नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको जिम्मेवारी सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व पुण्यप्रसाद सिटौला (सरोज) ले सम्हालेका छन् । 

गत वैशाख २७ देखि ३० गतेसम्म कास्कीको पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिले बुधबार आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेको हो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले नवनिर्वाचित अध्यक्ष सरोज सिटौला लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

शपथ ग्रहणका क्रममा नवनिर्वाचित पदाधिकारीहरूले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित र समग्र यातायात प्रणालीको विकासका लागि विधानको पूर्ण पालना गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षहरूको जिम्मेवारी  सानुकाजी प्रजापति, ऐन कुमार शाही र केदार प्रसाद पौडेलले सम्हालेका छन् । 

यस्तै, महासंघको महासचिवमा देगनाथ गौतम र सचिवहरूमा उमेश केसी, चेत प्रसाद गौतम ुअर्जुनु र टंक प्रसाद बस्यालले जिम्मेवारी सम्हालेका छन् । 

त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सह–कोषाध्यक्षमा शोभाखर पौडेलले सम्हालेका छन् ।

महासंघले सातवटै प्रदेशका लागि प्रादेशिक संयोजकहरू पनि पदस्थापन गरेको छ । जसअनुसार कोशी प्रदेशमा सरोज श्रेष्ठ, मधेस प्रदेशमा हरिनारायण यादव, बागमतीमा सुवर्ण गिरी, गण्डकीमा महेश बहादुर खड्का, लुम्बिनीमा सन्जीव रोका, कर्णालीमा नारायण चपाई र सुदूरपश्चिम प्रदेशमा टेकराज जोशीले संयोजकको जिम्मेवारी सम्हालेका छन् ।

यसका साथै बस, मिनीबस, ट्रक, ट्याक्सी, माइक्रोबस, ट्याङ्कर लगायतका विभिन्न वर्गीय क्षेत्रका संयोजक र केन्द्रीय सदस्यहरूले पनि सोही अवसरमा शपथ लिएका छन्  ।

पदस्थापन कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक ज्ञवालीले निर्वाचन प्रक्रिया उत्साहजनक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले यातायात क्षेत्रका विद्यमान चुनौतीहरूलाई चिर्दै व्यवसायीहरूको साझा आवाजको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा देशभरका विभिन्न यातायात समिति र संघ-संस्थाका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।

Share News