१ करोड २७ लाख डलर अपचलन गरेपछि विश्व मुद्रा काेषका पूर्व प्रमुखलाई चार वर्ष जेल सजाँय
म्याड्रिड (स्पेन), १२ फागुन । विश्व मुद्रा कोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ । भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा म्याड्रिड र बैंकियामा रहेका र ती संस्था अप्ठ्यारोमा परेका बेला पदीय मर्यादा विपरित वित्तीय अपराध गरेको स्पेनी अदालतको ठहर छ । केही सयम स्पेनको अर्थमन्त्री समेत बनेका रातोसहित ६४ जना पूर्व कार्यकारी प्रमुख तथा बैंक सञ्चालक समिति सदस्यमाथि सन् २००३ देखि सन् २०१२ को बीचमा एक करोड २७ लाख अमेरिकी डलर बराबरको रकम दुरुपयोग गरेको ठहर अदालतले गरेको छ । पूर्व विश्व मुद्राकोष प्रमुख रातोले भने आफूमाथि लाग्दै आएको आरोपको निरन्तर खण्डन गर्दै आएका छन् ।
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टर नियुक्त
वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् । “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भनेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेका हुन्। चवन्न वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन् । उनी एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्छन् । उनको रुससँग कुनै निकट सम्बन्ध रहेको बताइएको छ । रासस÷एएफपी
९३ वर्ष पुग्दा पनि जिम्बाबेका राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक
हरारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुगेका छन् । उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । उनले एक रोडियो प्रसारणलाई दिएको अन्तर्वार्तामा पदत्याग गर्ने माग आफ्नो पार्टी, पार्टीको महासभा तथा केन्द्रीय समितिबाट आउनुपर्ने बताए । यो अन्तर्वार्ता यसै साता प्रसारण हुनेछ र त्यसको केही भाग राज्यद्वारा सञ्चालित सनडे मेल समाचारपत्रमा प्रकाशित भएको छ । उनले यस विषयमा नकारात्मक अवस्था देखिएको र पार्टीका संयन्त्रले आफू निर्वाचनमा उम्मेदवार होस् भन्ने चाहेको बताए । उनले बहुसङ्ख्यक जनताले आफ्नो प्रतिस्थापक भएको अनुभव नगरेको र उनीहरूले आफ्नो स्वीकार्य प्रतिस्थापक नदेखेको बताए । सन् १९८० मा जिम्बाबे स्वतन्त्र हुँदादेखि शासन नियन्त्रणमा लिएका मुगाबेले स्वास्थ्यको समस्याका कारण पदत्याग गर्न अस्वीकार गरेका छन् । रासस/एएफपी