इण्डिया अटो एक्स्पोमा तीन दर्जन कम्पनीका नयाँ मोडलका गाडी प्रदर्शन (फोटोफिचर)

नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेका हुन् । उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी ११ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ एक्स्पो ग्रेटर नोएडामा सञ्चालन भएको छ । जनवरी ११ र १२ गते पत्रकारहरुका लागि मात्रै खुल्ला गरिएको छ भने १३ गते व्यवसायिक प्रदर्शनी गरिने बताइएको छ । एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ । एक्स्पोमा करिब तीन दर्जन कमपनीहरुको गाडीहरु प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको सवारी साधन प्रदशर्नी राखिएका छन् । एक्सपोमा टाटा मोटर्स, सुजुकी, मारुती, हुन्डाई मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, बीवाईडी इन्डिया, अशोक लेल्यान्ड र टोयोटा नयाँ मोडलका गाडी सार्वजनिक गरेका छन् । यस्तै, ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, क्वान्टम इनर्जी, एलएमएल इमोशन्स र ब्लाइभ ३ ईभी एक्स्पोमा प्रदर्शनीमा राखिएका छन् ।

भारतमा घरजग्गा कारोबारमा बढ्यो, एक वर्षमा ३ लाख आवासीय भवन बिक्री

नयाँदिल्ली । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ । प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कुल तीन लाख १२ हजार छ सय ६६ आवासीय भवन बिक्री भएका थिए भने तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो । आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलव्ध गराइने ऋणको दर पाँच पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो ।

अमेरिकामा हवाई उडान ठप्प

न्युयोर्क । संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन् । ढिलाई भएका अधिकांश उडानहरू रूरूमा पूर्वी क्षेत्रका केन्द्रित भएपनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ । एफएएले भनेको छ, ‘हामी अन्तिम प्रमाणिकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं । राष्ट्रिय वायुसेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ । केही लाइनले काम गर्न थालेका छन्, तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको छ ।’ यातायात मन्त्री पीट बटिजिगले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।’ युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायी रूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।