जुर्मुराए बालेन–सुधन

बालेन वक्तव्य दिँदै, सुधन सुनसरी लागे

काठमाडौं । सुनसरी घटनामा मौन बसेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अन्ततः जुर्मुराएका छन् । घटनाले हिंसात्मक रुप लिँदा पनि निष्क्रिय र मौन बसेका उनीहरू अन्ततः केही सक्रिय हुने संकेत गरेका छन् । 

सुनसरीको घटनाले हिंसात्मक रुप लिएर युवाहरुको मृत्यु हुन थालेपछि प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको भए पनि सम्बोधन गर्ने समय भने अझै तय भएको छैन ।

सुनसरीको देवानगञ्ज क्षेत्रबाट सुरु भएको तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदै हिंसात्मक गतिविधि बढेपछि त्यसैलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीबाट घटनास्थलको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन सार्वजनिक गरिनेछ । 

यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई तत्काल सुनसरी पुगेर घटनास्थलको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए । गृहमन्त्री गुरुङ अहिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग छलफलमा थिए । 

प्रधानमन्त्री बालेनको निर्देशनपछि गृहमन्त्री गुरुङ आज सुनसरी लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् । 

भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ ।

गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी लागेका छन् । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

लामो समयदेखि सो घटनामा मौन बसेका प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङको आलोचना पनि हुँदै आएको छ । बुधबार राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरुले उनीहरुको आलोचना गरेका थिए ।

प्रधानमन्त्री र गृहमन्त्रीले सबै दलहरूसँग समन्वय गर्नुपर्ने ठाउँमा मौन बसेको भन्दै उनीहरुले बालेन र सुधनको विरोध गरेका थिए । सामाजिक अभियन्तासँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि प्रधानमन्त्री र गृहमन्त्रीको सञ्जालमार्फत खोजी गरिरहेका छन् ।  

Share News