सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिए । “सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग ग¥यौँ, त्यो महत्वपूर्ण कुरा हो”, प्रधानमन्त्री ओलीले भने, “गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।” उनले समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामथ्र्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको स्पष्ट पारे । प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिए । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिए । परिषद्का सदस्य डा मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि गैरसरकारी संस्थाले रु दुई अर्ब सहयोग गरेको बताए । यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ । रासस
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, यस्ता छन् अफरहरु
काठमाडाैं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ । हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अनेकन चुनौती छन् । आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो । अर्को ठूलो एयरलाइन्स यतीले पनि आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर आन्तरिक उडान शुरु भएकै दिन सोमबार पत्रकार सम्मेलन गरी सस्तो भ्रमण प्याकेज घोषणा गरेको हो । कोभिड महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाका कारण ६ महिना शून्य स्थिति जस्तै भएको मुलुकको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । अहिले हवाई उडानसँगै होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुलिसकेका छन् । कुन एयरलाइन्सका कस्ता अफर बुद्ध एयरले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएकोे हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो । दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो । निजी क्षेत्रकै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाई समेत दृष्टिगत गरी कम्पनीले भ्रमणको सस्तो प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको जनाएको छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताउनुभयो । उहाँका अनुसार यस्तो प्याकेज अक्टोबर २०२० बाट लागू हुने गरी बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकट सहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ । यी हुन् यतीका पर्यटकीय प्याकेज एभरेष्ट ट्रेलः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), राराः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखराः रु पाँच हजार ९९९ सात ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवनः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शनः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक), मुक्तिनाथ दर्शनः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुकः रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ । एयरलाइन्सका पर्यटकीय प्याकेजले आन्तरिक पर्यटनलाई गतिशील बनाउनाका साथै आर्थिक गतिविधि पनि बढ्नेमा व्यवसायी ढुक्क छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एयरलाइन्सले ल्याएको सस्तो प्याकेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । उनले अहिलेको परिस्थितिमा सरोकारवाला संस्थाबीच साझेदारिताका साथ प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आन्तरिक उडान खुलेसँगै पर्यटन बजारमा नयाँ उत्साह जगाएको भन्दै शुरुमा आन्तरिक र क्रमशः क्षेत्रीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका गतिविधि बढाइनुपर्ने खाँचो औँल्याए । रासस
सानिमा बैंकको क्रेडिट कार्डकाे लागि अनलाईनबाटै आवेदन दिन सकिने
काठमाडौं । सानिमा बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेभसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएकाे छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
नेपालमा कियाकाे एसयुभी सोनेट सार्वजनिक, सुरुवाती मूल्य ३५ लाख ९० हजार
काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको हाे । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी ३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ । यसको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ । सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ । यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल÷अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड÷अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड÷अरोरा ब्ल्याक पर्ल रंगमा छन् । सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटिएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ । सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन् । प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।
क्यापिटल मर्चेन्टका नक्कली ऋणीको गुहारः नखाएको विष लाग्यो, ऋण चुक्ता भैसक्दा पनि किन जेलमा ?
