जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड नगर्दा हालसम्म सुरक्षित ताप्लेजुङमा जोखिम बढ्यो
ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् । यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन । “यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम बढ्ने देखिन्छ”, –स्थानीय बिबिहाङ वनेमले भने । दैनिक ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको सङ्ख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका तर अधिकांश मानिस स्वास्थ्य सतर्कता विना नै हिडडुल गरिरहेका छन् । “अब अहिले सबैतिर खुलमखुल्ला छ, गाडी चलिरहेका छन्, स्कुल खुल्न थाले अब कति डराएर बस्नु, मास्क लगाउँदा उल्टै समस्या होला जस्तो हुन थाल्यो”, –मास्क विना नै बजार क्षेत्रमा हिँडिरहेका एक जना सर्वसाधरणले भने । “कोरोनाले खासै मरिदैन, लागि हाले दुई चार दिनमा निको भईहालिने रहेछ, यो भ्रम मात्रै हो”, उनले भने । यी सर्वसाधरणले मात्रै होईन केही सामाजिक दायित्व र जिम्मेवारीमा रहेका मानिसले समेत कोरोना केही होईन, के को मास्क र नो स्यानिटाईजर भन्ने गरेका छन् । यता केही दिन अघिसम्म सरकारी तथा गैरसकारी कार्यालयले कार्यालय परिसरमा साबुन पानी राख्ने गरे पनि अहिले छाडिएको छ । चाडबाड नजिकिएकाले र स्कुल कलेजसमेत बन्द नै रहेकाले राजधानीसहित तराईका क्षेत्रमा रहेका युवा विद्यार्थी घर फर्किन थालेका छन् । सङ्क्रमण फैलिएका क्षेत्रबाट फटाफट मानिसहरु आउन थालेपछि थप जोखिम बढेको तर जोखिम व्यवस्थापनमा स्थानीय सरोकारवालाले समेत गम्भीरता नदेखाएको स्थानीयको आरोप समेत छ । स्वास्थ्य मन्त्रालयले दुई मिटरसम्म दूरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, साबुन पानीले बेलाबेलामा हात धुने भनेर सुझाई रहेका बेला झनझन अटेर गर्नेको सङ्ख्या बढ्दै गएकोमा कतिपयले चिन्ता व्यक्त गर्न थालेका हुन् । सर्वसाधरणले मात्रै नभई राजनीतिक दलका नेता कार्यकर्ताले समेत अटेर गरेको पाईएको छ । सङ्क्रमणका बेला स्वास्थ्य सुरक्षा अपनाउनुपर्नेमा उल्टै गाउँगाउँमा राजनीतिक भेला र सङ्गठनका कार्यक्रमहरु चलिरहेका छन् । ती कार्यक्रममा सामाजिक दूरी कायम भएको पाईँदैन भने मास्कको समेत प्रयोग भएको देखिँदैन । विशेषगरी ठूला राजनीतिक दलका जिल्लास्तरीय नेता गाउँगाउँमा पसेर सङ्गठन गर्न र पार्टी प्रवेश गराउनमा होडबाजी नै गरिरहेका छन् । कार्यक्रम पछि तुरुन्तै फेसबुकमा अपलोड हुने तस्बीर हेर्दा जनस्वास्थ्यका अत्यावस्यक मापदण्ड पूरा भएको देखिँदैन । बजारमा चहलपहल बढ्दै जाँदा जोखिम बढेको भन्दै जोखिम व्यवस्थापनमा ध्यान दिन जरुरी रहेकोमा स्थानीयवासीको जोड छ । रासस
‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’
गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताए । वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए । आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । पोखरा महानर–१७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंँदै समाजका विपन्न एवम् असहाय जेष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिरलगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उनको जोड थियो । उक्त अवसरमा पोखरा–१६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरी २५ हजार प्रदान गरे । कोषमा हालसम्म ६० लाख बढी रकम सङ्कलन भएको छ भने पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतरत रहेको वृद्धाश्रम सञ्चालनका लागि मासिक सात लाख ५० हजार खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए । कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बराबरको वार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस
दीपप्रकाश पाण्डेको के गल्ती ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघका अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य दीपप्रकाश पाण्डे बीमा क्षेत्रमा सफल र सबैले चिनेका व्यक्ति हुन् । उनले व्यवस्थापकीय नेतृत्व गरेको शिखर इन्स्योरेन्स कम्पनीले हासिल गरेको प्रगतिले उनको व्यक्तित्व धेरै माथि पुर्याएको छ । २०६१ साल मंसिरमा १५औं निर्जीवन कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी छोटो अवधिमा नै नेपालको सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा स्थापना भएको छ । कम्पनीको पुँजी, व्यवसाय, नेटवर्थ, नाफा, सेयर पुँजी, शाखा सञ्जाल, कर्मचारी संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी नम्बर वान छ । निर्जीवन बीमा बजारको झण्डै १३ प्रतिशत हिस्सा ओगटेको यो कम्पनीले निर्जीवन तर्फ सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट पटक पटक सम्मानित पनि भएको छ । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । ५३ वर्ष उमेर भएका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठौटका साथ अगाडि बढेका छन् । ‘बीमामा धेरै गर्न सकिन्छ । नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम हामीले नगरे कसले गर्ने ?’ उनले भने । कम्पनी सफल हुनुमा उनले जहिले पनि चार कुरालाई प्राथमिकता दिए । ‘कम्पनी चलाउन पैसा हाल्ने लगानीकर्तालाई नाफा दिनैपर्छ । कर्मचारीको हकहित हुनैपर्छ । बीमितलाई उत्कृष्ट सेवा दिएर सन्तुष्ट बनाउनै पर्छ । सरकारले बनाएको कानुन वा नियामकले जारी गरेको नीति निर्देशनको पालना गर्नैपर्छ’ उनले भने । सकारात्मक सोच राख्ने र क्षमताले भ्याएसम्म काम गर्ने उनको शैलीबाट कम्पनीका कर्मचारी, लगानीकर्ता, सञ्चालक समिति सबै प्रभावित छन् । अन्य निर्जीवन बीमा कम्पनीहरुमा पनि उनको भूमिका र कार्यसम्पादन नतिजाको निकै चर्चा हुने गरेको पाइन्छ । हालै मात्र शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको छ । ‘विगतमा गरेको काम र भविष्यको योजना हरेर कम्पनीले मलाई विश्वास गरेको छ । बीमा समितिबाट सहमति आउन बाँकी छ’ प्रमुख कार्यकारी पाण्डेले विकासन्युजसँग भने । दुई कार्यकाल भन्दा बढी एउटै कम्पनीमा सीईओ बन्न नमिल्ने व्यवस्थासँग जोडेर उनको पुनर्नियुक्तीबारे धेरैले चासो राखेका छन् । ‘म शिखर इन्स्यारेन्सको स्थायी कर्मचारी थिए । प्रमुख कार्यकारी अधिकृत पदमा स्थायी कर्मचारी हुन नपाउने व्यवस्था भएपछि मैले ४ वर्षअघि स्थायी सेवा छाेडेर करारमा नियुक्त भएकाे हुँ’ उनले भने–‘करारमा नियुक्त भएपछि पहिलो कार्यकाल सकिएकोले दोस्रो कार्यकालको लागि नियुक्ती प्रक्रिया अगाडि बढेको हो’ उनले भने । ‘बीमा समितिको नीति निर्देशनको पालना गर्दै मैले ६० वर्ष हुँदासम्म खान पाउने स्थायी जागिरबाट राजीनामा दिएँ । यस कम्पनीमा भएको सेयर पनि बेचेँ’ उनले भने–केही मानिसहरु भ्रामक प्रचार गरिराखेका छन् । मैले के गल्ती गरेँ र ?’ बीमा समितिले गरेकाे तत्कालिन नीतिगत व्यवस्थालाई पालना गर्दै आफू करारमा आएकाे बताउँदै पाण्डेले भने-‘अहिलेकाे नियम अनुसार एक कार्यकाल थप्न मिल्ने भएकाेले सञ्चालक समितिले निर्णय गरेकाे हाे । हामी बीमा समितिकाे नीति नियमकाे पालना गर्न पूर्ण प्रतिवद्ध छाैं ।’ ‘१० करोड रुपैयाँ लगानीमा स्थापना भएको कम्पनी १५ वर्षमा ३५० करोड नेटवर्थकाे कम्पनी भएको छ । नियम कानुनको पालना गरेर ग्राहकलाई उच्चस्तरीय सेवा दिदै आएका छौं । निर्जीवनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी भएको छ । ६०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीले लगानीकर्तालाई उच्चतम प्रतिफल दिएको छ । हामीले बीमामा सिर्जनात्मक काम पनि धेरै गरेका छौं’ उनले भने–‘राम्रो गर्नेलाई स्यावासी भन्ने र प्रोत्साहित गर्ने संस्कारको विकास हुन जरुरी छ ।’
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण निर्णयहरू
काठमाडाैं । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताए । लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको उनले बताए । अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उनले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताए । ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ । त्यति बेला अन्तर्मन्त्रालय छानबनि समिति (गृह-परराष्ट्र र नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर १ किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परेपनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छँदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्याहरु सार्वजनिक हुनेछन् ।’, उनले भने । उनले केरुङ रसुवागडीमा नाकामा केही श्रमिकहरुलाई कोरोना पोजेटिभ देखिएकाले सामान रोकिएको बताए । समस्या समाधान भएपछि आज बीसीजी लगायत अत्यावश्यकीय खोप र औषधि नेपाली भूमिमा आएको पनि बताए । चीनतर्फ रोकिएका सामानहरु एक हप्ताभित्र नेपाल ल्याउने कुरामा सहमति भएको पनि उनले बताए । सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्ता क्षेत्र घोषणा गरेको छ । ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पूर्ननिर्माणका काम अगाडी बढाइने उनले बताए । विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पूर्ननिर्माणको काम सूरु हुने जानकारी उनले दिए । सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ । नेपाल र चीनको व्यापार प्रवद्र्धनका लागि बैठक फलदायी हुने उनले बताए । यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ । सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा र संरक्षण प्राप्त गर्नेछन । यस्तै सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय पनि गरेको छ । सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बीमा गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
कोरियन स्वादको हटपट चाउचाउ बजारमा, ब्राण्ड एम्बेसेडरमा श्रृखंला खतिवडा
काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको हो । उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ । अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । ‘करिव ढेड वर्षको अनुसन्धान पछि यो चाउचाउ बजारमा ल्याएका छौं । कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।’, अध्यक्ष पाण्डेले भने । पहिलो, हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन । त्यसैले सबै उमेरका ब्यक्तिहरुलाई यो सुहाँउदो छ । यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ । दोस्रो, हटपट टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाई स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुई थरिकै हटपट प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ । हटपट सिरिज अन्तर्गत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ । गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरुले मनपराउने विश्वास कम्पनीको छ । यसै आर्थिक वर्ष भित्र अरुपनि थप नयाँ फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरु ल्याउने गरी प्रडक्ट डेभलपमेन्टको काम भइरहेको कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना पनि भएको अध्यक्ष पाण्डेले बताए। सफ्ट लञ्चिङ्गको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरुमा यो चाउचाउ उपलब्ध गराईएको छ । काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य सिंगल आउटलेट मार्ट हरुमा पनि गएर किन्न सकिन्छ । साथै अनलाइनबाट समेत किन्न सकिन्छ । लकडाउनले गर्दा काठमाडौ उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पुर्याउन सकिएको छैन तर अब दशैं भन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार बिस्तार गरिरहेको कम्पनीले बताएको छ । उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पुर्याउने तयारी भइरहेको छ । कम्पनीले हटपट नुडल्स सिरिज सबै उत्पादनहरुको लागि पूर्व मिस नेपाल श्रृखला खतिवडालाई अनुबन्ध गरेको छ । ‘यी उत्पादनहरु भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले हामीलाई अन्र्तराष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुदाँ राम्रो हुन्छ भन्ने लागेर उहाँलाई छानेका हौं’, अध्यक्ष पाण्डेले भने । पोखरा नुडल्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै पूर्वमिस नेपाल खतिवडाले नेपाली ब्राण्ड विदेशी मुलुकहरुमा चिनाउन पहल गर्ने बताइन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढायो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो । कम्पनीले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामको सो मात्राको ऋणपत्र निष्काशन गर्न असोज ५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपश्चात बैंकले ७ वर्षे अवधिका लागि ८.५ प्रतिशत व्याजदरकाे ४० लाख थान ऋणपत्र जारी गर्ने छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट २४ लाख थान र सर्वसाधारण तवरबाट १६ लाख थान ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
अनलाइनबाट किनेको खाद्य सामाग्रीकाे भुक्तानी अब खल्ती वालेटबाटै
काठमाडाैं । खल्ती डिजिटल वालेट प्रयाेग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेकाे खाध्यान्न लगायतका सामाग्रीकाे माेवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले कम्पनीकाे वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनाैट गर्नु पर्ने छ । त्यसपछि माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानकाे घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलाेलगायतका सामग्री बिक्री गर्दै आएकाे छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडाैं उपत्यकामा चक्रपथभित्र हाेम डेलिभरी समेत दिँदै आएकाे छ । ‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ? ‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
क्यासवे मनी ट्रान्स्फर पनि नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ट्रान्स्फरले नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा उक्त क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो । यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्य रेमिटेन्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ । नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् एनपीआईको सेवा प्रयोग गर्ने गरेका छन् । क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो । नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।