आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी सो मात्रा अर्थात १७ करोड ९८ लाख ६४ हजार ६ सय ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जसको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपैयाँ बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । त्यस्तै, बोनस र नगद लाभांशको कर सहित ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाले प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।
ताप्लेजुङमा बाढी: जलविद्युत् आयोजनाको विद्युत्गृहसहित बगायो दुई जनालाई
सांकेतिक तस्विर ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए । राजु आयोजनाको विद्युत्गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् । स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत्गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युत्गृहमुनि बगरमा भेटिएको छ । बाढीले विद्युत्गृह बगाएको बिहान मात्रै थाहा भएको थियो । नजीकैक पेदाङका बासिन्दाले बाढीले विद्युत्गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो । अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ । अहिले विद्युत आपूर्तिसमेत बन्द भएको छ भने क्षतिको विवरण समेत आउन बाँकी छ । रासस
बाँकेमा कोरोनाबाट ५९ वर्षीय पुरुषकाे मृत्यु
बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उहाँको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रासस
रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीहरुको भनाइ छ । “पितृपक्ष समेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रा समेत रोकिएका बेला रातो मच्छिन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?”, पञ्चाङ्गकार पन्तले भने । ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहिता लगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले शनिबार वा सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिष शास्त्रीहरु बताउँछन् । किन आइतबारकै साइत रथ तान्न र भदौ २६ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजु र साइत निकाल्ने समूहका ज्योतिषी कीर्तिमदन जोशीसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरु उपलब्ध भएनन् । प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो । रासस
पाल्पा अस्पताल सिल, आकस्मिक सेवावाहेक सबै बन्द
पाल्पा । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन् । अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ । रासस
बैतडीकाे निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो । बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए । उनले भने, “हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ । यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु ।” सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ । यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो । बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । रासस
अलैँचीमा सकस: प्रतिकिलो बजार मूल्य ५ सय, भन्सार मूल्य ८ सय
ईलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा १ लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त रु ३०० भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो । “भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ”, अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, “यो सबै मूल्य किसानले नै तिर्नुपर्छ । हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि नाफा हुन्छ ।” आठ वर्षयता नेपालबाट जाने अलैँचीको भन्सार मूल्य सोहीअनुसार छ । अलैँचीको मूल्य अधिकतम हुँदा यो दरअनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्यभन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ । “हामीले पारि (भारतीय भन्सार) मा जतिको मूल्य बनायो नेपाल सरकारलाई कर पनि त्यहीअनुसार बुझाउनुपर्छ”, अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्छन्, “प्रतिमन एक लाख अलैँचीको मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्यअनुसारको कर ? त्यसैले अत्यन्तै गाह्रो छ । घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।” अहिलेको प्रावधानअनुसार ४ लाखसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै २० लाख कोराबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ । सोही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ तर भारतीय भन्सारमा बढी मूल्यको अलैँची (८०० प्रतिकिलो) बनाउँदा स्वतः कोरोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ । भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण भएको पनि हो तर सरकारका तर्फबाट ‘ठोस’ पहल नहुँदा बढी मूल्यको भन्सार मूल्य बनाउनुपरेको हो । त्यति मात्र होइन, दुईदेश बीच हुने वाणिज्य सन्धि पनि परिमार्जन हुनुपर्ने हो तर नेपाल र भारतको हकमा भने त्यस्तो पनि हुन सकेको छैन । यही मूल्य समायोजन नभएकै कारण धेरै व्यवसायी अलैँची कारोबार गर्न सक्रिय भएको वरिष्ठ उपाध्यक्ष नेपालको भनाइ छ । “प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि यो कुरा उठाएका छौँ”, महासङ्घका अध्यक्ष कार्कीले भने, “केही पहल हुन सक्छ ।” नेपालबाट भारत जाने अलैँचीलाई मात्र प्रतिकिलो भारु ५०० भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैँचीको भने भारु ३०० मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु ३०० मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैँची किन्न मान्दैनन । नेपाल र भारतको अलैँचीको भन्सार महसुलमै अत्यन्तै बढी फरक छ । नेपालबाट जाने अलैँचीको भन्सार मूल्य बढी हुनुमा चाहिँ भारतले बनावटी समस्या भिराएको व्यवसायी बताउँछन् । “भारतले नेपाली अलैँचीमा वितृष्णा जगाएकै कारण भन्सार समायोजन नभएको हो”, अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई भन्छन्, “सँगैमा किन फरक/फरक भन्सार मापन हुन्छ, यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ ।” नेपालबाट ठूलो परिमाणमा तेस्रो मुलुक जानेमध्ये बङ्गलादेश मुख्य देश हो तर नेपालले बङ्गलादेशसँग अलैँचीसम्बन्धी व्यापार सम्झौता नगर्दा बढी कर तिर्नुपरेको व्यवसायीको गुनासो छ । अहिले बङ्गलादेशमा अलैँची पठाउन भूटानलाई शून्य कर लाग्छ भने नेपालले ३५ प्रतिशत कर तिर्नुपर्छ । यसैले सिधै अलैँची बङ्गलादेश लैजान नसकिने भएकाले भारतमार्फत अलैँची लानुपर्ने बाध्यता छ । “सरकारले सिधै पठाउन सम्झौता नै गरेको छैन”, पूर्व वरिष्ठ उपाध्यक्ष नेपालले भन्नुभयो, “हामीले बङ्गलादेश अलैँची लाने हो तर ४५ दिनभन्दा बढी लाग्छ, कर पनि उस्तै” । नेपालमा उत्पादन भएको ९८ प्रतिशत अलैँची बाहिरी देश निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको व्यापार तथा तथा निकासी केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । रासस
एनएमबी र एनआईसी मर्जका समाचारले सञ्चालकमा इरिटेशन, कर्मचारीमा त्रास
काठमाडौं । केही प्रवर्द्धक समान भएका कारण नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच मर्जरको लागि सहजीकरण थालेको छ । दुबै बैंकका अध्यक्षसँग राष्ट्र बैंकका अधिकारीहरुले मर्जरको विषयमा छलफल थालेपछि यी दुई बैंकलाई आपसमा मर्जरमा जान राष्ट्र बैंकले दवाव दिएको सन्देशसहितका समाचारहरु प्रकाशन भइरहेका छन् । एनआईसी एशियासँग मर्जरको विषय जोडर प्रकाशित समाचारहरुले एनएमबी बैंकका सञ्चालकमा इरिटेशन भएको छ भने कर्मचारीमा त्रास फैलिएको छ । ‘राष्ट्र बैंकले एनएमबी र एनआईसीमा ‘क्रसहोल्डिङ छ’ भनेको छ । वास्तवमा दुई बैंकमा क्रसहोल्डिङ छैन । केही लगानीकर्ताले लगानी विविधि करण गर्दा दुबै बैंकमा थाेरै लगानी गरेका होलान्, अरु बैंकमा पनि यस्तो लगानी हुन्छ’ एनएमबी बैंकका एक सञ्चालकले भने- ‘सीमित लगानीकर्ताले विवेकशील निर्णय गर्दै लगानी विविधिकरण गरेको विषयलाई क्रस होल्डिङका नाममा जबरजस्ती मर्जर गराउनु न्यायोचित व्यवहार होइन, अहिलेको संविधान र देशले अंगिकार गरेको अर्थ व्यवस्थाले पनि त्यस्तो छुट दिन्छ जस्तो लाग्दैन,’ एनएमबी बैंकका एक संचालकले विकासन्युजसँग भने । एनएमबी र एनआईसी एशियाबीच स्वेच्छिक मर्ज हुन नसक्ने उनले बताए । त्यसमा उनको तर्क भावनात्मक वा कानुनी नभई व्यवसायिक छ । एनआईसी एशिया नाफा केन्द्रीत बैंक भएको तर एनएमबी बैंक सेवा केन्द्रीत भएको उनले बताए । ‘हामी पनि नाफा हेर्छौ तर ग्राहकको सहयात्री र सहयोगी हो भएर नाफा खोज्छौं । तर एनआईसी एशिया ग्राहकमैत्री छैन’ उनले भने- ‘बिजनेशमा रेपुटेशन धेरै ठूलो कुरा हो । तपाई हामी सबलाई थाहा छ, एनआईसी एशियाको रेपुटेशन खराब छ ।’ एनआईसी एशिया बैंकको कस्टुमर सर्भिस नराम्राे भएकाले उक्त बैंकबाट कर्पाेरेट हाउसहरु निस्किएको उनले बताए । ‘७/८ वर्ष अघिसम्म एनआईसी बैंकको कर्पोरेट क्लाइन्ट वेस धेरै राम्रो थियो । अहिले उसले त्यो पोजिशन गुमाएको छ’ उनले भने । एनआईसी एशिया बैंकले विभिन्न चमत्कारिक योजना ल्याएर नयाँ निक्षेपकर्ता वा ऋणिलाई आकर्षित गरेको छ । उसकाे बिजनेश पनि बढेको छ । तर ग्राहकको सन्तुष्टिको लेबल ज्यादै कमजोर रहेको उनले बताए । ‘तपाई मिडियाको मान्छे । सर्भे गर्नु सक्नुहुन्छ, फ्याक्ट फाइण्डिङ गर्न सक्नुहुन्छ । एनएमबी बैंकका ग्राहक र एनआईसी एशिया बैंकका ग्राहकको स्याटिस्फ्याक्सन लेवल कुन स्तरको छ ?’ उनले गम्भिर विषय उठाए । राष्ट्र बैंककाे गुनासाे सुन्ने इकाइकाे विवरणले पनि एनआईसी एशिया बैंकका ग्राहक कति असन्तुष्ट रहेका छन् भन्ने प्रष्ट पारेकाे उनले बताए । ‘राष्ट्र बैंकमा परेका उजुरी तथा गुनासा मध्ये ५० प्रतिशतभन्दा बढी एनआईसी एशिया एशियाबाट छ, अरू २६ वटा बैंककाे ५० प्रतिशतभन्दा कम छ’ उनले भने । उद्यमशीलतालाई प्रवर्द्धन गर्नु बैंकको महत्वपूर्ण जिम्मेवारी भएको र एनएमबीले त्यसतर्फ महत्वपूर्ण कार्यहरु गर्दै आएको उनले बताए । एनएमबी बैंकको कर्जा लगानीको पोर्टफोलियो पनि उत्कृष्ट रहेको उनले बताए । ‘एनएमबी बैंक र एआइसी एशिया बैंकबीच मर्जर हुन लाग्यो, राष्ट्र बैंककै दवाव छ भन्ने समाचार आउने गरेका छन्, सेयर बजारमा पनि सोही प्रकारको हल्ला र अड्कलबाजी चलेको सुन्छु’ उनले भने- ‘म पनि यो बैंकको संचालक समितिमा छु, एनआइसी एशिया बैंकसँग मर्जरका बारेमा संचालक समितिमा छलफल पनि भएको छैन ।’ ‘एनआइसी एसिया बैंकसँग मर्जरमा जान लागेको हो भन्ने भनेर मलाई पनि धेरैले प्रश्न गर्छन । यस्तो प्रश्नले मलाई इरिटेट गराउन थालेको छ’ उनले भने । ‘एनआइसी एशिया बैंकको देशव्यापी ठूलो नेटकर्व छ, राम्रोसँग नाफा गरिरहेको छ तर उसको बैंकिङ र हाम्रो बैंकिङमा आकाश जमिनको फरक छ, उसको र हाम्रो सोच नै मिल्दैन, फेरि यी दुई बैंक मर्ज भएपछि हुने के हो भन्ने प्रष्ट पनि भएको छैन’ ती संचालकको भनाइ छ । यी २ बैंकबीच मर्जर गराउँदा त्यसबाट सिनर्जी आउन नसक्ने उनको भनाई छ । कर्मचारीमा तनाव एनआईसी र एनएमबी मर्जको हल्लाले एनएमबी बैंकका कर्मचारीमा पनि तनाव देखिएको छ । कर्मचारीको सेवा सुविधा एनआईसी एशियामा भन्दा एनएमबीमा राम्रो रहेको तर एनआईसीमा कर्मचारीलाई बढी पेलान रहेको एनएमबीका कर्मचारीको बुझाइ छ । एनआईसी एशिया बैंकका कर्मचारीमा असन्तुष्टि व्यापक रहेको पनि एनएमबीका कर्मचारीको बुझाई रहेको छ । ‘एनआईसी एशिया बैंकले वर्षमा कति भ्याकेन्सी खोल्छ, कति नयाँ कर्मचारी राख्छ, कति धेरैले छोड्छन्, त्यसको कारण के हो, सबै हामीलाई थाहा छ । एनएमबी छोडेर एनआईसी एशिया जाने अधिकांश कर्मचारी पछुताएका छन्’ एनएमबीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बस्तु स्थिति चित्रण गरे । दुई बैंक मर्ज हुँदा एक हजार भन्दा कर्मचारी जागिर छोड्नु पर्ने अवस्था सिर्जना हुने आँकलन उनीहरूकाे छ । एनआईसी र बैंक अफ एशिया नेपाल मर्ज भएकाे एक वर्षमा उक्त बैंकबाट ६०० कर्मचारीले जागिर छोडेका थिए । छोड्नेमा अधिकांश कर्मचारी बैंक अफ एशिया नेपालबाट मर्ज भई आएका थिए । उक्त घटनाले पनि एनएमबी बैंकका कर्मचारीमा बढी तनाव देखिएकाे रहेछ ।