सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिको सञ्चालकमा ५ जनालाई निर्वाचित गरेको हो । कम्पनीको अध्यक्षमा मोहनदाश मानन्धर निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर, प्रकृति श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा राजु शाक्य नियुक्त भएका छन् । सञ्चालक प्रकृति श्रेष्ठ उर्जा डेभलपर्सको प्रतिनिधी हुन् ।

मारुती सुजुकीका पाँच उत्पादनमा एक कार ईभी

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले विद्युतीय कार उत्पादनका लागि गुजरात सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस एमओयूअन्तर्गत चौथो लाइनको उत्पादन सुरु हुनेछ । मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले जग्गा प्राप्तिको काम पनि केही महिनामा सम्पन्न हुने बताए । सन् २०२८ देखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । यस दशकको अन्त्यसम्ममा कम्पनीले उत्पादन गरेका ५ मध्ये १ कार विद्युतीय हुने कम्पनीको अनुमान छ । भगरवले भने, ‘अहिलेको अनुमानअनुसार सन् २०३०–३१ सम्म कुल उत्पादनको १५ देखि २० प्रतिशत विद्युतीय सवारीसाधन हुनेछ र यो एक लाइनको उत्पादनले सम्भव हुँदैन । यस्तो अवस्थामा यो लाइनको क्षमता पूरा भएपछि केही विद्यमान लाइनलाई ईभी लाइनमा परिणत गर्नुपर्ने हुन्छ ।’ कम्पनीले ब्याट्री उत्पादनलाई पनि स्थानीयकरण गर्न चाहन्छ । यो ईभीको स्वदेशी उत्पादनका लागि ठूलो चुनौती हो । भार्गवले यस्तो अवस्थामा मारुतीको नयाँ प्रविधिको ब्याट्री उत्पादनमा कम्पनीको ध्यान केन्द्रित रहेको बताए । ईभीको उत्पादन मागमा भर पर्ने भए पनि भार्गवले उत्पादित गाडीमध्ये आधा निर्यात हुने अपेक्षा गरेका छन् । मारुती सुजुकीले आर्थिक वर्ष सन् २०३१ सम्ममा ७.५ देखि ८ लाख युनिटको निर्यात क्षमता पुग्ने अपेक्षा गरेको छ । ईभी सवारीसाधन निर्माणसँगै कम्पनीले आफ्नो बढ्दो माग पूरा गर्न वैकल्पिकरूपमा जैविक इन्धनमा पनि ध्यान केन्द्रित गरिरहेको छ । भार्गवका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । जसले गर्दा विद्युतको माग पनि बढ्दै गएको छ । यसले कार्बन फुटप्रिन्ट बढाउँछ । हाइब्रिड प्रविधिमा ईभीको तुलनामा कम कार्बन फुटप्रिन्ट उत्पन्न हुन्छ । एजेन्सी

आँधीका कारण अमेरिकाका २ हजार बढी उडान रद्द

सिकागो । अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरणअनुसार आँधीका कारण अहिलेसम्म दुई हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् । सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएका छन् भने शिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ । त्यस्तै, डेनभर इन्टरनेसनल र मिल्वौकी मिचेल इन्टरनेसनल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार ७३७ म्याक्स विमान ग्राउन्डेड भएका कारण रद्द हुनुले पनि यो सङ्ख्यामा वृद्धि भएको हुनसक्छ । सङ्घी उड्डयन प्रशासन (एफए) ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यस साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएका छन् । एफएए र बोइङले अझै पनि निरीक्षण प्रोटोकलमा सम्झौता गर्ने प्रयास गरिरहेका छन् जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ । यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाइ आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ । अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ ।