नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई सम्मान, प्रशिक्षण र सांगीतिक कार्यक्रम आयोजना

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक व्यवसायिक लक्ष्य पूरा गर्न सफल उत्कृष्ट अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले वैशाख २०८३ मा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै तोकिएको लक्ष्य पूरा गरेका अभिकर्तालाई लक्षित गरी ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्दै त्यसका लागि नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा प्रदान गर्न कम्पनी थप प्रतिबद्ध रहेको बताउँदै अभिकर्ता सञ्जाललाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा विशेष ध्यान दिइने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा उपाधि एमडीआरटी हासिल गर्न आवश्यक रणनीति र कार्यशैलीबारे चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सांगीतिक प्रस्तुति दिएका थिए । त्यसैगरी गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्ट तथा डिजे अमुको प्रस्तुतीमा सहभागी अभिकर्ताले मनोरञ्जन लिएका थिए । 

Share News