काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर/जग्गा खरिद गर्न र घर निमार्ण गर्नको लागि पाँच लाख देखि पाँच करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने र व्याज मात्र तिरे पुग्ने बैंकले जनाएको छ । कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बीमा गराउनु पर्नेछ । बीमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् ।
यस्तो योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने बैंकले जनाएको छ । उक्त सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिनेछ ।
हाल बैंकको ७२ वटा शाखा सञ्चालनमा रहेका छन् । साथै, निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताएका छन् ।