१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा

  २०८१ माघ २२ गते ११:२८     विकासन्युज

 

काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो विषय कर छलीसँग सम्बन्धित छ । यस मामिलामा कर अधिकारीहरूले कम्पनीलाई १.४ अर्ब डलर (१९ हजार करोड रुपैयाँ) को नोटिस जारी गरेका थिए । त्यसपछि कम्पनीको भारतीय एकाइले कर अधिकारीहरू विरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरे ।

हाल भारतमा फक्सवागन समूहको नेतृत्व स्कोडा अटो फक्सवागन इन्डियाले गरिरहेको छ । बम्बई उच्च अदालतमा यस मामलाको सुनुवाइ फेब्रुअरी ५ मा हुने जनाइएको छ ।

खास कुरा के हो ?

भारतीय भन्सार विभागले सेप्टेम्बर २०२४ मा स्कोडा अटो फक्सवागन इन्डियामाथि आरोप लगायो कि कम्पनीले फक्सवागन, स्कोडा र अडी कारहरूलाई छुट्टाछुट्टै पार्ट्सको रूपमा आयात गरेर करमा हेरफेर गर्‍यो । अधिकारीहरूले कम्पनीले कारलाई छुट्टा-छुट्टै भागहरूमा आयात गरेर कर बचाएको आरोप लगाए, जसले गर्दा सरकारलाई नोक्सान भयो । यस मामिलामा कम्पनीलाई १.४ अर्ब डलरको कर नोटिस दिइएको थियो ।

कर अधिकारीविरुद्ध जवाफी मुद्दा

नोटिस पाएपछि कम्पनीले कर अधिकारीहरूविरुद्ध जवाफी मुद्दा दायर गरेको छ । यसमा कम्पनीले १.४ अर्ब डलरको मागलाई खारेज गर्न माग गरेको छ । रोयटर्सको एक रिपोर्टअनुसार कम्पनीले करको माग कार पाट्र्सको लागि सरकारको आयात नियमहरूको विपरीत रहेको जनाएको छ । यसले भारतमा कम्पनीको व्यावसायीक योजनामा कठिनाइ हुनेछ ।

करबारे के भन्छ कम्पनी ?

कम्पनीले भनेको छ कि उसलाई थप कर तिर्नु पर्दैन किनभने उसले कारका पार्ट्सहरूलाई एकैसाथ एक ‘किट’को रूपमा आयात गरेन, बरु तिनीहरूलाई छुट्टा-छुट्टै मगाएको थियो । कम्पनीले भारतमा आफ्ना कारहरू बनाउन स्थानीय कम्पोनेन्टहरूको पनि प्रयोग गरेको जनाएको छ ।

‘विदेशी लगानीकर्ताहरूलाई चोट’

कम्पनीले अदालतलाई कर विवादका कारण भारतमा उसको १.५ अर्ब डलरको लगानी जोखिममा रहेको जनाएको छ । साथै यो विदेशी लगानीको वातावरणको लागि पनि राम्रो होइन । कम्पनीले आफ्नो मुद्दामा नोटिसले विदेशी लगानीकर्ताहरूलाई चोट पुर्‍याएको उल्लेख गरेको छ ।

जुलाई २०१८ मा फक्सवागन समूहले भारत २.० परियोजनाको भागको रूपमा लगभग एक अर्ब युरो (करिब १४ हजार करोड रुपैयाँ) को लगानीको घोषणा गरेको थियो ।

कति कर लाग्छ ?

यदि कुनै कम्पनीले विदेशबाट भारतमा पार्ट्सहरू मगाउँछ भने त्यसमा ५ देखि १५ प्रतिशत कर लाग्छ । त्यसैगरी, पूर्ण रूपमा बनेको कारमा ३० देखि ३५ प्रतिशत कर तिर्नुपर्छ । कर अधिकारीहरूको आरोप छ कि कम्पनीले पूर्ण रूपमा बनेका कारहरू मगाई तिनीहरूलाई पार्ट्सको रूपमा देखायो । यसले गर्दा कम्पनीले कर छली गर्‍यो । (एजेन्सीहरूको सहयोगमा)

सान्दर्भिक सामग्री :

एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल

२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने