जापानको निर्यातमा निरन्तर गिरावट, आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन ?
टोकियो, जापान । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् । गत बर्षको सोही समयमा जापानको निर्यात दर ६.७ प्रतिशत अर्थात् ६.३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १.२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ अर्थात् जापानको आयातमा पनि यस बर्ष ६.७ प्रतिशतले कमी आई ६.०५ ट्रिलियन यन कायम भएको छ । प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ, मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा बताए । साकामोतोले भने, “आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।” विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका छन्, उनले बताए । यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५.५ प्रतिशतले वृद्धि आएको । आयातमा १५.८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ । राजनीतिक रूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ०.९ प्रतिशतले कमी आउँदा छ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो । त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ । फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा तीन खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ । रासस/एएफपी
इन्डोनेसियामा बाढी पहिरो, ७७ जनाको मृत्यु
जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिए । स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा
मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या
मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ । सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन् । पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन् । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ । मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो भनेका छन् । पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे । पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पु¥याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए । ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए । ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो । पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन । प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ । यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन । रासस/एएफपी