२०८१ माघ ८ गते १७:४३ विकासन्युज
काठमाडौं । चीनको प्रमुख विद्युतीय गाडी निर्माता बीवाईडीले सन् २०२५ को अन्त्यसम्ममा इन्डोनेसियामा आफ्नो १ अर्ब डलरको प्लान्ट निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
इन्डोनेसियाको स्थानीय युनिटका प्रमुख ईगल झाओले सोमबार यसबारे जानकारी दिएका हुन् । जापानी अटोमेकरहरूको वर्चस्व रहेको बजारमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यलाई बीवाईडीले अझ बलियो बनाउँदैछ ।
इन्डोनेसियाका लागि प्लान्टको दीर्घकालीन योजना निर्यात बजारलाई लक्षित गरेको झाओले बताए ।
‘हाम्रो स्थानीय उत्पादन प्रक्रियाको प्रत्येक चरण सुचारु र योजनाअनुसार अघि बढिरहेको छ । हामी हाम्रो प्रतिबद्धतामा कायम छौं र २०२५ को अन्त्यसम्ममा निर्माण कार्य पूरा गर्नेछौं,’ झाओले रोयटर्स र सीएनबीसी इन्डोनेसियासँगको संयुक्त अन्तर्वार्तामा भने ।
पश्चिम जाभाको सुबाङस्थित औद्योगिक क्षेत्रमा निर्माणाधीन उक्त प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार विद्युतीय गाडी उत्पादन क्षमता राख्नेछ ।
स्थानीय युनिटका प्रमुख ईगल झाओ ।
यस लगानीसँगै बीवाईडीलाई अस्थायी रूपमा आयात शुल्कबिना इन्डोनेसियामा गाडी पठाउन अनुमति दिइएको छ । यो नीतिले विद्युतीय गाडीहरूको माग बढाउन र अटोमेकरहरूलाई आकर्षित गर्न लक्ष्य राखेको छ । सरकारले २०३० सम्ममा ६ लाख विद्युतीय गाडी घरेलु रूपमा उत्पादन गर्ने लक्ष्य राखेको छ ।
२०२४ मा इन्डोनेसियामा पहिलो वर्षको बिक्रीमा बीवाईडीले १५ हजार ४२९ गाडी बेचेको थियो । जनवरीदेखि नोभेम्बरसम्मको तथ्यांकअनुसार बीवाईडी विद्युतीय गाडी बजारमा करिब ३६ प्रतिशत बजार हिस्सा लिएर अग्रणी रहेको छ ।
झाओले प्लान्ट निर्माण सम्पन्न भएपछि चाँडै नै पहिलो गाडी उत्पादन सुरु हुने अपेक्षा गरे ।
हालसम्म बीवाईडीले इन्डोनेसियामा चार मोडेलहरू प्रस्तुत गरेको छ, जसमध्ये सील सेडान, एटो थ्री एसयूभी, डल्फिन ह्याचब्याक र एम सिक्स रहेका छन् । तीमध्ये एम सिक्स सबैभन्दा धेरै बिक्री भएको मोडेल थियो ।
झाओले यस वर्ष थप मोडेलहरू प्रस्तुत गर्ने योजना रहेको तर कति मोडेल हुने स्पष्ट नगरेको बताए । २०२५ मा बिक्रीमा ‘तीव्र वृद्धि’ गर्न थप मोडेल ल्याइने उनले बताए । बीवाईडीले यसै साता आफ्नो प्रिमियम ब्रान्ड डेन्जा पनि इन्डोनेसियामा सुरु गर्दैछ ।
बीवाईडीले गत वर्ष विश्वभर ४० लाखभन्दा धेरै गाडी बिक्री गर्दै आफ्नो लक्ष्य पार गरेको थियो । कम्पनीले दक्षिणपूर्व एशियामा आफ्नो उपस्थिति बलियो बनाउँदै जापानी र कोरियाली अटोमेकरहरूको वर्चस्वलाई चुनौती दिइरहेको छ ।
गत वर्ष बीवाईडीले थाइल्याण्डमा आफ्नो पहिलो विद्युतीय गाडी प्लान्ट खोलेको थियो । ४९० मिलियनको लागतमा निर्माण गरिएको यो प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार गाडी उत्पादन गर्न सक्छ, जसमा प्लग-इन हाइब्रिड पनि समावेश छन् ।
सिंगापुरमा २०२४ को पहिलो छ महिनामा बीवाईडीले टेस्लालाई बिक्रीमा पछि पारेको थियो ।
सान्दर्भिक सामग्री :
भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी
अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन
चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
Copyright © 2025 Bikash Media Pvt. Ltd.