सुनसरी घटनापछि निजी क्षेत्रको अपिल, शान्ति कायम गर्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको बताए । कुनै पनि बहानामा हुने हिंसा, झडप र अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ ।

महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । साथै भ्रम, उत्तेजना र अफवाहबाट टाढा रही संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक भाइचारालाई थप मजबुत बनाउन सबैमा आग्रह गरेको छ । महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वलाई पनि तनाव साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ । 

कुनै पनि समस्या वा असन्तुष्टिको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट मात्रै सम्भव हुने भन्दै शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।

परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

साथै, सामाजिक तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्न सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।

Share News