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालि प्रबन्ध संचालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसीले ऋण अपचलनको लागि तयार पारेका नक्कली ऋणीले आफ्नो नामको ऋण चुक्ता भैसक्दा पनि आफूहरु जेलमै बस्नु परेको भन्दै छुटाइदिन सरकारसँग अनुरोध गरेका छन् । आफूहरुले खादै नखाएको ऋणको कारण आफूहरु जेलमा बस्नु परेको तथा पहिला नै ऋण चुक्ता भइसक्दा पनि जेलमै बस्नु परेको केही ऋणीको गुनासो छ । नक्कली ऋणीहरु पुष्कर खड्का, बिमल खड्का, प्रकाश केसी र प्रकाशराज खत्रीले लिएको भनिएको ऋण चुक्ता भइसकेपनि आफूहरु अझै जेलमा बस्नु परेको भन्दै उनीहरुले प्रधानमन्त्री, नेपाल राष्ट्र बैंक तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीमा निवेदन दिदै जेलबाट छुटकारा दिलाई दिन अनुरोध गरेका हुन् । उनीहरुको परिवारले दिएको जानकारी अनुसार पुष्कर र बिमल खड्का सुन्धारा जेलमा छन् । प्रकाश केसी काभ्रेको जेलमा छन् भने प्रकाशराज खत्री नख्खु जेलमा छन् । आफ्नो नाममा लिएको भनिएको कर्जा चुक्ता भइसकेपछि पनि आफूलाई जेलमा राख्नु अन्याय भएको भन्दै उनीहरुका परिवार तथा आफन्तले सरोकारवाला निकायमा हारगुहार गर्दा पनि कतै सुनुवाई नभएको गुनासो गरेका छन् । यस्तै, अन्य नक्कली ऋणीहरु बिकाश कार्की, बिदुर दाहाल, प्रशान्त कार्की, धिरज केसी, सुदिप केसी, मधुकर महत, ओमप्रकाश केसी, भीमसेन केसीलगायतले आफूले रकम अपचलन पनि नगरेको अहिलेको कोरोना महामारीको समयमा जेलमुक्त गराइदिन अनुरोध गर्दै निवेदन दिएका हुन् । तर, उनीहरुको निवेदनको कुनै पनि निकायबाट सम्बोधन नभएको परिवारले जनाएको छ । यसरी जेलमा परेकामध्ये केही दुधे वालकका आमासमेत रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ । नक्कली ऋणीहरु शान्ती केसी र प्रेक्षा शर्मा दुधे वालकका आमा रहेको बताइएको छ । यस्तै, ऋणीहरु मदनबहादुर कार्की, श्यामकृष्ण खत्री र पूर्णबहादुर केसी गम्भीर बिरामी रहेका छन् । यस्ताे छ उनीहरुकाे निवेदन श्रीमान अध्यक्षज्यू, क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनि लिमिटेड बत्तीसपुतली, काठमाडौँ मार्फत: प्रमुख कार्यकारी अधिकृत ज्यु, क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनि लिमिटेड बत्तीसपुतली, काठमाडौँ बिषय: नक्कली ऋणीहरुलाई बैंक वा सरकारी रोहबरमा तुरुन्त रिहाइ गर्न सिफारिस गरी पाउँ। महोदय, नेपाल सरकार बादी भै बैकिङ्ग कसुर अन्तर्गत कर्जा अपचलन सम्बन्धि मुद्दामा तत्कालिन पुनराबेदन अदालत पाटनको मिति २०७१/०१/२९ को फैसलाले झन्डै चार दर्जन जति नक्कली ऋणी हरुलाई सिधै कैदी बनाएको श्रीमानमा अबगत नै छ । ती नक्कली ऋणीमध्ये करिब डेढ दर्जन अर्थात १६ जना कैदी बर्षौदेखि विभिन्न कारागारमा बन्दिको रुप रहेका छन् । तत्कालिन पुनराबेदन अदालत पाटनले ती नक्कली ऋणीहरुलाई प्राबिधिक रुपले बैकिङ्ग कसुरको दोषी करार गराए तापनि ती निर्दोष थिए भन्ने पनि श्रीमानमा विभिन्न कोणहरुबाट अबगत भै सकेको छ । सम्मानित सर्बोच्च अदालतमा हाम्रा नक्कली ऋणीहरु खासै राम्रो संख्यामा जान सकेनन् । अनि जान नसकेको हकमा अधिबक्तासम्म राख्न नसकेको अवस्था श्रीमानमा जग जाहेर नै छ । तर पनि अहिलेको बिशेष परिस्थिति (कोभिड१९ महामारी) ले फैसला धकेलिए तापनि सम्मानित अदालतले निर्दोष बनाउछ भन्ने हामीमा आशा छ । श्रीमानलाई ज्ञात नै छ उक्त बैकिङ्ग कसुरको मुद्दाका अभियुक्तहरु मध्ये केहिको बर्षौ अगाडी सम्पूर्ण ऋण चुक्ता हुँदा पनि (जस्तै नख्खुमा रहनु भएका श्री प्रकाशराज खत्री समेत) कैदमा बस्नु परेको बिडम्बना हामी सित छ । ती पिडितलाई उनको धितो बेच्न दिई कर्जा तिर्नबाट बन्चित नगरिएको भए बाँकी सबैले तिनका नाममा लादिएको सम्पूर्ण ऋण नै चुक्ता गरिसकेका पनि हुन्थे भन्ने बुझ्न पनि गार्हो छैन । श्रीमान, त्यहाँको हालको पहलले हाम्रा नक्कली ऋणीहरु र त्यस बैंक/कम्पनीको बिशेष प्रतिनिधिज्यू बीच भएको छलफल र वार्ताले बर्षौदेखिबाट अड्किएको समस्यामा केहि सकारात्मक सोच दिएको छ । तर अझै यो समस्या पेचिलो बन्दै गएको हुनाले गहन छलफल गर्नुपर्ने आवश्यकताको महशुष पनि हामी सरोकारवालाहरुले गरेका छाै। र त्यो छलफलमा स्वयं नक्कली ऋणीहरु (पिडितहरु) हुनुपर्दछ भन्ने पनि हामी ठान्दछौ । श्रीमानलाई लाग्ला पिडितहरुलाई कारागारमै गएर छलफल गर्न सकिन्छ नि भन्ने । तर त्यो बातावरण उपयुक्त र पर्याप्त हुन्दैन भन्ने हामीलाई लाग्छ । बरु त्यसले भावनात्मक रुपले पिडित परिवारहरुलाई रुवाउछ भन्ने जान्न सकिछ । एकातिर माथि उल्लेखित कारण छ भने अर्कोतिर पिडितहरु स्वयंको अवस्थालाई श्रीमानले विचार गर्नु पर्ने हामी देख्दछौ । हाम्रा पिडितहरु ज्यानमारा हैनन् । नत तिनले राज्यलाई कुनै सुरक्षा खतरा पैदा गरेका छन् । यदि बास्तबिकता यो हो भने श्रीमानले ती पिडितहरुलाई आफ्नो बैंकको रोहवरमा वा राष्ट्र बैंक वा सरकारको रोहवरमा (शर्त सहित भएपनि ) यथाशिघ्र रिहाइ गरी दिंदा हुन्थ्यो भन्ने हामीलाई लाग्छ । अहिलेको बिशेष परिस्थिति वा कोभिड-१९ को महामारीमा संक्रमणको जोखिम पिडितमा अत्याधिक छ, र नेपालको कारागारको स्थिति (साँघुरो र अब्यबस्थित) । त्यसैले सघन शल्यक्रियाबाट गुज्रेका पिडित (जस्तै भद्रगोलमा रहनु भएका मदन कार्की) बिशेष हेरचाहमा रहनु पर्ने स्थिति छ र उहाँलाई पारिवारिक हेरचाहको अति आबश्यक छ । त्यस्तै धुलिखेलमा रहनु भएका दीर्घ रोगी प्राणनाथ आचार्य, श्याम खत्री र नख्खुमा रहनु भएका हरि प्रसाद आचार्यको स्थिति सोचनीय छ । पिडित एक जनाले कैदमा जान गुमाएको आलो घाउ हुँदा हुँदै अझै पनि मानवीय दृष्टिकोणले हेरिएन भने अरु थपिदो पश्चाताप् गर्नु शिवाय केहि नहुले हुनाले यसलाई पहिले नै सोच्न हामी बिशेष आग्रह गर्दछौ । त्यस बैंकलाई लाग्ला पिडितको नाममा भएको धितोलाई बिशेष कागज नगरी त्यसै कैद मुक्त बैंक सुरक्षित महशुष गर्दैन भन्ने । तर हामी ठान्छौ त्यस्तो कागज त पहिले नै भै सकेको हो र फेरि फेरि गर्दैमा त्यसले तात्विक कुनै असर गर्छ भन्ने हामीलाई लाग्दैन । मतलब धितो रोक्का भएकै छ र एकै बास्केटमा राखेर काम कारबाही भएकै हो । यदि स्थिति यो छ भने वा हातखुट्टा पहिलै सिक्रीले बाँधी राखेकै छ भने फेरि त्यहाँ माथि अर्को डोरीले बाँध्नु कुनै जरुरी छ भन्ने हामीलाई लाग्दैन । बरु प्रतिष्ठित व्यक्तित्वहरुको लगानी रहेको यस बैंकले आफ्नो बिबेकशील र निडर भूमिकाले स्तरीय निकास दिन्छ भन्ने हामी ठान्दछौ । श्रीमानले तालुक बैंकमा माथि उल्लेखित कुरालाई गम्भिरतापुर्बक हृदयाङ्गम गर्न ऋण चुक्ता भै सकेका नक्कली ऋणीहरु र ऋण चुक्ता गर्नबाट बन्चित हुनु भएकाहरुलाई यथाशिघ्र सर्तमा सरकारी रोहबरमा थुना मुक्त हुने ब्यबस्था गरिदिनु हुन् सादर अनुरोध गर्दछौ । हामी यो पहिले कुरा (शर्तमा कैद मुक्त) नहुन्जेल अरु कुरा सोच्न नसक्ने कुरा पनि यसै मार्फत जानकारी गराउन चाहन्छौ । यदि यसलाई कानुनी छिद्र देखाएर अड्चन लाउन खोजिन्छ भने हामी ठान्दछौ कि त्यसमा प्रयाप्त बिबेक अपनाइएन र त्यो प्रतिष्ठित ब्यतित्व्ले गरेको निर्णय नभई र सक्षम व्यक्तित्वले कार्यान्वयन गरेको नभई अन्य अति साधारण व्यक्तिले गरेको ठान्न सकिएला । सम्बन्धित सामग्री शम्भु केसी पीडितको निवेदनः ऋण चुक्ता भइसकेका ऋणीलाई छुटाइदिनुस्, निर्दाेषलाई न्याय दिलाई दिनुस् नखाएको ऋणमा ७ वर्ष जेलबास, मुटु चलाउन ब्याट्रीको सहयोग
कापी र कलम युगको अन्त्य
कोरोना महामारीपछि कलम र कागजको प्रयोग ह्वात्तै घटेको छ । मेरो अनुभवमा कलमको अन्तिम प्रयोग हस्ताक्षरमा हो । चैतमा लकडाउन भएपछि चेकमा हस्ताक्षर गर्ने काम ९५ प्रतिशतले घटेको छ । सबै प्रकारका भुक्तानी इबैकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस वा विभिन्न वालेट मार्फत हुन्छ । तलबदेखि भ्याटसम्म, टेलिफोनदेखि घरभाडासम्म, कर्जाको किस्तादेखि बीमा शुल्कसम्म सबै प्रकारको भुक्तानी डिजिटल माध्यमबाट गर्न अभ्यस्त भइयो । चेकको कारोबार शुन्यतर्फ झर्दैछ । लकडाउनकै बीचमा मालपोत कार्यालय र कम्पनी रजिष्ट्रार कार्यालयमा नगद कारोबार गर्नुपर्यो । चौर औलामा थुक लगाएर नोट गन्ने अभ्यासमा हुर्केका केही नेपाली अझै डिजिटल पेमेन्टमा विश्वास गर्दैनन् । उनीहरु सकेसम्म नगद, नभए चेक नै माग्दछन् । यस्ता अपवाद बाहेक चेकमार्फत कारोबार हुन छोड्यो । चेकमा हस्ताक्षर नगरी डिजिटल माध्यमबाट आर्थिक कारोबार हुन थालेपछि हस्ताक्षर गर्न पनि कमल चाहिएन । चेकमा हस्ताक्षर गर्न समेत कलमको आवश्यकता नपर्नु भनेको कलम र कापी (कागज)को युगको अन्त्यको संकेत हो । आफ्नै दोस्रो अनुभव । दुई दशक अघिदेखि म कलमजीवी । समाचार लेखेरै आफू र आफ्नो परिवार चलाउँदै आएको छु । २०५८ सालमा जन्मभूमि पत्रिकामा समाचार लेख्दा कलम र कापी (प्रिन्ट पेपर)को विकल्प थिएन । समाचार लेख्नको लागि यति धेरै कलम धसियो कि कलम समाउने माझी औंलाको कापमा ठेला उठ्थ्यो, नाडी गल्थ्यो । २०६१ सालमा कम्प्यूटर किनेपछि रिपोटिङ डायरीमा टिपोट गर्न मात्र कमल र कापीको प्रयोग हुन थाल्यो । समाचार लेख्न कमल थिच्न छोडेर किबाेर्ड दबाउन थालियो । लेखेरभन्दा