
काठमाडौं । जापानको मित्सुबिशी मोटर्स निसान र होन्डा मोटर्सबीच हुने मर्जरमा सहभागी नहुनेबारे विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मित्सुबिशी मोटर्सले दुवै कम्पनीहरूसँग सहकारी सम्बन्ध जारी राख्दै सूचीबद्ध कम्पनीको रूपमा रहन योजना बनाएको बताइएको छ ।
निसान र होन्डाले गत वर्ष एउटा मर्जरबारे औपचारिक छलफल सुरु गर्ने घोषणा गरेका थिए । उक्त मर्जर वार्षिक रूपमा ७४ लाख सवारीसाधन उत्पादन गर्दै विश्वको तेस्रो ठूलो अटो समूह हुनसक्ने सम्भावना रहेको बताइएको थियो ।
मित्सुबिशी मोटर्समा निसानको २४ प्रतिशत हिस्सा छ ।
मित्सुबिशी मोटर्सले विज्ञप्ति जारी गर्दै होन्डा र निसानले विचार गरिरहेको व्यवसाय एकीकरणमा आफू कसरी सहभागी हुनेबारे सञ्चारमाध्यमहरूले रिपोर्ट गरेको तर ती रिपोर्टहरू कम्पनीद्वारा घोषणा गरिएको जानकारीमा आधारित नरहेको बताएको छ ।
कम्पनीले यस चरणमा विभिन्न सम्भावनाहरूको अध्ययन गरिरहेको र आफ्नो दिशा अझै तय नभएको पनि स्पष्ट पारेको छ ।
योमिउरी समाचारपत्रले शुक्रबार रिपोर्ट गरेअनुसार मित्सुबिशी मोटर्सले प्रस्तावित सहकार्यमा सहभागी नहुनेबारे विचार गरिरहेको छ । कम्पनी तुलनात्मक रूपमा सानो आकारको भएकाले संयुक्त होल्डिङ कम्पनीको व्यवस्थापन निर्णयमा प्रभाव पार्न नसक्ने चिन्ताले सहकार्यमा सहकार्य नहुने देखिएको हो ।
योमिउरीको रिपोर्टबारे सोध्दा निसान र होन्डाका प्रवक्ताहरूले मित्सुबिशी मोटर्सको वक्तव्यलाई उद्धृत गर्दै थप टिप्पणी गर्न अस्वीकार गरे ।
निसान र होन्डाले गत वर्षकाे डिसेम्बरमा उनीहरू २०२५ को जुनसम्ममा छलफलहरू सकाई २०२६ को अगस्टसम्ममा एउटा होल्डिङ कम्पनी स्थापना गर्ने योजनामा रहेको उल्लेख गरेका थिए । त्यसपछि दुवै कम्पनीको सेयरहरू सूचीबाट हटाइने पनि जनाइएकाे थियाे ।
योमिउरीको रिपोर्टले मित्सुबिशी मोटर्सले हालको संरचना कायम राख्ने र दक्षिणपूर्वी एशियाली बजारमा आफ्नो हिस्सा विस्तारमा केन्द्रित रहने बताएको छ ।
होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने
होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने
बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस