राष्ट्रिय बीमा कम्पनीको नाफा १३२ प्रतिशत वृद्धि, गत वर्ष ५५ करोड
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १३२.४७ प्रतिशत खुदनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीको नाफा २३ करोड ७० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ नाफा बढाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०६ रुपैयाँ ६४ पैसा पुगेको छ । राष्ट्रिय बीमा सुचिकृत मध्ये ईपीएस सबैभन्दा बढी हुने कम्पनी हो । यस्तै प्रतिसेयर नेटवर्थ ८७६ रुपैयाँ छ । नेटवर्थ बढी हुनेमा राष्ट्रिय बीमा नै रहेको छ । कम्पनीले १७ हजार २२० बीमालेख जारी गरेर ९३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । समीक्षा अवधिमा ८ करोड २९ लाख रुपैयाँ मात्र दावी भुत्तानी गरेको छ । कम्पनीको जगेडा कोषको आकार बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ९३ करोड रुपैयाँ थियो ।
सौर्य प्यानलमा अमेरिकाले गरेको ३० प्रतिशत करबृद्धि विरुद्ध चीनको उजूरी
बेइजिङ । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको सौर्य प्यानलको अमेरिकामा हुने आयातमा ३० प्रतिशत करबृद्धिले अमेरिकी उत्पादकहरुलाई मात्र फाइदा पुगेको र यो डब्लुटीओको नियम विरुद्ध रहेको चीनको आरोप छ । चीनको बाणिज्य मन्त्रालयका अनुसार जेनेभास्थित डब्लुटीओको कार्यालयमा मङ्गलबार नै औपचारिक उजूरी दर्ता गरिएको छ । जुलाईमा ट्रम्प प्रशासनले घोषणा गरेको चिनीयाँ सामानमाथिको करबृद्धि भन्दा यो भिन्न हो । अमेरिकी प्रशासनको विचारमा अमेरिकी प्रविधि हात पार्न चीनले अनेक नाजायज तरिका अपनाएको छ जस्तै, प्रविधिको चोरी गर्ने वा प्रविधि हस्तान्तरण गर्न अमेरिकी कम्पनीमाथि दबाब दिने । सोलार प्यानलमाथि बढाइएको कर युरोपेली मुलुकहरु, क्यानाडा, मेक्सिको र दक्षिण कोरियामाथि पनि लागू हुनेछ । यसले अमेरिकी गठबन्धनका मुलुकलाई पनि चिढ्याएको छ । ट्रम्प प्रशासनले अमेरिकी उत्पादकहरुलाई संरक्षण गर्ने सोलार प्यानलको आयातमा कर बढाउनुको विकल्प नभएको बताउँदै आएको छ । अनुदान र अन्य अनुपयुक्त सहयोगका कारण विदेशबाट आयात हुने सोलार प्यानल अमेरिकामा सस्तो हुने गरेको अमेरिकी प्रशासनको दाबी छ । अमेरिकी प्रशासनले डब्लुटीओको प्रावधान अन्तर्गत नभई सन् १९७४ को अमेरिकी कानुन बमोजिम यस्ता कदमहरु अगाडि बढाएको छ । अमेरिकी अधिकारीहरुका अनुसार चिनीया व्यापारिक रणनीतिलाई सम्बोधन गर्ने क्षमता डब्लुटीओसँग पनि नरहेका कारण यस्तो कार्य गर्नुपरेको हो । चीनले आफूलाई डब्लुटीओको प्रावधान बमोजिम व्यापारिक प्रणाली अङ्गाल्ने राष्ट्रका रुपमा आफूलाई चित्रण गर्दछ । वासिङटनका विरुद्ध युरोपेली र अन्य सरकारसँग गठबन्धन निर्माण गर्ने प्रयत्न पनि चीनले गरेको छ, तर चिनीया बजारमा प्रवेशका अबरोधको विषय पनि जटिल छ । युरोपेली युनियनले समेत बेइजिङले स्वतन्त्र–व्यापार प्रतिबद्धताको उल्लङ्घन गरेको भन्दै चिनीया प्रविधि नीतिहरुको विरुद्धमा जुन महिनामा डब्लुटीओमा उजूरी दिएको छ । सौर्य प्यानलमाथिको अमेरिकी करबृद्धि नीतिले चीनले व्यापारिक चासोलाई गम्भीर रुपमा नोक्सान गरेको र डब्लुटीओका नियमहरुको कार्यान्व्यनमा प्रश्न उब्जिएको छ, चीनको बाणिज्य मन्त्रालयको भनाई छ । रासस
५ खर्ब ८० करोड बेरुजु , वित्तीय अनुशासन कायम गर्न चुनौती
काठमाडौ । बढ्दो बेरुजुले मुलुकमा वित्तीय अनुशासन कायम गर्न चुनौती थपेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षसम्म कारवाही गरेर टुङ्गो लगाउनु पर्ने बेरुजुको अङ्क ५ खर्ब ८० करोड रुपैयाँ रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा महालेखा परीक्षक टङ्कमणि शर्माले यो वर्ष मात्रै पनि १ खर्ब ३ अर्ब ८३ करोड रुपैयाँ बेरुजु थप भएको बताए । भौतिक तथा पूर्वाधार मन्त्रालयको सबैभन्दा बढी २ खर्ब १२ अर्ब ६९ करोड ८ लाख रुपैयाँ बेरुजु छ । त्यसपछिका बढी बेरुजु हुने मन्त्रालयमा अर्थ, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, रक्षा, खानेपानी तथा सरसफाइ, शहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सिँचाइ, गृह रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । राजनीतिक अस्थिरता, स्थानीय तहमा जनप्रतिनिधिविहीनता, प्रशासनिक जिम्मेवारी र जवाफदेहीतामा ह्रास, बाह्य वातावरणको प्रभाव र असर, विकृतिप्रति दण्डहीनताको अवस्था, वित्तीय