‘कोरोनामुक्त भएपनि समाजले हेर्ने दृष्टिकोण संक्रमितलाई जस्तै’
सर्लाही। जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरिन् । उनले भनिन्, “घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।” उनले भनिन्, “म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दाहरु आइरहन्छन् । समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोर महसुस भयो । अनि जाँच गराउँदा कोरोना भएको रहेछ । त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसेँ । त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो । शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो ।” त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उनको अनुभव छ । बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उनले सुनाइन् । कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उनले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ । लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउँछन् । उनले भने, “कोरोना लाग्नेबित्तिकै शुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ । लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ । कोरोना भनेको केही होइन रहेछ ।” कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उनले आफूले पनि अरु कोरोना सङ्क्रमितहरुसँगै आइसोलेनसनमै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना सङ्क्रमितको मनोबल नघटोस भनेर रमाइलो गरेको बताए । जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना सङ्क्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको एक मात्र नगरपालिका लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एक जना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताए । नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ । रासस
निश्चल बस्नेत र स्वस्तिमा खड्का बने भायानेटको ब्राण्ड एम्बेसडर
काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले ब्राण्ड एम्बेस्डरको प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडिलाई आवद्ध गरेको जनाएको छ । विगत २० वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटकाे सेवाहरु निकै राम्रो र विश्वासिलाे भएकाेले आफुहरुले यसमा आवद्ध भएकाे कलाकार बट्ठनेतले बताए । भायानेटका सिईओ सेवा पाठकले भायानेटको लागि ब्राण्ड एम्बेस्डरको रुपमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको आवद्ध गर्न पाउँदा हामी ज्यादै खुशी भएको बताइन् ।
पुनर्निर्माण र लेखापरीक्षण गर्न नभ्याइएकोले पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष बढाइने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायतका महत्वपूर्ण संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने गरी समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसमेत उपस्थित निर्देशक समितिको बैठकले गरेको सिफारिस अनुसार थपिएको समयावधिको करिब साढे ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका कामहरु गर्नेछ भने बाँकी अवधि अर्थात् ५ महिना १० दिन लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी रहेका कार्यजिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेजहरु हस्तान्तरणका गर्नेछ । निर्देशक समितिको निर्णय अनुसार चालु आर्थिक बर्ष २०७७÷७८ भर निजी आवास सम्बन्धी सम्पूर्ण कार्यहरु सम्पन्न गर्ने गरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ । प्राधिकरणको कार्यावधि २०७७ पुस १० गते सकिँदै छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थपसम्बन्धी प्रावधान छ । ‘प्राधिकरणको कार्यावधि पाँच वर्षको हुनेछ । कुनै कारणले सो अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभएमा नेपाल सरकारले प्राधिकरणको कार्यावधि एक वर्षको लागि थप गर्न वा प्राधिकरणले गरी आएको यस ऐन बमोजिमको काम अन्य निकायले गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ,’ सो दफामा भनिएको छ । त्यसैगरी, समितिको बैठकले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी मौजुदा बजेट योजनालाई परिमार्जन गरी ४ खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत पनि गरेको छ । यसै परिमार्जित बजेट तथा कार्यक्रमको अधिनमा रही पुनर्निर्माणका चालु तथा बाँकी कार्यहरु सम्पन्न हुनेछन् भने यस योजनामा उल्लेख भए बाहेकका पुनर्निर्माण तथा पुनस्र्थापनाका सम्बन्धी कार्यहरु विभिन्न तहगत सरकारलाई हस्तान्तरण हुनेछन् । २०७६ पुस २८ गते बसेको निर्देशक समितिको १६औं बैठकद्वारा गठन गरिएको कार्यदलबाट पेश भएको प्रतिवेदनलाई सदर गर्दै समितिले प्राधिकरणको समय थप एवं बजेट कार्यक्रममा परिमार्जनको निर्णय गरेको हो । उक्त बैठकले पुनर्निर्माण प्राधिकरणको क्षेत्रगत वित्तीय योजनाको