चीनमा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिसहरु सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो ।

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

पाकिस्तान । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । पीआईईको पाकिस्तान शिक्षा तथ्याङ्क प्रतिवेदन सन् २०२१-२२ ले विद्यालय बाहिरका बालबालिकाहरूको सङ्ख्याको बारेमा आश्चर्यजनक खुलासा गरेको छ । सन् २०२१-२२ सम्म पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । द न्युज इन्टरनेसनलका अनुसार विद्यालय जाने उमेर समूहका ३९ प्रतिशत बालबालिका हाल विद्यालय बाहिर छन् । जसले विश्वव्यापी शिक्षा सुनिश्चित गर्नमा निरन्तर चुनौती रहेको सङ्केत गर्दछ । बलुचिस्तानमा सबैभन्दा बढी ६५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । इस्लामाबाद राजधानी क्षेत्रले भने सबैभन्दा कम प्रतिशत समेटेको छ । प्रमुख प्रान्तहरूको तुलनामा खैबर पख्तुनख्वामा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सन् २०१६-१७ मा ४४ प्रतिशतबाट घटेर सन् २०२१-२२ मा ३९ प्रतिशतमा झरेको भए तापनि सोही अवधिमा यो २ करोड ६० लाख पुगेको छ । यो वृद्धि मुख्यतया जनसङ्ख्या वृद्धिदरले विद्यालय बाहिरका बालबालिकामा आएको कमीलाई पछाडि पारेको कारण हो । प्रतिवेदनले उच्च माध्यमिक तहमा सन् २०२१-२२ मा ६० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पुष्टि गरेको छ । द न्युज इन्टरनेसनलले प्रतिवेदनको थप विश्लेषण गर्दाल उच्च, मध्य र प्राथमिक तहमा क्रमशः ४४ प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत विद्यालय बाहिरको दर देखाएको छ । प्रतिवेदन अनुसार विद्यालय बाहिरका बच्चाहरूको ठूलो हिस्सा, १ करोड ७७ लाख प्राथमिक तहमा छ । रासस

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना रहेका छन् । दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन । प्रान्तीय सूचना विभागका प्रमुख जबीहुल्लाह अमिरीले एएफपीसँग भने, ‘विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए ।’ ‘हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ तर स्थान भने खुल्न सकेको छैन । हामीले खोजीका लागि टोली पठाएका छौँ । उनीहरूबाट थप जानकारी प्राप्त हुनसकेको छैन ।’ घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकोले उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ । अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर (२४,५८० फिट) को हिमाल नोशाक रहेको हिन्दूकुश पर्वत शृङ्खला वादख्शानमा रहेको छ । रासस