विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो ग्रिन पिन सेवा, कसरी पाउने ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सकिने बैंकले जनाएको छ । कसरी पाउने पिन ? ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्न सकिने छ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

दशैंमा ट्याक्सीमै घर, बुकिङ खुल्ला

काठमाडौं । कोरोना भाइरसले नागरिक त्रसित छन् । चाडपर्व नजिकिदै गर्दा दशैंमा कसरी घर जाने भन्ने चिन्ता पनि उतिकै छ । सार्वजनिक सवारी साधन र हवाई उडान सेवा सञ्चालन भएपनि सर्वसाधारणहरुलाई कोरोना लाग्छ कि भन्ने डर पनि छ । आम नागरिकको यही डर त्रास र सुरक्षित यात्रा गर्नको लागि इजी ट्याक्सी नेपाल एपले नयाँ सेवा तथा सुविधा ल्याएको छ । कोरोना भाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भइरहेको बेला इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको हो । इजी ट्याक्सी नेपाल विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिरहेको छ । इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो । अब घर जान चाहने मानिसले इजी ट्याक्सीको बुकिङ गरेर सुरक्षित किसिमले घर जान सक्नेछन् । एपमार्फत नै यात्रुले आफूले चाहेअ नुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् । अहिलेको विषय परिस्थितीमा इजी ट्याक्सी नेपालले दशैंमा घरजाने नागरिकलाई सुरक्षित रुपमा यात्रा गराउने उद्धेश्यले इजी ट्याक्सी नेपाल एपमार्फत बुकिङ्ग खुला गरेको संस्थाका अध्यक्ष संजीत पौडेलले बताए । जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिने उनले बताए । कम्पनीले नेपालमा नै पहिलो पटक इजीट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको उनको भनाई छ । ‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन्, हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जानसकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं, यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं,’ पौडेलले भने । यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ । इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ । इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ । इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुरुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् । इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ«े बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ । सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन साथै अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्नेछ । भाडा भने सरकारले तोके बमोजिम नै हुने पौडेलले बताए । उनका अनुसार प्रतिकिलो मिटर ३९ रुपैयाँदेखि ६० रुपैयाँसम्म हुनेछ ।

शिखरमा पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै समितिमा पत्राचार

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा दीपप्रकाश पाण्डेले पुन नियुक्त गर्ने निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै कम्पनी संचालक समितिले नियामक निकाय बीमा समितिमा अनुमति माग्दै पत्राचार गरेको छ । कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियक्तिको अनुमति बीमा समितिले दिनुपर्छ । कम्पनी संचालक समितिले पुनः नियुक्त गर्ने निर्णय गरेर अनुमतिको लागि बीमा समितिमा पत्राचार भएको स्रोतले जानकारी दियो । स्याउ तथा साइट्रस प्रजातिका फलहरुको बीमा गराएर शिखर इन्स्योरेन्सले पछिल्लो समय चर्चा समेत कमाएको छ । यसको अवधारणा प्रमुख कार्यकारी अधिकृत पाण्डेले नै जन्माएका हुन् । पाण्डेकै कार्यकालमा शिखर इन्स्योरेन्स कम्पनी २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्येमा धेरै वटा परिसूचकमा पहिलो समेत रहेको छ । पाण्डे नेपाल बीमक संघकाे अध्यक्ष समेत हुन् ।

