विकासन्युज

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

काठमाडाैं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत महानुभाव सिसिएमसीको उक्त बैठकमा सहभागी थिए । उनीहरुको स्वाब शनिबार बिहान सङ्कलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा रहेका थिए ।

राखी

कथा शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !” मैले अनकनाउँदै सोधेँ, अँ कहाँ जाने ? रिसाए जस्तो गरी उनले जवाफ दिइन् । ‘‘अझै उठ्नु भएको छैन ? अनि आज मन्दिर जाने भनेको हैन त । खुरुक्क उठ्नु । नुहाएर रेडी भइहाल्नु । नत्र म त बोल्दिन नि ।’’ मैले हस् भन्दै फोन राखेँ । फोन गर्ने ती नारी सगुन थिइन् । त्यो बिहान रक्षाबन्धनको दिन थियो । यहि दिन मेरो हातमा राखी बाँधेर दाजु बनाउने सगुनको ठूलो इच्छा थियो । फेसबुकमा हामी पुरानै साथी हौं तर उसको मेरो राम्रोसंग भेटघाट भएको धेरै समय भएको थिएन । भेट भएको केही दिनपछि उनले म्यासेन्जरमा सर नमस्कार भनिन् । मैले पनि नमस्कार फर्काए । उनले लेखिन– तपाई रिसाउनु हुन्न भने मेरो मनले स्वीकारेको कुरा भनुँ ? ‘‘म किन रिसाउनु ? भनन, के कुरा हो ?’’ च्याटमा जवाफ दिएँ। केही बेरपछि उनको जवाफ आयो । ‘तपाईसंग भेट भएदेखि मलाई केही गुमाएको वस्तु पाए जस्तो आभाष हुन्छ, किन–किन मेरो मनले तपाईलाई एउटै आमाको कोखबाट जन्मिएका दाजुबैनी हौं जस्तो महशुष गर्न थालेको छ । म त तपाईसंग भेटेर खुशी छु । एउटा अभिभावक पाएको छु । सर म तपाईलाई दाई भन्छु ल ?’ म ट्वाल्ल परेँ । आश्चार्य मानेँ । मनमनै सोच्न थालेँ । कस्तो खालको मान्छे रहिछ ! केही बेरपछि जवाफ दिएँ । ‘‘मलाई नयाँ नाता सम्बन्धहरू जोड्नु भनेको नाटक जस्तो लाग्छ । किन जोड्नु पर्यो नयाँ सम्बन्ध ? भएका सम्बन्धहरुलाई सुमधुर बनाउनु । तिमीले दाई भन्यौ भन्दै मैले बैनी भन्नै पर्छ भन्ने पनि छैन । ठट्टा नै गर्ने भएत जे–जे भन्दा पनि भयो ।’’ यति भनेर म किचेन तिर छिरें । फर्किदा सगुनले जवाफ पठाई सकेकी रहिछन् । लेखक ‘‘तपाईलाई नाटक लाग्ला तर मैले मनको कुरा भनेको हुँ । बैनी भन्नै पर्छ भन्ने बाध्यता छैन, तपाईलाई अप्यारो लाग्छ भने म पनि तपाईलाई दाई भन्दिन । मेरो मनमुटुले हजुरलाई दाईको रुपमा सजाई सकेको छ । म तपाईले जे भन्नु हुन्छ त्यही मान्छु तर तपाईसंग टाढिन सक्दिन । आफन्त भनेका सजिलोमा मात्र हुन, अप्ठ्यारोका लागि हैनन् । रगतका नाता भनेको कहरको हुँदो रहेछ, रहरको हैन । मनले भनोस वा नभनोस मुखले पुकार्न बाध्य भइन्छ । आफन्त, नातागोता धेरै होलान तर मेरो भवनालाई बुज्ने कोही छैनन् । मेरो भावना, दुःख, पीडालाई बुज्ने एक मात्र व्यक्ति तपाई मात्र हो । हामी बीच रगतको दाजु नभएता पनि तपाई मेरो हृदयले नै