साहस उर्जाले निर्माण गरिरहेको सोलुखोलाको लागत बढ्ने, आईपीओ कहिले खुल्छ ?
काठमाडौं । साहस उर्जाले निर्माण गरिरहेको सोलुखोला दुधकोशी आयोजनाको लागत बढ्ने भएको छ । चालु आवकै चैतमा जलविद्युत आयोजनाको निर्माण कार्य सक्ने कम्पनीको योजना भएपनि कोरोना भाइरस र भौगाेलिक कारणले ढिलाई हुन पुगेको कम्पनीले बताएको छ । आयोजनाको निर्माण कार्य ढिला नै सम्पन्न हुने भएपनि आयोजनाको लागत पनि बढ्ने भएको हो । सोलुखुम्बुमा निर्माणाधिन गरिरहेको निजी क्षेत्रको अहिलेसम्मकै ठूलो ८६ मेगावट क्षमताको सोलुखोला दुधकोशी आयोजनाको निर्माण यस वर्षको चैतमा नै सक्ने दावी कम्पनीहरूले गर्दै आएको थियो । तर, अब नि त्यो समयावधिमा सक्न मुस्किल हुने भएको छ । आयोजनाको निर्माण कार्य ढिलाई र लागत बढ्ने भएपछि सर्वसाधारणमा बिक्री गरिने शेयरबाट पैसा संकलन नहुने हो कि भन्ने चिन्ता पनि प्रबद्र्धकहरुलाई परेको छ । कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको निर्माण कार्य चैतमा सक्ने लक्ष्य भएपनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र जिओलोजीको कारण काममा ढिलाई भएको बताए । ‘हामीले तयारी गरे अनुसारको जिओलोजी त्यहाँ पाएनौं, जिओलोजीको समस्याले नै काम हुन सकेन, अर्को कोभिडको कारणले जनशक्ति, सामानहरु उपलब्ध हुन सकेन त्यही भएर काममा ढिलाई भयो,’ उनले भने । ८६ मेगावट क्षमताको सोलुखोला जलविद्युत आयोजनाको शुरुवाती अनुमानित लागत प्रतिमेगावट १३ करोड ७९ लाख रुपैयाँ रहेको थियो तर निर्माणमा ढिलाई भएकाले लागत अरु बढ्ने देखिएको उनले बताए । उनले अब केही समय धकेलिने तर कहिलेसम्म निर्माण गरिसक्ने भन्ने विस्तारै थाहा हुने बताए । लागत कति बढ्छ भन्ने यकिन अझै हुन नसकेको उनको भनाई छ । साइटमा प्रोग्रेस ठिकै नै भइरहेको छ, अहिलेसम्म ५० भन्दा बढी प्रतिशत निर्माण कार्य सम्मपन्न भइसकेको छ, हुनु पर्ने सबै काम भइरहेको छ,’ उनले भने । उनका अनुसार आयोजनाको भुमिगत संरचना निर्माण सकिएको छ भने पावरहाउस र हेडबक्र्सको काम भइरहेको छ । शुरुमा निर्माण यति ठूलो कम्पनीमा लगानी गर्न उत्साहित आयोजना प्रबद्र्धकहरु अहिले कहिले आईपीओ खुल्छ भन्ने प्रतिक्षामा छन् । पाठकले यही वर्षभित्रै जसरी भएपनि आईपीओ निश्कासन गर्ने तयारी भएको बताए । ‘हामी २०७७ भित्रै जसरी भएपनि आइपीओ जारी गछौं, आईपीओ जारी गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेडसँग र क्रेडिट रेटिङका लागि इक्रा नेपालसँग सम्झौता भइसकेको छ’, उनले भने । अब काम कुन गतिमा जान्छ भन्ने निर्धारण कोभिडले तय गर्ने बताए । ६९ जिल्लाबाट झण्डै ८ हजार सेयरधनीहरुको लगानी रहेको साहस उर्जामा इन्भेष्टमेन्ट बैंकको अगुवाईमा अन्य ५ वटा बेंकहरुले लगानी गरेका छन् । सो कम्पनीमा अध्यक्ष पाठकको ४ करोड ७६ लाख, सञ्चालक सुशील थापाको ५ करोड ५२ लाख, र महेन्द्रकुमार गिरीको ५ करोडभन्दा बढि लगानी रहेको छ । कम्पनीमा स्थानीय तीन हजार पाँच सय भन्दा बढि जनताले पनि लगानी गरेका छन् । सिई कन्सट्रक्सनसंग निर्माण सम्झौता गरेर कामलाई निरन्तरता दिईएको छ । ८६ मेगावाट क्षमताको उक्त आयोजनाले २०७१ असोज २ मा निर्माणको अनुमति पाएको आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ८६ करोड रूपैयाँ हो ।
शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको नाफाबाट लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा जम्मा गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने बैठकले निर्णय गरको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुको पनि सैद्धान्तिक स्विकृतीको लागि बीमा समितिसमक्ष पेश गर्ने सञ्चालक समितिले निर्णय गरेको छ । यससँगै, उक्त वित्तीय विवरणहरु बीमा समितिले स्वीकृत गरे पश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुबैको वार्षिक साधारण सभा सकेसम्म छिटो गर्ने जानकारी गराएकाे छ ।
एनएनबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । मंगलबार(असाेज ६ गते) मात्र बैंककाे साे मात्राकाे सेयर सूचीकृत भएकाे हाे ।
मंगलबार १७ सयले घट्याे सुनकाे मूल्य
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुन घटेर मंगलबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार १७ सय रुपैयाँ कम अर्थात ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य ९० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १३२० मा काराेबार भइरहेकाे थियाे ।
पासाङल्हामु राजमार्गमा बस सेवा पुनःसञ्चालन
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ । गाडीको क्षमता क्रमशः ३० र १० भए पनि जनाको भए पनि यात्रुको सङ्ख्या भने बढीमा दश र चार मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले जानकारी दिए । अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ । लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिए । कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ । कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ । रासस
एनआईसी एशिया क्यापिटलको दुई फण्डले ईकाईधनीको खातामा पठाउन थाले लाभांश
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दुई म्युचुअल फण्डले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउन शुरु गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डले आज(असोज ६ गते) देखि ईकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्न शुरु गरेको हो । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश सम्बन्धित ईकाईधनीलाई पठाउन थालेको हो । यी दुबैले ईकाईधनीको हितग्राही खाता(बीओआईडी) मा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश सम्बन्धित ईकाईधनीहरुको बैंक खातामा जम्मा गर्न शुरु गरेको जानकारी गराएको छ । त्यसैले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए वा नभएको यकिन गर्न क्यापिटलले सम्बन्धित ईकाईधनीहरुलाई आग्रह गरेको छ । साथै, हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता अध्यावधिक(अपडेट) नगराएका इकाईधनीहरुले अपडेट गराउन आग्रह गरेको छ । उनीहरुले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अपडेट गराई समयमै लाभांश प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १२ प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्सड फण्डले कर सहित ८ प्रतिशतका दरले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश जम्मा गराउने भएका छन् ।
डा. भोला रिजाल दम्पती कोरोना संक्रमणमुक्त
काठमाडाैं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् । रिजाल दम्पती भदौ १३ गते काेराेना संक्रमण पुष्टि भएपछि भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए । साेमबार २२ दिनकाे अस्पताल बसाइपछि रिजाल दम्पति डिस्चार्ज भएका हुन् ।
शहरी क्षेत्रमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक
चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् । वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताउँछन् । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उनले भने, “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उनका अनुसार डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने उनको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उनले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको सङ्ख्या बढ्ने बताउँछन् । लामखुट्टेको टोकाइबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उनले भने, “डेङ्गु, कालाजार, मलेरिया, आउँ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाइफस फिबर सार्न सक्ने खतरा रहेको उनले बताए । तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोरसमेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाइपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिए । यसअघि पनि चितवनमा टाइफाइडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उनले बताए । भाँडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेङ्गु फैलिन सक्ने खतरा तिवारीले औँल्याए । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउँछन् । भरतपुर–१२ का स्थानीय समाजसेवी शालिग्राम शर्मा जमेको पानीले मानव बस्तीमा दुर्गन्ध फैलिएको बताउँछन् । झारपात कुहिएर, किराफट्याङ्ग्रा मरेर पानी फोहोर भएको भन्दै उनले सर्प, मुसालगायतका जीव जमिनबाट बाहिर निस्किएर घरहरुमा पस्ने समस्या आएको बताए। उनले भने, “घरमै बस्दासमेत नाक थुनेर बस्नुपर्ने अवस्था छ ।” विज्ञहरुले अस्पताल क्षेत्रमा पानी जम्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन् । पानी जमेको यसै क्षेत्रमा सङ्घीय सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, दुई दर्जनभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल रहेका छन् । यी अस्पतालमा चितवनसहित १८ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गर्दछन् । ती अस्पतालहरुमा अहिले भयावह बन्दै गएको कोरोनाका सङ्क्रमितसमेत छन् । उनीहरुले प्रयोग गरेको मलमूत्र र फोहोरसमेत पानीमा मिसिन सक्ने खतरा रहेको छ । रासस