परिमार्जन, संगठनात्मक संरचनाको परिमार्जन, निजी आवास पुनर्निर्माणको समयसीमा, पुनर्निर्माणका बाँकी कार्य हस्तान्तरण गर्ने निकायहरु र प्राधिकरणको समयसीमाबारे प्रस्ताव तयार पार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न सम्बन्धित मन्त्रालयका सचिवहरु सदस्य रहेको कार्यदल गठन गरेको थियो । त्यसैगरी, निर्देशक समितिले पुनर्निर्माणका सिकाई एवं अनुभव आदानप्रदान गर्न २०७८ बैशाख १० देखि १२ मा परिस्थिति अनुसार भौतिक वा भर्चुअल रुपमा गर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी प्रकृया अघि बढाउन स्वीकृति पनि दिएको छ । समितिको बैठकले त्रिपुरेश्वरस्थित केन्द्रीय कारगारलाई लोकतान्त्रिक आन्दोलन एवं संघर्षको संग्रहालयका रुपमा विकास गर्न गुरुयोजना तयार पारी कार्यान्वयन गर्न स्वीकृति पनि दिएको छ । साथै, बैठकले हालै सिन्धुपाल्चोकलगायतका विभिन्न जिल्लामा गएको बाढी पहिरो पीडितहरुलाई स्थानान्तरण एवं आवास व्यवस्थापनको कार्य राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कार्यान्वयन गर्न दिशानिर्देश गरेको छ । सो कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीका भूकम्प पीडितहरुको स्थानान्तरणमा प्राप्त गरेको अनुभवका आधारमा राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्नेछ । समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले लकडाउन तथा निशेधाज्ञाका बाबजुद पुनर्निर्माणका कार्यहरुलाई उत्साहजनक ढंगले अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै प्राधिकरणलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षभित्र तोकिएका कार्यहरु सम्पन्न गर्न निर्देशन दिंदै प्राधिकरणले गरेका कार्यहरुको अभिलेखीकरणमा यथोचित ध्यान दिन सुझाव पनि दिए । नेपाली कांग्रेसका प्रमुख सचेतक खाँडले पुनर्निर्माण सबैको साझा कार्ययोजना भएको उल्लेख गर्दै कोरोनाका कारण सबै भूकम्पपीडितको सुरक्षित आवासमा स्थानान्तरण हुने कार्यमा कठिनाई उत्पन्न भएकोले त्यसको सुनिश्चिता गर्न समय थपको प्रस्ताव उपर्युक्त भएको बताए । ‘आवास पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्ने भूकम्प प्रभावित लाभग्राहीको अधिकार सुनिश्चित गर्नुपर्छ,’ खाँडले भने । बैठकमा निर्देशक समितिका सदस्य एवं गृहमन्त्री राम बहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्यसचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिवहरु, प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, निर्देशक समितिका सदस्यहरु डा. तारानिधि भट्टराई, किशोर थापा र नीमान्नद रिजाल, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु ध्रुवप्रसाद शर्मा, डा. चन्द्र बहादुर श्रेष्ठ र डा. हरिराम पराजुली, राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेललगायतको सहभागिता थियो ।
कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे, खर्चहरुको व्यवस्थापन गर्न सकिने
काठमाडौं । वित्तीय क्षेत्रमै कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे भएकाे छ । बैकले ‘एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड’ प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने छ । बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसंग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने कम्पनीले जनाएकाे छ । ‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।’, बैंकले बतायाे ।
डेढ करोड रुपैयाँको गाडी किन्ने योजनाबाट पछि हटे बोर्डका अध्यक्ष
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना डेढ करोड रुपैयाँको गाडी किन्ने योजनाबाट पछि हटेका छन् । अहिले कोरोना कहरको अवस्थामा गाडि किन्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अब भाडाको गाडि चढ्ने ढुंगानाले बताए । बाेर्डकाे अहिलेको गाडी चढ्नै नसक्ने अवस्थाको भएकाले अब भाडाको गाडीका लागि सार्वजनिक सूचना जारी गर्ने उनले एक सञ्चार माध्यममा बताए । बोर्डका निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्की चढेको गाडी धेरै पटक बिग्रिएर चढ्नै नसक्ने अवस्थामा पुगको बोर्डले जनाएको छ । उक्त गाडी किन्ने बित्तिकै इञ्जिन बिग्रिएर फेर्नुपरेको बोर्डको भनाइ छ । नियामक निकायका प्रमुखले चढ्ने गाडी २ करोड रुपैयाँ हाराहारीको हुने गरेकोमा आफुले डेढ करोड रुपैयाँको गाडी खरिद गर्न लागेको उनले स्पष्ट गरे । उनले यस्तो समयमा यति महंगो गाडी किन्ने भन्दै विरोध आउन थालेपछि गाडी किन्ने योजना नै स्थगित गरेको बताएका छन् ।
२४ लाख ९९ हजार रुपैयाँमै सार्वजनिक भयाे रेनाेकाे नयाँ क्वीड गाडी, सबै डिलरशिपमा पाइने
काठमाडौं । नेपालको नम्बर एक यूरोपीयन ब्रान्ड रेनोले आज(असाेज ५ गते) नयाँ क्वीड गाडी सार्वजनिक गरेको छ । कम्पनीले शुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँमा उक्त गाडी सार्वजनिक गरेको हो । नेपालमा क्वीडको अपार सफलता पछि, नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन हो जसले स्वामित्वको अधिक मूल्य र उत्तम-श्रेणीको लागत प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आकर्षक र नवीनताका स्तम्भहरूमा निर्मित, क्वीड नेपालमा रेनोको लागि खेल परिवर्तन गर्ने उत्पादन भएको छ । नयाँ क्वीड गाडी बोल्ड, अधिक स्टाइलिश र धेरै लोडेड फस्ट-इन-क्लास सुविधाहरूको साथ आउँछ । नयाँ क्वीड गाडी १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पाउरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध छ । रेनोले गाडीको “आकर्षक” पिलर सुनिश्चित गर्न विशेष ध्यान दिएको छ, जुन एक प्रमुख यूएसपी भएको छ, गाडीको आन्तरिक र बाहिरी भागमा धेरै डिजाइन बृद्धिसँग धेरै नचस् लिएको छ । नवीनतामा केन्द्रित रहँदै रेनोले नयाँ क्वीडमा आधुनिक र सुविधाजनक विशेषताहरुको सही मिश्रणको सुनिश्चित गर्दछ । अर्को पक्ष जसमा नयाँ क्वीडले उत्तम रूपमा स्वामित्व लागत वितरण गर्दछ, क्लास लिडिंग वारेन्टी र सम्बद्ध सेवाहरू द्वारा सक्षम गरिएको छ, जसले अझ क्वीडलाई “किफायती” स्तम्भको रुपमा बढाउँदछ । नयाँ क्वीड गाडी आजैदेखि रेनाको सबै डीलरशिपमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । ‘रेनो क्वीडले पहिले नै नेपालमा एक कडा र बफादार ग्राहक आधार स्थापना गरिसकेको छ र नयाँ क्वीडले हाम्रो विस्तार योजनाहरूमा महत्त्वपूर्ण भूमिका खेल्नेछ र डिजाईन, नवीनता र आधुनिकताका क्षेत्रमा नयाँ बेन्चमार्क सेट गर्नेछ । हामी नेपालमा नयाँ क्वीड भित्र्याउन पाउँदा धेरै उत्साहित छौं । हालको अवस्थालाई ध्यानमा राख्दै हामी डिजिटल प्लेटफार्मको प्रयोग गरेर गाडी लन्च गर्दैछौं र हामी पनि यो अवसर सबैलाई सुरक्षित र स्वस्थ रहन अनुरोध गर्दछौं ।’- एडभान्स अटोमोबाइल प्रा.लि. का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने ।
परिसंघले उद्योगी व्यवसायीलाई भन्याेः कोभिड प्रोटोकलको पूर्णपालना गर्नुहाेस्
काठमाडाैं । नेपाल उद्योग परिसंघले कोभिड प्रोटोकलको पूर्णपालनाका लागि उद्योगी व्यवसायीलाई आग्रह गरेकाे छ । संघले कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको हाे । त्यस्तै, औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी यस्ता कार्यहरु गर्न संघले अनुरोध गरेको छ । यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा संकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पुर्याउने, औद्योगिक प्रतिष्ठानमा सचेताना कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ । विशेषगरी उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघ आग्रह गर्दछ । यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्दछ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट नेपालका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भइरहेका छन् । कोभिडको प्रकोपको सुरुसँगै सरकाले लकडाउन, सेमिलकडाउन र निषेधाज्ञा जस्ता बन्देजहरु लगाउँदै आएको सबैमा विदितै छ । यसबाट उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरु रोगलेभन्दा भोकले प्रभावित हुने देखिएकोले नेपाल उद्योग परिसंघले कोभिडसँगै काममा लागौ भन्ने स्लोगन समेत अगाडी सारेको थियो । यसको मुख्य आशय भनेको उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरुको मनोवल उच्च बनाई काममा फर्काउनु थियो । उनीहरुको मनोवल उच्च राख्दा उद्योग व्यवसाय सुचारु रुपमा सञ्चालन गर्नको लागि मद्दत पुग्ने र कोभिडको कारण धरासायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेदेखि परिसंघले सरकारसँग उद्योग व्यवसायहरुमा संक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्र मात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन अनुरोध गरेको थियो । नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेको देखिन्छ । त्यसैले, सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि परिसंघका सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछ ।
हराएको लाईसेन्सको सिफारिस लिन ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाईनबाटै फर्म भर्न सकिने
काठमाडौं । हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले गरेको छ । महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाईसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए । यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए । सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ । त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण सब्मिट वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन् । यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन् र उक्त सिफारिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।