काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फिउन), राष्ट्रिय समितिले सानिमा क्यापिटल लिमिटेडकी कम्प्लाइन्स अफिसर रश्मि रिजालको आत्मदाहबाट भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै दिवङ्गत रिजालप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घटनाको वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
संघका अनुसार घटनालाई अनुमानका आधारमा निष्कर्षमा पुर्याउनु उपयुक्त नहुने भए पनि परिवारले उठाएका प्रश्न, कम्पनी व्यवस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा तथा अनुसन्धान प्रक्रियाप्रति सार्वजनिक चासोका कारण घटनाले गम्भीर रूप लिएको छ ।
विज्ञप्तिमा पछिल्लो समय बैंक, बीमा, लघुवित्त, पूँजीबजार तथा अन्य वित्तीय संस्थामा कर्मचारीमाथि बढ्दो कार्यबोझ, अस्वाभाविक कार्यदबाब, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रतिको बेवास्ता गम्भीर चिन्ताको विषय बन्दै गएको उल्लेख गरिएको छ ।
संघले कुनै पनि संस्थाको व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान, मानसिक सुरक्षा र मानवअधिकार सर्वोपरि हुने स्पष्ट गर्दै मानसिक उत्पीडन, अस्वस्थ कार्यसंस्कृति, अनावश्यक दबाब तथा संस्थागत असंवेदनशीलता स्वीकार्य नहुने जनाएको छ ।
संघले अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुव्र्यवहार, लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भए दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।
यस्तै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज तथा अन्य नियमनकारी निकायलाई वित्तीय क्षेत्रमा कर्मचारीको कार्यदबाब, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य र श्रम अधिकारको अवस्थाबारे विशेष अध्ययन गरी आवश्यक सुधारात्मक कदम चाल्न आग्रह गरिएको छ ।
संघले बैंक, वित्तीय संस्था, बीमा र पूँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न र सबै रोजगारदाताले मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्न आवश्यक नीति कार्यान्वयन गर्न पनि माग गरेको छ ।
संघले रश्मि रिजालको मृत्युको घटनालाई व्यक्तिगत दुर्घटनाका रूपमा मात्र नभई वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, कर्मचारीको मानसिक स्वास्थ्य, श्रम अधिकार र संस्थागत उत्तरदायित्वसँग जोडिएको गम्भीर विषयका रूपमा लिएर सरकार, नियमनकारी निकाय, रोजगारदाता र सबै सरोकारवालाले आवश्यक कदम चाल्नुपर्ने जनाएको छ ।