टाइप गरेर समाचार लेख्न, सच्याउन, परिमार्जन गर्न सजिलो र छिटो हुँदै गयो । सम्पादकलाई सम्पादन गर्न पनि धेरै सजिलो भयो । समयले कोल्टे फेर्यो । कलमले कागजमा सामाचार लेख्ने तर टाइप गर्न नजान्ने पत्रकार बेरोजगार बन्दै गए । समाचार टाइप गर्ने टाइपिष्ट पेशाको अन्त्य भयो । यतिबेला कुनै पनि सञ्चार माध्यमले कलमले लेखेर दिने लेखकको लेख पनि प्रकाशन गर्दैनन् । अबको त्यो पत्रकार मात्र प्रतिस्पर्धामा टिक्न सक्छ, जो मैदानमा रिपोर्टिङ गर्दा मोबाइलमा टाइप गरेर तुरुन्त सम्पादकलाई इमेल गर्न सक्छ । न्युज ब्रेक गर्नको लागि त भ्वाइस टाइप एप प्रयोग गर्नुको विकल्प हुँदैन । रिपोर्टरको डायरी अब इतिहासको पानामा सीमित हुनेछ, व्यवहारमा अन्त्य हुँदैछ । लेखक सहकर्मी नबिन पोखरेलसँगको करिब २ वर्ष अगाडिको एउटा घटना मलाई अझै पनि ताजै लाग्छ । त्यो बेला उनले राजनीतिशास्त्रमा कलेज टप गरे । अबिरले रातिएका, पदक र खादाले सजिएको, फ्रेमसहितको प्रमाणपत्र लिएर खुशी साट्न कार्यकक्षमा प्रवेश गरे । मैले बधाई दिएँ । खुशीले गदगद भइयो । त्यो क्षणमा मैले मजाककै रुपमा उनलाई प्रश्न सोधेँ । ‘राजनीतिशास्त्र जस्तो भाषिक रुपमा धेरै लामो उत्तर लेख्नु पर्ने विषयमा कलेज टप गर्नुभयो । तर तपाईले लेख्ने समाचारमा भाषा उत्कृष्ट छैन, किन ?’ उनको जवाफ सटिक आयो । ‘मैले नर्सरी देखि १२ कक्षासम्म १५ वर्ष ह्यण्डराइटिङ कसरी राम्रो बनाउने भनेर मिहेनत गरे । सिकाउनेले पनि जहिले पनि ह्याण्डराईटिङ राम्रो हुनुपर्छ भनेर सिकाए । तर जब म पहिलो जागिरको लागि अन्तरवार्तामा गए, तब मलाई पहिलो प्रश्न सोधियो, टाइप गर्न आउँछ ? मैले टाइप गर्न आउँदैन भनेर जवाफ दिनुपर्यो ।’ १५ वर्ष ह्याण्डराइटिङमा गरेको मिहेनत काम नलागेको उनको निष्कर्ष रह्यो । कम्युटरसँग फेमिलियर भएर समाचार सामग्री बनाउन धेरै महिना लाग्याे । उनका लागि मात्र होइन, परम्परागत शिक्षण विधिबाट स्कूल कलेज पढेको सबै नेपाली विद्यार्थीले भोग्नु पर्ने अवस्था यहि हो । गोल्डेनगेट इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल रोहित पौडेलसँग अर्को त्यस्तै अनुभव रहेछ । अमेरिकाबाट इन्जिनियरिङ पास गरेर नेपाल फर्केका एक विद्यार्थी इएमबीए गर्न गोल्डेनगेट कलेज भर्ना भएछन् । रोहितले ती विद्यार्थीलाई फाइनान्सियल एनालाइसिस् एण्ड रिपोटिङ पढाउँदै थिए । उनले विद्यार्थीलाई कापीमा लेखेर प्रिजेन्टेशन बनाउन भने । तर ती विद्यार्थीले लेख्न नआउने बताए । त्यसपछि भाइसप्रिन्सिपललाई ज्ञान भयो नेपाल र अमेरिकाको शिक्षण पद्धतिमा कति फरक रहेछ । माथिका दुई उदाहरणप्रति विद्यार्थीहरुको पठनपाठन सक्रिय शिक्षक, शिक्षिका, शिक्षण प्रणालीको विकास र सञ्चालन गर्ने हाम्रा नीति निर्माता र निर्णयकर्ताहरु गम्भिर हुनै पर्छ । दुनियाँले आत्मसाथ गर्नुपर्छ-आजको दिनमा लेख्न आउँदैन भन्नेले जागिर पाउँछ तर टाइप गर्न आउँदैन भन्नेले जागिर पाउँदैन । वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि सरकारी बैंकमा जागिर