‘सासु कोषलाई विश्वको उदाहरणीय र अर्थतन्त्रलाई बुस्टिङ गर्ने संस्था बनाउँदैछौं’
सरकारी पाराको काम कोषमा छैन, पाँच वर्षभित्र उदाहरणीय बन्छौं
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सुनको मूल्य दिनमै २० हजार बढ्न थालेपछि आत्तिए व्यवसायी, कर घटाउन तीव्र लबिङ
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामै २० हजार ५ सयले बढेपछि नेपाली बजारमा उपभोक्तामात्रै होइन, व्यवसायीसमेत आत्तिएका छन् । बुधबार पनि सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको कारोबार ३ लाख ३९ हजार ३ सय रुपैयाँमा भइरहेको छ । दुई दिनको अवधिमा सुनको मूल्य ३८ हजार रुपैयाँले बढ्दा उपभोक्ता मारमा परेका छन् भने व्यवसायीहरू कारोबार घटेर व्यवसाय नै समस्यामा पर्ने चिन्तामा छन् । नेपाली समाजमा सुनलाई धन, समृद्धि र प्रतिष्ठाको प्रतीकका रूपमा हेरिन्छ । नेपाली संस्कार, संस्कृति र जीवनशैलीसँग सुन गहिरो रूपमा जोडिएको छ । सुनबाट बनेका विभिन्न प्रकारका गहनाहरू सबैको रोजाइमा पर्छन् । यो मोह नेपालमा मात्र सीमित नभई विश्वका विभिन्न देशहरूमा पनि उत्तिकै फैलिएको छ । तर पछिल्लो समय सुनको मूल्यले निरन्तर उचाइ चुम्दै जाँदा फेसन र गहनाप्रेमीहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ । सुनलाई केवल गहना मात्र नभई सामाजिक प्रतिष्ठा र संस्कारको अभिन्न अंग मानिने गरिए पनि अहिले मूल्यवृद्धिले मध्यम र निम्न वर्गका लागि सुन आकाशको फल जस्तै बनेको छ । खासगरी अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र राजनीतिक तनावका कारण नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको सुनचाँदी व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको युद्ध र आर्थिक नीतिमा आएको परिवर्तनले सुनको भाउ आकासिएको हो । उनले अहिलेको वृद्धिदर कायम रहे आगामी ६ महिनाभित्रै सुनको मूल्य प्रतितोला ४ लाख रुपैयाँ नाघ्न सक्ने प्रक्षेपण गरेका छन् । मूल्य बढ्नुका तीन कारण अध्यक्ष रसाइलीका अनुसार सुनको मूल्य बढ्नुमा मुख्यतया तीनवटा कारण रहेका छन् । गाजा र इरानको तनावपूर्ण स्थितिले विश्व बजारमा असुरक्षा बढाएको छ, जसका कारण सुरक्षित लगानीको रूपमा सुनको माग बढेको छ । यसैगरी विदेशमा क्रिप्टो मनी (डिजिटल मुद्रा) मा लगानी गर्नेहरूले अहिले आफ्नो लगानी सुरक्षित गर्न सुन खरिद गर्न थालेका छन् । विश्वका ठूला लगानीकर्ता र धनाढ्यहरूले सुन किनेर स्टक (भण्डारण) गर्न थालेका कारण बजारमा सुनको अभाव र मूल्य वृद्धि देखिएको अध्यक्ष रसाइलीले विकासन्युजसँग बताए । यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष बी.