
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा मेगा बैंकको खुदनाफा ३२ प्रतिशत बढेको छ । गत वर्ष बैंकले १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
छोटो अवधिमै बार्षिक नाफा १ अर्ब रुपैयाँ नाघ्नुलाई ऐतिहासिक सफलताको रुपमा लिएको बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले बताइन् । बैंक अब अर्ब रुपैयाँ नाफा गर्ने क्लवमा समावेश भएको उनले जानकारी दिइन् ।
गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएकाले ९ महिनाको नाफाबाट १४ करोड रुपैयाँ संचित कोषमा राखेको उनले बताइन् । योसहित जोड्ने हो भने बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया नाफा गरेको छ ।
मेगाको ग्राहक संख्या ९० प्रतिशतले बढेर गत आर्थिक बर्ष ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४/७५मा ६२ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षमा बैंकको निक्षेप परिचालन २४ अर्ब ३ करोड रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ ।यसैगरी, सोही अवधिमा २२ अर्ब ७ करोड रुपैयाँ बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो ।
बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । मेगाका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् ।