नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइन बैंक खाता खोल्ने सुविधा सुरु गरेको छ । अब नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् ।

बैंकका अनुसार नागरिक एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर बैंकको वेबसाइटमार्फत सहज रूपमा खाता खोल्न सकिनेछ । नेपालमै पहिलो पटक नागरिक एपसँग जोडिएको यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्नेछ । यसबाट ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको विश्वास छ ।

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखामा पुगेर वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ ।

बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ विस्तारमा थप टेवा पुर्याउनेछ । साथै, नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल आइएमई बैंक आधुनिक प्रविधिमा आधारित सेवा र ग्राहकमैत्री बैंकिङका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित हुँदै आएको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ सहित विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ ।

हाल बैंकले देशभर ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेको बैंकले जनाएको छ ।

Share News