पुकारको दाजु हो । त्यो पनि तपाईलाई स्वीकारयोग्य छ भने । ००००० सगुनका लेखाईले मेरो मनमा दुविधा सिर्जना गरिदियो । उसका भावनाहरुलाई मैले मात्र बुज्न सक्छु भन्ने कुरा मलाई पत्यार लागेको थिएन । अझ कुनै कुनै बेला त ‘तपाई मेरो भगवान’ हो पनि भन्थिन् । उससंग मेरो गफ भन्दा अरु कुनै सहयोग लेनदेन भएको छैन । कसरी म उसका लागि विशेष मान्छे बन्न सक्छु ? मनमा धेरै प्रश्नहरु उब्जिन थालेका थिए । म उनले देखेको सपनाबाट उन्मुक्ति पाउने उपायहरु खोजिरहेको थिए । फेरी एउटा म्यासेज छोडिदिए । ‘‘तिमीले मेरो पृष्ठभूमिलाई राम्रोसँग चिनेकी पनि छौनौं होला । न त तिमीलाई मेरो अतित थाहा छ, न त जीवन भोगाईका केही पलहरु नै थाहा छ ? मलाई त तिम्रो पारिवारीक पृष्ठभूमि समेत केही थाहा छैन भने म कसरी तिम्रो दाइ हुन सक्छु ? नाता जोड्नु ठूलो कुरा हैन, टिकाउन सक्नु नै महानता हो । भावनाको नाताले निरन्तरता पाँउछ भन्ने कुनै ग्यारेन्टी छैन । लिक बिनाको रेल जुनसुकै बेला दुर्घटना हुन सक्छ । यदि यो यात्रा बीचमा नै टुट्छ भने, होस् यो नाटक किन गर्नु पर्यो ? मन मस्तिष्कमा बसिसकेको छापलाई मेटाउन गाह्रो हुन्छ । सगुनको मनमा पनि सौगात प्रतिको आफ्नोपन कहिले नमेटिने छाप बनिसकोको थियो । उसलाई झुक्किएर पनि सौगातबाट टाढा हुने मन थिएन । सौगातको दुःख र पीडालाई नजिकबाट नियाल्न चाहान्थिन् । सौगातले जे भने पनि मान्थिन् र विश्वास पनि गर्थिन् । सम्बन्ध जोड्ने नाटक नगरौ जस्तो सौगातको अभिव्यक्तिले सगुनको मन भारी भएर आउँथ्यो । मन भारी पारेर फोन गर्थिन र भन्थिन्–‘मैले तपाईलाई जे भने पनि नाटक जस्तो लाग्छ होला, मैले त मनको कुरा भनेको हुँ । मलाई बैनी भन्न सक्नु हुन्न भने नभन्नु । जबरजस्ती जोडेको नाताले निरन्तरता पाउन सक्दैन । सम्बन्धको आयु त्यहाँसम्मको हुन्छ, जहाँसम्म विश्वासको लहरा चुडिन्दैन । म विश्वासको लहरा कसिलो बनाउन चहान्छु । कदापि विश्वासघात गर्ने छैन । हजुर प्रति त्यही विश्वास भएर नै होला दाइ, जीवनका हरेक कुरा सेयर गरेको छु । मलाई मेरो जन्म दिने माता पिताको भन्दा नि हजुरको साथ प्यारो छ । म बुज्छु हजुरको पीडालाई, हजुरभित्र पनि रोदनहरु छन् । विश्वास नै लाग्दैन भने मैले के नै गर्न सक्छु । तपाईले गरेका बाजीहरु मैले जितेको छु । सगुनका भनाईहरुले मेरो पनि मनलाई पगाल्यो र मैले पनि उसलाई बैनी भनिदिएँ । रक्षाबन्धन नजिकदै थियो । त्यही दिन हातमा राखी बाँधेर दाजुबैनीको सम्बन्धलाई जीवन्त दिने हाम्रो सल्लाह भएको थियो । रक्षा बन्धनको दिन उनको पहिलो प्राथमिकता दाजुबैनीको सम्बन्ध जोड्नु थियो । शुद्ध सम्बन्धको लागि उनी आफू पनि नुहाएर निष्केकी थिएन । मलाई पनि पहिला उठेर नुहाउनु सम्झाइन् । ०००००

पीसीआर परीक्षणका लागि भनसुन नगराैं: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे । ‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन”, उनले भने “त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ ।” कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनको आग्रह छ । शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ । पिसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पिसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले रु पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन् । मन्त्रालयले पिसीआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न-नगराउन उनले सबैलाई अनुरोध गरे । नेपालमा हालसम्म छ लाख ६९ हजार ६२६ जनाको पिसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमण देखिएको छ । रासस

बागलुङमा भोज आयोजना गर्ने नै सङ्क्रमित: ७० जनाको स्वाब सङ्कलन

गलकाेट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ । लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो । छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए । “कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो”, आचार्यले भने “न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ ।” नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको छ । सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनको छोरीसमेत परेकी छिन् । नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । “राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ”, खनालले भने, “यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा नरोकिएको पाइएको छ ।” समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ । नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ । नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ । रासस

युवराज खतिवडाले भन्दा अर्काेले राम्रो गर्छ भन्ने लाग्यो भने अर्थमन्त्री परिवर्तन हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने कि नदिने भन्ने विषयमा केही दिन पर्खन आग्रह गरेका छन् । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संसदबिना नै मन्त्री बनेका खतिवडाको कार्यकाल भदौ २० गते ६ महिना पुग्दैछ । संविधानले संघीय संसदको सदस्य नभएका व्यक्ति ६ महिनामा मात्रै मन्त्री बन्न पाउने व्यवस्था भएको सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो । प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलासँग ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अब अर्थमन्त्रीलाई नै निरन्तरता दिनु हुन्छ कि अर्काे व्यक्तिलाई अर्थमन्त्रीको रुपमा भित्र्याउनु हुन्छ भन्ने प्रश्नमा ओलीले यस्तो बताएका हुन् । ‘भदौ २० गते आउन अब केही दिन मात्रै बाँकी छ, २÷४ दिन पख्नुस् न, केही दिनभित्रमै थाहा पाइहाल्नु हुन्छ नि,’ प्रधानमन्त्री ओलीले भने । यद्यपि उनले मन्त्रिपरिषद पुनरगठन वा हेरफेर गर्ने काम प्रधानमन्त्रीको विषय भएको बताए । प्रधानमन्त्रीले लिएको ५ वर्षे योजना र लक्ष्य प्राप्त गर्न भइरहेका मन्त्रीबाट काम गराउँदा सहज हुन्छ कि नयाँ व्यक्तिलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ भन्ने विषयमा आफूले गम्भीर अध्ययन गरिरहेको उनको भनाइ छ । ‘युवराज खतिवडालाई नै निरन्तरता दिदा राम्रो हुन्छ कि, नयाँ व्यक्तिलाई जिम्मेवारी दिदा राम्रो हुन्छ कि भन्ने कुराको समीक्षा हुन्छ, युवराज खतिवडाले भन्दा अर्काे व्यक्तिले राम्रो काम गर्छ भन्ने लाग्यो भने अर्काे व्यक्तिलाई जिम्मेवारी दिन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले अर्थमन्त्री खतिवडाको कामबाट आफू सन्तुष्ट रहेको पनि बताए । मन्त्रिपरिषद पुनरगठनका विषयमा भने आफूले सोचिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु   

ताइयुआन/उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो । भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात व्यक्ति गम्भीर घाइते भएका छन् भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा सम्लग्न स्थानीयले बताएका छन् । भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् । रासस

काठमाडाैं उपत्यकामा थपिए १८६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १५५, ललितपुरको १९ र भक्तपुरको १६ जना रहेको गौतमले बताए । आज देशभर ८ सय ८४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

नेपालभर थप ८ सय ८४ जनामा काेराेना देखियाे, १२ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ। हाल क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् भने आजसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आज थप १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २०२ पुगेकाे छ ।