सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

काठमाडौं । सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्यौलता देखिएको हो । प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् भने केही मन्त्रालय परिसरबाहिर समूह बनाएर गफ गरिरहेका भेटिन्छन् । कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि नेतृत्व र निर्देशन अभावमा काम रोकिएको हो । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले आज अस्थायी रूपमा रजिस्टर वा हाजिरी कापीमार्फत उपस्थिति जनाएका छन् । आज मध्याह्न करिब १२ः०० बजेतिर ऊर्जा सचिव सरिता दवाडीको कार्यकक्षमा अब कसरी अघि बढ्ने भनेर माथिल्लो तहका कर्मचारीको अनौपचारिक बैठक बसिरहेको थियो । आगजनी र तोडफोडबाट क्षतिग्रस्त अन्य केही कोठामा पनि कर्मचारीको उपस्थिति देखिन्थ्यो तर कागजात र महत्त्वपूर्ण सामग्रीको सुरक्षामा भने मन्त्रालयको चासो देखिएन । ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् । मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन, मुचुल्का तयार पार्ने र अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन छैन । 'हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ । त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रष्ट निर्देशनपछि मात्र अघि बढ्छ', मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले भने । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहमा गतिशीलता देखिएन । अब कसरी अघि बढ्नेबारे अर्थ मन्त्रालयको भने तुलनात्मक रूपमा सक्रियता देखिएको छ । बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिले अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बस्ने तयारी भइरहेको छ । 'अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन् । यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ । राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ', पाण्डेयले भने । जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण यकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले पनि आन्तरिक तयारी थालेको छ । आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर निड एसिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको हो । जलेर नष्ट भएका भग्नावशेषको अगाडि उभिएर हेरिरहेका भेटिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी । भवन जलेपछि कामको अन्यौलतामा रहेका कर्मचारीहरू अहिले हातले हाजिरी गरिरहेका छन् । केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए । पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम थाल्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारी दिए । यसरी मन्त्रालयका संरचना क्षतिग्रस्त, विद्युत् तथा इन्टरनेट जस्ता आधारभूत सुविधा विच्छेद र प्रष्ट निर्देशन नहुँदा नियमित काम अघि बढ्न सकेका छैनन् । उच्च तहबाट अबको नीति र त्यसको कार्यान्वयनका लागि स्पष्ट निर्देशन आउन ढिलाइ हुँदा कर्मचारीमा के काम गर्ने भन्ने अन्यौलता बढेको हो । सिंहदरबारभित्रको यो अवस्था केबल आगजनी र तोडफोडको क्षति मात्र होइन, समग्र प्रशासनिक संयन्त्रको कमजोर तयारी र सङ्कट व्यवस्थापन क्षमताको पनि सूचक हो । स्थायी सरकार मानिने प्रशासनिक संरचनामा देखिएको यस्तो अन्यौलतले सङ्कट व्यवस्थापन क्षमतामाथिसमेत प्रश्न उठाउँछ । क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कति छिटो सम्भव हुन्छ ?, सामान्य नागरिकलाई प्रभाव पार्ने प्रशासनिक सेवा कति दिन ठप्प रहन्छ ?, आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार र बजेट समयमै जुट्छ ? लगायत प्रश्नको जवाफ अझै स्पष्ट छैन । राज्य सञ्चालनलाई पुनःगतिमा ल्याउन तत्काल उच्च तहको निर्णय, स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति अपरिहार्य देखिन्छ । तर क्षतिग्रस्त कोठाहरूमा कुनै सुरक्षा व्यवस्था नहुँदा बाह्य व्यक्तिलेसमेत सजिलै प्रवेश गर्नसक्ने अवस्था देखिनु प्रशासनिक संवेदनशीलता र सुरक्षात्मक कमजोरीको सङ्केत हो । रासस

टेलिकममा क्रान्ति ल्याएको एनसेलमाथि अन्याय, आफू जलेर पनि निःशुल्क सेवामा दैनिक १० करोड खर्च

काठमाडौं । ‘एनसेलले नेपालको टेलिकम क्षेत्रमा कायापलट गरेको छ, जनतालाई सस्तो, सहुलियत र सहज सेवा प्रदान गर्न महत्वपूर्ण योगदान गरेको छ । तर, यही एनसेल प्रदर्शनकारीको निशाना पर्यो । जुन नेपाल र नेपालीका लागि दुःखद विषय हो,’ एनसेलमा आवद्ध एक उच्च अधिकारीले गुनासो गर्दै भने ।  दुई दशकअघि सर्वसाधारणका लागि सिम पाउन पनि ठूलो शक्ति संघर्ष प्रयोग गर्नुपर्थ्यो । सहजै सिम पाउनु सर्वसाधारणका लागि कठिन विषय थियो । दुई दिन लाइन लागेर बल्लतल्ल सिम पाउने अवस्था दुई दशकअघि थियो, त्यो पनि हुनेखानेहरूका लागि ।  तर, जब सन् २००४ मा स्थापना भएर सन् २००५ बाट एनसेलले आफ्नो सेवा सुरु गर्यो, सिम चाहने नागरिकको बाटो सहज बन्यो । त्यतिखेर ६ प्रतिशत नेपालीसँग मात्रै भएको सिम अहिले सबैको हातहातमा पुगिसकेको छ । एनसेलका अनुसार अहिले डेढ करोडभन्दा बढी सो कम्पनीका ग्राहक छन् । नेपालमा मोबाइल प्रयोगकर्ता ११५ प्रतिशत पुगेका छन् । यो क्रान्ति ल्याउन एनसेलको ठूलो भूमिका र योगदान छ । कम्पनीले एकै आर्थिक वर्षमा ४० अर्ब रुपैयाँसम्म कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको छ । स्थापनादेखि हालसम्म ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको कम्पनीको दाबी छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उदाहरणीय कामहरू गर्दै आएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।  उच्चस्तरको कमाइ हुने भएकाले जागिर खान जेनजी पुस्ताले रोज्ने कम्पनीमा पर्छ एनसेल । गुणस्तरीय सेवाको लागि पनि जेनजी पुस्ताले रोजेको कम्पनी हो एनसेल । तर दुर्भाग्य, यही जेनजीको नाममा अराजकवादीहरूले एनसेलमा आगो लगाए । एनसेल आवद्ध ती कर्मचारीका अनुसार तत्काल एनसेलले मुख्यालयमा बसेर काम गर्न सकिने अवस्था छैन । भवनको ग्राउन्ड र पहिलो तलामा आगजनी भएको छ । भवनको १०औं तलासम्मको ल्यापटप, टीभी लगायत सबै सामानहरु लुटपाट भएका छन् ।  ‘देशको ठूलो करदाता भनेर सरकारले पटक-पटक सम्मान गरेको छ, विभिन्न समयमा निःशुल्क सेवा पनि दिँदै आएको छ, टेलिकम क्षेत्रमा एनसेलले कायापलट नै ल्याएको छ । तर, यही कम्पनीको विरोध गरेर आगजनी गर्नु, कसैका लागि पनि राम्रो होइन,’ एनसेल आवद्ध ती कर्मचारीले भने ।  