एस. रत्न शाक्यका अनुसार अहिले सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रका धेरै पक्षहरू जिम्मेवार छन् । ‘डलरमाथिको निर्भरता कम गर्न पोल्याण्ड, भारत र चीन जस्ता देशका केन्द्रीय बैंकहरूले ठुलो मात्रामा सुन सञ्चिति बढाएका छन्,’ शाक्यले भने । यसका साथै विश्वका अर्बपतिहरू र क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले पनि सुरक्षित लगानीको खोजीमा सुन खरिद गर्न थालेका कारण बजारमा माग उच्च भएको हो । यसैगरी, रुस–युक्रेन युद्ध, मध्यपूर्वको अशान्ति, र इरान–ग्रीनल्याण्डको मामलामा अमेरिकाको हस्तक्षेपले विश्व बजारमा सुनलाई ‘सेफ हेभन’ अर्थात् सुरक्षित लगानीको क्षेत्र बनाएको उनको भनाइ छ । अमेरिकामा बेरोजगारी दरमा सुधार नआउनु र ब्याजदर घट्ने अनुमानले पनि सुनको भाउलाई थप बल पुर्याएको शाक्यको विश्लेषण छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य ९.०८ प्रतिशत अर्थात् ४६१ डलरले बढेको छ । जुन प्रतिऔंस ५ हजार ५४७ डलरमा कारोबार भइरहेको छ । यसअघि सुनको मूल्य प्रतिऔंस ५ हजार ५९१ डलरसम्म पुगेको थियो । सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ५ हजार डलरको थ्रेसहोल्ड गत सोमबार पार गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज प्रतिऔंस ५ हजार ५२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो साता मात्रै सुनको मूल्य १० प्रतिशतले वृद्धि भइसकेको छ । कमजोर डलर, केन्द्रीय बैंकहरूको बढ्दो खरिद र बढ्दो मागका कारण सुनको मूल्य आकासिएको विश्लेषकहरूले बताएका छन् । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ, जसका कारण समेत सुनको मूल्यमा प्रभाव परेको छ । सिजनमै उपभोक्तालाई मार मंसिरसँगै माघ र फागुन विवाहको मुख्य सिजन हो । मूल्य बढे पनि नेपाली संस्कृति र परम्पराका कारण सुनको माग भने घटिसकेको छैन । भोलि अझै महँगो हुने डरले उपभोक्ताहरू अहिले नै सुन खरिद गर्ने काम भइरहेको व्यवसायीहरू बताउँछन् । यद्यपि उच्च मूल्यका कारण धेरै उपभोक्ताले सुन किन्न नसक्ने अवस्था सिर्जना भएको छ । उपाध्यक्ष शाक्यले अहिलेको मूल्यवृद्धिलाई धेरै फुलाइएको बेलुनसँग तुलना गरे । उनका अनुसार सुनको उत्पादन लागत प्रतिऔंस औसतमा १ हजार ५०० देखि १ हजार ६०० डलर मात्र पर्छ । तर, अहिले बजारमा यसको बिक्री मूल्य ५ हजार ५०० डलरभन्दा माथि पुगिसकेको छ । ‘उत्पादन लागतभन्दा साढे तीन गुणा बढी मूल्यमा सुन बिक्री हुनु भनेको मूल्य अस्वाभाविक रूपमा बढ्नु हो,’ शाक्यले भने, ‘यो कुनै पनि बेला क्र्यास भएर वास्तविक मूल्यमा फर्किन सक्छ । यद्यपि, अहिलेको ग्राफ हेर्दा मूल्य अझै बढ्ने सम्भावना छ ।’ नेपालमा अन्तर्राष्ट्रिय मूल्यमा १० प्रतिशत भन्सार र १ प्रतिशत बैंक तथा व्यवसायीको मार्जिन जोडेर मूल्य निर्धारण गरिन्छ । मूल्य आकासिएपछि नेपाली उपभोक्ताहरूको क्रयशक्ति भने निकै घटेको छ । बनेपास्थित स्वर्णगृहका सञ्चालक समेत रहेका शाक्यका अनुसार अहिले बजारमा नयाँ सुन किन्ने ग्राहकभन्दा पनि आफूसँग भएको सुन बेच्ने ग्राहकहरूको संख्या बढी देखिन थालेको छ । सुनको यो उकालो यात्रा कहिलेसम्म जारी रहन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय परिस्थितिमा भर पर्ने भए पनि लगानीकर्ताहरूलाई भने सचेत रहन व्यवसायीहरूले सुझाव दिएका छन् । नेपालमा सुनको मूल्य महँगो हुनुमा अन्तर्राष्ट्रिय बजार मात्र नभई सरकारले लगाएको उच्च कर पनि जिम्मेवार रहेको व्यवसायीहरूको