काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा थुनामा रहेका इच्छाराज तामाङलाई १० कराेड धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो बाहिरिएको छ । न्यूज २४ टेलिभिजनले मंगलबार साँझ काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको अडियो सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले तामाङलाई छुटाउन काेइरालासँग आग्रह छन् ।
अडियोका अनुसार त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।
२०७८ पुसमा घुसको डिल भएको हो । उनीहरुबीच लगभग १० मिनेट कुराकानी भएको छ । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन पनि दिएका छन् ।
व्यवसायी इच्छाराज तामाङ गत पुस १४ गते पुर्पक्ष्यका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । उनी ७ महिनादेखि थुनामामै छन् । काठमाडौं जिल्ला अदालतले सभिल सेभिङ्ग तथा क्रेडिट सहकारी संस्थाका सञ्चालक तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
न्यायाधीश राजकुमार कोइरालाको एकल इजलाशमा नै तामाङ र श्रेष्ठलाई थुनामामा पठाउन आदेश दिएको थियो । तिनै न्यायाधिशले २ करोडको बार्गेनिङ गरेको अडियो बाहिरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो । तामाङ लगायत ४३ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।
न्यायपरिषद् बैठक बोलाइयो
न्यायाधीश र अधिवक्ताबीचको अडियो सार्वजिनक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् ।
अडियो विषयमा बुझ्नका लागि बैठक १ बजे बैठक बोलाइएको हो । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास नतोकेको पनि बुझिएको छ ।
सम्बन्धित सामग्री :