एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल

  २०८१ माघ २१ गते १४:०१     विकासन्युज

सन् २०२३ काे जुलाई ३१ मा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको डेल्टाको एन्नासिस टापुमा जहाजबाट आइपुगेपछि पंक्तिबद्ध रूपमा पार्क गरिएका नयाँ निसान कारहरू । फाइल तस्बिर ।

काठमाडौं । जापानी र दक्षिण कोरियाली कार निर्माता र उनीहरूका आपूर्तिकर्ताहरूको सेयर सोमबार गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस क्षेत्रका निर्यातकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमा लगाएको व्यापक भन्सार महसुलबाट प्रभावित भएकाले सेयरमा गिरावट आएको हो ।

विश्वको शीर्ष अटो निर्माता टोयोटा र सानो प्रतिद्वन्द्वी निसानको सेयर ५ प्रतिशतभन्दा बढीले घटे । होन्डा ७ प्रतिशतभन्दा बढीले घट्यो ।

ट्रम्पको उक्त कदम अपेक्षित भए पनि विश्वका केही सबैभन्दा ठूला उत्पादकहरूलाई धक्का दियो किनकि लगानीकर्ताहरू विश्वको शीर्ष अर्थतन्त्रबाट कमजोर माग र अझ चिन्ताजनक रूपमा विश्व वृद्धिमा गिरावटको सम्भावनासँग जुधिरहेका थिए ।

ट्रम्पको निर्णयले अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित भएका छन् । धेरै जापानी र दक्षिण कोरियाली कार निर्माताहरू र उनीहरूका आपूर्तिकर्ताहरूको मेक्सिकोमा कारखाना छन् र त्यहाँ बनाएका कारहरू लामो समयदेखि संयुक्त राज्य अमेरिकामा निर्यात हुँदै आएका छन् ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकातो उचिदाले नोभेम्बरमा मेक्सिकोका कारखानाबाट करिब ३ लाख सवारीसाधन अमेरिकामा निर्यात हुने बताएका थिए ।

उनले भनेका थिए, ‘निसानका मेक्सिकोमा दुई कारखाना छन्, जहाँ यसले अमेरिकी बजारका लागि सेन्ट्रा, भर्सा र किक्स मोडेलहरू बनाउँछ । यसले वार्षिक लगभग ३ लाख सवारीसाधनहरू अमेरिकामा निर्यात गर्छ ।’

होन्डाले आफ्नो मेक्सिकन उत्पादनको ८० प्रतिशत अमेरिकी बजारमा पठाउँछ र यसका मुख्य सञ्चालन अधिकृत शिन्जी अयोमाले नोभेम्बरमा यदि अमेरिकाले आयातित सवारीसाधनहरूमा स्थायी भन्सार महसुल लगाएमा उत्पादन स्थानान्तरण गर्ने बारे सोंच्नु पर्ने चेतावनी दिएका थिए ।

दक्षिण कोरियाको किया मोटर्सको सेयर पनि लगभग ७ प्रतिशतले घट्यो । दक्षिण कोरियाली विद्युतीय सवारी ब्याट्री फर्महरू र ब्याट्री सामग्री निर्माताहरू जसले जीएम, फोर्ड र अन्य कम्पनीहरूलाई आपूर्ति गर्न क्यानडामा कारखाना निर्माण गर्ने योजना बनाएका थिए, उनीहरू अन्यौलमा परेका छन् । पोस्को फ्युचर एम र इकोप्रो बीएम क्रमशः ९.१ प्रतिशत र ८.७ प्रतिशतले घटे ।

मुख्य चीनको बजार ‘लुनार न्यू इयर’ बिदाको लागि बन्द भए पनि हङकङमा सूचीकृत चिनियाँ स्टकहरूमा सोमबार गिरावट आयो ।

अस्ट्रेलियाका ठूला फलाम खानी कम्पनीहरू बीएचपी, रियो टिन्टो र फोर्टेस्क्यु सोमबार २ देखि ५ प्रतिशतको बीचमा घटे किनभने भन्सार महसुलले विश्व वृद्धिलाई रोक्ने सम्भावना थियो ।

रियो टिन्टो क्यानडेली एल्युमिनियम व्यवसायको कारण सबैभन्दा बढी जोखिममा देखिएको छ । विश्लेषकहरूको अनुमानअनुसार यसले वार्षिक लगभग १.३५-१.६ मिलियन मेट्रिक टन अमेरिकामा बेच्छ ।

मेक्सिकोमा कारखाना भएका ताइवानी टेक कम्पनीहरूको पनि सेयर घटेको छ । फक्सकन ८ प्रतिशत, क्वान्टा लगभग १० प्रतिशत र इन्भेन्टेक ८ प्रतिशतले घटेका छन् । (एजेन्सीहरूको सहयोगमा)

ट्रम्पको भन्सार महसुल : प्रतिशोधमा क्यानडा र मेक्सिको, वार्ताको तयारीमा चीन

ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव

२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर