ईसेवा मनी ट्रान्सफरको १० महिनामा आम्दानी साढे १५ करोड रुपैयाँ

काठमाडौं । ईसेवा मनी ट्रान्सफर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को १० महिनामा १५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २० करोड ७० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा २१ करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २३ करोड ५० लाख रुपैयाँ तथा आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीका अनुसार स्थापनाकालदेखि सञ्चालन आम्दानी वार्षिक औसत करिब ४५ प्रतिशतका दरले बढे पनि आर्थिक वर्ष २०८१/८२ मा आम्दानी वृद्धिदर सुस्ताएको थियो । कडा प्रतिस्पर्धा तथा सेवा शुल्कमा परेको दबाबका कारण सञ्चालन आम्दानीमा कमी आएको कम्पनीको भनाइ छ ।

वि.सं. २०७६ असोजमा स्थापना भएको ईसेवा मनी ट्रान्सफर प्रालिको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा रहेको छ । कम्पनीले २०७७ मंसिरमा नेपाल राष्ट्र बैंकबाट वैदेशिक विप्रेषण सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो । हाल कम्पनीले विश्वका विभिन्न देशका ६० अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै सेवा प्रदान गरिरहेको छ ।

देशभर कम्पनीका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा चार हजारभन्दा बढी बैंक, सहकारी संस्था र व्यक्तिगत प्रतिनिधिमार्फत सेवा विस्तार भएको छ । कम्पनीमा चार जना प्रवद्र्धकको लगानी रहेको छ, जसमध्ये एफ वान सफ्ट इन्टरनेसनल प्रालिको करिब ७५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष विश्वास ढकाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा २४.३५ प्रतिशत रहेको सञ्चालन नाफा अनुपात आर्थिक वर्ष २०८१/८२ मा घटेर १७.८९ प्रतिशतमा सीमित भएको छ । प्रतिस्पर्धात्मक दबाब र बजार विस्तारलाई प्राथमिकता दिँदा नाफा अनुपात प्रभावित भएको कम्पनीले जनाएको छ । यद्यपि, गत आर्थिक वर्षको पहिलो १० महिनामा सञ्चालन नाफा अनुपात सुधार हुँदै २०.७६ प्रतिशत पुगेको छ ।

खुद नाफा अनुपात पनि आर्थिक वर्ष २०७८/७९ यता घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १५.०१ प्रतिशत रहेको खुद नाफा अनुपात आर्थिक वर्ष २०८१/८२ मा ५.३८ प्रतिशतमा झरेको थियो । गत आर्थिक वर्षको १० महिनामा भने यो सुधार भएर ७.४१ प्रतिशत पुगेको छ ।

कम्पनीका अनुसार नेपालको विप्रेषण क्षेत्रमा इजाजतप्राप्त विप्रेषण कम्पनी, बैंक तथा डिजिटल वालेट सेवा प्रदायकबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । डिजिटल भुक्तानी प्रणालीको विस्तार, प्रतिस्पर्धात्मक सेवा शुल्क र ग्राहक आकर्षित गर्न सञ्चालन गरिएका विभिन्न योजनाले बजार हिस्सा तथा सेवा शुल्कबाट हुने आम्दानीमा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनी नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा सञ्चालन हुने भएकाले नीतिगत तथा नियामकीय परिवर्तनले सञ्चालन, वित्तीय अवस्था र प्रतिस्पर्धात्मक क्षमतामा असर पार्न सक्ने जनाएको छ । नयाँ नियामकीय व्यवस्था लागू हुँदा पालना खर्च बढ्ने र सञ्चालन प्रक्रिया थप जटिल बन्न सक्ने कम्पनीको भनाइ छ ।

यद्यपि, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर बढ्दै जानु तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार भइरहेकाले नेपालको विप्रेषण क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विप्रेषण मुलुकको अर्थतन्त्र र घरपरिवारको आम्दानीको प्रमुख स्रोतका रूपमा रहँदै आएको छ भने डिजिटल माध्यमबाट हुने कारोबार बढेसँगै औपचारिक माध्यमबाट विप्रेषण भित्रिने क्रम र पारदर्शिता दुवै बढिरहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७० करोड रुपैयाँ ऋण सुविधा लिएको जनाएको छ ।

Share News