
काठमाडौं । लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो पूर्ण विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कम्पनीले मंगलबार यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको बताएको छ।
फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए ।
फरारीले लामो समयदेखि आफ्नो ईभी सार्वजनिक गर्ने समय भनेर संकेत गर्दै आएको थियो ।
सीईओ भिग्राले ‘अनौठो र नवप्रवर्तनीय तरिकाले सार्वजनिक गरिने’ भन्दै कारको विस्तृत विवरण दिन अस्वीकार गरे ।
६ नयाँ मोडल सार्वजनिक गर्ने योजना
फरारीले यस वर्ष छवटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सीईओ भिग्नाका अनुसार यो योजना अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति वा व्यापार युद्धको जोखिमले प्रभावित हुने छैन ।
फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए ।
मंगलबार फरारीले घोषणा गरेअनुसार २०२५ मा मुख्य आम्दानी २.६८ अर्ब युरो (२.७७ अर्ब डलर) पुग्नेछ । २०२४ को २.५६ अर्ब युरोभन्दा वृद्धि हुने अनुमान छ।
सेयर मूल्यमा ७.६ प्रतिशतले वृद्धि
मिलान स्टक एक्सचेन्जमा फरारीका सेयर मूल्य मंगलबार ७.६ प्रतिशतले बढेको थियो ।
’दृढ वृद्धि’ को अपेक्षा
कस्टुमाइजेसन, बलियो उत्पादन संयोजन र मूल्य निर्धारण क्षमताले २०२४ को मुख्य आम्दानी १२ प्रतिशतले बढाएको छ ।
‘यी मजबुत आधारहरूमा हामी २०२५ मा अझ बढी वृद्धि हुने अपेक्षा गर्छौं,’ भिग्नाले भने । उनका अनुसार फरारीले २०२६ को उच्च लाभ लक्ष्य एक वर्ष अगावै प्राप्त गर्ने सम्भावना छ ।
फरारीका ग्राहकहरूले सामान्यतः कार कस्टुमाइज गर्ने गर्छन्, जसमध्ये मुख्य रूपमा रङ, लिभरी र कार्बन प्रयोग जस्ता सुविधाहरू पर्छन् ।
फरारीका वित्तीय प्रमुख (सीएफओ) एन्टोनियो पिक्का पिक्कनले बताएअनुसार २०२३ मा कस्टमाइजेसन सेवाबाट कुल राजस्वको १९ प्रतिशत योगदान थियो, जुन २०२४ मा २० प्रतिशतले वृद्धि भएको छ।
चीन र अमेरिकी बजारमा अवसर
फरारीले २०२४ मा अमेरिकी ग्राहकहरूलाई थप कारहरू डेलिभर गरेपछि राम्रो नतिजा प्राप्त गरेको छ । तर सीईओ भिग्नाका अनुसार भविष्यमा सम्भावित ट्यारिफहरूलाई ध्यानमा राखेर अमेरिका पठाइने कारहरूको ढुवानी बढाउने कुनै योजना छैन ।
२०२३ मा १३ हजार ७५२ कार अमेरिकामा डेलिभर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ८९ वटा बढी हो ।
हाल फरारीले चीनमा कुल डेलिभरी १० प्रतिशतको सीमामा राख्ने नीति लिएको छ । भिग्नाका अनुसार चीनमा ईभी लोकप्रिय भएकाले नयाँ विद्युतीय कार त्यहाँका लागि ठूलो अवसर बन्न सक्छ । साथै पेट्रोल कारभन्दा ईभीमा कम कर लाग्ने भएकाले पनि चीनमा बजार विस्तार गर्न मद्दत पुग्नेछ ।
सान्दर्भिक सामग्री :
१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा
एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल
२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन
स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी