नाइमा एक्स्पोमा एमजीको नयाँ मोडल लञ्च गर्दैछौं

गत वर्षको तुलनामा यसपटक धेरै भीड हुन्छ ।

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जिओ अटोमोबाइलले आफ्नो सशक्त उपस्थितिको तयारी गरेको छ । कम्पनीले यसपटक नयाँ प्रविधि, उत्पादन र सेवामार्फत एक्स्पोमा आफूलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने दाबी गरेको छ । जिओ अटोमोबाइलको नेतृत्व गरिरहेका जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा नेपाली अटोमोबाइल उद्योगका अनुभवी व्यवसायीमध्ये एक हुन् । लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय रहेका गोल्छा सफल व्यवसायीका रूपमा परिचित छन् । यसपटक जियो अटोमोबाइलले एक्स्पोमा गाडीका कुन-कुन मोडल प्रदर्शन गर्दैछ ? ग्राहकहरूले स्टलमा के-के नयाँ अनुभव गर्न पाउनेछन् ? लगायतका विषयमा विकासन्युजका नरेन्द्र विष्टले प्रबन्ध निर्देशक गोल्छासँग कुराकानी गरेका छन् । 

एक्स्पोमा जियो अटोमोबाइलले कुन-कुन नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्दैछ ?

हामीले नाइमा मोबिलिटी एक्स्पोलाई ठूला चाडबाडको रूपमा हेरेका छौं । उसो त यो समय यसै पनि रमाइलो हुन्छ । यसैको अवसरमा उपभोक्ताहरूले नयाँ गाडी किन्ने गरेका छन् । जसमा मध्यम वर्गदेखि हेभिवेट वर्गसम्ममा नयाँ सवारीसाधन किन्ने चासो र इच्छा हुन्छ । यसपटक हामीले विशेष गरी एमजीको नयाँ मोडल माएस्ट्रो सार्वजनिक गर्दैछौं । यसका साथै एमजीमै एउटा नयाँ इलेक्ट्रिक भ्यान पनि ल्याउँदै छौं । त्यसैगरी, लिपमोटरका सी १० र टी ओ थ्री ब्राण्डका मोडलहरू पनि प्रदर्शनीमा रहनेछन् । 

नयाँ गाडीबाहेक नेपालमा यसअघि नै लन्च भइसकेका मोडलहरू पनि एक्स्पोमा देख्न पाइन्छ कि ?

हामी गाडी त बेच्नका लागि राख्छौं र राख्नैपर्छ पनि । स्टलमा नयाँ मात्र राखेर त पुग्दैन नि । एमजीको स्टलमा माएस्ट्रोसँगै यसअघि लन्च भइसकेका कोमेट, जेडएस ईभी, एमजी फोर र पेट्रोल गाडी हेक्टरजस्ता सबै मोडलहरू उपलब्ध हुनेछन् । हामीले केही महिनाअघि लन्च गरेका गाडीहरू पनि प्रदर्शनीमा राख्नेछौं । 

एक्स्पोमा के-कस्ता अफर, छुट वा फाइनान्सिङका सुविधाहरू ल्याउने योजना छ ?

फाइनान्सिङका सुविधाहरू त बैंकहरूले दिने हो, जुन एउटा स्ट्यान्डर्ड प्रक्रियामा हुन्छ । जहाँसम्म कम्पनीको तर्फबाट दिइने अफरहरूको कुरा छ, त्यो चाहिँ प्रदर्शनीको अन्तिम समयमा मात्र घोषणा गरिन्छ । अहिले नै सबै कुरा तय भइसकेको छैन ।

स्टलको तयारी कहाँ पुगेको छ, यसपटकको स्टल गत वर्षको भन्दा कत्तिको फरक र आकर्षक हुनेछ ?

स्टल निर्माणका लागि भेन्डरहरूसँग सल्लाह गरेर काम अगाडि बढिरहेको छ । हरेक वर्ष केही न केही नयाँ गर्ने प्रयास हुन्छ । यसपटक एमजीका नयाँ मोडलहरू हुने भएकाले डिजाइनमा केही परिवर्तन पक्कै देखिनेछ । तर आधारभूत रूपमा स्टलमा हुने एलईडी स्क्रिन, लाइटिङ र फ्लोरिङ नै हो । मुख्य कुरा गाडीका नयाँ मोडल र डिजाइन नै हुन् । 

अवलोकनकर्ताहरूले यहाँको स्टलमा कस्तो अनुभव गर्न पाउनेछन् ?

ग्राहकहरू मुख्यतया नयाँ र लेटेस्ट मोडलका गाडी हेर्न नै आउने हो । एक्स्पोको सबैभन्दा ठूलो फाइदा भनेको गाडी किन्न चाहनेले सबै ब्राण्ड र मोडलहरू एउटै छानामुनि हेर्न पाउँछन् । जसले गर्दा उनीहरूलाई तुलना
गर्न र निर्णय लिन सजिलो हुन्छ ।

नेपालमा ईभीको चर्चा धेरै छ, बजारको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालको भौगोलिक बनोट हेर्दा आईसीई (डिजेल/पेट्रोलबाट चल्ने गाडी) को आवश्यकता अझै धेरै वर्षसम्म कायम रहनेछ । विद्युतीय सवारीसाधन (ईभी) मुख्यतः सहरी क्षेत्रमा प्रभावकारी भए पनि दुर्गम ठाउँका लागि पूर्ण विकल्प बन्न सकेका छैनन् । उसो त ईभी होस् वा पेट्रोलियम गाडी दुवैका आफ्नै विशेषता छन् । सवारीको छनोट प्रविधिभन्दा पनि आवश्यकता र प्रयोग हुने भूगोलका आधारमा हुनुपर्छ जस्तो मलाई लाग्छ  । तर, अहिले नेपालको अटोमोबाइल बजारमा ७५ प्रतिशत हिस्सा ईभीले नै ओगटिसकेको छ । यो ठूलो परिवर्तन हो । 

null

यो अवस्थामा यहाँहरूले ईभी र पेट्रोलियम आईसीई गाडीको बजारलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?

हामी ग्राहकको निर्णयलाई परिवर्तन गर्ने प्रयास गर्दैनौं । हामीसँग ईभी र पेट्रोलियम दुवै विकल्प छन् । कसैलाई पेट्रोल गाडी नै उपयुक्त लाग्छ भने उसले पेट्रोल रोज्छ । जसलाई ईभी चाहिन्छ उसले ईभी रोज्छ । ग्राहकलाई जे मनपर्छ, हामी त्यही उपलब्ध गराउँछौं । 

लन्च हुने गाडीहरू नेपाल आइपुगिसकेका हुन् त ?

केही गाडीहरू आइसकेका छन् भने केही बाटोमै छन् । हामीले एक्स्पो सुरु हुनुअघि नै सबै गाडीहरू भित्र्याइसक्नेछौं । नाइमा मोबिलिटी एक्स्पोको भव्य तयारी जुटिसकेको अवस्था छ । 

यसपटक अवलोकनकर्ताको उपस्थिति कस्तो रहने अपेक्षा गर्नुभएको छ ?

गत वर्षको तुलनामा यसपटक धेरै भीड हुने हाम्रो अनुमान छ । यसपालि धेरै नयाँ ब्राण्डहरू नेपाल भित्रिएका छन् । एमजीमात्र नभई अन्य ब्राण्डका पनि धेरै नयाँ ४० मोडलहरू लन्च हुँदैछन् । त्यसैले यसपटकको नाइमा एक्सपो विगतको भन्दा अझ भव्य र परिष्कृत हुनेछ । गत वर्ष नाइमामा मोबिलिटी एक्स्पो पहिलो संस्करण थियो । यसकारण यसपटक केही नयाँ र फरक अवश्य हुनेछ । 

Share News