बाबु सचिव, दाजु आर्मी, बीमा क्षेत्रमा यसरी पसे डिसिओ खत्री

काठमाडौं । मान्छेको आफ्नै सपना हुन्छन् । र, यस्तो सपना बाल्यकालदेखि नै सुरु हुन्छ । जस्तो कि कुनै बच्चालाई ठूलो भएर तिमी के बन्छौं भनेर सोध्यो भने उसले डाक्टर, इन्जिनियर, पाइलट वा आफूलाई लागेको कुरा बताइहाल्छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिओ) सुरेशप्रसाद खत्रीको पनि बाल्यकालमा आफ्नै सपना र सोंच थियो । उनी आफैलाई भने नेपाली सेनामा भर्ना हुने सपना थियो । तर, सानैदेखि आर्मी बन्ने उदेश्य राखेका डिसिओ खत्री आर्मी बन्ने प्रयासमै लागेनन् । उनी नेशनल लाइफ इन्स्यारेन्समा आवद्ध हुन पुगे । उनको साहिलो दाइ पहिला नै सेनामा भर्ना भइसकेका थिए, जुन बेला डिसिओ खत्री आएस्सी सकेकै थिएनन् । एउटा छोरा आर्मी भइसकेकोले बुबाले उनलाई पनि आर्मी बनाउँन इच्छा देखाएनन् । सोही कारण उनी आर्मीको साटो बीमा क्षेत्रमा प्रवेश गरे । सामान्य हिसाबले घरमा मात्र रहदा छोराको समय त्यतिकै बर्बाद होला भनेर केही कामको खोजी हुँदा बीमा क्षेत्रमा उनी आइपुगेका हुन् । स्नातक तहसम्म कानुन विषय अध्ययन गरेका उनले रोगजारीका लागि २०५१ सालमा नेशनल लाइफ इन्स्योरेन्सका काम गर्न पुगे । त्यो समयमा उनलाई लामो समय बीमा क्षेत्रमा नै काम गर्छु भन्ने लागकै थिएन । तर, नेशनल लाइफ उनको लागि टर्निङ्ग पोइन्ट बन्न पुग्यो । उनले एउटै संस्थामा २५ वर्ष निरन्तर काम गरे । अहिले उनको उमेर ५० वर्ष पुगिसकेको छ । उनलाई बीमा क्षेत्रमा अहिले नयाँ पुस्ताको आकर्षण बढेको देख्दा खुसी लागेको छ । नेसनल लाइफमा नयाँ पुस्ताको आकर्षण देख्दा भने उनलाई झनै खुसी लागेको छ । किनकि नयाँ पुस्ताको जोस र पुराना व्यक्तिहरुको अनुभवको उचित संयोजन गर्न सकियो भने कम्पनी राम्रो हुन्छ भन्ने निष्कर्ष उनको छ । पारिवारिक पृष्ठभूमि काठमाडौकोे विशाल नगरमा स्थायी घर भएका डिसीओ खत्री आफ्ना पुर्खाहरुको उद्गम थलो भने बझाङ्ग जिल्लामा रहेको बताउँछन् । उनका बुवा नेपाल सरकारको सचिवबाट २०५४ सालमा अवकाश पाएका थिए । बुबा रिटायर्ड भएपश्चात उनको परिवारै काठमाडौँ बस्न थालेको हो । सानैदेखि नै बुबा–आमाको छत्रछायाँमा बस्ने अवसर उनले पाएका थिए । उनी नेपाली बोलिचालीको भाषामा प्रयोग गरिने खानदानी परिवारमै जन्मे हुर्केका थिए । उनका ४ जना दाजुभाइ तथा एक जना बहिनी छन् । सोमध्ये कोही दाइ इन्जिनियर, कोही दाइ डक्टर तथा कोही आर्मी भएका छन् । यस्तै, उनको बहिनी पनि डक्टर छिन् । आफ्नै परिवारका विभिन्न सदस्यहरुले विभिन्न पेशा व्यवसाय अगाल्दा आफू भने घरमा खाली बस्नुको सट्टा केही काम गरौं भनेर बीमा क्षेत्रमा लागेको उनी बताउँछन् । तर, संयोग के भयो भने उनले नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेर बीमा क्षेत्रमा पहिलो पाइला राखेको पनि २५ वर्ष (रजत वर्ष) पुगुन्जेल सोही कम्पनीमा निरन्तर काम गरिरहेका छन् । आफू निकै सक्रिय स्वभावको रहेको उनी बताउँछन् । कुनै दिन बिहान कसरत गर्न नपाएमा उनलाई त्यो दिन नै साह्रै अफ्ठयारो महशुस भइरहन्छ । नियमित साढे ५ देखि ६ बजेसम्म उठ्ने उनको तालिका नै हो । बिहान सिरक फ्याकेर उठ्न अल्छी मान्नेहरुको लागि उनको सक्रियता प्रेरणा पनि हुन सक्छ । हरेक बिहान उनले केही न केही खेलमा आफूलाई व्यस्त राख्छन् । उनले खेल्ने खेल शरिरलाई कसरत र मनोरञ्जन दुबै हुने किसीमका हुन्छन् । उनले टेबल–टेनिस, ब्याडमिन्टन जस्ता खेल नियमित खेल्ने गरेका छन् । उनको बाल्यकाल आर्थिक अभाव झेल्नु नपर्ने किसिमको पारिवारिक पृष्ठभूमिमा हुर्कियो । बसन्त भवनको पटांगिनी बाल्यकालमा साथी सँगीहरुसँग खेलेको उनलाई धेरै सम्झना आउँने गर्छ । बाल्यकालको सबैभन्दा धेरै स्मरणमा उनलाई विशालनगरको बसन्त भवन दरवारकै आउँने गरेको छ । त्यहाँ साथीहरुले बिहान बेलुका विभिन्न खेलहरु खेल्ने गरेको थिए । खेलमा उनको विषेश रुची अहिले पनि छदै छ । बसन्त भवन दरबारमा एउटा ठूलो पटांगीनी जस्तो रहेको उनी बताउँछन् । त्यहाँ साईकल सिकेको तथा फुटबल खेलेको उनले कहिल्यै नभुल्ने बताउँछन् । अहिले पनि उनले कहिलेकाही साईकल चलाउँने गर्छन् । साइकल चलाउँदा विगतको याद उनलाई आउँने गर्छ । बाल्यकालका चंचले, अहिले शान्त बाल्यकालमा उनी चंचल स्वभावका थिए । उनलाई आफूले निकै चकचक गरेको याद छ । तर अहिले उनी निकै शान्त छन् । उमेर, व्यवहार परिस्थीति र व्यवहारिक समस्याले आफूमा परिवर्तन ल्याउँदै गएको उनले बताए । नेशनल लाइफले दिएको सबैभन्दा ठूलो उपलब्धी नेशनल लाइफमा सबैभन्दा ठूलो कुरा उनले एउटा राम्रो तथा परिपक्क टिम पाए । एक्लै गर्न नसकेको काममा पनि टिम सहयोगी हुने उनको अनुभव छ । आफूभन्दा अग्रजहरुबाट जे जति कुरा सिक्ने अवसर पाए, त्यसलाई नै उनले नेशनल लाइफ भित्रिनुको सबैभन्दा ठूलो उपलब्धीको रुपमा लिएका छन् । आनीबानी आफूले फिजिकल काममा समय बिताउने गरेको र त्यो बानी आफैलाई मन पर्ने उनी बताउँछन् । अरुलाई धेरै विश्वास गर्ने उनको बानी छ । कहिलेकाँही यो बानीले अप्ठेरो पार्ने उनको अनुभव छ । नेशनल लाइफको चुनौति अहिलेको बीमा बजारमा प्रतिस्पर्धा धेरै छ । बजारमा एकसेएक कम्पनीहरु प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा आगामी दिनमा नेशनल लाइफले आफ्नो बर्चस्व तथा सवरासत जोगाइराख्नु नै चुनौति हो भन्ने उनलाई लागेको छ । कोरोना भाइरस महामारी पछिको अवस्था के कस्तो हुने होला भन्ने विश्वव्यापी चिन्ता नेसनल लाइफ इन्स्यारेन्सको हकमा पनि लागू हुने उनको भनाइ छ । जीवन बीमा नै किन ? जोखिम छ भनेर नै जीवन बीमा गर्ने हो । जोखिम जो कोहिलाई हुने भएकाले जीवन बीमा गर्न आवश्यक छ । जीवन बीमा धनी, गरिब तथा मध्यम सबै वर्गका मानिसहरुले गर्न आवश्यक रहेको उनले बताए । बीमा गरेको लाभ त्यही व्यक्तिले पाउँछ जसले बीमा गर्छ । सोही कारण जीवन बीमा गर्न आवश्यक पनि छ भन्ने उनको भनाइ छ । भविष्यको बारेमा चिन्ता हटाउन, पारिवारिक रुपमा ढुक्क हुन तथा एक किसिमले आफूलाई सुरक्षित रहन जीबन बीमा नै एक उत्तम विकल्प रहेको उनले सुनाए ।

