काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा विकसित भएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
बिहीबार जारी गरेको विशेष अपिलमा राष्ट्रपति पौडेलले नेपालको पहिचान नै सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता भएको उल्लेख गर्दै यही परम्परालाई जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।
उनले राजनीतिक दल, नागरिक समाज, समुदायका अगुवा तथा सम्पूर्ण नेपालीलाई शान्ति, अमनचयन र सुव्यवस्था कायम राख्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच आपसी विश्वास, मित्रता, सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । साथै उत्पन्न अवस्थालाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण पुनःस्थापित गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास पनि व्यक्त गरेका छन् ।
अपिलमार्फत राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने बताएका छन् ।