डटकम युगपछि यस्तो चमत्कार : सेयर बजार रेकर्ड स्तरमा, एनभीडीया ४ ट्रिलियन डलर पार गर्ने पहिलो कम्पनी

काठमाडौं । अमेरिकामा अहिले डलर बाहेकका सबै एसेट्सहरू रेकर्ड स्तरमा पुगेका छन् । यसमा सेयर बजार पनि सामेल छ । हालैको तीव्र वृद्धिसँगै अमेरिकी स्टक मार्केटको क्याप–टु–जीडीपी अनुपात २२१ प्रतिशतको ऐतिहासिक स्तरमा पुगेको छ । अप्रिलको न्यूनतम स्तरदेखि यसमा ५८ प्रतिशतको वृद्धि आएको हो ।  यो २००८ को वित्तीय सङ्कटपछिको न्यूनतम स्तरभन्दा करिब ४।६ गुणा बढी हो । सन् २००० को डटकम बबलका बेला यो अनुपात १४२ प्रतिशतमा पुगेको थियो । अहिले यो १३ वर्षको औसत ८७ प्रतिशतभन्दा निकै माथि पुगेको छ । पछिल्लो समयमा अमेरिकाका ठूला कम्पनीहरूको सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ । उदाहरणका लागि, विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको हिस्सा अहिले एमएससीआई अल–कन्ट्री वर्ल्ड इन्डेक्समा ५.०४ प्रतिशत पुगेको छ ।  यो इन्डेक्सले विश्वका इक्विटी बजारको करिब ८५ प्रतिशत हिस्सा समेट्छ जसमा ठूला र मध्यम आकारका सेयरहरू सामेल छन् । एनभीडीयाको तौल अब विश्वकै तेस्रो ठूलो सेयर बजार जापान (४.७८ प्रतिशत) भन्दा पनि बढी भएको छ । उक्त इन्डेक्समा चीनको हिस्सा ३.३३ प्रतिशत, बेलायतको ३।२३ प्रतिशत र क्यानडाको २.९२ प्रतिशत छ । एनभीडीयाको योगदान फ्रान्स र जर्मनी दुवैको संयुक्त योगदानभन्दा पनि ठूलो छ ।  एनभीडीयाको बजार पूँजीकरण अहिले ४.५०५ ट्रिलियन अमेरिकी डलर पुगेको छ — इतिहासमै पहिलोपटक कुनै कम्पनीको मार्केट क्याप ४ ट्रिलियन डलर नाघेको हो । एनभीडीयापछि माइक्रोसफ्ट (३.८९४ ट्रिलियन डलर), एप्पल (३.८०६ ट्रिलियन डलर) र अल्फाबेट (२.९७९ ट्रिलियन डलर) क्रमशः रहेका छन् ।

सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार

बेइजिङ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ । हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए । तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पु¥याएका छन् । सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ । छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ । यसैबीच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले दुर्गम पहाडी बस्तीहरूमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् । रासस

म्यानमारमा बौद्ध पर्वका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । सेन्ट्रल म्यानमारमा एक धार्मिक पर्व र प्रदर्शनका क्रममा जनसमूहमाथि मोटरचालित प्याराग्लाइडरबाट आक्रमण भएको छ । यस आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । निर्वासित नेशनल युनिटी गभर्नमेन्टका प्रवक्ताले बीबीसी बर्मिजलाई यो जानकारी दिएका हुन् । पीपल्स डिफेन्स फोर्ससँग सम्बन्धित एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ करिब १०० जना व्यक्ति चाउङ-यु टाउनसिपमा आयोजित थाडिङयुत पर्वमा सहभागी भएका थिए । यो पर्व बौद्ध परम्परासँग सम्बन्धित छ । अधिकारीका अनुसार उक्त अवसरमा मोटरचालित प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम फ्यालिएका थिए । यस पर्वमा सैन्य जुन्ताको नीतिको विरोधस्वरूप बत्ती बालेर प्रदर्शन पनि गरिएको थियो । म्यानमार सन् २०२१ मा भएको सैनिक शासनपछि गृहयुद्धको अवस्थाबाट गुज्रिरहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म यस संघर्षमा ५ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।