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार

काठमाडौं । रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार नियुक्त भएका छन् । फाइनान्सको आज (असोज ५ गते) दिनको ३ बजेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक तण्डुकारले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

अब विदेशमा रहेका नेपाली आफैले नेपाल पैसा पठाउन सक्ने

काठमाडाैं । अब विदेशमा रहेका नेपालीहरुले पनि डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन सक्ने भङ्कएा छन् । विदेशमा काम गरिरहेका नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउन पाउने राष्ट्र बैंकले जनाएकाेे छ । राष्ट्र बै‌कले साेमबार एक सूचना जारी गर्दै नयाँ व्यवस्था शुरु गरेकाे हाे । यसका लागि नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ। डिजिटल भुक्तानी उपकरणबाट अन्तर- सीमा कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसारको समयवधिसम्म सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि उल्लेख गरेकाे छ। विदेशबाट विप्रेषकले डिजिटल भुक्तानी सेवादातामार्फत् पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेट वा तोकिएको सीमाभन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्ने जनाएकाे छ ।

रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था

काठमाडां । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै नयाा व्यवस्था गरेको बताएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेण्ट गर्ने संस्थाहरुसँग आवद्ध भई विप्रेषण कारोबार गर्दा पालना गर्नुपर्ने ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’ को साविकका व्यवस्थाका अतिरिक्त नयाँ व्यवस्था पालना गरी कारोबार गर्नुपर्ने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ । राष्ट्र बैंकले नयाँ व्यवस्थामा विभिन्न सर्तहरु राखेको छ । नेपाली कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेण्ट इन्ष्ट्रमेण्ट सञ्चालन गर्ने संस्थागत आवद्ध भएको हुनु पर्ने, डिजिटल पेमेण्ट इन्ष्ट्रमेण्टबाट क्रस बर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेरमा अपनाउनु पर्ने, सुरक्षा व्यवस्थाहरुका बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुुनु पर्ने लगायतका सर्तहरु राखेको सूचनामा उल्लेख छ । यस्तै, सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरे अनुसारको समयावधि सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि जनाएको छ । [pdf id=238436]