प्रशासनमा पेशागत दक्षता र प्रतिबद्धताको अभाव तथा आर्थिक अनुशासन पालनामा उदासिनता नै बेरुजु बढ्नुका कारण रहेको उल्लेख गरिएको छ । महालेखाले यो वर्ष संघ, प्रदेश र स्थानीय तहसमेत गरी छ हजार निकायमा लेखा परीक्षण गर्ने जनाएको छ । लेखा परीक्षणको क्रममा महालेखाले एकमुष्ठ रकम अर्थ विविधमा विनियोजन गरी रकमान्तर गरी खर्च गर्ने गरेको, वैदेशिक सहायताको रकम बजेटमा समावेश र लेखापरीक्षण नगराएको, बहुवर्षीय ठेक्का गरी दायित्व सिर्जना गरेको, कानूनविपरीत स्रोत सुनिश्चितता दिएकोलगायतको विवरण समितिलाई उपलब्ध गराएको छ । आयोजनाको पूर्वतयारीको गृहकार्य नगरेको तथा टुक्रे आयोजनामा रकम विनियोजन गराएको विषयमा पनि समितिको ध्यानाकर्षण गराइएको छ । गुठी संस्थान, खानेपानी संस्थान, नेपाल खाद्य संस्थान, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, राष्ट्रिय खेलकुद परिषद्, साझा प्रकाशनलगायतले वर्षांैसम्म लेखा परीक्षण नगराउँदा पनि जिम्मेवार र जवाफदेहीता बनाउने सन्दर्भमा कारवाही नभएको बारे पनि समितिलाई जानकारी गराइएको छ । विविध खर्चमा १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको लेखा परीक्षणको क्रममा भेटिएको पनि प्रतिवेदनमा उल्लेख छ । रासस
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली
काठमाडौ । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि प्राधिकरण नेतृत्वविहीन थियो । प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने भन्ने अन्योल छ । अन्योलका कारण धेरै भूकम्प पीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन् । प्रमुख कार्यकारी अधिकृतको अभावमा पुनः निर्माणका नीतिगत समस्या समाधानमा प्रभाव पर्दै आएको थियो । प्राधिकरणको विधिसँग जानकार प्रमुख कार्यकारी अधिकृतको नियुक्ति भएपछि कार्यकारी समिति र निर्देशक समितिको बैठक बसी दोस्रो किस्ताको म्याद थपलगायत प्रक्रिया अघि बढ्ने सहप्रवक्ता मनोहर घिमिरेले बताए । रासस
पायोनियर मोटो कर्पद्धारा निसान गाडीहरूका लागि एक्सचेन्ज क्याम्प आयोजना
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ । गत साउन २८ गतेबाट शुरू गरिएको यो मेला भदौ ४ गते सम्म चल्ने कम्पनीले जनाएको छ । पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले भने, “हाल निसान गाडीलाई लिएर उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ । हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ । भर्खरै पनि हामीले डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ । ग्राहकहरूको उत्सुकतालाई मध्यनजर गरी आयोजना गरिएको निसानको मेलाले पनि यस्तै नतिजा दिने हाम्रो विश्वास छ ।” यो मेलामा ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस छुट, तथा थुप्रै उपहारहरू प्राप्त गर्न सक्नेछन् । मेलामा नै पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन पनि गरिनेछ । त्यसैगरी मेलामा तुरून्तै किस्ताबन्दीको सुविधा पनि प्राप्त गर्न सकिने आयोजकले जनाएका छन् ।
मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् । यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
हिमालयन बैंकको नाफा २ अर्ब ४७ करोड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष(२०७३÷२०७४)मा २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त तुलनामा बैंकको नाफामा १३.६० प्रतिशत वृद्धि भएको छ । बैंकको ब्याज आम्दानी बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप रकम ६ अर्ब ८६ करोड रुपैयाँले बढेर ९९ अर्ब ७४ करोड रुपैयाँ र कर्जा लगानी पनि बढेर ८७ अर्ब पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, गत वर्ष बैंकको संचित कोषमा ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा ७६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीको संचित कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी घटेर ३२ रुपैयाँ ८१ पैसामा झरेको छ भने बेसरेट(आधार दर) बढेर ९.६६ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो(कर्जा निक्षेप अनुपात) ७७.०२ प्रतिशतमा झरेको छ । गत असार मसान्तमा बैंकको निष्कृय कर्जा ०.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.८७ प्रतिशत रहेको थियो ।
२७ बाणिज्य बैंकको नाफा ४६ अर्ब ९६ करोड, कसको कति(सूचिसहित)
काठमाडौं । २७ वटा बाणिज्य बैंकहरुको नाफा ४६ अर्ब ९६ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ लेखा प्रणालीको अपरिस्कृति वित्तिय विवरण अनुसार २०७५ असार मसान्त अवधीमा ४६ अर्ब ९६ करोड नाफा आर्जन गरेका हुन् । यीनै बैंकहरुले २०७४ असार मसान्त अवधीमा ३९ अर्ब ३० करोड नाफा कमाउन सफल भएका थिए । एक बर्षको अवधीमा २७ वटा बाणिज्य बैंकहरुले नाफा ७ अर्ब ६६ करोड अर्थात १९.४९ प्रतिशतले वृद्धि भएको हो । ४ अर्ब ५ करोड नाफा कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ भने । ३ अर्ब ६७ करोड नाफा कमाएको कृषि विकास बैंक दोश्रो र ३ अर्ब ५७ करोड नाफा कमाएर नेपाल इन्भेष्टमेन्ट बैंक तेश्रो नम्बरमा रहेको छ । एनआईसी एसिया, सिटिजन्स, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनसीसी र प्रभु बैंक भने नाफा वृद्धि गर्न असफल भएका छन् ।
लाेडसेडिङ हटाउन भारतबाट १९ अर्ब २७ करोडको बिजुली आयात, माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि घट्ने
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन गत आर्थिक वर्ष ०७४/ ०७५ मा भारतबाट १९ अर्ब २७ करोड रुपैयाँको बिजुली आयात गरेको छ । प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८ करोड रुपैयाँको बिजुली आयात गरेको हो । प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन मिलाउन अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा भारतबाट १६ अर्ब रुपैयाँभन्दा बढीको २ अर्ब १७ करोड युनिट बिजुली किनेको थियो । अघिल्लो वर्षको तुलनमा गत वर्ष ४१ करोड युनिट बिजुली बढी आयात भएको प्राधिकरणले जनाएको छ । हिउँदको समयमा आन्तरिक उत्पादनमा कमी आउने र सोही बेला बिजुलीको माग बढेपछि प्राधिकरणले भारतबाट ५०० मेगावाटसम्म विद्युत आयात गरेको छ । प्राधिकरणले भारतको नर्थन पावर कम्पनी, एनभीभीएन विद्युत व्यापार कम्पनी, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत आयात गरेको छ । भारतबाट विद्युत आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिका कारण ढल्केवरबाट खरिद गरिएको विद्युतको महशुल केही बृद्धि भएता पनि आयातित विद्युतको औसत खरिद दर भने नबढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आव ०७४/०७५को विद्युत औसत आयात दर ७ रुपैयाँ ४७ पैसा रहेको छ । प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । ‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिद दर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिंदै आएको प्रति युनिट ८ रुपैयाँ ४० पैसाभन्दा कम छ’, घिसिङले भने । ‘आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्मका लागि हाम्रो विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न तत्काल यो बाहेक अरु विकल्प नै छैन ।’ ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि वर्षादमा भारतबाट बिजुली आयात बन्द हुने र सुख्खामा मात्र किन्नु पर्ने अवस्था आउने छ । यसका लागि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा बेच्ने र सुख्खायाममा किन्ने गरी ऊर्जा बैंकिङ योजना कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । यसमा भारत सकरात्मक देखिएको छ । ऊर्जा बैंकिङ प्रणाली लागु भएमा बिजुली आयातमा गिरावट आउने छ ।
लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड, १० प्रतिशत लाभांश दिन सक्ने
काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब १७ करोड नाफा बढाएको छ । तर सहायक कम्पनी नोक्सानमा घाटामा जाँदा लक्ष्मी ग्रुपको नाफा १ अर्ब १६ करोड मात्र छ । बैंकको सेयर पुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ । संचित कोषमा ३ अर्ब ५६ करोड छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा छ । गत वर्षको नाफाबाट बैंकले करिव १० प्रतिशत लाभांश दिन सक्छ । पुँजी प्रयाप्तता अनुपात १२.६० प्रतिशत भएकोले बैंकले सेयरधनीलाई बोनस सेयर दिन सक्ने सम्भावना छ । असार मसान्तमा बैंकको वासलात ८३ अर्ब ५६ करोड रुपैयाँ भएको छ । निक्षेप ६८ अर्ब, कर्जा सापटी ६३ अर्ब, सेयर लगानी ७ अर्ब रुपैयाँ छ । बैंकको खराव कर्जा १.२८ प्रतिशत छ । सीडी रेसियो ७९.४५ प्रतिशत छ । बेसरेट ११.८३ प्रतिशत छ ।
नविल बैंकको नाफा ४०५ करोड, लगानीकर्तालाई लाभांश कति ?
काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षमा १२.२२ प्रतिशत नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४४ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विववरणमा ब्याज आम्दानी बढेर ६ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५२ रुपैयाँ १४ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैकको ईपीएस ६० रुपैयाँ ८१ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर ०.५५, निक्षेप लागत बढेर ४.७५, कर्जा निक्षेप अनुपात ७४.६८, आधारदर ७.७८ प्रतिशत रहेको जानकारी दिएको छ । बैंकको संचित कोषको आकार बढेर १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचित कोष १२ अर्ब ३७ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप परिचालन गरेर १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
ब्याज आम्दानी घटेपछि एनसीसी बैंकको नाफा २३.६७ प्रतिशत गिरावट, गत वर्ष १०७ करोड मात्र
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका नाफा २३.६७ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब ७ करोड २० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा २५ करोड ३७ लाख रुपैयाँ घटेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानीमा भएको गिरावटले नाफा घटेको देखाएको छ । गत वर्ष बैंकले १ अर्ब ८९ करोड रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको ब्याज आम्दानी ९५ करोड ७७ लाख रुपैयाँ घटेको छ । नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ५१ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष ७२ रुपैयाँ ६३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर ३.८९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.८० प्रतिशत थियो । निक्षेप लागत ८.२७, कर्जा निक्षेप अनुपात ७६.७६, आधारदर ११.९२ प्रतिशत रहेको एनसीसीले जनाएको छ । बैंकले ६३ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५५ अर्ब ३१करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषको आकार बढेर ५ अर्ब १६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ४६ प्रतिशत बढेर २०१ करोड पुग्यो, लगानीकर्ताले कति पाउनेछन् लाभांश ?
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा ४६.२८ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा बैंकले ६३ कोड ८७ लाख रुपैयाँ नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानी बढेर ३ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकले शुल्क र कमिशनबाटै ६६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २७ रुपैयाँ ६० पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २२ रुपैयाँ ७८ पैसा थियो । बैंकको निष्क्रिय कर्जा ०.१८, निक्षेप लागत बढेर ४.३१, कर्जा निक्षेप अनुपात ७१.६८, आधारदर बढेर ७.८७ प्रतिशत पुगेको छ । आधार दर बढ्दै गएको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा ६७ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ४७ अर्ब ७ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार ६ अर्ब २३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
एनएमबी बैंकको नाफा २३.५५ प्रतिशत बढ्यो, गत वर्ष १८१ करोड पुग्यो
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २३.५५ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ५६ लाख रुपैयाँ नाफा बढाएको उल्लेख छ ।समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २७ रुपैयाँ २४ पैसा थियो । बैंकको निक्षेप लागत ७.४६, निक्षेप कर्जा अनुपात ७७.७२, आधारदर १०.७० निष्क्रिय कर्जा ०.८८ प्रतिशत रहेको छ । बैंकको निष्क्रय कर्जा अनुपात घटेको छ । यस्तै बैंकको निक्षेप परिचालन बढेर ८४ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि विस्तार भई ७५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । संचित कोषको आकार बढेर ९ अर्ब १९ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
मेगा बैंकको नाफा ३२ प्रतिशत बढ्यो, गत वर्ष १ अर्ब ४ करोड पुग्यो
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा मेगा बैंकको खुदनाफा ३२ प्रतिशत बढेको छ । गत वर्ष बैंकले १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको छ । छोटो अवधिमै बार्षिक नाफा १ अर्ब रुपैयाँ नाघ्नुलाई ऐतिहासिक सफलताको रुपमा लिएको बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले बताइन् । बैंक अब अर्ब रुपैयाँ नाफा गर्ने क्लवमा समावेश भएको उनले जानकारी दिइन् । गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएकाले ९ महिनाको नाफाबाट १४ करोड रुपैयाँ संचित कोषमा राखेको उनले बताइन् । योसहित जोड्ने हो भने बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया नाफा गरेको छ । मेगाको ग्राहक संख्या ९० प्रतिशतले बढेर गत आर्थिक बर्ष ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४/७५मा ६२ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षमा बैंकको निक्षेप परिचालन २४ अर्ब ३ करोड रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ ।यसैगरी, सोही अवधिमा २२ अर्ब ७ करोड रुपैयाँ बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो । बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । मेगाका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् ।
गण्डकी विकास बैंकले ल्यायो सुरक्षित आवास कर्जा योजना, ५ करोडसम्म कर्जा पाइने
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर/जग्गा खरिद गर्न र घर निमार्ण गर्नको लागि पाँच लाख देखि पाँच करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने र व्याज मात्र तिरे पुग्ने बैंकले जनाएको छ । कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बीमा गराउनु पर्नेछ । बीमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् । यस्तो योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने बैंकले जनाएको छ । उक्त सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिनेछ । हाल बैंकको ७२ वटा शाखा सञ्चालनमा रहेका छन् । साथै, निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताएका छन् ।
नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा ‘दिव्य’ को आगमन, पूँजी ७ करोड ७० लाख
काठमाडौं । लघुवित्त वित्तीय संस्थाको रुपमा नयाँ दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड आएको छ । काभ्रेको भकुण्डेवेशीमा रहेको उक्त संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उपस्थित सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना दिएका छन् । संस्थाका अध्यक्ष जीवन भट्टराईले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने बताएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४ साल कार्तिक ८ गते दर्ता भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकबाट मिति २०७५ साल असार १९ गते वित्तीय कारोबार गर्ने ईजाजत पाएको हो । कम्पनीको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक र कैलाश विकास बैंकको ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक सेयर रहेको छ ।
सेयर बजार सामान्य अंकले बढ्दा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए १० प्रतिशत
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु भएको केही समय ओरालो लागेको बजार अन्तत ६.६१ अंकले बढेर ११८०.९८ अंकमा पुगेको छ । अछिल्लो दिनको तुलनामा मंगलबारको बजार ०.५६ प्रतिशतले बढेको छ । दिनभरको कारोबारमा १६० कम्पनीको १८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल ७ लाख ३२ हजार ७२५ कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा पनि आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५.३६ प्रतिशत गुमाएका छन् । बजारमा होटल र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ५० अंकले उकालो लागेको छ ।
मेरो माइक्रोफाइनान्सले २६ प्रतिशत लाभांश दिने, पुँजी ३२ करोड ८९ लाख नाघ्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंगलबार(आज) बिहान बसेको संस्थाको ७२औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ रहेको छ ।
एनसेलको डीडीए गरेर ६१ अर्ब कर असुली गर्दैछौँ– अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने बताएका छन् । समयमै कानुन अनुसार काम नगर्दा कर असुल्न समस्या भएको बताउदै उनले भने “अब एनसेलको डीडीए गरेर स्वीडेनको कम्पनी टेलिसोनेरियाबाट कर असुल्दै छौ ।” कर सम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको डीडीए गर्न स्वदेशी फर्म तथा कम्पनीहरुलाई आवेदन खुल्ला गरेको थियो । तर तोकिएको समय अर्थात शुक्रबारसम्म एउटा पनि नेपाली फर्म तथा कम्पनीहरुले आवेदन दिएनन् । अब ठूला करदाता कार्यालयले अन्तराष्ट्रिय कम्पनीका लागि आवेदन खोल्नेछ । टेलियो सोनेरा र आजिएटाबीच भएको खरिद बिक्रिको सम्झौता पत्र सरकारलाई बुझाउन अटेर गरेपछि कार्यालयले आफैं डीडीए गराउन लागेको हो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ । अर्थमन्त्री डा. खतिवडाले आयकर ऐन २०५८ कार्यान्वयनमा आईसकेपछि कर फछ्र्याेट आयोगको आवश्यकता नरहेको पनि बताए । संसदको अर्थ समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुका जवाफ दिँदै उनले कर फछ्र्याेट आयोग आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।