज मोक्तानले विद्यालय खोल्नुपूर्व अभिभावको परामर्शमा हाल विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेशन कक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनो–सामाजिक सत्र सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचार कक्ष स्थापनासमेत गराउन सरकारलाई लिखित निवेदन दिइसकिएको जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । उनलाई कम्पनी संचालक समितिको बैठकले उक्त पदमा नियुक्त गरेको हो । शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन् । नेपालमा व्यवस्थापन विज्ञको रुपमा परिचित उनले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह , त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् ।

पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक सुवेदीले दिए राजिनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन १४ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी संचालक सुवेदीको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जनाएका छन् । कम्पनीको सञ्चालक समितिको २९७ औं बैठक गत साउन १६ गते बसेको थियो ।

भारतकाे क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

काठमाडा‌ैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएको हाे । उनी साउन १ गते काेभिड-१९ बाट  संक्रमित भएकी थिइन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।  

कोभिड–१९: विदेशमा १ सय ८९ नेपालीको मृत्यु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ । यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।

भाेलीदेखि पर्सामा निषेधज्ञा

काठमाडाैं । साेमबारबाट पर्सा जिल्लाभरी लागु हुने भएकाे छ । काेराेना भाईरस (काेभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समितिको बसेको बैठकले बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो। यसअघि साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेको थियो। निषेधज्ञा अवधिभर औषधी पसल, स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला जस्ता अत्यावश्यक सेवा बाहेक अन्य संचालन गर्न नपाईने र औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ। साथसाथै यस समयमा भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन पनि निषेध गरिएको छ।    

सुनकाे मुल्य बढ्ने क्रम जारी, ताेलाकाे ९९ हजार ६ सय पुग्याे

काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।