काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जलगायत पूर्वी नेपालका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा सुनसरीका स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन आग्रह गरेका छन् । जनतालाई विभाजित गर्ने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्ने उनको भनाइ छ ।
सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जिउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि वर्तमान परिस्थितिमा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादको माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेका छन् ।
एमाले अध्यक्ष ओलीले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले हिंसा र द्वन्द्वबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान संकटको समाधान सम्भव हुने बताएका छन्। साथै, राष्ट्रिय हित, शान्ति, सुरक्षा र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई एकजुट हुन आह्वान गरेका छन् ।