खाएर अवकाश हुने उमेरमा पुगेकाले पनि टाइप सिक्नु पर्यो । बुढेसकालमा टाइप सिक्दिन भन्नेले जागिर छोडेर घर बस्नुपर्यो । तर हाम्रो शिक्षण विधिमा टाइपले ठाउँ पाएन । बाध्यताले अनलाइन कक्षा सञ्चालन गर्ने स्कूल कलेजहरुले अहिले पनि विद्यार्थीलाई कापीमा लेखेर फोटो खिचेर सेन्ड गर्न लगाउँछन् । फेजआउट भइसकेको कापी कलम स्कूल कलेजहरुले घिटीघिटी चलाईरहेका छन् । अझै विद्यार्थीहरुलाई टाइप गर्न सिकाइरहेका छैनन् । कम्प्यूटरबाट परीक्षा दिने प्रणालीमा अझै काम भएको छैन । अनलाइन कक्षा सञ्चालनलाई समेत निरुत्साहित गर्ने प्रतिगामी सरकारले अनलाइनबाट परीक्षा दिन पाउने प्रणालीको विकास गर्ला भनेर अपेक्षा गर्न पनि कठिन छ । काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर बहादुर खुलालले काठको फल्याकमा माटो राखेर छेस्काले कोर्दै अक्षर चिनेको उनका विद्यार्थीलाई कथा सुनाए जस्तो लाग्छ । तर २०३० सालमा खुलालले त्यसरी नै क, ख, ग लेखेका थिए । चिनेका थिए । खुलालले अक्षर चिन्दा ४६ वर्षअघि जुन विधि प्रयोग भएको थियो, अहिले त्यो विधि धेरै पुरानो भयो । काठ र माटोको सहारामा लेखिने पढिने विधि जसरी इतिहासको पानामा सीमित हुँदै गयो, अब कलम र कापीको माध्यमबाट हुने सिकाई पनि इतिहासको पानामा मात्र सीमित हुँदैछ । कोभिड-१९ महामारीपछि त्यसको प्रष्ट संकेत देखिन थालेको छ । नानीबाबुहरु स्कूल नदेखी, टिचरलाई नभेटी, कलम र कापी नसमाई पढ्न थालेका छन् । अबको ४/५ दशकपछि कपाल फुलेका टिचरहरुले साना बाबुनानीलाई पढाउँदा कलम र कापीको बारेमा इतिहास पढाउने छन्, कलम समाउन र कापीमा लेख्न सिकाउने छैनन् । त्यतिबेला छापिएका किताबहरुको अस्तित्व रहन्छ नै । तर जसरी मोबाइलको आगमनसँगै समयको लागि घडीको आवश्यकता रहेन, शौखको लागि घडीको प्रयोग भइरहेको छ, त्यसरी नै शौखिन व्यक्तिले गोजीमा महँगा कलम भिर्लान् । जसरी हिमालयन बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ५५ हजार रुपैयाँ पर्ने कलम बोक्छन् तर त्यसको प्रयोग हस्ताक्षर गर्न मात्र प्रयोग हुन्छ । विद्यार्थी तहमा कापीको प्रयोग त शुन्य नै हुनेछ । हरेक महामारीसँगै मानिसको आनीवानी तथा जीवन शैलीमा ठूलो परिवर्तन आउने छ । इतिहासले देखाएको छ जब ठूला संकटहरु आएका छन्, तब मानिसको जीवनशैली उन्नत हुँदै गएको छ । कोभिड महामारीपछि स्कूल कलेजको पढाई भर्चुअल माध्यमबाट हुन थाल्नु, बैठक, सभा, सम्मेलन भर्चुअली हुनु प्रारम्भिक परिवर्तन हुन् । यस्ता परिवर्तन धेरै ठाउँमा देखिन थालेको छ । बैंकिङ कारोबार, बीमा कारोबार, पुँजीबजार कारोबार पूर्ण रुपमा डिजिटल्ली हुन थालेका छन् । सामान्य किराना पसलदेखि डेरीसम्मले क्युआर कोडबाट रकम भुक्तानी लिन थालेका छन् । सूचनाको लागि अनलाइन न्युजपोर्टलको प्रयोग बढेको छ । सेवा, व्यापार तथा उत्पादन सबै क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । जुनसुकै क्षेत्रमा पनि कलम र कापीको प्रयोग कम हुँदै गएको छ । यूराेपमा सन २०१६ देखि निरन्तर पेपरकाे खपत घट्नुले पनि प्रविधिकाे प्रयाेगसँगै कागजकाे प्रयाेग घट्दै जाने प्रष्ट संकेत दिएकाे छ । आम मानिसले सञ्चारको लागि फोन, इमेल, म्यासेन्जर, भाइवर, ह्वाटस्एप प्रयोग गरे पनि अझै हुलाक बन्द नभए जस्तै केही समय कलम र कापीको प्रयोग होला, त्यो पनि स्कूल, कलेज तहमा । तर व्यवहारिक जीवन, व्यवसायिक जीवनमा कलम र कापीको प्रयोग व्यापक रुपमा घट्दै जाने निश्चित छ । साथै, अबकाे शिक्षण विधि गुगलकाे प्राेफेशनल एजुकेशन जस्तै हुनुकाे विकल्प छैन, जहाँ कलम र कापीकाे प्रयाेग शुन्य छ । पढेपछि कामकाे सुनिश्चितता हुनैपर्छ । कम समयमा र कम लागतमा उच्च शिक्षा गर्न सकिने र त्याे पढाइ प्रविधिमैत्री हुनैपर्छ ।
अब १० लाख डाउन पेमेन्टमै किन्न सकिन्छ डिएफएसकेकाे एसयूभी, ४ लाखसम्म नगद छुट
काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले दशैं र तिहारलाई लक्षित गर्दै विशेष याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत ग्राहकले प्रिमियम एसयूभीमा ४ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । डिएफएसकेको कुनैपनि मोडलको खरिदमा याे अफर लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले हाल ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएकाे छ । तत्काल डाउन पेमेन्ट नहुने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लान सक्ने अफर पनि दिएकाे छ । यसकाे अर्थ ग्राहकले १० लाख रुपैयाँ तिरेर गाडी घर लान सक्नेछन् । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ । यी मध्ये कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्न सक्नेछन् । साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्नेछन् । पुराना गाडी लिएर एक्सचेन्जमा आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको बाेनस र २०७७/७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ । हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।
टिभिएसकाे दशैँ याेजना: हरेक हप्ता एक जनाले माेटरसाइकल जित्ने
काठमाडाैं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ अफर ल्याएकाे छ । दशैंलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत टिभिएसकाे कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदर कर्जा सुविधामा बाइक तथा स्कूटर गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आर आर ३१० जित्ने अवसर पाउनेछन्। यस उपहार योजनामा भाग लिन को लागि जो कोहीले पनि यस लिंक मा गएर फारम भर्नु पर्ने छ जसमा किने पनि या नकिने पनि आर आर ३१० जित्ने अवसर पाईन्छ। दशैँ तिहार स्किम योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा टिभिएसले ल्याएकाे यस्ता योजनाहरुबाट उपभोक्ताहरु लाभान्वीत हुने आशा गरेकाे बताए । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता योजना “टिभिएस दशैँकोआशा” प्रारम्भ गरेको छ । यो त्यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् ।