एनसेल परिसरमा जलेर नष्ट भएका सवारीसाधन । २१ वटा गाडी जले  २४ गते भएको जेनजीको आन्दोलनपछि हामी एनसेलको मुख्यालय लैनचौरमा पुगेका थियौं । विगतमा महँगा–महँगा गाडीले सजिएर आकर्षक देखिने एनसेल अहिले मरुभूमिजस्तै देखिएको छ ।  घटनास्थलमा भेटिएका एनसेलका एक अधिकारीले कम्पनीको परिसरभित्र रहेका २१ वटा गाडीहरू जलेर पूर्णरूपमा ध्वस्त भएको जानकारी दिए ।  ‘पार्किङभित्र रहेका र बाहिर रहेका २१ वटा गाडी नष्ट भएका छन्, भवनभित्रको सबै सामान लुटपाट भएको छ, पहिलो तलामा आगजनी भएपनि १०औं तलासम्मको सबै सामान लुटपाट हुँदा अहिले कार्यालयबाटै काम गर्न सकिने अवस्था छैन,’ ती अधिकारीले भने ।  अहिले एनसेलले घरबाटै सेवा दिइरहेको जानकारी दिएको छ । अफिस जाने माहोल नभएर अहिले सबै कर्मचारीले ‘वर्क फ्रम होम’ गरिरहेको एक कर्मचारीले बताए ।  ‘यो आगजनी जेनजीले गरेको होइन, आन्दोलनको नाममा विध्वंशकारीहरूको निजी कम्पनी ध्वस्त पार्ने नियत देखियो,’ ती अधिकारीले भने, ‘एनसेलकै डेटा प्रयोग गरेर एनसेलकै आगजनीको फोटो/भिडिओ सामाजिक सञ्जालमा राखेको देखियो ।’ दैनिक १० करोडको निःशुल्क सेवा आफ्नै मुख्यालयमा आगजनी भएर करोडौंको क्षति बेहोरे पनि एनसेल भने विचलित भएको छैन । कम्पनीले बरु यो संकटमा निःशुल्क सेवा दिने काम गर्यो ।  एनसेलले गत साताको मंगलबारदेखि शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवा दिएको छ । उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क सेवा दिएको बताएको छ । जसका लागि कम्पनीले दैनिक १० करोड रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।  एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले एनसेल र एनटीसी दुवै नेटवर्कमा बिना कुनै शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा पाएका छन् ।  ‘हाम्रो भवनमा आगजनी भए पनि हामीले हाम्रा उपभोक्ता र सर्वसाधारणप्रतिको धर्म बिर्सेनौं, दैनिक १० करोड खर्च गरेर निःशुल्क सेवा दियौं,’ ती अधिकारीले विकासन्युजसँग भने ।  ती अधिकारीका अनुसार एनसेलको मुख्यालयसँगै धनगढी, महेन्द्रनगर र पोखराको कार्यालयमा पनि आगजनी भएको छ । देशको सबैभन्दा ठूलो करदाता, रोजगारीका लागि आकर्षण केन्द्र र सूचना प्रविधि क्षेत्रमा नयाँ आयाम थपेको एनसेलमाथि भएको यो आक्रमणले देशमा लगानीमैत्री वातावरण बिथोलिएको चिन्ता धेरैको छ । लगानीकर्तालाई यस्ता घटनाले निरुत्साहित र उनीहरुको आत्मबल कमजोर पार्ने काम भएको बुझाइ अधिकांशको छ । 

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ । राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए । उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो । गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । 'टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ', उनले भने, 'गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।' यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् । चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ । गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उनी बताउँछन् । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् । खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ । गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउँछन् । 'विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ', उनले भने, 'यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।' गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।

जडीबुटीलगायतबाट पौने ६ करोड रुपैयाँ आम्दानी

गण्डकी । जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा ५ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको आयोजना प्रमुख डा रविन कडरियाले बताए। उनका अनुसार प्राकृतिक स्रोतको स्थानीय उपयोगबाट आव २०८०/८१ मा ३ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको थियो । सोको तुलनामा पछिल्लो वर्ष झण्डै २ करोड रुपैयाँले आम्दानी बढेको उनले बताए । 'जडीबुटी, काठदाउरा, ढुङ्गा गिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गर्छन्', आयोजना प्रमुख डा कडरियाले भने, 'सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन् ।' अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ । ‘एक्याप’ले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताए। पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको उनको भनाइ छ । ‘एक्याप’ले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । ‘एक्याप’भित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ प्रवेश शुल्क उठेको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । रासस

राष्ट्र बैंकले १.२० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, ८ प्रतिशत निष्क्रिय कर्जा भएकाले आवेदन दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।  राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

भौतिक रूपमै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ । 

जेन्जी आन्दोलन सत्यतथ्य उजागर गरेर मात्र निष्कर्षमा पुग्छ : माधव ढुङ्गेल

काठमाडौं । नेकपा (एमाले) का संगठन विभाग सचिव माधव ढुङ्गेलले हालको समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एमालेलाई लामो इतिहास बोकेको, संघर्षको मैदानबाट आएका करिब सात लाख सदस्य भएको जिम्मेवार राजनीतिक शक्ति भएको उल्लेख गर्दै, 'हामी जस्ता सुकै अप्ठ्यारो अवस्थाको पनि व्यवस्थित ढंगले समाधान खोज्दै आएका छौँ,' भने । ढुङ्गेलका अनुसार राष्ट्रिय स्वाधीनताको क्षेत्रमा एमालेले खेलेको भूमिका ऐतिहासिक र गौरवपूर्ण रहँदै आएको छ, जसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । वर्तमानमा चर्चामा रहेको जेन्जी आन्दोलनबारे बोल्दै उनले भने, 'जेन्जी भनेका हाम्रा घरका भाइबहिनी, छोरा–छोरी हुन् । उनीहरूले खोजेको सुशासन र पारदर्शिता नै हाम्रो पनि मुद्दा हो ।' भदौ २३ र २४ गते भएका घटनाबारे उनले स्पष्ट छानबिन हुनुपर्ने औंल्याउँदै, 'घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कडा भन्दा कडा कारबाही हुनैपर्छ,' भनेका छन् । ढुङ्गेलका अनुसार यस विषयमा पार्टीको आधिकारिक धारणा महासचिवको वक्तव्यमार्फत सार्वजनिक भइसकेको छ, र आफूले त्यसकै वरिपरि आफ्ना विचारहरू प्रस्तुत गर्ने गरेको स्पष्ट पारे । उनले थपे, 'पार्टीको आधिकारिक धारणा बाहेक अन्य कुनै समाचारमा मेरो नाम जोडेर प्रसारण भएको भए त्यो मेरो विचार होइन ।'

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।   आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।  

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौंः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण रहेको बताएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त र संसद विघटन गर्ने सहमति पछि सबैलाई खबरदारी गर्न आग्रह गरे ।  हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको उनको भनाइ छ ।  ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ पोखरेलको अपील छ ।

सुशीला कार्कीको एकपछि अर्को रेकर्ड, पहिलो महिला प्रधानन्यायधीशपछि प्रधानमन्त्रीमा पनि इतिहास

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन्  । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने बताइएको छ ।  कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरमा जन्मिएकी ७३ वर्षीया कार्कीको जन्म वि.सं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो ।  उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन् । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानूनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो ।    अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।    वि.सं २०४५ देखि २०४७ सम्म कार्की तत्कालीन कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन् ।  कार्कीले तीन दशकभन्दा लामो समयमा वकालत गरेपछि उनी न्यायाधीशका रूपमा सिधै सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् । उनले प्रधानन्यायाधीशका रूपमा एउटा गर्विलो छवि निर्माण गरेकी छन् । उनी २०७३ मा प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् ।  

अर्थशास्त्रीहरूहरू भन्छन्– ‘जेनजी आन्दोलन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर

काठमाडौं । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार  आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’ उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ती नभइ आन्तरिक रूपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए । ‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’ पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए ।  उनले यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको प्रतिक्रिया दिए । ‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’ खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।  तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ । अर्थशास्त्री डा समर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे ।  ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’ खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए ।  उनले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’ उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशतमात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने ।

यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा रहेका क्षतिको यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।  प्राधिकरणले बिहीबार सबै निर्जीवन तथा लघु निर्जीवन बीमकका नाममा एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  प्राधिकरणले जारी गरेको परिपत्रमा भनिएको छ,  ‘देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ । उक्त परिस्थितिका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्याैट गर्न निर्देशानुसार अनुरोध गरिन्छ।’ प्राधिकरणले उल्लेखित परिस्थितिका कारणले भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएको छ । 

बीमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फर्च्छ्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।   असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।

सेनाले फेरि जारी गर्यो निषेधाज्ञा र कर्फ्यू आदेश, अत्यावश्यक काम गर्ने समय पनि तोकियो

काठमाडौं । नेपाली सेनाले फेरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अहिले सूचना जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी दिएको हो ।  सार्वजनिक भएको विज्ञप्तिका अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । सेनाले बिहान र साँझ अतिआवश्यक कामका लागि बाहिर निस्कन पाइने बताएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।    

चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

रुपन्देहीमा कर्फ्यु आदेशलाई निरन्तरता

लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ ।  प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बिहीबार जारी भएको कर्फ्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कफ्र्यु आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कर्फ्यु आदेश खुला गरिएको थियो ।  कफ्र्यु अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् । 

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, गतवर्ष ८२ करोडभन्दा बढी कारोबार

मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमाडौंलगायत स्थानमा पुर्‍याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले सुनाए । गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ । थासा-१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । 'गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ', उनले भने । केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले सुनाए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ । केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट रु ८२ करोड ६८ लाख कारोबार हुँदा रु नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । रासस

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।        सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।        सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।   

कर्फ्यु आदेश खुकुलो गर्दै सेना, बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि  १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएकाे छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नु हुने सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने जानकारी दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन सबैमा सेनाले अपिल गरेको छ ।

जेनजी आन्दोलनमा बैंकको पैसा लुटपाट, लकर तोडफोड, कुन बैंकमा कति नोक्सान ?

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बैंक तथा वित्तीय संस्थाहरूका दर्जनौं शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुर्याएका छन् । बैंकरहरुका अनुसार देशभर बैंकलाई टार्गेट गरी दर्जनौं शाखा कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । साथै, बैंकको शाखा कार्यालय तोडफोड गरी पैसा समेत लुटिएको पाइएको छ ।  एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए ।  कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा क्षति पुगेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले जानकारी दिए । घरमा बाहिरबाट ढुंगामुढा गर्ला बैंकको सिसा फुटेको उनले बताए । साथै, हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको उनले जनाए ।  कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा हुलदङ्गामा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा लाग्यो । गोली कसले हानेको स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’  उनका अनुसार हिजो नै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए ।  ‘प्रेसर स्टेबल हुन नसकेका कारण डक्टरको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर डक्टरले भन्नु भएको छ,’ उनले भने ।  उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको छ । लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।  हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । न्युरोड शाखामा क्षति हुन्छ की भन्ने आशंका गरिएको भएपनि खासै क्षति हुन नपाएको उनले बताए ।  उनका अनुसार भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए ।  ‘अन्य संरचनामा आगजनी गर्दा क्षति भएको भन्दा पनि आन्दोलनकारीले फुटाउनै खोजेको देखिएको छ । उनीहरुले एटीएम नै झिकेर फालेका छन्,’ उनले भने । ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए ।  उनका अनुसार आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्याङ्क आउन सक्ने उनले बताए । ‘चितवन र सर्वाेच्च अदालत परिसरका एक/एक, पोखरामा ३ वटा, तुलसीपुरमा २ वटा काउण्टर गरी ७ वटा काउण्टरमा क्षति भएको छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार कुन ठाउँमा बैंकमा कति क्षति भएको छ भनेर विवरण संकलनको काम भइरहेको बताउँछन् । बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको उनले बताए ।  ‘शाखा, काउण्टर र एटीमए मेसिन गरेर एक दर्जन संरचनामा क्षति पुगेको छ । बानेश्वर शाखामा पैसा पनि चोरि भएको जानकारी आएको छ । अरु शाखामा कम्प्युटर चोरी भएका छन् । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको छ । ५ वटा एटीएम तोडफोड भएका छन् । पैसा भने निकालिएको छैन । थप क्षतिको विवरण आउन बाँकी छ,’ उनले भने ।  नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ ।  माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।  सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ ।  प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।