कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । साथै, दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।   

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिको विरोधमा त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै क्याम्पस परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा विद्यार्थीले राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको माग गर्दै विभिन्न नाराहरू लगाएका थिए । उनीहरूले ‘हाम्रो भूमि हाम्रो शान, ज्यान दिन्छौँ दिन्नौँ दान’, ‘ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्शा पनि नरहला जस्तो छ’ र ‘राष्ट्रियतामाथि प्रहार सहँदैनौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  विद्यार्थीले प्रधानमन्त्रीको अभिव्यक्तिले वीर पुर्खाहरूको बलिदानको अपमान गरेको ठहर गर्दै उक्त कदमप्रति माफी माग्न माग गरेका छन् । साथै, लोकतन्त्रमा प्रधानमन्त्रीको पदीय मर्यादा र जिम्मेवारीको स्मरण गराउँदै प्रदर्शनकारीहरूले ‘यो लोकतन्त्र हो प्रधानमन्त्री, र्याप र जोकतन्त्र होइन’ भन्दै आलोचनासमेत गरेका छन् ।  तस्बिरहरु : अनुप प्रधान

नयाँ संसद भवनमा आगामी बजेट भाषणको तयारी (फोटो फिचर)

काठमाडौं । नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको शुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्नेगरी सरकारले अन्तिम तयारी तीब्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।  नेपाली संसदीय इतिहासमा एउटा ठूलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने बिन्दुमा पुगेको छ । यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो । बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै २४ सै घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन् । नव–निर्माणाधीन यस भवनको सबैभन्दा ठूलो आकर्षण यसको माथिल्लो गुम्बज संरचना हो । भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डवल–डेकर फलामे ट्रसको आकर्षक गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ । दिउँसोको उज्यालो सिधै छिर्ने गरी पारिएको यो गुम्बज संरचनाले उर्जा वचतमा समेत मद्दत गर्ने प्राविधिकहरूको भनाइ छ । राजनीतिक वृत्तमा पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नुलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नै निर्णयक्षमताको प्रतिकका रूपमा हेरिएको छ ।  तस्बिरहरु : अनुप प्रधान