ठहर छ । हाल सरकारले सुनमा १० प्रतिशत भन्सार र २ प्रतिशत विलासिता कर गरी कुल १२ प्रतिशत प्रत्यक्ष कर लगाएको छ । बैंक र व्यवसायीको मार्जिन जोड्दा उपभोक्ताले १३ प्रतिशतभन्दा बढी कर तिर्नुपर्ने अवस्था छ । अध्यक्ष रसाइली भने, ‘भारतमा भन्सार दर ६ प्रतिशत मात्रै छ । तर, नेपालमा १० प्रतिशत छ । यो असमानताले गर्दा खुल्ला बोर्डरबाट सुनको अवैध ओसारपसार (तस्करी) बढ्ने र वैधानिक व्यवसाय धराशायी हुने अवस्था छ ।’ महासंघले भन्सार विभागमा ज्ञापनपत्र बुझाउँदै विलासिता कर खारेज गर्न र भन्सार दरलाई ५ प्रतिशतमा झार्न माग गरेको छ । यदि सरकारले ७ प्रतिशत मात्रै कर घटाइदिने हो भने नेपाली बजारमा सुनको मूल्य प्रतितोला २५ देखि ३० हजार रुपैयाँसम्म सस्तो हुने र यसले उपभोक्तालाई ठूलो राहत पुग्ने व्यवसायीहरूको विश्वास छ । समयमै कर नीतिमा सुधार नगरे सुन व्यवसाय नै संकटमा पर्ने र यस क्षेत्रले दिइरहेको ठूलो रोजगारी गुम्न सक्ने चेतावनी समेत व्यवसायीहरूले दिएका छन् । के भन्छ राष्ट्र बैंक ? सुनको मूल्य एकाएक आकासिनुमा नेपालको आन्तरिक कारण मात्र नभई विश्व राजनीति र अर्थतन्त्रको ठूलो हात रहेको नेपाल राष्ट्र बैंकको तर्क छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सुनको मूल्य बढ्नुमा मुख्यतया विश्व बजारको कारण हो । सुनको मूल्य बढ्नुमा आन्तरिक कारण नभएको उनको भनाइ छ । मध्यपूर्वमा जारी तनाव, रसिया–युक्रेन युद्ध र अमेरिका लगायतका ठूला शक्ति राष्ट्रहरूबीचको व्यापारिक युद्धले गर्दा विश्वभरका लगानीकर्ताहरू त्रसित छन् । यस्तो अस्थिर समयमा सेयर वा अन्य क्षेत्रमा लगानी गर्नुभन्दा सुनलाई सबैभन्दा सुरक्षित मानिने हुनाले अन्तर्राष्ट्रिय बजारमै यसको माग र मूल्य बढेको हो । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु पनि मूल्यवृद्धिको अर्को प्रमुख कारण रहेको पौडेलको भनाइ छ । भारतीय रुपैयाँसँग नेपाली मुद्रा स्थिर विनिमय दरमा जोडिएको छ । हाल भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भइरहेकाले नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको र जसका कारण विदेशबाट सुन आयात गर्दा बढी नेपाली रुपैयाँ खर्चिनुपर्ने स्थिति रहेको प्रवक्ता पौडेलले जानकारी दिए । सुनको मूल्यमा अस्थिरता रहेकाले राष्ट्र बैंकले उपभोक्ताहरूलाई सावधानीपूर्वक बजारको अध्ययन गरेर मात्रै खरिद वा बिक्रीको निर्णय लिन सुझाव दिएको छ । उपभोक्ता मञ्च भन्छ- सुन नकिनौं पछिल्लो समय बजारमा सुनको मूल्यमा भइरहेको उच्च वृद्धिका कारण आम उपभोक्ता मारमा परेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले आम उपभोक्ता र विशेषगरी विवाहको तयारीमा रहेका जोडीहरूलाई सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार नेपालीहरूको सुन लगाउने हैसियत अब क्रमशः समाप्त हुँदै गएको छ । ‘सुन अब सुन्ने र देख्ने वस्तुमात्र भयो, प्रयोग गर्ने क्षमता नेपालीको रहेन,’ महासचिव तिमिल्सिनाले विकासन्युजसँग भने । उनले सुनलाई केवल सौन्दर्य सामग्रीका रूपमा मात्र बुझ्न र यसको बढ्दो मूल्यका कारण मानसिक तनाव नलिन सुझाव दिए । अहिले विवाहको सिजन (माघ महिना) चलिरहेको छ । नेपाली समाजमा दाइजो वा प्रतिष्ठाका नाममा १०/२० तोला सुन प्रदर्शन गर्ने होडबाजी छ । महासचिव तिमिल्सिनाले यसलाई आडम्बरको संज्ञा दिँदै भने, ‘अरूको देखासिकीमा लागेर ऋणको भारी बोक्नुको कुनै अर्थ छैन । सुनको बदलामा चाँदी वा अन्य धातुका गहना प्रयोग गर्न सकिन्छ ।’ उनले पुराना दिनहरूको स्मरण गर्दै थपे, ‘पहिला गाउँघरमा एउटाको तिलहरी मागेर गाउँभरिको विवाह चलाउने संस्कार थियो, अहिले किन हरेकले किनेरै प्रदर्शन गर्नुपर्ने ? हामीले अब सुन होइन, आफ्नो सोच र संस्कार बदल्नुपर्छ । ’ सुनको मूल्य उच्च हुँदा बजारमा कालोबजारी र गुणस्तरहीन सुनको बिगबिगी बढ्न सक्ने खतरा रहेको उनको भनाइ छ । महासचिव घिमिरेका अनुसार नेपालमा सुनको मूल्य र गुणस्तर परीक्षण व्यापारी आफैले गर्ने गरेका छन्, जसमा सरकारी संयन्त्रको प्रभावकारी नियन्त्रण छैन । गहना बनाउँदा जर्ती र अन्य नाममा उपभोक्तालाई हजारौं रुपैयाँ ठगिने सम्भावना उच्च रहन्छ । मूल्य धेरै भएकाले थोरै तौल (मिलिग्राम) मा हुने तलमाथिले पनि उपभोक्तालाई ठुलो आर्थिक नोक्सानी पुर्याउँछ । महासचिव तिमिल्सिनाले सुनजस्तो अनुत्पादक वस्तुमा ऋण खोजेर लगानी गर्नुभन्दा उक्त रकम छोराछोरीको शिक्षा र परिवारको स्वास्थ्यमा खर्च गर्न आग्रह गरे । ‘विवाहका नाममा जीवन नै अन्धकार बनाउने गरी ऋण नबोकौं । आडम्बरले खुसी होइन, विनाश निम्त्याउँछ,’ उनले थपे ।
मोबाइलमा आपत्तिजनक एसएमएस पठाउनेलाई कारबाही गरिने : टेलिकम
काठमाडौं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिस (भिएएस) सेवा अन्तर्गत केही सेवा प्रदायकमार्फत आपत्तिजनक प्रकृतिका एसएमएसहरू मोबाइल प्रयोगकर्ताको नम्बरमा पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमका अनुसार भिएएस सेवा अन्तर्गत विभिन्न सूचना तथा सन्देश एसएमएसमार्फत पठाइने व्यवस्था भए पनि हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसायको सीमाभन्दा बाहिर गएर जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्भावमा खलल पुर्याउने खालका सन्देश प्रवाह गरेको गुनासो प्राप्त भएको छ । नेपाल टेलिकमले यस्ता सन्देश प्रवाह नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई सचेत गराइसकेको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा निगरानी तथा नियन्त्रण गरिने स्पष्ट पारेको छ । साथै, सबै भिएएस सेवा प्रदायकलाई यस्ता सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा नपठाउन निर्देशन दिइएको छ । यदि यस्ता गतिविधि पुनः दोहोरिए सम्झौताअनुसार सम्बन्धित सेवा प्रदायकसँगको सम्झौता खारेज गर्नेसम्मको कारबाही गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कुनै पनि सेवा प्रदायकलाई ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण उपलब्ध नगराएको स्पष्ट गर्दै, ग्राहकको गोपनीयताप्रति आफू सधैं संवेदनशील र प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ ।