अब इसेवाबाटै ‘मेरो सेयर’ नविकरण गर्न सकिने, लगानीकर्तालाई क्यापिटल धाउनै नपर्ने
काठमाडौं । सेयर कारोबार गर्ने तथा आइपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । योसँगै लगानीकर्तालाई मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
कामना सेवा विकास बैंकले व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । कामना सेवा विकास बैंकले अल पसल पब्लिक लिमिटेडमा आवद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि उक्त व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको हो । सो सम्बन्धि बैंक र अल पसल पब्लिकबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि उक्त समझदारी भएको हो । यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।
भारतमा ११ महिनामै १ लाख थान बिक्यो कियाकाे एसयुभी
काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभन्दा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभीबाट यो उपलब्धी हासिल गरेको हो । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ । सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो । कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।
नेपाली ब्रान्ड सोनमले गंगालाल अस्पताललाई दियो पीपीई सेट
काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई सय थान व्यक्तिगत सुरक्षाकवच (पीपीई सेट) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पीपीई सेट हस्तान्तण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई सेट अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सीईओ टासीले भने । यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि सय थान पिपिई सेट सहयोग गरेको थियो ।
पुनर्बीमा कम्पनीमा अर्थमन्त्री र नेकपा महासचिव निकट संचालकबीच झगडा, सीईओ ‘काँग्रेसी कर्मचारी’ पेल्दै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा आन्तरिक विवाद चुलिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा निकट संचालक र नेकपा महासचिव विष्णु पौडेल निकट संचालकबीच झगडा भएको छ । झगडा उत्कर्षमा पुगेपछि अर्थमन्त्री डा. खतिवडा निकट संचालक पुरुषोत्तम सुवेदीले पदबाट राजीनामा गरेका छन् । संचालक समितिले कामु अध्यक्षको जिम्मेवारी दिएका सुवेदीले अर्का संचालकसँग विवाद बढेपछि राजीनामा दिएका हुन् । कम्पनीको संचालकमा रमेश राणालाई नियुक्त गरिएपछि सुवेदीले राजीनामा दिएका स्रोतले जानकारी दिएको छ । यद्यपि सुवेदीले घरमा बस्नको लागि आफूले राजीनामा दिएको बताए । ‘घर बस्नको लागि राजीनामा दिएको, म रिटायर्ड मान्छे, यो कम्पनीको संचालक भएपछि समय मिलाउन सकिनँ, त्यसैले राजीनामा गरेको,’ संचालक पदबाट किन राजीनामा दिनुभएको भन्ने विकासन्युजको प्रश्नमा सुवेदीले संक्षिप्त प्रतिक्रिया दिँदै भने । स्रोतले भने अर्का संचालक रमेश राणासँग विवाद बढेपछि सुवेदीले राजीनामा गरेको बताएको छ । राणा नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन् । सुवेदीलाई भने अर्थमन्त्री डा. खतिवडाले विशेष जोडबल गरेर पुनर्बीमा कम्पनीमा संचालक बनाएका थिए । राणालाई संचालक समितिको कामु अध्यक्ष बनाउन लागिएपछि सुवेदीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा गरेको बताइएको छ । कामु अध्यक्षकाे जिम्मेवारी पाएकाे सुवेदीले कम्पनीकाे वेवसाइटमा भने अध्यक्ष लेखाएका थिए । पुनर्बीमा कम्पनीकाे अध्यक्षमा अनधिकृत नाम लेखाएकाे एक महिना पनि नबित्दै सुवेदीले सञ्चालक पदबाट समेत हात धुनु परेकाे छ । सुवेदीले राजीनामा गरेपछि पुनर्बीमा कम्पनीकाे सञ्चालक समिति फेरी तीन सदस्यीय भएकाे छ । पब्लिक कम्पनीमा कम्तिमा ५ जना सञ्चालक हुनु पर्ने नियम छ । सबैभन्दा ठूलाे लगानीकर्ता सरकारले नै कानुनकाे परिपालना नगरेकाेले बीमा समिति, कम्पनी रजिष्ट्रारकाे कार्यालय कानुनकाे परिपालना गराउन चुकेका छन् । ‘काँग्रेसी कर्मचारी’ पेल्दै सीईओ रायामाझी संचालक समितिमा देखिएको विवादको रोग कर्मचारीमा पनि सरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले कर्मचारीलाई काँग्रेस र कम्युनिष्ट भन्दै भेदभाव गर्न थालेपछि कर्मचारी बृत्तमा पनि समस्या देखिएको हो । कम्पनी स्थापना हुँदा नेपाली काँग्रेसका नेता डा. रामशरण महत अर्थमन्त्री थिए । डा. महतको सिफारिसमा काँग्रेस कार्यकर्तालाई जागिर दिएको भन्दै सीईओ रायामाझीले पूराना कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका स्रोतको दाबी छ । ‘पुराना कर्मचारी जति काँग्रेसी हुन् रे, होइन भन्ने प्रमाणको लागि नेकपा निकट कर्मचारी संगठनको सदस्यता देखाउनु पर्छ, काँग्रेसी कर्मचारीलाई पेल्नुपर्छ भन्दै सीईओले महत्वपूर्ण जिम्मेवारीबाट हटाउने गर्नुभएको छ,’ स्रोतले भन्यो । सीईओ रायमाझी नेकपाकाे कार्यकर्ता हुन् । तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गाेकुल बाँस्काेटाकाे पावर लगाएर उनी पुर्नबीमा कम्पनीमा सीईओ भएका थिए । बीमाकाे सामान्य ज्ञान पनि नभएकाे व्यक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीसँगै उनी पुनर्बीमाको सीईओमा नियुक्त भएपछि यसका प्रवर्द्धक बीमा कम्पनीहरूमा पनि व्यापक असन्तुष्टि देखिएकाे छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत
काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति हुन सक्छ- मन्त्री ढकाल (भिडियाेसहित)
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति हुन सक्ने बताएका छन् । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताउँदै उनले सचेत रहन आग्रह गरेका हुन् । उनले हाल दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन् । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको उनले बताए । उनले भने ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’ ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताउँदै उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दा खेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उनले भनेका छन् । हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्य सहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिले सम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं । यसले गर्दा ६ लाख सम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं ।’ Bhanubhakta Dhakal काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति हुन सक्छ – मन्त्री ढकाल Gepostet von Bikashnews.com am Sonntag, 2. August 2020 परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दाबी छ । उनले भने ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारित छैन । यसको अर्थ पुग्नुपर्ने सबै ठाउँमा पुगेर हामीले गरेका छौं यो मेरो दावी होइन । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं ।’ काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताए । उनले भने ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडि चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहद सम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्य क भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने खालको कुरालाई गर्नुपर्छ । यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ ।’ सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उहाँले बताउनुभयो । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको बताए । उनले भने ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका जे हामीले नियम बनायौं त्यो नियमचाहिं पालना भएन् । दोस्रो हिजो लकडाउन लकडाउनहरु आउँदै आउँदैन थियो उडेर आउने खालको संक्रमण यतिकै रोकिएको थियो सीमामा जुन तल मात्रै जोखिम थियो राजधानी चाहिं एकखालको फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो भने अहिले लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडिबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउने भएको छ भन्ने कुरा त नाकामा परिक्षण गरेको कारणले पनि पुष्टि भयो ।’ उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए। विरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ । त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौं भित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने बताए । उनले भने ‘५ सय भन्दा बेसी केसहरु भएका जिल्लाहरु २ सय भन्दा बेसी केस भएका जिल्लाहरुमा चाहिं त्यहाँ अनुगमन गर्ने र मुल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छकी त्यो भन्दा बेसी कुनै एउटा क्षेत्रमा मात्रै जस्तो विरगंजमा अहिले जुनखालको संक्रमण देखिएको छ । त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ की भन्ने कुरा र अहिले पछिल्लो काठमाडौंका विभिन्न नाकाहरुमा स्वाब टेस्ट गर्दाखेरी जो मान्छेहरुमा पोजेटिभ देखियो यसले गर्दा काठमाडौं भरिमै र बाहिरिने खालको कुरामा पनि होम क्वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा बस्ने स्वीकृतिको अनिवार्य गर्ने कुराले मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पनि हामी छलफल गरेका छौं ।’ उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सकरारले ध्यान दिएको मन्त्री ढकालले बताए । जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए । उनले भने ‘जुन ठाउँमा उच्च जोखिम हुन्छ त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन सामग्रीहरुको उपलब्धता मात्रै होइन जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं यसर्थ यसलाई काबु भन्दा बाहिर जान नदिने गरीनै सरकारको तर्फबट एकीकृत ढंगले लागेका छौं ।’ लकडाउन भन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हद सम्म सफल भएको बताए। तर लकडाउन खोलेपछि पछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको बताए । उनले भने ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजार भन्दा माथि संक्रमणको स्थिति पुग्दाखेरी अब यो केही होइन रहेज जस्तो गरेर बाहिर कोरोना हाम्रो देशमा छैनकी जस्तो गरेर हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाई चाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेलापनि हामीलाई विस्फोटको स्थितिमा पुर्याउन सक्छ । यो सरकारको लागि मात्र होइन यो तपाई हामी सबैका लागि हो भन्ने अर्थमा यो आव्हानलाई कार्यान्वयन गर्ने कुरामा दृढतापर्वक इच्छा शक्तिका साथ सबैको सहयोगको लागि म अपिल गर्न चाहन्छु ।’ मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए । उनले भने ‘पछिल्लो दिन हामी सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डीङ क्वारेन्टाइन मै राखेर परिक्षण गराउने र विदेशबाट प्लेनको माध्यमबाट आउने व्यक्तिहरुको हकमा काठमाडौंमा राखेर ५ दिनको क्वारेन्टाइनपछि परीक्षण गरेपछि मात्रै नेगेटिभ हरुलाई सम्बन्धित ठाउँको क्वारेन्टीनमा पठाउने व्यवस्था गर्ने र बाँकी पोजेटिभहरुको हकमा आइसोलेसन सेन्टर वा अस्पतालमा जाने खालको व्यवस्था हामीले गरेका छौं ।’
एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा २.३८ गुणा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा २.३८ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सो अवधिमा एक लाख ९० हजार ७५ जना आवेदकले ७५ लाख ३२ हजार ४ सय ८० कित्ता सेयरको लागि आवेदन दिएका छन् । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि
काठमाडाैं । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। शाहले ट्विटमा भनेका छन् ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु, मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला ।’